Loading

तिनको घँसिया गीत / लक्ष्मीप्रसाद देवकोटा

१.
मखमल कोमल घाँस फुलेका
गिरिको रसिलो सुन्दर काख
पातहरूको हरियो छतमा
चिरबिर छिरबिर चिडिया लाख ।
निर्मल गाढा नीर गगनका
टुकडाहरू छन् बुट्टादार
पश्चिम लाली, पूर्व छ जाली
बादल-पर्दा चित्राकार ।
एक अकेली, नयन-उज्याली,
बदन हँसिली, गाला लाल,
हलुका घुँघर घना मनमोहन
चुम्वित, सरस, सुभाल ।

चाल स्वतन्त्र अकेलापनको
खुला उज्यालो बेयाद
फुल्दो यौवन हाँसिरहेको
पूर्णकलामा, यस्तो चाँद ।
छमछम चुरीहरू क्रीडा गर्छन्,
चमचम हँसिया चल्छ छरीत
सुन्दरीजलमा, शीतल थलमा
गाइन् तिनले घँसिया गीत ।

२.
जलको छलछल रविको ढलपल,
झिलमिल बादल, चलमल पात
घाँस खिरीला, लाल भरीला
उनका छरिता कलिला हात ।
काटिरहिछिन् सरिताबाला
भावहरूको तरूण निनाद ।
मन्द सुवासित शस्यहरूले
भर्छन् भित्री मनको सार
दूर कतातिर पाठाहरूको
बज्छ गलाको कलिलो तार ।
कोमल कम्पन उठ्छ मनोहर
फुलहरूको अधर खुली
मिल्दछ जलमा, मिल्दछ मनमा,
जल्दछ बादलभित्र मिली ।
मुटुको चाल छ ताल मिलेको
विश्व छ एक सङ्गीत
सुन्दरीजलमा, शीतल थलमा
गाइन् तिनले घँसिया गीत ।

३.
सम्झँदा पुग्दछु अहिले
स्वरहरू सब ती ब्यूँझन्छन्
चल्छ समय पछिल्तिर फेरि,
चिडिया कलरव सम्झिन्छन् ।
प्रकृति उही रङ्ग लिन्छिन् फेरि
युवती बस्छिन् काटी घाँस
फुल्दछ उनको शिरमा फेरि
घुँघर बीचमा लाल गुराँस
यौवन जलको मधुर छचल्कन
लाग्छ मलाई पारावार
एक धुलाको कण झैँ पस्तछु,
असीमताको सुन्दर द्वार ।
प्रकृति घुसेको हृदय कँपाउँछ
सुन्दरताको कुसुम-अधर
आकाङ्क्षाको उड्दछ गाना,
पुग्न उज्यालो कान्ति शहर ।
बोल्दछ काल मनोहर बोली
घाँस छुँदामा चीत
सुन्दरीजलमा, शीतल थलमा
उठ्दछ जब त्यो घँसिया गीत ।

Segments: 

Comments