गीतिनाटक 'खोता सिँगार'को मञ्चन

८ फेब्रुअरी, सुनसरी/ मिथिला नाट्य कला परिषद् जनकपुरधामले मैथिली भाषाको गीतिनाटक 'खोता सिँगार' शनिबार इटहरी नगरपालिका प्रांगणमा मञ्चन गर्‍यो । रमेशरञ्जन झाको लेखन तथा निर्देशनमा दुई वर्षअघि निर्माण गरिएको खोता सिँगारले इटहरीवासीको नाटक हेर्ने वर्षांदेखिको भोक मेटाएन मात्र नाटकले संगीत नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपति अम्बर गुरुङ तथा इटहरीवासीलाई समेत रुवाउन सफल भएको थियो ।

झन्डै चार सय दर्शक उपस्थित भएको खोता सिँगार हेर्ने मौका नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानले जुराइदिएको थियो । नाटकमा पस्किएको विषयनस्तु, राष्ट्रवाद र कथाअनुसार गीतका कारण कुलपति गुरुङका आँखाबाट आँसु बगेको थियो । आफ्नी पत्नीको सहयोगमा नाटक हेर्ने आएका कुलपति गुरुङ्गले नाटकको बिषयबस्तुसंग मिल्ने गीत गुञ्जदा जोसिएर ताली पनि बजाएका थिए । नाटकको अन्ततिर कलाकारले गीति अभिनयद्वारा गणतन्त्र बचाउन गरेको आग्रह र सुन्दर शान्त नेपालको कल्पना भरिएको नयाँ नेपालको जय नेपाल.....जय नेपाल बोलको गीतको भावमा गुरुङका आँखाबाट आँसु बर्सिर्एका थिए ।

कुलपति गुरुङले नाटक सकिनासाथ नाटकका लेखक तथा निर्देशक रमेशरञ्जन झालाई अंकमाल गर्दै यस नाटकलाई देशका हरेक स्थानमा पुर्‍याउनुपर्ने सल्लाह दिएका थिए । उनले यसबारेमा काठमाडौं फर्किएपछि नवनिर्वाचित प्रधानमन्त्री झलनाथ खनालसँग कुरा राख्ने वचन पनि दिए । गुरुङले आफूले यो उमेरसम्म आइपुग्दा यतिको सशक्त गीतिनाटक हेर्न नै नपाएको प्रतिक्रिया दिएका थिए ।

अहिलेसम्म तराईका विभिन्न तीन सय स्थानमा मञ्चन गरिसकिएको आफ्नो नाटकले नेपालमा रहेका सबै जाति, वर्ग, लिंग मिलेर बस्नुपर्ने सन्देश प्रस्तुत गर्न खोजेको निर्देशक रञ्जन बताउँछन् ।

नाटक हेरेपछि अनाम नाट्य समूह धरानका सुवास थापाले यस नाटकलाई अन्य भाषामा पनि देशव्यापी रूपमा मञ्चन गर्नुपर्ने प्रतिक्रिया दिए । उनले यस्ता नाटक बनाउने संस्था र कलाकारलाई राज्यले विशेष महत्त्व दिनुपर्ने बताए ।

निर्देशक रञ्जनले खोता सिँगार निर्माण गर्न ६ महिना लागेकोे बताए । उनले नाटक तराई क्षेत्रमा मञ्चन गर्दा आफूलाई अनेकौँपटक ज्यान मार्ने धम्कीसमेत आएको खुलासा गरे । उनका अनुसार नाटकले पहाडे समुदायको सपोर्ट गरेको भन्दै मञ्चनका लागि तयारी गरिएको स्थानमै आएर तराईमा सक्रिय भूमिगत संगठनले कलाकार तथा आफूलाई समेत थुप्रैपटक ज्यान लिने धम्की दिएका थिए । नाटकमा सुनील मिश्र, रामनारायण ठाकुर, मदन ठाकुर, परमेश झा, विष्णुकान्त मिश्र, रन्जु झा, रवीन्द्र झा, धनश्याम मिश्र, रीना रिमाल, मुकेश ठाकुर स्नेहालगायत कलाकारले अभिनय गरेका थिए ।

(Source: Naya Patrika Daily)

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom