Loading

सेतो बाघपछि बल्ल मैले निर्णय गरेँ 'अब लेखक बन्छु'

२०१७ साल पुस १ गते। हनुमानढोकास्थित नेपाल राष्ट्र बैकबाट घर खर्चका लागि पैसा निकालेर बाहिर के निस्किँदै थिए, एकजना शुभचिन्तकले बाटोमै रोकेर भने, 'ल, तपाईं यहाँ। वहाँ सबै कांग्रेसीलाई पुलिसले धमाधम समातेर लाँदैछन्।'
म चकित।
रातिसम्म कुनै गाइँगुइँ थिएन।
म तरुण दलको पहिलो अधिवेशन हुन लागेको टुँडिखेलतिर दौडिएँ। बाटोमै एउटा पुलिस करायो, 'समात यसलाई, समात।'
खासमा त्यतिबेला के भएको थियो भने, पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको लोकप्रियताका कारण थुप्रै विदेशी राष्ट्रले नेपालको विकासमा सहयोग गर्ने आश्वासन दिएका थिए। त्यतिबेला बिपीको एउटै राजनीतिक एजेन्डा थियो, देश विकास।
म पाटन जिल्ला कांग्रेसको अध्यक्ष थिएँ। बिपीसँग बारम्बार भेट भइरहन्थ्यो। उहाँ अलिकति असमञ्जसमा हुनुहुन्थ्यो। विदेशी दाताहरूबाट विकासका नाममा आउने त्यति ठूलो रकमलाई कसरी प्रभावकारी रूपमा विनियोजन गर्ने भन्ने उहाँलाई ठूलो चिन्ता थियो। उहाँले एउटा सोच बनाउनुभएको थियो, १० हजारभन्दा माथिको योजना कार्यान्वयन गर्दा इन्जिनियरको अनिवार्य स्वीकृति लिनुपर्ने। त्यतिबेला नेपालमा चारजना मात्र इन्जिनियर थिए।
मलाई पर्‍यो फसाद। पाटन जिल्लाका लागि मात्र ८० हजार रुपैयाँ बजेट छुट्टयाइएको थियो। त्यतिबेला पाटनका बासिन्दा मलाई भगवानजस्तै मान्थे। जिल्ला अध्यक्ष भएकोले होला। फेरि बजेट बनाउँदा जिल्ला अध्यक्षको अनुमतिले मात्र खर्च गर्न पाउने नियम थियो। मेरो योजना थियो, पाटन क्षेत्रमा बाटो बनाउने र इनारको व्यवस्थापन गर्ने।
तर, १० हजारभन्दा माथिको योजनाका लागि इन्जिनियर नै चाहिने बाध्यता बनेपछि एकदिन म सिधै प्रधानमन्त्री क्वार्टर गएँ। त्यहाँ बिपी विकास योजनामा घोत्लिरहनुभएको रहेछ। सिधै भनेँ, 'सबै कुरा ठिक छ। तर, १० हजारभन्दा माथिको प्रोजेक्ट सञ्चालन गर्न इन्जिनियरको अनुमति चाहिने कुरा मलाई चित्त बुझेन।'
मेरो तर्क थियो, नेपालमै जम्मा चारजना इन्जिनियर छन्। तिनले कतामात्र हेरुन्? फेरि विकास शीर्षकमा विनियोजन गरेको पैसा समयमा खर्च गर्न नसके फिर्ता आउँथ्यो। मलाई पाटनका बासिन्दाले आफूप्रति देखाएको विश्वासअनुरुप आफ्नो क्षेत्रमा काम गरेर देखाउनुपर्ने थियो।
बिपी रिसाउनुभयो। सायद त्यतिबेला यो कुरा उठाउने उपयुक्त ठाउँ र समय थिएन कि!
मलाई लाग्छ, राजा महेन्द्रले पुस १ को कदम उठाउनुमा बिपीको चुलिँदो लोकप्रियता नै मुख्य कारण थियो। महेन्द्रलाई भान परेको हुनुपर्छ, 'यसले विकासको एजेन्डा अघि बढाए सबै सखाप पार्छ।'
आखिर शाही 'कू'पछि नेपालको विकासमा सहयोग गर्ने बाचा गरेका थुप्रै देश पछि हटे।
............

सबैलाई अचम्म लाग्न सक्ला, डायमनशमशेरले राजनीतिक गफ किन गरिरहेको छ। वास्तवमा म लेखकका रूपमा उदाउने कडी नै २०१७ सालको त्यो राजनीतिक परिघटना थियो।
पक्राउ परेको ७/८ दिन म श्रीदरबारमा थुनिएँ। त्यहाँ ममात्र होइन, थुप्रै कांग्रेसी कार्यकर्ता थुनिएका थिए। तर, राजाको कदम सही छ भन्दै केही दिनमै थुप्रै रिहा भए। मेरो विषयमा पनि धेरैलाई भ्रम परेको रहेछ - राणा परिवारमा जन्मिएको। केही दिन जेलको हावा खान्छ, त्यसपछि गलिहाल्छ।
एकदिन एउटा सुरक्षाकर्मी भन्न आएको थियो, 'सबैले ठिक छ भनिसके। तपाईंमात्र किन? राजाको कदम ठिक छ भन्नू, तपाईंलाई छाडिदिन्छौं।'
मेरो उत्तर थियो, 'बिपीले ठिक छ भन्नुभयो भनेमात्र मान्छु।'
त्यसपछि मेरो सरुवा भयो, नख्खु जेलमा। त्यहाँ दुई सय हाराहारीमा कांग्रेसी कार्यकर्ता थिए। जेलमा सरकारी जासुसहरूको ठूलो चलखेल थियो। तर, म गलिनँ।
६ वर्ष नख्खुमा बसेपछि एउटा अविस्मरणीय कृति बोकेर आएँ।
............

पुस १ गते घरखर्च निकाल्न बैंक हिँडेको म बाटोबाटै पक्राउ परेको थिएँ। त्यो पैसा मैले आफ्नो परिवारलाई दिन पनि पाएको थिइनँ।
मेरो बारेमा तीन महिनासम्म परिवारका कुनै सदस्यलाई जानकारी दिइएको रहेनछ। उनीहरू अत्तालिएछन्, जेलभित्रै मारे कि क्या हो! उनीहरूले धेरैपछि मात्र मलाई नख्खुमा राखिएको थाहा पाएछन्। कताबाट भनसुन गरेर एकदिन भेट्न आएका थिए।
पक्राउ परेको ४/५ महिना जेलमा एउटा किताब पनि पढ्न दिएनन्। त्यतिबेला निकै दिक्क भइयो। त्यसैले, जेल परेको २/३ महिनामै लेख्न सुरु गरिहालेँ। जेलमा दैनिकजसो राजाको मान्छे आउने। भन्थे, 'राजाको समर्थन गर।'
मेरो उत्तर हुन्थ्यो, 'हामीले राजाको विरोध कहिले पो गरेका छौं र?'
त्यसपछि भन्थे, 'मैले बिराएँ। राजाले भनेको मान्छु भन्।'
म सोध्थेँ, 'मैले के बिराएको छु र?'
त्यसपछि उनीहरू मेरो 'बुद्धि आएको छैन' भन्दै जान्थे। जेलका सुरुका दिनमा म निकै अन्योलमा थिएँ, के विषयमा लेख्ने?
एकदिन राति यसो विचार गरेँ- राजाको विषयमा लेख्यो भने लेख्नै दिँदैनन्। अझ बढी टर्चर गर्छन्। राणा शासनको बारेमा आफू पनि जानकार। किन राणाहरूकै बारेमा नलेख्ने?
राणा शासनको इतिवृत्तान्त लेख्ने क्रम यहीँबाट सुरु भयो।
जेलमा काम हुँदैनथ्यो। तीन पेज लेखेपछि फेरि पुनःलेखन गर्थें। २/३ महिना लेखेपछि फेरि पढ्थेँ। मिलेनजस्तो लाग्यो भने फेरि सुरु गर्थें। त्यतिबेला मेरो दैनिकी नै हुन्थ्यो, बिहान ६/७ बजे उठ्ने र लेख्न बसिहाल्ने। खाना र दिसापिसाबबाहेक राति १२ बजेसम्म अनवरत लेखिरहन्थेँ। दिउँसो खाना खाएपछि भने २ घन्टा आराम गर्ने बानी थियो।
त्यतिबेला तारणीप्रसाद कोइराला पनि हामीसँगै जेलमा थिए। उनी पनि शब्दकोष लेख्न तल्लिन थिए। म सुत्ने कोठामा ४ वटा खाट राखिएको थियो। जसमा भक्तपुरका एकजना श्रेष्ठ थर भएका व्यक्ति पनि थिए। उनलाई ४० वर्ष जेल सजाय सुनाइएको रहेछ।
वास्तवमा उडुस भन्ने किरा मैले पहिलोपल्ट जेलमै देखेँ। एकदिन लेख्न बसिरहेको थिएँ, जीउमा किराले च्वास्स टोकेजस्तो भयो। म अत्तालिएर कराएछु, 'बिच्छीले टोक्यो।'
सत्य कुरा भन्ने हो भने, त्यतिबेलासम्म मैले बिच्छी पनि देखेको थिइनँ। खाली अरूले भनेको सुनेको थिएँ, बिच्छीले नराम्ररी टोक्छ। मेरै कोठामा बस्ने अर्को साथीले भने, 'त्यो बिच्छी होइन्। उडुस हो। उडुस।'
यसो कुनातिर हेरेको, सयौंको संख्यामा उडुस रहेछन्। बाफ रे बाफ! मेरो सातोपुत्लो उड्यो। मलाई जेलमा बस्दा महिना दिनसम्म उडुसले बित्यास पार्‍यो। पछि अमेरिकी सहयोगमा जेलमा उडुस मार्ने औषधि ...डार्फ' आइपुग्यो। त्यसपछि बल्ल आरामले सुत्न र लेख्न पाइयो। त्यो औषधि नआइदिएको भए, सम्भवतः मेरो किताब लेख्ने अभियान बीचैमा तुहिन्थ्यो होला। जेलमा मेरो अर्को काम पनि हुन्थ्यो, पक्राउ परेका कैदीलाई अंग्रेजी र इतिहास सिकाउने।
त्यतिबेला खाना खानुअघि सबैलाई मसिनो चामल खुवाएको छ भन्ने विवरणमा हस्ताक्षर गर्न लगाइन्थ्यो। तर, ख्वाइन्थ्यो मोटो चामल। मलाई अचाक्ली लाग्यो। एकपल्ट मुखै खोलेर सोधेँ, 'के गरेको यस्तो?'
उनीहरूको उत्तर थियो- ...दुई सयजनालाई ख्वाउन मसिनो चामल नै पाइँदैन।'
जेलमा राति १२ बजेसम्म बत्ती बलिरहन्थ्यो। त्यसअघि बत्ती निभ्यो भने मेरो शरीर चिसो भएर आउँथ्यो। कैदीहरूलाई गोली ठोकेर मार्नुपर्‍यो भने १२ बजेभन्दा अगाडि नै 'मेन स्विच' निकालिदिन्थे सुरक्षाकर्मीहरू।
.............

म जेलमै छँदा बाहिर राजनीतिक घटनाक्रम फेरिएछ। सगरमाथाको उत्तरी मोहडा चीनको हो भन्ने स्वीकार गरेपछि राजा महेन्द्रको कदमलाई चिनियाँहरूले स्वागत गरेछन्।
६ वर्षपछि महेन्द्रले पनि राजनीतिक बन्दीलाई समात्ने नीतिमा केही लचकता देखाए। त्यसैले हुनुपर्छ, एकदिन म बसिरहेको ठाउँमा एकजना सुरक्षाकर्मीले पहिलेभन्दा सुधारिएको एउटा ड्राफ्ट ल्यायो, जसमा लेखिएको थियो- 'राजा मान्ने कि नमान्ने?'
त्यतिबेला पार्टीको लाइन पनि राजा मान्ने नै थियो। मैले 'ओके' गरिदिएँ। तैपनि ६/६ महिनामा पक्राउ पुर्जी थमाइन्थ्यो, त्यसैले जेलबाट छुट्नुअघि रानीपोखरीको मेजिस्ट्रेट अफिसमा ल्याउँदासम्म मलाई विश्वास थिएन, यसपालिचाहिँ पक्कै छुटिन्छ भन्ने।
सुरुमा लागेको थियो, तारेख बढाउन ल्याएका होलान्। तर, त्यहीँ काम गर्ने पूर्वकांग्रेसी कार्यकताले मलाई भन्यो, 'आज तपाईंलाई छोड्दै छन्।'
ऊ पहिले हामीसँगै पक्राउ परेको थियो। बीचमा राजाको कदम सही हो भनेर त्यहीँ जागिर पाएको रहेछ।
नभन्दै, हस्ताक्षर गराएपछि मलाई लिएर गएका सुरक्षाकर्मीले भने, 'तपाईं छुट्नुभयो। घर जानुस्।'
सुरुमा त पत्यारै लागेन, यति सजिलै कोही छुट्छ! म आफ्ना सबै सामान जेलमै छाडेर आएको थिएँ। त्यसैले सामान लिन जेल लागेँ।
सामान बोकेर बाहिर के निस्किँदै थिए, पछाडिबाट जेलर कराए। म फेरि झसंग। यसो फर्किएको त, म के देख्छु, जेलर मैले ६ वर्ष लगाएर लेखेको उपन्यासको बिटो बोकेर पो आउँदैछ। उसले नजिकै आएर भन्यो, 'डाइमनजी तपाईंले लेखेको किताब छुटेछ। लिएर जानुस्।'
मैले भनेँ, 'लान्नँ।'
ऊ एकछिन छक्क पर्‍यो। एकदम कर गर्‍यो। उसकै कुरा हार्न नसकेर पान्नाको मोटो बिटो बोकेर घर फर्किएँ।
मैले लेखेको पहिलो उपन्यास त्यही हो।
.............

जेलबाट छुटेपछि यत्तिकै घरमा बसिरहेको थिएँ। एकदिन साझा प्रकाशनका कार्यकारी व्यवस्थापकबाट खबर आयो, 'तपाईंले जेलमा एउटा उपन्यास लेख्नुभएको रहेछ। त्यो छाप्नुपर्‍यो।'
मैले उसको पुरा नाम त बिर्सिएँ। तर, थरचाहिँ पन्थीजस्तो लाग्छ। म चकित। यसले कसरी थाहा पायो, जेलमा लेखेको कुरा? त्यतिबेला मदनशमशेर र म निकै मिल्ने साथी थियौं। हामी दुवै साझाको अफिस गयौं।
त्यहाँ पुगेपछि पो उसले उपन्यासको बारेमा कसरी थाहा पाएछ भन्ने कुरा खुल्यो। जेलबाट छुटेर आउनेहरूले उसलाई भनेका रहेछन्, 'जेलमा डायमनशमशेरले दामी उपन्यास लेखेको छ।'
उसले पाँच हजार रुपैयाँ दिने प्रस्ताव राख्यो। म जेल बसेर टाट पल्टिएर आएको थिएँ, तुरुन्त 'हुन्छ' भन्देँ।
जेलबाट फर्किएदेखि मैले त्यो उपन्यास हेरेको पनि थिइनँ। घरको एउटा कुनामा फ्याँकेको थिएँ। हतारहतार खोजेँ। र, अलिअलि मिलाएँ। उसले दुई महिनाभित्रै मेरो त्यो उपन्यास लिएर गयो। केही महिनापछि नै मेरो हातमा पर्‍यो, ६ वर्ष जेलमा लेखेको उपन्यास- 'सेतो बाघ'।
उपन्यास सार्वजनिक भएपछि मैले ठूलो चर्चा पाएँ। तर, साझाले एउटै किताब बेच्न सकेन। मलाई पैसाको थप आवश्यकता पर्‍यो। पछि रत्न पुस्तकले पनि त्यो उपन्यास छाप्न आग्रह गर्‍यो। मैले दिएँ। त्यसपछि बल्ल सेतो बाघले चर्चा पायो। ६० रुपैयाँको किताब ...ब्ल्याक'मा बिक्री भयो।
म रातारात चर्चित भएँ।
.............

सेतो बाघ यति चर्चित भएछ, पञ्चायतकालमा एकरात एकजना मान्छे मेरो घरमा लुकेर आइपुग्यो। को हो, मैले चिनिनँ। उसले भन्यो, 'मलाई तपाईंको सेतो बाघ दिनुस् न। राजाको विरोधमा छ रे नि।'
एकपल्ट लेखकको हैसियतले युरोपको एउटा कार्यक्रममा भाग लिन गएको थिएँ। त्यहाँ मेरो किताबको खुब बखान भयो। एकजना जापानी विश्वविद्यालयमा पढाउने मान्छेले मलाई प्रस्ताव राख्यो, 'तपाईंको किताब उल्था गरेर छाप्न चाहन्छु।'
मैले 'ओके' भन्देँ।
केही महिनापछि उसले जापानबाट चेक पठायो। चेकमा रकम तोकिएको थियो, ७५ हजार। चेक साट्न बैंक पुगेको त म अत्तालिएँ। काउन्टरमा बस्ने बैकका कर्मचारी त मलाई नोट दिएको दियै गर्छ। पहिलोपल्ट यति धेरै पैसा देखेको। मैले पत्याइनँ। लाग्यो, यो पैसा मेरो होइन। मुटु ढुक्क फुल्यो। निधार चिटचिट गर्न थालिसकेको थियो। तर, बोल्ने आँट गरिनँ।

सबै पैसा पाएपछि त्यहाँबाट कुदेँ। घर पसिसक्दा पनि मलाई डर लागिरहेको थियो, कोही पैसा माग्न पछाडिबाट आउँदै छ कि? त्यसपछि मलाई फ्रान्सबाट पनि रोयल्टीबापत राम्रो पैसा आयो। फ्रान्स जाँदा त झन् ठूलो सम्मान पाएँ।
त्यसपछि म निष्कर्षमा पुगेँ, 'अब लेखक बन्नुपर्‍यो।'

(२०६६ साउन ३२ गते नवीन अर्याल र सन्तोष शर्माले डायमनशमशेर राणासँग उनको घरैमा लिएको अन्तर्वार्ता / साभार नागरिक दैनिक)

Comments