देवता म होइन !/ मीरा प्रधान रेम

जाडो महिनाको मध्याहृनमा कौसीमा घाम तापिबसे छु । केही वर्ष यता प्रत्येक शरद् मनमा कहीँकता एउटा प्रश्नले गोमनले जस्तो फणा उठाएको हुन्छ, यही मेरो अन्तिम शरद् त होइन ? जीवन-यात्राको अन्तिम बिसौनी यो वृद्धावस्थामा अनेकौं रोगहरू पाली, असङ्ख्य गुनासाहरू बोकी अझै कति दिन अल्भिmने हो कुन्नि ? मृत्यु उछिनेर जीवन अँगालेर कुदिरहेका मेरा पाइलाहरू अब निक्कै सुस्काइसकेका छन् । कुनै बेला पनि यो प्राण हुरुक्क जान सकिने छ, आफूभित्र जीवन-यात्राको सहस्र अनुभूतिहरू सँगालेर, मात्र अनुभव र अनुभूतिहरू ।

कसैले सोधेको थियो, तपाईं हिजोआज कसरी दिन बिताउनु हुन्छ ? हाँसेर जवाफ दिएको थिएँ मैले । आफैँलाई विगतका कथाहरू बाँचेर । जीवनका विभिन्न शृङ्खलाहरूमा घटिरहेका असङ्ख्य घटनाउपघटनाहरूको खण्डित-विखण्डित सम्झनाहरू मस्तिष्कमा छालहरूजस्तै घरिघरि उर्लिरहन्छन्, तरङ्गिरहन्छन्, लछारिरहन्छन् र लोप हुन्छन् पुनरावृत्तका लागि ।

जानकी, आज म तिमी र रविलाई घरिघरि सम्भिmरहेछु । हिजो दिनेश आएका थिए छोरोलाई साथमा लिएर । त्यस्तै तन्नेरो छोरो थियो हाम्रो पनि हगि । सम्झन्छु कसरी हामीमाथि बजारिन पुगेको थियो अनायस एउटा अकल्पित पीडा, एउटा मर्मस्पर्शी विजोग, एउटा कहालीलाग्दो त्रासदि । राजनीतिक, सामाजिक चेतनशील छोराको अकाल मृत्यु, जुलुसमा प्रहरीको निर्मम गोलीको शिकार । छोरा सहिद भएछ भन्दै हामी एकअर्कालाई सान्त्वना दिँदै आँसुको भेल सुकाउन प्रयास गथ्र्यौं हगि । आँखाको आँसु त सुकिदियो समयको फेरोसँग तर भित्रीमनको घाउ आलै रहृयो सधैंँभरि । तिमी विक्षिप्त जस्तै भएकी थियौ, जानकी । तिम्रो ओठमा हराएको आन्तरिक सुखको हाँसो फेरि फर्किदिएन तिम्रो मृत्युको घडीसम्म पनि ।

खोई रवि, तिमीले एउटा सफल मृत्यु मरिदियो वा दिएन आज म किटेर भन्न सक्तिनँ । सुख, शान्ति र सन्तोषको सास आजको घडी पनि यो नेपाली जनताले फेर्न सकेको छैन । हामीभित्र एउटा अनिश्चित, दिशाहीन, सम्भावनाहीन देश दुखेको दुखेकै छ ।

अँ, हिजो दिनेश आएका थिएँ, छोरालाई साथमा लिएर, मेरो आर्शीवाद थाप्न भनेर । भन्दै थिए, नाउँ मात्र रामचन्द्र हैन, तपाईं पनि अब देवता हुनु भएछ । यो छोरालाई आर्शीवाद दिनुस् एस.एल.सी. जाँचमा राम्रो श्रेणीमा पास होओस् भनी ।

उनको भनाइको तात्पर्य थियो, मेरो उमेरले पनि सतहत्तर वर्ष, सात महिना, सात हप्ता, सात दिन, सात घडीको क्षणको देवरथारोहण अर्थात् बूढोपास्नी पार गरिसकेको छ । परम्परागत धारणाअनुसार म देवताको स्थानमा आसिन भई पूजा गरिनु योग्य भइदिएको छु ।

