Loading

दरिद्र कुत्तासरी भो किन ?/ आनन्दराम पौडेल

८\१० महिना अघिको घटना हो, चिया खाएर बसिरहेका साथिहरूको छेउमा एकजना ह्याण्डसम युवक आए । तिनी आर्मीको जागिर छाडेर यूएन सर्भिसमा जानलागेका मेजर हिमाद्री थापा मगर रहेछन्। एक्कैछिन बसे र हिंड्ने बेलामा, “तपाईंहरू सवै बाहुन जस्तो लाग्यो,बाहुनको भविष्य छैन। किनभने बाहुनहरू एक्लाएक्लै बाँच्छन्, जो सङगठित हुँदैन त्यो सिद्धिन्छ” भने। हुनपनि बाहुनहरूवीचमा टीम स्पिरीट, टीम कल्चर र टीम वर्क हुँदैन। एउटा बाहुनले अर्को बाहुनलाई अपनत्वको नजरले कहिल्यै हेर्दैन, बरु एउटा पण्डितको एरियामा अर्को पण्डित आइपुग्योभने त्यहाँ सौहार्द्रता र हार्दिकता हैन भित्रैदेखि हुङ्कार शुरु हुन्छ। हिमाद्रीले जुन निस्कर्ष दिए त्यो सही थियो, तर कारण त्यतिमात्रै हैन। बाहुनले आफ्नो भाषा, संस्कृति,मूल्य, जीवनदृष्टि र परम्परालाई उहिल्यै छाडिसके तर बिश्वमा र इतिहाँसमा कहीं नभएको सङ्कीर्णताचाहीं अँगालेर बसेका छन्। बुहारी अर्को जातकी भैभने नातिलाई बाहुनको पङ्क्तिमा राख्दैनन्। बाहुनी नै बिवाह गरेपनि तलवितल परेको रहेछभने त्यस्का सन्तानलाई जैसी भनेर हुत्याउँछन्। कसैलाई कुमाईं भनेर फाल्छन्। बाहुनको पङ्क्तिबाट निकाल्न दशै द्वार खुला छन् तर बाहुनको पङ्क्तिमा ल्याउने एउटापनि प्रवेशद्वार छैन। निस्काशनद्वार १० गोटा तर प्रवेशद्वार शून्य भएकोले यो चाँडै नै लोपोन्मुख जातिमा पर्ने निश्चित छ। एकातिर भाषा,संस्कृति,मूल्य र जीवनदृष्टि छाडेर भित्रभित्रै खोक्रा भएका, आफ्नो पहिचान अनुहार गुमाएका, संख्याको हिसावले लोपोन्मुखमा पर्ने निश्चित भैसकेका र टीम कल्चर नभएका एक्लेवीरहरू सिद्धिने नै हो, त्यस्ताको भविष्य छैन, हामीले भन्यौं। 

त्रिकालदर्शी, जगतै कँपाउने 
कठै उही ब्राह्मणवर्ग हुन् भने 
दरिद्र कुत्तासरी आज भो किन
तँलाई मालुम छकि यो कुरा मन

- भनेर लेखनाथ पौडेलले लेखेको सम्झन पुग्यौं । सँगसँगै पत्रकार साथि टीकाराम राईले भन्ने गरेको, “ नेपाली बिषयका शिक्षक र संस्कृतका प्राध्यापकहरूले पनि अरु सरह तलबभत्ता पाउँछन् नि, तर यी पिलन्धरे बाहुनहरूको गति हेर्नुस् त, छुस्स दाह्री, नकोरेको जिङ्रिङ्ग कपाल, कच्याककुचुक् परेको कमिजसुरुवाल र पेटभरी खान नपाएको अनुहार” को चित्र झलक्क अगाडि आयो।

नेपालमा जेठ महिनाको शुरुका २ हप्ता आन्दोलनकालको रुपमा रह्यो। जताततै आन्दोलनै आन्दोलन र आन्दोलन बाहेक कतै केही देखिएन। यस्तो लाग्थ्यो, स्वास समेत् आन्दोलनकै लिइरहेछौं र प्रत्येक गाँसमा आन्दोलन निलिरहेछौं । नयाँ र नौला नामधारी समुहहरू समेत हुँदोनहुँदो माग तेर्स्याएर उत्रेका थिए। हुँदाहुँदा काँठे, टपरे भनिएका बाहुनहरूले समेत छिटपुट आन्दोलन गरेको देखेर आश्चर्य लाग्यो, तर त्यस्ले दुइटा निस्कर्षमा पुर्यायो। एउटाचाहीं गणनामा राख्न आवश्यक नदेखेर अन्यमा राखिएकाले समेत् राज्य अत्यन्तै निरिह र थला परेको अवस्थाको फाइदा लिंदारहेछन् भन्ने ज्ञान मिल्यो। अर्कोचाहीं छरिएको भएपनि अस्तित्व बाँकी रहेको जीवलाई पेलेर भित्तैमा पुर्याउने हो भने त्यस्मा पनि अनपेक्षित प्रतिरोधशक्ति उम्रने रहेछ भन्ने बुझियो ।

पहिचान गुमाएकाले मात्र बाहुनहरू सिद्धिन्छन् भनेका थिएनौं, सारजति छाड्दै र रूढीहरू पक्डँदै गएकाले भनेका थियौं। मैले केही ठूला पण्डितहरूसँग प्रश्न गरेको थिएँ- रामायणकालीन समाज, महाभारतकालीन समाज, वेद, पुराण, उपनिषद र शास्त्रहरूमा कहाँ छ छुवाछुत ? ‘मिन्स’ भएको ६ दिनसम्म आफ्नै छोरीबुहारीले घरमा पस्न त परै जावस् घरको करेसा समेत् छुन नहुने भनेर कुन शास्त्रमा लेखेको छ ? काजकिरिया गर्न कोरामा बसेको बेलामा किरियापुत्रले मात्र ढिकुरो पूजा गर्नुपर्ने तर उनका पत्नीहरूले चाहीं ढिकुरोको छेउमै जान नहुने भनेर कुन शास्त्रले निषेध गरेको छ ? काजकिरियामा बस्दा दहीदुध खान हुँदैन भनेर कुन शास्त्रले प्रतिवन्ध लगाएको छ ? कुन शास्त्रपुराणमा छ स्वस्थानी देवी ? कुन शास्त्रपुराणमा छ सन्तोषी माता ? सत्यनारायण पूजापछि भनिने कथा कुन शास्त्रपुराणका हुन् ? मन्दिर त सवैको साझा होनि, त्यहाँ बोकाहरू काट्नु कतिसम्म जायज हो ? गीता,उपनिषदको गहीरो अध्ययन गरी हिन्दू बनेका पश्चिमा र इस्कोनका सदस्यहरूलाई किन मन्दिर प्रवेश गर्न दिईंदैन ? केही पण्डितले यी सवै गलत भैरहेछन् भनेर स्वीकारे। यस्ता मनगढन्ते रुढीहरू जुन समुदायको जीवनशैली बनेको छ त्यस्को भविष्य डिलैमा पुगिसकेको छ भनेर ठोकुवा गर्न सकिन्छ।

जवसम्म श्रमबिभाजन र कर्मको आघारमा जातलाई हेरियो तवसम्म जातिब्यवस्था समाजलाई बोझ थिएन। प्राचीन कालमा मिश्र, चीन, जापान, रोम र यूनानमा पनि जाति ब्यवस्था थिए,तर त्यो पेशा र कर्मको आधारमा भएकोले जति रह्यो सङ्गतिपूर्ण नै देखियो। तर हिन्दू समाजमा भने जव रुढीबादीहरूले जातिब्यवस्थालाई कर्मआधारीतबाट जन्मआधारीत बनाए, त्यहींदेखि यो हाम्रो समाजको लागि अबैज्ञानिक र कलङ्कपूर्ण बोझ बनेर रह्यो। बुद्धकालीन समाजसम्म आइपुग्दा हिन्दू समाज रुढिबादीहरूको पकडमा आइसकेको देखिन्छ। किनकि रुढिबादी जातिब्यवस्थाको बिरोध सर्वप्रथम बौद्ध धर्मावलम्बी र जैन धर्मावलम्बीले गरे। तत्पश्चात् सिद्ध र नाथ साहित्य तथा कबीर जस्ता निर्गुणी सन्तका वाणीहरूमा जाति ब्यवस्थाको प्रखर बिरोध भेटिन्छ। स्वामी दयानन्द सरस्वतीले आर्य समाज गठन गरी जन्म आधारित जाति ब्यवस्था तथा हिन्दू समाजमा जमेर बसेका रूढीका बिरुद्ध युद्धस्तरमा अभियान चलाए।

प्रा दिनेसराज पन्तले बिसं ५२२मा मानदेवले स्थापना गरेको चाँगुनारायण स्तम्भमा उल्लेखित “ब्राह्मणहरूलाई दान दिंदै” भन्ने शिलालेख, लेलेमा भेटिएको विसं ६६२को शिवदेव र अंशुबर्माको अभिलेखमा गोष्ठीको चर्चासँगै बारम्बार उल्लेख गरिएको ब्राम्हणको सन्दर्भ र नरेन्द्रदेवको अनन्तलिङ्गेश्वरमा उल्लेखित “ब्राम्हणलगायत चाण्डालहरू सवै” भन्ने जस्ता इतिहाँस-प्रमाणलाई अगाडी सारेर बाहुनहरू यस भूमिमा अनादिकालदेखि नै वसोवास गर्दै आएका रहेछन् भनेर सिद्ध गर्नुभएको छ। अनादिकालदेखि बसोवास गर्दै आएका भएपनि अध्ययन,अध्यापन,यज्ञअनुष्ठान, स्वाध्याय र परमार्थ चिन्तनमा आत्ममग्न भएर रहने तथा समाजसँग अन्तरघुलन भएर सकृय भूमिकामा नरहने भएकाले उनीहरूको सशक्त उपस्थिति भेटिंदैन। समाजमा अन्तर्घुलन नभएपनि उनीहरूको आत्मबिश्वास र अडानचाहीं दह्रो नै देखिन्छ। रणबहादुर शाहले तिरहुतकी बिधुवा बाहुनीसँग बिवाह गर्न खोज्दा ती बिधुवाले राखेको शर्त सुनेपछि यो शर्त त हाम्रा बाहुनहरूले पक्कै स्वीकार गर्दैनन् होला भनेर हच्केका थिए। सम्पूर्ण भारदारहरू लागेर बाहुनहरूलाई सम्झाएपनि रणबहादुरका सन्तानका नाममा “बिक्रम” शब्द जोड्ने सहमति भएपछि मात्र मानेका हुन्।

होला, बाहुनहरू आदिबासी नै होलान्। क्षेत्रीहरूको त झन् सिंजामा राज्य नै थियो। सवाल यो होइन। सवाल के हो भने, के अहिले जात-जातलाई उचाल्ने र राजनीतिक अभिष्ट साध्ने बेला हो र यो ? एकअर्कोमा रङ्गमङ्गिएर कुनै जातको पनि छुट्टै,अलग्गै, बिशिष्ट र मौलिक पहिचान बाँकि छैन। नयाँ पुस्ताको दिमागमा त झन् जातको ज पनि बाँकि छैन। हामीले अव जात-जातको आवरणमा पुराना ठालूहरूलाई पुनर्स्थापित गर्ने कि जातपात भन्दा सीमान्तिकृत वर्गको उत्थानलाई प्राथमिकता दिने हो, निर्क्यौल गर्नुपर्ने भएको छ।

anandarampaudel@yahoo.com

Comments