डढेलो/ विवश पोखरेल

समयले यसरी घात गर्ला र आफूले गरेको सङ्घर्ष र प्राप्ति यति दुखद होला भन्ने सह-प्राध्यापक शिशिर शर्माले कहिल्यै सोचेकासम्म थिएनन् । आफूले तीस वर्ष बिताएको गाउँ छोड्न लाग्दा स्वाभाविक रूपमा नमिठो लागेको छ उनलाई । आज उनी गाउँ छाड्दै छन् र पनि कसैले सोधेका छैनन् - 'शर्मा ! कहाँ जान्छस् ? किन जान्छस् ?'

बिचरा यतिका वर्ष यो गाउँमा बिताएका उनले एकसरो आवश्यक सरसामान बसपार्कसम्म लग्न भाडामा एउटा ठेलासमेत पाएनन् । जबकि गाउँभरि ठेला थियो, बैलगाडा र ट्रयाक्टरहरू थिए । किसान आफ्नो बैलगाडा लिएर उनलाई बसपार्क पुर्‍याउन तयार थियो, सहर लान तर गाडीमा सामान लोड गरेर गोरु लिन गएको किसानले एकाएक विचार फेर्‍यो र आफ्नो असमर्थता व्यक्त गर्यो- 'सर ! हमर बरद विमार भ्यागेले, हम अहाँके पहुँचाएल नही सकवे ।' -सर मेरो गोरु विरामी पर्‍यो, मैले सरलाई पुर्‍याउन सकिनँ) सरले बुझे, कसैले कान फुक्यो उसको । सायद जातीय र साम्प्रदायिक विभाजन रेखा कोरे उनीहरूले । चसक्क मन दुख्यो उनको । हिजोसम्म सामान्य विरामी पर्दा पनि- 'सर मेरो ट्रयाक्टर छ लिएर जानुस्, बैलगाडा छ लिएर जानुस्' भन्थे गाउँलेहरू । आज ती कुराहरू एउटा संस्मरण भएको छ उनका लागि, एउटा अतीत भएको छ, बिर्सन नसक्ने अतीत ।

केही सीप नलागेपछि अन्ततः शिशिर शर्माले टाढाको गाउँबाट ट्रयाक्टर मगाएर आˆनो सामान लोड गरे । हिँड्नुअघि आफूले रोपेका फूलबारी वरिपरि घुमे । फूलहरू सुमसुम्याए । सगुन हो वा अपसगुन, अगाडिको निमको बोटमा काग-काग गरेर नमिठोसँग एकोहोरो काग कराइरहृयो । घरपछाडिको आँपको बोटमा नचिनेझैँ. गरी 'को हो ? को हो ? भनेर कोइलीले सोधिरहृयो । आफ्नै परिचित गाउँ अपरिचित र विरानो लाग्यो उनलाई । आखिर हिँड्नु नै छ भने किन ढिलो गर्ने ? उनले मुटु नै मिचेर घरमा ताला लगाए । आ...जसले जेसुकै गरोस् आँसु, रगत र पसिनाले बगाएर बनाएको घरप्रति कुनै मोह रहेन उनको । गाडोस् जसले गाड्छ अधिकारको झन्डा, आखिर यो संसारमा आफ्नो भन्ने के रहेछ र ! ढुङ्गो भए उनी । उनलाई लाग्यो-ज्यानभन्दा ठूलो घर होइन । सबैसँग समान व्यवहार गर्नसके, मिहेनति, लगनशील र इमानदार भए यस्तो घर फेरि जोडिएला । धेरै अघिदेखि जुन घर बेच्ने प्रयास गर्दा पनि बेच्न सकेनन् उनले - 'हेरूँ त, कसले किन्दोरहेछ यो घर, किन्नेको लास गिराइदिन्छु । यो हाम्रो पार्टीले कब्जा गरेको घर हो ।' मूर्खहरूको यो सम्बोधनले किन्नेहरू पनि हच्किए । हो पनि अहिले जीवनभन्दा मृत्यु सस्तो छ । उनले सोचे- इमान्दारहरूको बस्तीमा एउटा अपराधीको घर रहेछ आˆनो घर, जसलाई सबैले घृणा गरिरहेका छन् । अन्ततः केही नलागेपछि घर नै छाड्ने निधो गरे उनले ।

करिब दुई वर्षदेखिको मानसिक तनावमा थिए शिशिर सर । हिजोका आफ्नै मित्र र शुभचिन्तकहरूबाट अनावश्यक गालीगलौज, अपशब्द प्रयोगले डिप्रेसनको शिकारसमेत भए उनी । भाटे शरीर भए पनि कहिले कुनै विरामीले नछोएको उनले अनावश्यक किचलोका कारण मानसिक विरामीको औषधिसमेत खान पर्‍यो । एकाएक उनीभित्रको कामप्रतिको एकाग्रता स्वात्त घट्यो । उनी एउटा अभियुक्तजस्तै भए अरूका दृष्टिमा, उनलाई अर्को आरोप लाग्यो । हाम्रो जातप्रति पूर्वाग्रही भए शिशिर सर, उनले हाम्रा छोराछोरीलाई पढाउनसमेत छाडे । त्यसपछि एकाएक घोरिन थाले उनी । एकान्तपन उनको साथी बन्यो ।

कहिलेकाहीँ त उनलाई लाग्थ्यो, यो घरलाई नै आगो लगाएर हिँडूँ । तनावमा आएर एक दिन त घरमा समेत आगो लगाउने प्रयास गरेका थिए उनले । धन्य गुरुआमाले देखिन् र दुर्घटना हुन पाएन । त्यस दिनको यो घटनाले गाउँमा एउटा हल्ला चल्यो- 'शिशिर सर बहुलायो, पागल भयो ।' तर कसैले सोधेन- शिशिर सर किन बहुलायो, किन पागल

भयो ? उसलाई बहुला बनाउने को हुन् ? अति भएपछि गुरुआमाले सम्झाइन उनलाई - 'यसरी सधैँ बाँच्न सकिँदैन, बरु गाउँ नै छोडौँ । यसरी आवेशमा आएर आफ्नै घरमा आगो लाउने हो भने अरू र आफूमा के फरक रहृयो र जसरी उनीहरूले अहिले आत्मीयता मानवतामा डढेलो लाएका छन् ।' हो पनि आफूले माया र विश्वास गरेकाहरूबाटै आफूमाथि निर्मम प्रहार हुन्छ भने त्यो माया र विश्वासको अर्थ नै के हुन्छ ? र आज उनी सधैँका लागि आफ्नो घर छाड्दै छन्, गाउँ, समाज र छरछिमेकी छाड्दै छन् । आफूले खाँदै गरेको जागिर छाड्दै छन् ।

'निर्मला हिँड ।' सामान लोड गरेको ट्रयाक्टर हिँड्ने तयारीमा छ । उनीहरू हिँड्ने तयारीमा छन् । एकाएक उनीहरूले पालेको कुकुर शिशिर सरको खुट्टा वरिपरि लुटपुटिन आइपुग्यो । शिशिर सरले कुकुरलाई मायाले सुमसुम्याए । उनले सोचे- सँगै बसेको एउटा पशुले त छुट्टनि लाग्दा नमिठो मान्छ तर हामी मान्छे कति क्रूर ! कति दयाहीन ।' फेरि एकाएक उनको आँखामा ती दृश्यहरू नाच्न थाल्यो, सबै मिलेर महाकवि देवकोटा र कोकिलपति विद्यापतिको सालिक स्थापना गरेको दिन । रङ्गभेद जातिभेदलाई डाँडा कटाएको दिन । पहाडे-मधेसेले आत्मीय र सद्भावको अँगालो मारेको दिन । अनि लोकतन्त्र प्राप्तिपछि तीनै हातहरूले सत्तालिप्त स्वार्थी नेताहरूका उक्साहटमा फलामे हतौडाले आफूहरूले नै निर्माण गरेको कवि देवकोटाको सालिक भत्काएको दिन ।