भो, मलाई कथा पुराणको देउताको उपमा दिएर बढी लज्जित नपारुन् । सोच्छु, धेरैजस्तो हामी नेपालीको ईश्वरवोध आजको युगमा पनि आदिम मान्छेको ईश्वरवोधभन्दा कति पनि विकसित भएको रहेनछ । देवतालाई हामी ईश्वरकै निम्तिभन्दा ज्यादा दैवी प्रकोपको चेतन, अवचेतन त्रासको कारण पूजा गर्छौं र एउटा भ्रष्ट अधिकृतजस्तो चाकरी, घूस, षड्यन्त्र र प्रतिशोधको योग्य ठान्छौं । देउतालाई हामी सृष्टिकर्ता मान्छौं र पनि रगत-प्यासी सम्झी मान्छेको आदिम प्रवृत्ति, आदिम प्रचलन बलीप्रथालाई प्रतिरोधबिना सहिदिन्छौं । जति विरोध गरोस् अन्तर्राष्ट्रिय पशु संरक्षक सङ्घ, हामी कान थुनेर बसिदिन्छौं ।

उफ, यी नशाहरू आज सुस्काइसकेका छन्, यद्यपि आफूभित्र विद्रोहका लाभाहरू अझै निभेका रहेनछन् ।

जानकी, तिमीलाई थाहा छ, मलाई थाहा छ, मैले एक युग अगाडि संस्कारलाई चुनौती दिई सामाजिक आस्था र मूल्य मान्यताप्रति पारम्परिकभन्दा भिन्नै दृष्टिकोण अपनाई हिँडिदिएको थिएँ ।

हो, मैले सनातन पुरुष आदर्शलाई आजको जिजीविषामा एक पक्षीय, अन्यायी र नारी विरोधी भनेर घोषित गरिदिएको थिएँ । उनीहरूले भने, म नामर्द भएँछु, नपुङ्सक बनेछु ।

आफूसँग हुर्केका पुराना थोत्रा आडम्बरहरूलाई सर्पले काँचुली फेरेजस्तो एकएक गरी फ्याँक्न खोजेँ, उनीहरूले भने, म अराजक भएँछु, संस्कृति विरोधी बनेछु ।

जसलाई मैले मेरो नयाँ आदर्श मानेँ, उनीहरूले त्यो मेरो पतन हो, पथभ्रम हो भने ।

आज म भन्छु, समयको प्रवाहसँग अरूलाई उछिनेर बगिदिन मैले सिकेको छु ।

सम्झन्छु विगतको त्यो साँझ अकस्मात् ढोका उघारेर कोठाभित्र पसेकी जानकीलाई देखेर आश्चर्यचकित हुँदै मेरो मन रिसले रन्थनिएको थियो । त्यतिबेला तिरस्कारका लाभाहरू बाहेक केही शिष्ट शब्दहरू मभित्र पलाएको थिएन । लागेथ्यो, हृदयमा बगर कतै उसमाथि मायाको शेष थिएन, कुनै आशक्ति आकर्षणको झझल्को थिएन । सबै मरिसकेका थिए, तीन वर्षको अपमान, हेला र एकाकी जीवनको मौन पीडामा डुबेर ।

राँडी, कुन नाता जोडेर फेरि आपुगेकी होला ? लाज शरम त्यागेकी बेश्ये कसरी फेरि मेरोसामु पर्न सकेकी ?

के उसले घर त्यागेकी दिन त्यति चाँडै बिर्सिएछु र ?

पुस महिनाको दिनभरि बादलले धुम्मिएको आकाश बोकेको त्यस दिनको सम्झना कहिल्यै नमेटिने गरी मस्तिष्कमा छाप मारी बसेको छ । बिहान सबेरै नुहाइधोइ बाबुको श्राद्धमा माइतीघर जान भनी काठमाडौँको बस चढ्न बस विसौनीतिर हिँडेकी थिई । साथै केही लुगाफाटाहरू झोलामा बोकेर लगेकी थिई, दुईचार दिन माइती बसेर आउँछु भनी ।

ऊ माइती आइन रे !

नाताकुटुम्ब, इष्टमित्र कतै पनि

आइन रे !

केही दिन सोधपुछ खोजखबरी गरिएको थियो तर सबै प्रयासहरू निष्फल रहे । मानौं अन्धकारको गर्भले निलिदिएझँै कतै केही नाम निशाना नछोडी ऊ अनन्त गायब भइदिई ।

अन्त्यमा सबैले एकै मुखलेझैँ निष्कर्ष गरे, जानकी पोइल गइछ ! लगतै नानाथरिका टीका-टिप्पणीहरू उसको चरित्रमाथि बुनि लागे ।

मान्छेहरूले भन्न लागे.....काठमाडौँ सहरकी केटी न हो, छाडा, उताउली....फेरि बाउ पनि नभएकी......व्वाइप|mेन्ड लिएर हिँड्थी.....त्यसैले कान्छा बाले टाढा भादगाउँमा बिहे गरेर पठाएछन् । ....बिहे अगाडि केटाले उसलाई लग्न चाँजो मिलेन होला, बिहेपछि उडाएर लग्यो.....होला नि कतै मधेस पहाडको मान्छे....लग्यो होला कही अन्कन्टार आफ्नै घरमा....।

र म....?

स्वास्नीबाट परित्यक्त पुरुष....।

हीनताबोध र आत्माग्लानिको विडम्बनामा धेरै दिन पिरोलिरहेँ । अथाह पीडामा भित्रभित्रै म सल्किरहेँ सडकमा फ्याँकिएको चुरोटको सल्किरहेको ठूटो जस्तो ।

परिस्थितिसँग सम्झौता गर्नुबाहेक अर्को विकल्प नै के थियो र ? यद्यपि दोस्रो बिहे गर्ने परिवारको आग्रह मैले नकारी रहेँ ।

सँघारमा उभिएकी जानकी मेरा आँखाको क्रोधाग्नि देखेर हो कि जहाँको त्यही जमिए जस्तो ठिङ्ग उभिएकी थिई ।

लाग्यो, अगाडि सरुँ या बाहिर निस्कूँको दुविधामा ऊ क्षणभर अलमल्लिरही तर एक निमेषमा हुत्तिएर मेरोसामु आई भक्कानो फुटाएर रुन लागी ।

माया र संवेदना होइन घोर वितृष्णामा मैले सोधेथें, "किन आइस् ? पोइल गएर पुगेन तँलाई Û फेरि यो के को

नौटङ्की ?"

आँसुको धारा र भक्कानोबीच उसले फलाकी, "पोइल गएकी होइन । मेरो अपहरण भएको थियो ।"

अपहरण......? छाँगाबाट खसेजस्तो क्षणभर म स्तब्ध भएथेँ । अवाक परेथेँ ।

"हो....अपहरण । किन कसैले मेरो खोजखबरी गरेन ? के स्वास्नीमान्छेको जीवन त्यति सस्तो छ ? के दिइसकेकी चेलीबेटी आफन्त कहलिन कोही छैन ? "

आँसु पुछी केही सामान्य भइसकेपछि उसले आफ्नो कथाब्यथा सुनाएकी थिई ।

.....बस बिसौनीतिर हिँडिरहेकी थिएँ म त्यो बिहान । पातलो तुवाँलोले जमिन अझै ढाकिएको थियो । एउटा कालो गाडी मेरो छेउमा रोकी एउटा लोग्नेमान्छे र एउटी स्वास्नीमान्छे गाडीबाट ओर्ली मलाई लायकू दरबार जाने बाटो सोधे । त्यसपछि के भयो मलाई केही होस भएन । क्लोरोर्फम सुँगाएर मलाई बेहोस् पारी गाडीमा राखी लगेका थिए रे । बेलाबेलामा होस आउँदा इन्द्रीयहरू लठ्ठ पर्ने सुइ लगाएका थिए रे । मलाई राम्रोसँग होस आउँदा म मुम्बाईको कोठीमा बेचिइसकेकी थिएँ ।

त्यसपछिका दिनहरूमा यो शरीर र मनले मैले कहिल्यै कल्पनासम्म गर्न नसकिने भयङ्कर सास्ती, यातना भोग्न म लाचार परेथें । पशुभन्दा पनि मान्छे कतिसम्म निर्घिनी, निर्दयी, अधर्मी हुँदोरहेछ भन्ने कुरा त्यतिबेला नजिकबाट जान्न, चिन्न र भोग्न म बाध्य भएँ । यो शरीरलाई कसरी सियो, पेटी, बेत र खुर्सानी आदिले सास्ती गर्दोरहेछन् र कुन हदसम्म शरीरले कष्टहरू बहन गर्न सक्दोरहेछ भन्ने निजी अनुभव गरेथेंँ । कतिपल्ट सहनशक्तिको सीमा नाघी मूर्छित परेथें । मूच्र्छाबाट बिउँझिँदा आफ्नै रगतको आहालमा, दिसा र पिसाबमा लट्पटिएको शरीर पाउँथे । के गरेनन् उनीहरूले बेश्ये बन्न मेरा अवरोधहरू तोड्न र भाँच्न । जबर्जस्ती भाङ खुवाएर इन्द्रीयहरू लठठ्याएर मेरो सामूहिक बलात्कार गरिएको थियो । त्यसपछि आफ्नै शरीर पराईझैँ लाग्न थाल्यो र शरीरमाथि बुझ्नै नसकिने घृणा र आशक्ति जाग्न थाल्यो ।

यसरी मेरा प्रतिरोधहरू एकएक गरी निर्मम भाँचेर मलाई जीवित मूर्दातुल्य बनाई कोठीवालाहरूको आत्माहीन रोबोटको स्थितिमा बाँच्न बाध्य तुल्याए । हो म बेचिसकेँ दिनरात पुरुषको बासनाको कठपुतली बनेथेँ । अपार्टमेन्ट र होटलहरूको कोठामा मेरो यौवन, मेरो देह निर्मम भोगिन्थ्यो, लुछिन्थ्यो, लुटिन्थ्यो ।

सोचेथेँ मेरो जीवन त्यही नरकतुल्य संसारमा बिस्तार बिस्तारै सडेर अन्त्य हुनेछ । संयोगवश हिजो राति होटेलको लिफ्टमा एउटा युरोपेली दम्पतिसँग अचानक भेट भयो । उनीहरू अन्तर्राष्ट्रिय मानव अधिकार सङ्घसँग सम्बन्धित रहेछन् । मेरो कथाव्यथा सुनिसकेपछि उनीहरूले मलाई काठमाडौँ जाने हवाईजहाजको टिकट किनी आफैँले एअरपोर्टसम्म पुर्‍याइदिए ।

माया मारिसकेकी अचानक प्रत्यक्ष भएकी जानकीको त्यो मुटु नै चिरिनेजस्तो टिठलाग्दो कथा सुनेर मन एक तमासले खलबलिन्छ । अनायास स्पन्दित हुन्छ मेरो छाती, अन्तरआत्माबाट पलाएर आएको महकरुणाले । आँसुले टलपलिएका आँखाहरू भुइँमा अस्तव्यस्त भई कुपि्रएर बसेकी, चुटिएर, लुछिएर आएकी त्यो युगौंयुगको यौन शोषणको प्रतीकमाथि छताछुल्ल पोखिन्छन् ।

हो, मेरोसामु दुई विकल्पहरू थिए, या त परम्परागत शैलीमा बेश्या बनिसकेकी स्वास्नीलाई निस्काशन गर्नु अथवा बुद्धको शैलीमा करुणादु भई अङ्गिकार गर्नु ।

थाहा छ, यो पितृसत्तात्मक समाजमा न अहिले लोग्नेको थरलाई आफ्नो घर ठानेर ओत लाग्ने, न माइती भनेर माइतीघरमाथि हक अधिकार जनाउन सकिन्छ उसले । जीवन र जगत्को टर्रो तीतो स्वाद चाखेर आएकी त्यो हृदयविदारक मूर्तिलाई पुरानो शैलीमा भकुरेर निकालिँदा फेरि कुन नैसर्गिक जङ्गलमा हराउने हो कुन्नि ? कुन अधर्मीको क्रूर पञ्जामा प"mसिने हो ? एउटा संरक्षणको तृष्णाले कतिओटा ढोकाहरू ढकढकाउँदै बिजोग भोग्नुपर्ने हो ?

जानकी, तिमीलाई मैले पो अङ्गिकार गरेँ तर तिमी अटाइ दिइनौ कतै एउटा पारम्परिक संयुक्त परिवारमा । ग्रहण लागेको चन्द्रमाझैँ दागी ठानियौ तिमी, त्यतिबेलाको सम्भ्रान्त समाजमा । फलतः हामी घर छोडी डेराबासी बन्न बाध्य भयौँ । आफ्नो जन्मस्थल र कर्मस्थल त्यागी हामी मधेस लाग्यौँ ।

स्मृतिहरूको अथाह सागरमा हराएको थिएँ म चुर्लम्मै, छोरीनाति आइपुगेको थाहै पाउँदिन ।

'हजुरबा चिया......।' भन्दा म अलि झस्केर विगतबाट वर्तमानमा झर्छु ।

उफ, यो वर्तमान, मेरो वर्तमान, चिनी नभएको तीतो चिया खानु बाध्य मधुमेहको रोगीको वर्तमान ।

मानौँ मेरो मनको कुरा बुझेजस्तो अलि मुस्कुराएर अनुप भन्छ, "आजको चिया अर्कै चिया । तीतो होइन गुलियो चिया । मधुमेहको रोगीहरूलाई पनि हुने चिनीले जस्तै गुलियो पार्ने साकरिन भन्ने चक्कीहरू बजारमा पाइँदोरहेछ । कस्तो हामीले थाहै नपाएको । सबिनले भनेर पो थाहा पाएँ ।"

गुलियो चियाको चुस्कीमा रमाउँदै म हर्षविभोर भई भन्छु, "कति दिनपछि आज मलाई चियाको स्वाद चियाजस्तै लाग्यो । के नाम रे यसको ?"

"साकरिन ।" उसले हाँसेर दोहोर्‍याउँछ ।

"साक...रिन ।" त्यो बिरानो शब्द म बिस्तारै दोहर्‍याउँछु, आभारी मनले ।

लाग्छ आजका तन्नेरीहरू हिजोका तन्नेरीहरूभन्दा बढी जान्ने, सुन्ने, बुझ्ने भएका छन् । आधुनिक सभ्यताको सकारात्मक फल चाखी निकै ज्ञानी भएका छन् ।

प्रतिदिन खस्किँदै गइरहेको मेरो शरीरको बल, जाँगरलाई यो ठिटो क्यालसियम र भिटामिन चक्कीहरूले दरिलो पार्न जमर्को गर्दछ । उफ, यो ठिटो मेरो उमेर र प्रकृतिसँग अनन्त लडिरहेको छ र मलाई बाँच्नको लोभ बाँड्दैछ ।

गार्मेन्ट कारखानामा काम गर्ने यसकी आमा सधैँभरि काममै ब्यस्त, सधैँभरि ओभरटाइम काम, सधैँभरि थाकेकी । बुबाचैँ एम.ए.को सर्टिफिकेट दराजमा थन्क्याई ट्याक्सी चलाउँछ, बाध्यताको कारण ।

भाइचैँ इन्टरनेट क्याफे भन्यो, इमेल, च्याट, साइवर गेम्स, भिडियो त्यस्तै के के न भन्यो, दिनभरि गायब बिदाको दिन । आफ्नै धुनमा मस्त हिँड्छ, अरु कसैको पर्वाह छैन ।

"हजुरबा, भोलि दिउँसो हामी दुई तीन घण्टा थापाथलीको वृद्धाश्रम जाने प्रयोजन गरौँ है । त्यहाँ नाचगानको कार्यक्रम छ रे, जलपान पनि हुनेछ रे । यहाँ एक्लै मनमा कुरा खेलाएर धुमधुम्ती बस्नुभन्दा अलिकति मन बहलिन्छ कि । सायद हजुरबाको पुराना साथीहरू पनि भेटिने छन् कि ......।"

हृदय आहृलादित हुँदै एकटक म उसको हँसिलो अनुहार र चम्किला आँखाहरू हेर्दै मनमनै हाँस्छु ।

लाग्छ, यो नाति आफ्नो तन्नेरी उत्साह र बाँच्नको रहर मलाई सापटी दिँदैछ । यो कलिलो उमेरमा यति महान् संवेदनशील हृदय यसले कहाँबाट पाएछ हँ ? यो ठिटोजस्तो मान्छे होइन मानवीय गुणहरूले निपूर्ण साँच्चैको मान्छेको सहस्त्र क्लोनिङ हुने भए यो पृथ्वी अलि बढी जिउने लायक हँुदैन र ?

आज फेरि यसले मलाई आफ्नो पिँढीप्रति कृतज्ञ बनाई छोड्यो । हृदय अवरुद्ध भई मेरा आँखाहरू रसाउन थाल्छन् ।

'लौ न नि, हजूरबा त रुनु पो भएछ । किन हँ ? मैले अञ्जानमै केही बिराएँ कि ?" अवाक् भई अनुपले सोध्छ ।

"हैन, हैन, यी त हर्षका आँसुहरू हुन् लाटा......।" भन्दै म आँसु पुच्छु ।

[First published in Madhuparka Monthly]

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom