Loading

एउटा नयाँ यात्रा

      उसले त्यसदिन घाँसको भारी बोकेर आँगनमा टेक्दा पश्चिम दिशामा सूर्यको ओरालो झरेको रातो टाटोले पाथीभरा लेकको थुम्को छुन खोज्दैथियो । ऊ अघिअघि घर आएकी थिई, गाईबस्तुलाई पछाडि छाडेर । घाँसको भारी आँगनको डिलमा बिसाउन खोजी तर ठाउँ पाइन । डिलमा गोदाबरी र मखमली फूलका बोटहरूले कोपिला हालिरहेका थिए । एक मनले सोची – फूलका बोटहरू भाँचिए पनि भाँचिऊन्, भारी डिलतिर बिसाउँदा सजिलो हुन्छ । फेरि अर्को मनले सोची – त्यतिका मेहनत गरेर हुर्काएका फूलहरू कसरी बिगार्ने ? उसले आँगनको बीचमा राखेको मकैको थाँक्रोको आड लिएर घाँसको भारी बिसार्इ । नाम्लो थाप्लाबाट निकालेर पछिल्तिर फालिदिई र उठ्न खोजी । पहिलो पटक आजै उसले धेरै थाकेको र गलेको महसूस गरी । कुनै बस्तुको सहारा नलिई उठ्न सकिन र थ्याच्च भूईमा बसी । उठ्नलार्इ वरिपरी लट्ठी खोजी तर केही भेटिन । र पछिल्तिर लम्केर थाँक्रोको खाँबो समाउँदै उठी । उठ्न त उठी, कामहरू सबै लथालिङ्ग छन् । ऊ सोच्छे – एकछिनमा गार्इबस्तु गोठमा आइपुग्छन् । गोबर, भकारो सोहोर्न बाँकी नै छ । सोच्दासोच्दै उसको थाकेको शरीरसँगै मन पनि ओइलायो । माझघर साँहिलीले बोलाउँदा मात्र ऊ झसङ्ग भएकी थिर्इ ।

      – गह्रौं काम नगर भनेको टेरिनस् हगी ?

      – के गर्नु नगरेर कसले गरिदिन्छ ?

      – भन न लोग्नेलार्इ !

      – गाउँ कसले डुलिदेओस् !

      – हामीले त भन्ने मात्रै हो तँलार्इ, यस्तो भारी जीउ लिएर जंगलको काम गर्छेस् । जंगलमै बीच पर्लिस है ! रात पर्न लाग्यो । म त आहालको पानी लिन हिँडेकी... साँहिली फत्फताउँदै ओरालो झरी ।

      यतिबेला साँहिलीसँग भेटेर अरू कुरा गर्न पनि मन थियो उसलार्इ । आफ्ना समस्याहरूका बारेमा ऊ थोरैसँग मात्र कुरा गर्थी । लोग्नेसँग भएका सहमति–असहमतिका कुराहरू पनि ऊ साँहिलीसँग भन्थी ।

      उसको नाम मालती हो । झट्ट हेर्दा उसलार्इ कसैले पनि तीन सन्तानकी आमा भनेर लख काट्न सक्दैन । छोरो नजन्मिएको ठूलो परिवारको काँहिली छोरीको रूपमा ऊ हुर्किर्इ । धेरै छोरीको परिवार, बाबुले नजिकैको केटो खोजेर पन्ध्रै वर्षको उमेरमा उसको विवाह गरिदिए । उसको सहमति–असहमतिको प्रश्नै थिएन । उसको माइतीको जस्तै निम्न आर्थिक अवस्थामा गुज्रिएको परिवार थियो त्यो घर पनि । निम्न वर्गको ब्राम्हण परिवारकी सदस्य भएकीले अभावको जिन्दगीको बारेमा ऊसँग थुप्रै अनुभूतिहरू थिए ।

      यसरी नै दिनहरू क्रमशः बित्दै गए । दाउरा, घाँस, पानी, भान्सा... यही प्रकारले । उसको काम घटेको छैन तर थकानको मात्रा बढ्दै गएको छ । फेरि चौथो सन्तान पनि छोरी नै जन्मी भने के गर्ने भन्ने मानसिक द्वन्द्वले पनि उसको थकान बढ्न झनै मद्दत पुगेको छ । अस्तिको रात नै उसलार्इ उसको लोग्नेले भनिसकेको थियो अब छोरी नै जन्माइस् भनेँ म सहन सक्दिनँ, आफ्नै बाटो रोज्छु । उसको लोग्नेको भनाइमा ऊ छोरा या छोरी छुट्याएर जन्माउन सक्ने मान्छे हो । अर्थात् पहिलेका तीन छोरीहरू पनि उसकै इच्छाले जन्मिएका हुन् । जीवनका यस्तै–यस्तै अनिश्चयहरू उसका जीवनसाथीजस्ता भर्इ घरी दायाँ घरी बायाँ गरेर हिँडिरहन्छन् । यस्तै जीवनसँग ऊ धेरै वर्ष सँगै हिँडी । यो यात्रा कति लामो छ ? यसले खोजेको भविष्य यही अनिश्चयको अन्त्य मात्र थियो । त्यसलार्इ महत्वाकांक्षा अर्थात् जे भने पनि हुन्छ । अब फेरि छोरी नै जन्मी भने उसको जीवनमा आउने भूर्इँचालोका बारेमा ऊ कल्पना गर्न पनि सक्दिन । केही वर्षदेखि यही क्रमले यस घरमा उसका दिनहरू बितिरहेका थिए । यिनै चिन्ताहरूले हुन सक्छ, केही समयदेखि उसका स्वभावमा प्रशस्त परिवर्तनहरू देखा पर्न थालेका छन् । ऊ पहिले पहिले धेरै बोल्थी, धेरै ठट्टा गरिरहन्थी । तर, उसमा यी कुनै पनि कुराहरू बाँकी छैनन् यतिबेला । सुनेको कुरो तत्काल प्रतिक्रिया फर्काइहाल्ने उसको बानी पूरै हरायो । ऊ अचेल सबै कुरा सुन्छे, मात्र सुनिरहन्छे । उसलार्इ नजिकैबाट चिन्नेहरू अचेलभरि यसैगरी मात्र बुझ्ने गर्छन् ।

      ऊ मुर्छाबाट ब्यूझँदा छेउमा तल्ला गाउँकी घर्तिनी दिदी उभिरहेकी थिइन् । उसको लोग्ने पल्लो छेउमा हतास र आवेगको मुद्रामा टहलिरहेको थियो । त्यहाँ कुनै खुसी थिएन । घर्तिनी दिदीको अनुहारमा पनि एक प्रकारको मलिनता थियो । घर्तिनी दिदीलार्इ यस गाउँको प्रसुतिगृह भने पनि हुन्छ । सबैको काम पर्ने भएकोले उनलार्इ सबैले घर्तिनी दिदी भनेर आदर गर्छन् । त्यहाँको वातावरण बुझ्न मालतीलार्इ कुनै अप्ठ्यारो परेन । घर्तिनी दिदीले उनीहरूको मनोदशा बुझिसकेकी थिइन्; भनिन् – दैवले दिएको हात थाप्नुपर्छ नानी । मालतीले निधारमा हात राखेर प्रतिक्रियाहीन भएरै यी कुराहरू सुनिरही । लोग्नेको प्रतिक्रिया उसले सुन्न चाहिन र खोजिन पनि । उसको लोग्ने बाहिर भित्र गरिरहेको थियो । आज कति घिनलाग्दो देखी उसले लोग्नेको अनुहार । जो पहिले त अलिअलि मात्र देख्थी । घरी भित्र घरी बाहिर गरिरहेको उसको लोग्ने ऊसँग केही कुरा गर्न चाहेजस्तो देखिन्थ्यो । तर आज लोग्नेप्रति उसको घृणा चरम भएको मालतीले पहिलो पटक बोध गरी ।

      मालतीलार्इ पूर्ण विश्वास भइसकेको थियो, अब यो घरमा सामान्य जीवन बिताउन उसलार्इ सजिलो छैन । र समाजका केही मान्छेहरू र लोग्नेसँग उसलार्इ साँच्चै घृणा बढ्दै गयो । म यस अवस्थाबाट मुक्ति पाउन जुनसुकै कदम उठाउन पनि तयार छु । उसले यो कुरालार्इ धेरै पटक सोची । धेरै पटक घोरिर्इ । यो निर्णय नै सबैभन्दा राम्रो भएको ठहर उसले गरी ।

      मालतीलार्इ मैले सानैमा धेरै पटक देखेको र भेटेको हुँ । उसको बुबा हाम्रा परिवारका पुरेत थिए । तयसैले पनि वर्षको दुर्इ चार पटक मैले मालतीको घरमा पुग्नुपर्थ्यो । घरमा हुने अनियमित खालका पूजाआजामा उसलार्इ खबर गर्न । तिथि श्राद्धका बारेमा उनलार्इ हामीले खबर गरिरहनु पर्दैन । उनलार्इ सबैको मृत्यु तिथि कण्ठस्थ थियो । कहिलेकाहीं मालतीलार्इ पनि लिएर आउँथे उनी हाम्रो घरमा । मैले सानैमा भेट्दा देखेका उसका उत्सुक र चञ्चल स्वभावले अहिले छोडिसकेको रहेछ । त्यसबेला ऊ उसको बाबुले पढ्ने कर्मकाण्डका किताबहरू मीठो स्वरमा लय हालेर हामीलार्इ सुनाउँथी । हामी छक्क पर्थ्यौं र ट्वाल्ट्वाल्ती उसलार्इ हेरिरहन्थ्यौं । उसको प्रतिभा देखेर हामी भित्रभित्रै बालसुलभ इर्ष्या गर्थ्यौं । ऊ कहाँ स्कूल टेक्न नपाएकी केटी, हामी पाँच छ वर्ष स्कूल धाइसकेकाहरू । संस्कृत श्लोक मीठो भाका पारेर गाउने उसको शैलीले हामी धेरै पटक लोभिएका थियौं । घरभित्र हुने अनुष्ठानहरू चलिरहेका हुन्थे । ठूला मानसिहरू उतैतिर व्यस्त हुन्थे । हामी समवयका केटाकेटीहरू आँगन र बारीमा भेला हुन्थ्यौं । त्यसबेला मालती हाम्रो बीचमा हरेक दृष्टिले केन्द्रिय पात्र हुन्थी, उसको खुबी र प्रतिभाले ।

       धेरै वर्षपछि पढाइको बीचबाट म घर पुगेको थिएँ । मालतीको बुबा हाम्रो घरमा आएका रहेछन् । मैले त्यसबेला उनीसँग मालतीको बारेमा सोधेको थिएँ । उनैबाट विवाह भइसकेको कुरा थाहा पाएँ । त्यसपछि मालतीलार्इ मैले धेरै वर्षसम्म भेटिनँ र उसका बारेमा केही कुराहरू सुनिनँ ।

      आज मैले त्यही मालतीलार्इ भेटें, अरूणको विवाहको कार्यक्रममा । अरूण मेरो साथी थियो । ऊ राजनैतिक आन्दोलनमा लागेको मान्छे । कुनै जागिर पनि खाएन । अहिलेको सत्ता स्वार्थका लागि खेलिने खेलबाट ऊ टाढै थियो । अरूणको विवाहमा मालती कसरी आई ? विवाहको कार्यक्रममा दुई थरी महिलाहरू प्रष्टसँग चिनिन्थे । एकाथरी अरूणका नातेदार श्रृंगार पटार गरेर आएका थिए भने अर्कोतिर उसका साथीहरू सामान्य रूपमा कुनै तयारी बिना नै आएका देखिन्थे । त्यसैगरी मालती पनि कुनै तयारि बिना आएकी थिई । उसले लगाएका लुगाहरू घरै बस्दा लगाउने जस्ता थिए । कपाल पनि उस्तै जुम्रुङ्ग परेको थियो, काइँयो नलगाएजस्तो । ऊ आफ्नै साथीहरूको समूहमा पनि फरक थिर्इ । अरूको जस्तो कोमल स्वभावको गन्ध थिएन उसको व्यक्तित्वमा । उसको शरीरमा चुरापोते कतै थिएन । आधाजसो महिलाहरू भएको भीडमा ऊ देख्दैमा फरक थिई । बेग्लै, नितान्त बेग्लै । उसको हात समाएर उभिएकी उसकी ठूली छोरी थिर्इ । उ पनि अरू केटाकेटीको भीडमा फरक थिई । सबै सजिएर आएको ठाउँमा उसकी छोरीको खुट्टामा धेरै पुराना र थोत्रा चप्पल थिए । मैले उसलार्इ पहिलोपल्ट सहजै चिन्न सकिनँ । तर उले मलार्इ अलिकबेर हेरी तर उसले पनि राम्ररी ठम्याउन नसकेको जस्तो लाग्यो । उसका बारेमा त्यहाँ धेरै कुराहरू चले । त्यही चर्चाको बीचमा एकजनाबाट मैले सुन्न पाएँ – ऊ खोटाङतिरबाट आएकी हो र यहाँ कतै सानोतिनो काम गरेर छोरीहरू पालेर बसेकी छ । उसको नाम मालती हो । यति सुन्नेबित्तिकै मैले मालतीलार्इ सम्झें । खोटाङबाट आएकी मालती अर्थात् मैले त्यही मालतीको लख काटेँ । म कार्यक्रमको भीडतिर छिरेँ फेरि त्यही मालतीलाई हेर्न । ऊ त्यसैगरी त्यहीं उभिएकी थिई । त्यो त्यही मालती थिई, हामीसँग सानो छँदा सँगै खेल्ने मालती । उसले मलार्इ देखिरहेजस्तो लागेछ र सोधी – तपार्इंलार्इ मैले कतै देखेको हुँ ? सहज थियो उसको प्रश्न ।

      मैले आफ्नो परिचय दिएँ । उसले भेट हुन्छ भनेर सोच्दै नसोचेको कुरा भयो भनेर भनी । छक्क परेर एकछिन हेरी । मैले उसको बारेमा जानकारी लिएँ । विवाहको कार्यक्रम अन्तिमतिर पुगेको थियो । ऊ राजनैतिक आन्दोलनको सम्पर्कमा पुगिछ । उसले आफ्ना जीवनका धेरै कुराहरू बतार्इ । हिँड्ने बेलामा उसले भनेकी थिर्इ – म एउटा यात्रामा निस्केकी छु, विवेक विरूद्धको यात्रामा । म अहिले धेरै खुशी छु । म बाटोभरि मालतीले रोजेको यात्राको सफलताको कामना गर्दै घर फर्किएँ ।

(रचना वर्ष-४५, पूर्णाङ्क-८४, २०६२ असार-साउन)

Segments: 

Comments