Loading

लेखक बन्न चाहनेलाई खगेन्द्र संग्रौलाका अर्ति !

हालसालै सार्वजनिक भएको निबन्ध संग्रह 'आफ्नै आँखाको लयमा' भित्र लेखक खगेन्द्र संग्रौलाले केही अर्ति दिएका छन् । उनी भन्छन्, "गजल नलेख्नू, कृतिमा भूमिका नलेखाउनू, र गनगन गर्न र रुन लेखक नबन्नू ।" 

संग्रौलाका निम्न उल्लेखित अर्तिहरू तपाईँलाई कस्ता लागे, लेख्नु होला है !

१. गजल नलेख्नू । किनभने गिनी पिगको विविधतारहित बगालको अरुचिकर सम्झना गराउने प्रायः सबै उस्तै र सधैँ उस्तै गजलहरूको भारमुनि पाठक निसासिएको छ । भो काजी, अबलाई पुग्यो । तथापि, गजलमा मात्र अस्तित्वको घिडघिडो र अमरत्वको फिलुंगो देखे जम्मा एउटा गजल लेख्नू । आजीवन स्वर हल्लाउन र हाटहुटे थपडीको स्वागत पाउन एउटै गजल मनग्गे हुन्छ । दसमध्ये नौवटा गजल पहिलो गजलजस्तै हुनु भनेको आपनो र आपना पाठक-श्रोताको एकबारको जुनिका ससाना नौ किस्ता आयु खाइदिनु हो । गजलको नाउँमा यो आयुभक्षण कुनै काव्यात्मक पुण्यकर्म होइन ।

२. साहित्यका फित्तावाल अमिनहरूका एकांगी र हठाग्रही फैसलाबाट आतंकित नहुनू । यी फित्तावाल अमिनहरूलाई चल्तीको भाषामा सौन्दर्यविद् वा साहित्य-समीक्षक भनिन्छ । यी ज्ञानीहरू लेखक र उसको कृतिको क्षेत्रफल नाप्न हातहातमा शास्त्रका फित्ता बोकेर हिँड्छन् । यी स्रेस्ता खडा गर्छन् । र, अब्बल, दोयम, सीम र चाहार भनी लेखक र तिनका कृतिको कोटिको किटानी गर्छन् । दुरुह जार्गनहरूको जालो बुन्दै यी आफूले मात्र बुझ्ने वा आफैँले पनि नबुझ्ने गाँठा परेको भाषा लेख्छन् । यी जानिफकारहरू जग्गा नाप्ने अमिनले झैँ लेखक र कृतिको अस्तित्वका चारकिल्ला नाप्छन् । र, यहाँदेखि त्यहाँसम्म पूर्वआधुनिक, त्यहाँदेखि त्यहाँसम्म आधुनिक र त्यहाँदेखि ऊ त्यहाँसम्म उत्तरआधुनिक भनेर रेखाङ्कन र सीमाङ्कन गर्छन् । र, यो क्रान्तिकारी, त्यो परको संशोधनवादी, त्यो उताको भ्रष्टीकरणवादी आदिआदि भनेर कर्मकाण्डी पुरेतले झैँ लेखक र उसको कृतिको न्वारन गर्छन् । यिनको मापन, सीमांकन र न्वारनमा लेखक र उसका कृतिका सबै बहुकालिक, बहुआयामिक र जटिल पक्ष तथा चिन्तन र सिर्जनाका सूक्ष्म आरोह-अवरोह समेटिँदैनन् । तसर्थ, यी शास्त्रीय अमिनहरूका कुरा पत्याउनुअघि बाह्र पटक विचार गर्नू । समाजबोध र कलाचेतप्रति सतत् अन्वेषणशील र सजग रहनू, र उत्तम कुरा, यी अमिनहरूका फैसला एक कानले सुनेर अर्को कानले उडाइदिनू । नत्र क्लिस्ट जार्गनहरूको चाङमुनि पुरेर लेखकलाई यिनले कुहिराको काग बनाउँछन् । प्रा.डा.को चोरऔँलो समातेर टुकुटुकु हिँड्न मन गर्ने लेखक साधनाको यात्रामा कतै पुग्दैन । साहित्यको वास्तविक न्यायाधीश प्रा.डा. होइनन्, पाठक हुन् । पाठकका आँखाको भाखाको सदैव ख्याल गरौँ, प्रा.डा.हरूबाट साहित्यलाई जोगाऔँ ।

३. गोष्ठीहरूमा अति ग्रहणशील प्रा.डा.हरू एउटै सनाईमा कविताको मूल्य-निरूपण गरी फटाफट मन्तब्य जारी गर्छन् । साँच्चिको कविता भनेको वतृत्वकलाको स्थुल वक्तब्यजस्तो तत्क्षण मूल्य-निरूपण गर्न सकिने चिज होइन । यसका अर्थका अनेक पत्र, आयाम र कोणहरू हुन सक्छन् । तसर्थ कविगोष्ठीहरूमा प्रा.डा.हरूका छिपछिपे र भुइँफुट्टा मन्तब्यहरू नसुन्नू, भ्रमित भइन्छ ।

४. कृतिमा भूमिका नलेखाउनू । भूमिका भनेको आपनो सिर्जनशील सामथ्र्यप्रति आफैँमा विश्वास नहुँदा टेकेर उभिन अरूबाट याचना गरिने बैसाखी हो । सारै गारो परे एउटासम्म भूमिकारूपी बैसाखी टेक्नू । कृतिमा तीन-चारवटा भूमिका टाँस्नु भनेको लेखकले उभिन तीन-चारवटा बैसाखी टेक्नु हो । दीनदुःखी लेखकको बडो हास्यास्पद दसा हो यो ।

५. शासक वा रोलवाला शासकका ‘बाहुली’बाट कृतिको विमोचन कदापि नगराउनू । तिनका ‘बाहुली’बाट विमोचन गराउनुको अर्थ तिनका सन्दिग्ध छविको छायामा आपनो आत्महीन अनुहार देखाउन रहर गर्नु हो । यो लेखकको चाकरीमुखी, पराश्रयी र आत्मसमर्पणकारी प्रवृत्तिको द्योतक हो । गद्दीवाल शासक वा रोलवाला शासकका चरणमा साहित्यको स्वतन्त्रता र स्वायत्ततालाई घुँडा टेकाइँदा लेखकीय विवेक र अभिव्यक्ति स्वतन्त्रताको हत्या हुन्छ । अनि, लेखकसँग लेख्नलाई के बाँकी रहन्छ ? सत्ताको अनालोचनात्मक निकटता र शासकप्रतिको नजानिँदो भक्तिले लेखकलाई चालै नपाई तिनको भजनमार्गी भाट बनाउँछ । एकबारको जुनिमा भाट लेखक बन्नु पनि के बन्नु ?

६. बेस्ट सेलर भनिने पुस्तक गुणवत्तामा बेस्ट नै हुन्छ भनी आँखा चिम्लेर नपत्याउनू । प्रायः यस्ता बेस्ट सेलरमा अतिरञ्जित विज्ञापन र व्यापारिक स्वार्थको मायावी लेप लगाइएका हुन्छन् । पाठकका हातमा पुग्ने माध्यम भए चित्ताकर्षक आवरण र सुन्दर मुद्रण भएको साहित्यको राम्रो पुस्तक धेरथोर अवश्यै बिक्छ । तर, केवल बिक्रीको सङ्ख्या पुस्तकको श्रेष्ठताको नापो होइन । अचेल प्रतिस्पर्धाको बजारमा आपmनो मालमा आपmनै हातले अब्बल दर्जाको छाप ठोक्ने अभिप्रायले मेरो यति र उति बिक्यो भनी कतिपय प्रकाशकले ढाँट्न थालेको छनक पाइन्छ । यस्ता ढाँटहरूको भ्रान्तिकारी छलबाट नबहकिनू ।

७. पुरस्कारको लालसाले लेखक बन्न नखोज्नू । लेखक भएर पुरस्कृत हुनु नराम्रो होइन । तर, कसैको कृपाबाट पुरस्कृत भएर लेखक भएको अभिनय गर्नु खतरनाक कुरा हो । कतैबाट कसैको पुरस्कार आइलाग्दा पुरस्कृत गर्न खोजिएको केलाई हो भनी सोच्नू । पुरस्कृत गर्न खोजिएको पुस्तकको गुणवत्तालाई हो कि जीहजुरीलाई हो ? पुस्तकमाथि सवार गराइएको अतिरञ्जित विज्ञापनबाजीलाई हो कि कुल, वंश, लिंग वा अन्य कुनै नाता वा स्वार्थलाई हो ? पुरस्कृत भएरमात्र अब्बल लेखक भइँदैन । लेखक भएर भइन्छ ।

८. गनगन गर्न र रुन लेखक नबन्नू । मैले भाषा र साहित्यको उत्पात सेवा गरेँ, तर मजस्तो राष्ट्रको अनमोल मणिको उचित कदर भएन भनी गनगन गर्ने र रुनेहरूको यहाँ केही कमी छैन । कसैलाई पनि समाज वा राष्ट्रले भाषा-साहित्यको सेवावापत पछि मेवा टक््रयाउँला भनेर भर्ती गरेको हुँदैन । लेखक बन्नु स्वेच्छिक कर्म हो । व्यक्तिको नितान्त निजी रुचि र रोजाइको कुरा हो यो । गनगन र रोदनको बासी पथको पथिक हुनुभन्दा त बरु लेखक नहुनु नै बेस ।

Taxonomy upgrade extras: