सागरभित्रको अनमोल मोति / प्रा.डा. शिवप्रसाद धौभडेल


नेपाली जनमानसमा प्रा. डा. दयानन्द बज्राचार्य एक सफल तथा लोकपि्रय वैज्ञानिकका रूपमा चिनिन्छन् । डा. बज्राचार्यलिखित हालै प्रकाशित पुस्तक 'अँध्यारोमा एक काँटी सलाई-जीवनमा विज्ञान' विज्ञान-प्रविधिसँग सम्बन्धित उनका ६३ लेख-निबन्धहरूको संग्रह हो । पुस्तकका सम्पादक हुन्- डा. इशान गौतम र प्रकाशक हो- रत्न पुस्तक भण्डार । यस पुस्तकले नेपाली जनमानसमा विज्ञान र प्रविधिको चेतना जगाउने प्रयास गरेको छ र यो यसको शीर्षकबाट पनि पुष्टि हुन्छ । पुस्तकमा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति बैरागी काइँलाको मन्तव्य, प्रा. डा. गोविन्दराज भट्टराईको भूमिका र डा. गौतमको सम्पादकीय रहेको छ भने पछाडि डा. कुमारप्रसाद कोइराला एवं पत्रकारहरू शेखर खरेल, नवराज लम्साल तथा अशोक सिलवाललगायतकाका टिप्पणी छन्, जसमा पुस्तकलाई हेर्ने भिन्न-भिन्न दृष्टिकोण पाइन्छ ।

पुस्तकमा नेपालमा विज्ञान प्रविधिको वर्तमान अवस्था र क्षमता विकास, विज्ञान र समाजबीचको सम्बन्ध, वैज्ञानिक चेतना र अन्धविश्वास, विज्ञान र शिक्षा, विज्ञान प्रविधिको विकासमा प्रज्ञाप्रतिष्ठानको भूमिका, विज्ञान प्रविधिको क्षेत्रमा भएका नवीनतम उपलब्धि तथा स्टेम सेल, जिन थेरापी, आनुवंशिक परिवर्तन गरी उत्पादन गरिएका खाद्यवस्तु (जेनेटिकली मोडिफाइड फुड), डिएनए परीक्षण, ब्रह्मान्डको उत्पत्ति, ईश्वरको अस्तित्वबारे वैज्ञानिकको दृष्टिकोण आदिजस्ता महत्त्वपूर्ण विषयसँग सम्बन्धित लेखहरू पढ्न पाइन्छ । साथै नोबेल पुरस्कारसम्बन्धी जानकारी र लेखकको ३१ नोबेल पुरस्कार विजेता वैज्ञानिकसँगको सत्संगका संस्मरण पनि पुस्तकमा पढ्न पाइन्छ ।

यसैगरी 'फूल जो हाम्रा होइनन् -सम्पादकसँगको सहलेखन)', 'ढिलो फुल्यो शिरीष', 'आइन्स्टाइनको पुनर्जन्म', 'विवाह, उमेर र विज्ञान', 'रोई विज्ञान मर्दैन' 'प|mेन्च प|mाई र जर्मनीको बस यात्रा', 'अँध्याराबाट उज्यालातिर', 'बुद्धबारे भ्रम', 'बिदेसिएका युवा', 'मन्त्रीको गाडीमोह', 'सुकिला मैला' 'जर्मनीमा विश्वकपको अनुभव'आदि विविध विषयका रोचक निबन्ध पनि पुस्तकमा समावेश गरिएका छन् ।

डा. बज्राचार्यका लेख-निबन्धहरू पत्रपत्रिकामा नियमित प्रकाशित हुने गरेका छन् । नेपालमा विज्ञान-प्रविधिका क्षेत्रमा लेख लेख्ने व्यक्तिको संख्या औँलामा गन्न सकिन्छ, तीमध्ये डा. बज्राचार्यलाई एक प्रमुख अगुवा लेखक भने पनि हुन्छ । उहाँको सरल लेखन शैलीबाट म ज्यादै प्रभावित भएको छु । ती ज्ञानबर्द्घक हुनुका साथै पढ्दा खासकिसिमको मजा आउँछ । 'अँध्यारोमा एक काँटी सलाई-जीवनमा विज्ञान' मा उहाँले आफ्ना राम्रा, मीठा र कतैकतै कटु भाषामा पनि आफ्ना तर्कलाई स्पष्ट रूपमा व्यक्त गरेको पाइन्छ । देशको प्रगति र समृद्घमिा विज्ञान र प्रविधिको भूमिका किन अपरिहार्य छ ? नेपालमा विज्ञान र प्रविधिको के कस्तो दयनीय स्थिति छ र देशलाई हाँक्ने पदासीन र ठुल्ठूला जिम्मेवार व्यक्तिहरूको विज्ञान र प्रविधिप्रति के-कस्तो अवहेलना छ ? भन्ने कुरा यो पुस्तक पढेपछि छर्लंगिन्छ । ती व्यक्तिहरूलाई नेपालमा विज्ञान र प्रविधिको आवश्यकता र यसको उठानमा कार्य गरिदिन बारम्बार आग्रह गरेको यस पुस्तकमा पढ्न पाइन्छ र त्यसलाई सबैले हृदयंगम गर्न जरुरी छ । यस अर्थमा डा. बज्राचार्य सुधारवादी विज्ञान लेखक हुन् ।

विज्ञान-प्रविधिजस्तो जटिल र 'निरस' विषयलाई सर्वसाधारणले बुझ्ने सरल भाषामा लेखेर डा. बज्राचार्यले नेपाली समाजलाई ठूलो गुन लगाएका छन् । यो रोचक पुस्तकले नेपाली जनमानसमा वैज्ञानिक चेतना अभिवृद्धि गर्न योगदान पुर्‍याउनेछ भन्ने आशा राखेको छु । पुस्तकबारे आफ्नो विचार व्यक्त गर्दै बैरागी काइँला भन्नुहुन्छ, 'योे महत्त्वपूर्ण कृति नेपाली पाठकका लागि हात लागेको सागरभित्रको अनमोल मोती नै हो ।' वास्तवमै डा. बज्ा्राचार्यको यो पुस्तक वैज्ञानिक एवं गैरवैज्ञानिक पाठक सबैका लागि अति उपयोगी, पठनीय र संग्रहणीय कृति हो ।

(लेखक रसायनशास्त्रका वरिष्ठ प्राध्यापक हुनुहुन्छ / स्रोत: नयाँ पत्रिका दैनिक)

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom