अम्बर गुरुङलाई नागरिक अभिनन्दन


फेब्रुअरी ५, सुनसरी/ वरिष्ठ संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान नेपालका कुलपति अम्बर गुरुङलाई पूर्वाञ्चलवासीका तर्फबाट शुक्रबार सुनसरीको इटहरीमा नागरिक अभिनन्दन गरिएको छ । पूर्वाञ्चलको इटहरी नगरपालिकाले उनलाई पूर्वाञ्चलवासीका तर्फबाट नगद ७५ हजार पाँच सय ५५ सहित अभिनन्दन गरेको हो ।

इटहरी नगरपालिकाभित्र बनाइएको विशेष मञ्चमा अभिन्नदन गर्नुअगाडि वरिष्ठ संगीतकर्मी गुरुङ र उनकी पत्नी बीनालाई सयपत्री फूल लगाइदिएर विशेष तरिकाले बनाइएको रथमा सशस्त्र प्रहरी ब्यान्ड र नौमती बाजाका साथ नगर परिक्रमा गराइएको थियो । संगीतकर्मी गुरुङलाई वरिष्ठ भाषाशास्त्री बालकृष्ण पोखरेलले अभिनन्दन-पत्र प्रदान गरेका थिए । नगद भने अभिनन्दन समारोह मूल समितिका संयोजक इटहरी नगरपालिकाका कार्यकारी अधिकृत गणेशप्रसाद दाहालले प्रदान गरेका थिए । गुरुङलाई प्रदान गरिएको नगद इटहरी क्षेत्रका क्याम्पस र निजी विद्यालयले संकलन गरी थैलीका रूपमा अभिनन्दन समितिलाई प्रदान गरेका थिए । उनलाई 'द सेड्स, बुद्ध गुम्बा तमु सेवा समितिले पनि सम्मान-पत्र प्रदान गरेका थिए ।

रथयात्रामा इटहरी नगरपालिकाका सयभन्दा बढी जातीय तथा सामाजिक संघ-संस्थाको सहभागिता थियो । पूर्वको लोकपि्रय मानिएका मारुनी, हुर्रा, सन्थाल, पूर्वेली स्ाोराठी, धिमाल, थारू, कौरा, झाँगड, झुमरा, रोइला, बाला र खाँडो जगाउनेलगायतका नृत्य प्रस्तुत गरिएको अभिनन्दन समारोहमा आफ्नो भनाइ राख्दै भाषाविद् पोखरेलले संगीतकर्मी गुरुङ एकेडेमीभित्र मात्र सीमति नरहेको उल्लेख गरे । उनले सांस्कृतिक नयाँ वर्षका दिन गुुरुङलाई अभिनन्दन गर्न पाउँदा आफू हर्षविभोर भएको बताए ।

भाषाविद् पोखरेलले राष्ट्रका स्रष्टाहरूलाई नागरिकस्तरबाट सम्मान गर्ने परम्पराको थालनी पूर्वकै केन्द्र बिन्दु इटहरीले गरेकोमा खुसी व्यक्त गर्दै यस्तो महत्त्वपूर्ण कामबाट देशका अन्य नगर, गाउँ र सहरले पाठ सिक्नुपर्ने बताए ।

सुनसरीको प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले इटहरीवासीले थालनी गरेको राम्रो कामले राष्ट्रलाई अग्रगामी मार्गतर्फ लैजाने विश्वास व्यक्त गरे । उनले नागरिकका तर्फबाट अभिनन्दित भएका संगीतकर्मी गुरुङको दीर्घायुको कामना पनि गरे ।

अम्बर गुरुङ नागरिक अभिनन्दन समारोह समितिका संयोजक तथा इटहरी नगरपालिकाका कार्यकारी अधिकृत गणेशप्रसाद दाहालले नगरवासीका सहयोगबाट राष्ट्रिय गीतका संगीतकार गुरुङलाई भव्य रूपमा नागरिक अभिनन्दन गर्न पाउँदा नगरवासीको शिर उँचो भएको महसुस गरेको बताए । नागरिकका तर्फबाट अभिनन्दित भएपछि आफ्नो भनाइ राख्दै गुरुङले भने, 'मैले इटहरीवासीबाट पाएको माया र सम्मान सञ्जीवनीसरह छ । म यस सम्मानलाई आफ्नो मनमा सजाएर राख्नेछु ।' अस्वस्थताका कारण मञ्चमा बसेरै आफ्नो भनाइ राखेका गुरुङले संगीत यन्त्रहरू नै आफ्नो देउता भएको बताउँदै उनले भने, 'म नेपाली संगीतको आफ्नै परिचय स्थापित गराउने अभियानमा लागिपरेको छु । मेरा प्रयासले मूर्त रूप लेला, नलेला थाहा छैन । तर, मेरो चेतनाले साथ दिएसम्म म निरन्तर प्रयास गर्नेछु । यो सम्मानले ममा नयाँ ऊर्जा प्रवाहित भएको अनुभूति गरेको छु ।'

(Source: Naya Patrika)

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom