धरा उल्टो, नदी उल्टो, झरी-वर्षा झनै उल्टो !

Author

धरा उल्टो, नदी उल्टो, झरी-वर्षा झनै उल्टो !
जरा उल्टो, मुना उल्टो-वितृष्णाको वनै उल्टो !

सधैँ आस्था उमार्नेले, स्वयम् आराध्य बन्नेले
तुँवालो बोक्छ आँखामा, छ मान्छेको मनै उल्टो !

इसारामै सधैँ नाचेँ र ऐले 'बिग्रिइस् !' भन्छौ-
कि मेरो आँगनै टेढो ! कि तिम्रो ताल नै उल्टो !

कसैको देहमा आगो, कतै छन् मस्तमेलामा
कि यो संस्कार नै उस्तो ! कि यो संसार नै उल्टो !

कि मेरो घाम नै उस्तो ! पुजेको धाम नै उस्तो
थियो खोजी उज्यालोको, भयो उत्साह नै उल्टो !

Segments