उनको सोचाइको गति अझ बढ्यो, उनले फेरि सम्झे राजनीति र साहित्यबीचको अन्तर, साहित्यले मान्छेको मन र मुटु जोड्छ भने राजनीतिले फुटाउँदो रहेछ । कुकुर अझै उनीसँग लुटपुटिइरहेको छ । गाउँलेहरू परैबाट अवाक हेरिरहेका छन्, कोही बोलिरहेका छैनन् । सधैँ एकाध घन्टा बाहिर जाँदा पनि- 'प्रणाम सर !टाढै ?' भनेर सोध्नेहरू पनि टुलुटुलु मूकदर्शक भएर हेरिरहेका छन् उनीहरूलाई । त्यति नै बेला एउटी सोह्र/सत्र वर्षे किशोरी दौडिँदै आइपुगी शिशिर सर नजिक । श्रद्धालु टाउको सरको अगाडि झुकाइ उसले । उसको टाउकोमा हात राखेर आर्शीवाद दिए शिशिर सरले । आँखाबाट र्झन आतुर मायाको आँसुलाई उनले रोक्न सकेनन् । उनको आँखा आँसुले भरियो । नदेखिने गरी हत्केलाले पुछे उनले । नचाहँदा नचाहँदै पनि आँसुको दुई थोपा कलावतीको अनुहारमा पर्‍यो । पुलुक्क उसले शिशिर सरलाई हेरी ।

'कलावती ! हामी जाँदैछौ, यो गाउँमा हामीलाई यति नै बस्न लेखेकोरहेछ, राम्ररी पढ्नु ।' सर भक्कानिए ।

'सर ! यसपालि म फेल हुन्छु, मलाई कसले पढाउँछ ? १४ गतेदेखि एक्जाम छ ।' आँखाभरि आँसु पारी कलावतीले ।

'तँ मेहनती छेस् छोरी ! राम्ररी पढ, पास हुन्छेस् बरु तेरो प्रगतिको खबर सुनाउँदै गर्नु, मेरो मोबाइलको नम्बर छ नि तँसँग !' उनले सोधे ।

'...........कलावती केही बोलिन, छ को भावमा उसले मात्र टाउको हल्लाई ।

'ल त्यसैमा फोन गर्नु ।' त्यति मात्र भन्नसके उनले । फेरि कलावती प्रसङ्ग उनको मथिङ्गलभरि घुम्यो । तेहै्र वर्षको उमेरमा बिहे गरिदिन लागेका थिए उसका बाबुआमाले कलावतीको ।

 

'सर ! म अहिले बिहा गर्दिनँ, पढ्छु् म आˆनो खुट्टामा आफैँ उभिन्छु सर ' घरमा केटाहरू उसलाई हेर्न आएपछि रुँदै गुहार माग्न आएकी थिई कलावती उनीसँग, र एउटा विद्रोह गरेकी थिई उसले बालविवाह विरूद्ध । त्यतिबेलाको ऊभित्रको आँट शिशिर सर थिए र यही विषयलाई लिएर गाउँमा पञ्चायती बसेको थियो । जसको वकिल थिए उनी । यो गम्भीर मुद्दामा कलावतीले जितेकी थिई । त्यसपछि कलावतीको साहस गाउँभरि एउटा नजिर बन्यो । त्यस दिनदेखि गाउँमा उमेर नपुगी छोरीको विवाह गर्ने साहस कसैले गरेनन् । अहिले कलावती आइ. एड. पढ्दैछे र एउटा सरकारी प्राथमिक स्कुलमा पढाउँछे, यो श्रेय ऊ शिशिर सरलाई दिन्छे, अरूको दृष्टिमा जातीय शत्रु भए पनि शिशिर सर कलावतीका लागि एउटा आदर्श गुरु हुुन्, भगवान् हुन् । उसलाई यहाँसम्म पुर्‍याउन सरको ठूलो हात छ ।

समनपुर यो गाउँमा आउँदा शिशिर सर बीस/एक्काइस वर्षका थिए । त्यतिबेला नि. मा. वि. को मास्टर भएर आएका थिए उनी । पछि त्यही स्कुल मा.वि. भयो, कलेज भयो । यसको श्रेय शिशिर सरलाई जान्छ तर एकाएक साम्प्रदायिकताको डढेलो लाग्यो यो गाउँमा । आत्मीयता, आपसी भाइचारा र सद्भाव सबै हरायो । राजनीतिले अनाहक एक अर्काबीच द्वन्द्व निम्त्यायो । जातजातबीचको द्वन्द्व । धर्म-सस्कृतिबीचको द्वन्द्व । पहाडे-मधेसेबीचको द्वन्द्व । चुच्चे-नेप्टेबीचको द्वन्द्व । शान्त र शालीन नागरिकका पोखरीमा स्वार्थको माछा मार्न षड्यन्त्रका जाल फ्याकेँ शकुनीहरूले, जसलाई सबैले बुझे र पनि बुझेनन् ।

'विष्णु काका प्रणाम !'

'दीना बाबु प्रणाम !'

'छोट्की मौसी प्रणाम !' हिँड्नुअघि शिशिर सरले विदाइको श्रद्धालु हात उठाए सबैसामु । उनी नतमस्तक भए, आफ्नो पि्रय गाउँप्रति, गाउँलेप्रति । जहाँ उनले जीवनको आधा समय समर्पण गरेका थिए, उनको शैक्षिक योगदान अविस्मरणीय थियो तर उनको अभिवादनको प्रत्युत्तरमा कसैको हात उठेन । मौन सालिक भएर हेरिरहे उनलाई । शिशिर सरलाई थाहा छ गाउँलेहरू त्यस्ता थिएनन् । विष्णु काका त्यस्ता थिएनन्, दीनाबाबु, किसना, मङ्गलु, नरेन्दरबाबु त्यस्ता थिएनन् । गोपिया, बद्रीनाथ, छोटकी मौसी चौधराइन माई, यादवदादी, पासवान चाचाहरू त्यस्ता थिएनन्, सबैको पि्रय थिए उनी । आˆनो मिलनसार स्वभावका कारण सबैसँग मिलेर बसेका थिए । यो गाउँ समावेसी सद्भावको नमुना थियो । गाउँमा जब साम्प्रदायिकताको डढेलो लाउन आˆनो व्यक्तिगत स्वार्थ बोकेका विभिन्न दलका नेताहरू छिरे, यो शान्त गाउँलाई कुरुक्षेत्र बनाए, कलहको बीउ रोपे र षड्यन्त्रको महाभारत रचे । जसमा होमिए निरीह नागरिकहरू ।

बिर्सुभन्दा पनि गाउँमा व्यतीत गरेका ती दिनहरू शिशिर सरका मथिङ्गलमा फनफनी घुमिरहृयो । एकाएक भावुक बने उनी । झलझली उनको आँखामा विगतका ती दृश्य र संवाद नाचिरहृयो । एकोहोरिए उनी ।

'मास्टरजी ! मेरो छोट्की बेटीको तबिगत खराब भो, देखिदिनुस् न ।' आग्रहसँगै घरमा भएका प्राथमिक उपचारका औषधि दिएर मास्टर शिशिर शर्मा गाउँका डाक्टर बन्थे ।

'मेरो बेटाले मेटि्रक पास गर्दैन सर ! उसलाई के गर्नु ?'

'ल मेरो घरमा बिहानबिहान पठाइदेऊ, म पढाइदिउँला ।' त्यस बेला शिशिर सर निःशुल्क ट्युसन सेन्टरका गुरु बन्थे ।

'सर ! धनिकलालसँग मैले जग्गाको बैना गर्नु छ, कुन लिखन्दास लाउ"m ?' गाउँले समस्या निवारणका लागि तत्कालै हातमा फुलस्केप कागज र कलम बोकेर लेखनदास बन्थे शिशिर सर ।

'सरको नाममा मेरो बेटाले कतारबाट क्याम्पुटर मुनि टाँसपुटबाट पैसा पठाएको छ , झिकिदे न सर !' सबैको सेवक बन्थे ।

'दीना काका ! मैले एउटा सानो घडेरी किन्ने भएँ, अलिकति पैसा सापट चाहियो ? म ब्याजै तिरुँला ।' दीना काकासँग आग्रह गर्थे उनी ।

'लैजा न मास्टर ! कति पैसा चाहिन्छ तँलाई, आˆनो बेटासँग पनि कसैले ब्याज लिन्छ, म सूदखोर हुँ ।' आवश्यक पैसा सापट दिंदै हाँस्थे दीना काका ।

हिजोसम्म टोलमा तरकारी किन्न पर्दैन थियो उनले, दूध आधा दाममा पाउँथे । त्यहीँ उनका दुईदुई सन्तान हुर्किए, बढे र अहिले काठमाडौँमा उच्चशिक्षा आर्जन गर्दैछन् ।

हामीले यसैका लागि यत्रो सङ्घर्ष गरेका थियौँ ? हामीले गरेको सामूहिक आन्दोलन, भोगेको जेलनेलको उपलब्धि यही थियो । गहिरो चिन्तनमा एकाग्र भएर विगत सम्भिmँदा टननन टाउको दुख्थ्यो उनको । असहृय भएर उनी टाउको छाम्थे र झस्किन्थे । आन्दोलनमा इन्कलाबको हात उठाउँदा सत्र टाँका लगाउनु परेको थियो उनको टाउकोमा । झन्डैझन्डै मृत्यु भोगेका थिए उनले । उनीमाथि प्रहरीको निर्मम प्रहार भएपछि एकाएक ढलेका थिए उनी । जसलाई यिनै गाउँलेहरूले नै उपचारका लागि बोकेर अस्पताल पुर्‍याएर बचाएका थिए । आन्दोलनमा उनलाई समाउन प्रहरी र सैनिकहरू आउँदा गाउँलेहरू घरको खाटमुनि, धानको भकारी, माटोको कोठीभित्र लुकाउँथे उनलाई र जोगाउँथे तर अहिले यही गाउँमा सबै कुराबाट हटक भए उनी ।

'तपाईंको खुनले मेरी गुरुआमा बाँची नरेन्द्रर बाबु ! नत्र गुरुआमा मर्थी ।' नरेन्द्र बाबुलगायत सम्पूर्ण गाउँलेप्रति अनुगृहीत थिए शिशिर सर । यो गाउँ आदर्श गाउँ थियो । एकअर्काप्रतिको सद्भाव, आत्मीयता, सहयोग उदाहरणीय थियो सबैका लागि । सबै भन्थे-' आदमी हुनु त सरजस्तो ।' गाउँलेको यस्तो आत्मीय वाणी सुन्दा आनन्दित हुन्थे उनी । उनको र उनको परिवारको स्वभाव सर्वत्र प्रशंसनीय थियो । एकाएक समय फेरियो र क्रमशः घट्दै गयो सद्भाव र आत्मीयता ।

'ए निकाल यसलाई । यो हाम्रो जातको होइन, यसलाई यो टोलमा बस्न दिनहुन्न ।'

'यसको घरमा आगो लगाओ, यिनीहरूले नै गर्दा हामी माथि पुग्न सकेनौँ ।'

'यिनीहरूले हामीलाई शोषण गरे । सबै माथिमाथि गभर्नर, सचिव सबै यिनकै जातका छन्, हाम्रो जातको छ ?' अचम्म अचम्मका कुरा गर्न थालेका थिए गाउँलेहरू, जुन गाउँमा आएका नेताहरूले फलाकेका साम्प्रदायिक वाणीको नवीकरण गर्थे उनीहरू ।

'काका ! यो सचिव, गभर्नर, राजदूत पोस्ट गुलीडण्डा खेलेर पाइने पोस्ट होइन । धेरै पढ्नुपर्छ, पढेर पनि सबैसँगको टक्करमा जितेर आउनुपर्छ, नेताजस्तो ठगठाग पारेर पाउने पोस्ट होइन । मलाई पनि सच्ािव, गभर्नर हुने मन थियो नि काका, के गर्ने लोकसेवा नै पास गर्न सकिएन, यो आ-आˆनो नसिब हो ।' उनीहरूका कुरा सुनेर गाउँलेलाई सम्झाउँथे शिशिर सर तर उनको कुरा कसले बुझने ? साम्प्रदायिकताको डढेलो लागेको थियो गाउँभरि । अकारण एकाएक आक्रोश उनीमाथि खनिन्थ्यो । एउटा क्रूर र विवेकहीन समय भोगे उनले । विचरा के शोषण गर्नु उनले । तीस वर्ष कलेज पढाउँदा एउटा अनकन्टार गाउँमा एउटा चार कोठाको घर जोडे । एउटी लिखुरी रोगी स्वास्नी जोडे । दुई छोराछोरी जोडे । एक दुई साइकिल जोडे त्यति मात्र न हो । यहाँ एक वर्षमा महल जोड्नेहरू छन् । पजेरो जोड्नेहरू छन् । उनीहरू नै राष्ट्रका विशिष्ट नागरिक भएका छन्, प्रतिष्ठित व्यक्तित्व भएका छन् । विचरा शिशिर सर के हुनु, हिजोजस्तो थिए, आज पनि उस्तै छन् ।

'बाबा ! ओर्लिऊँ, ओर्लिने ठाउँ आयो ।' घच्याक्क ट्रयाक्टर रोकिएपछि र गुरुआमाले घचघच्याएपछि उनी झस्किए, उनको आधा जीवनसँग गाँसिएको पि्रय गाउँ सम्झनाको धमिलो कुहिरोमा धेरै पर छुटिसकेको थियो ।

॰[स्रोत: मधुपर्क]

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom