Loading

समारोह

हाम्रो कम्पनी अब कर्पाेरेट बनेको थियो। हामी देशका मल्टिनेशनल भनिने गन्तीका थोरै कम्पनीमा सामेल भइसकेका थियौं। प्रचारहरूमा हामी भन्दथ्यौं, “हाम्रो सफलता हाम्रो सङ्घर्ष हो।” कोही कोही यसलाई उच्च आकाङ्क्षाको मनोविज्ञान मान्दथे जुन हाम्रा लागि हानिकारक थिएन।

हाम्रो समूह गार्लिक ग्रुप अर्थात् जीजी भनेर प्रख्यात थियो। ग्रान्ड एसियन रिप्रेजेन्टेटिभ लिङ्क इन्स्टिङ्ट कोर अर्थात् गार्लिक। यस्तो पनि नाउँ हुन्छ? कहिलेकाहीँ लाग्दथ्यो, सङ्क्षेपमा गार्लिक समूह भन्न पाइने रमाइलोका लागि यस्तो कौतुकमय नाम राखिएको होला। तर, हामीलाई गार्लिक समूह भन्दा गर्व लाग्दथ्यो। यसले अब प्रसिद्धिको उचाइ छोइसकेको थियो। हाम्राबारे किम्बदन्ती बन्न थालेका थिए। तीमध्ये एउटा थियो, हाम्रा पुर्खाले लसुनबाट व्यापार थालेका। त्यस कारण यो समूह गार्लिक का नाउँले प्रख्यात भयो।

यसका कुनै दसीप्रमाण फेला त पर्दैनथे तर यसमा हामीलाई के आपत्ति? अहिले हामी के गर्दैनौं? केवल त्यो उच्च वर्गका लागि हुनुपर्दछ। हामी नेपाली कच्चा पदार्थ वा फिनिस्ड माल निर्यात गर्दछौं। आफैंले उत्पादन गरेर वा अन्यबाट बटुलेर हाम्रो ब्रान्ड दिएपछि ती गार्लिकको माल बनेर निर्यात हुन्छन्। एसियापछि युरोपहुँदै निकट भविष्यमा हाम्रा माल अमेरिका, क्यानडा अनि दक्षिण अफ्रिकासम्म पनि पुग्ने भएका छन्। हामी विभिन्न मुलुकका दामी वस्तुहरू आयात गरेर कोलाबोरेसनको काम पनि गरिरहेका छौं। देशको बीस प्रतिशत बजार हाम्रो हातमा छ। यो सफलताको श्रेय हाम्रो भाग्य अर्थात् उही हाम्रो सङ्घर्षलाई दिनुपर्छ। भाग्य र सङ्घर्षले मेल नखाए पनि हाम्रो हकमा यी दुई मिलेरै बसेका छन्। राजनीति पनि हाम्रो अदवमै छ।

हाम्रा विरोधी पनि नभएका होइनन्। ती सधैँ कसरी हामीलाई लडाउने भन्ने ताकमा रहन्छन्। एकपटक उनीहरूले दुई करोडको माल डम्प हुने स्थितिमा पुर्‍याइदिए। ठीक छ, हामी पनि पाउँदा कसैलाई छाड्ने होइनौं। हजारबाट लाखमा पुगेर अहिले करोडौंको नाफा-नोक्सान बेहोर्छौं भने यसमा नराम्रो के छ र! करोडौंको नोक्सान बेहोरेर पनि टिकिरहने हुनाले नै मानिसहरू हामीलाई अर्बपति भनिदिन्छन्, जुन सही र उचित पनि हो। हामीलाई लाग्न थालेको पनि छ, अचेल अर्ब भनेको कति नै हो र!

गार्लिक ले यसपटक १६ डिसेम्बरमा एउटा अन्तर्राष्ट्रिय एक्स्पोका लागि भव्य बाङ्क्वेटको निम्तो बाँडेको थियो। विश्वभरिका व्यापारी मात्र होइन, राष्ट्रप्रमुख लगायतका उच्च अधिकारीहरूलाई निमन्त्रणापत्र पठाइएको थियो। राष्ट्रसंघको एउटा अन्तर्राष्ट्रिय कार्यक्रमका लागि नेपाल आउने व्यक्तित्वहरूलाई हेरेर पनि रात्रिभोज आयोजना गरेका थियौं। तिनैमध्येका कुनै एकबाट एक्स्पो-२०११ को उद्घाटन गराउनुथियो। मेला तीन महिना चलाउने घोषणा गरियो। यसलाई देशको प्रतिष्ठाको प्रश्न बनाइएकाले सरकारी संयन्त्र पनि दिनरात नभनी लागेको थियो। संयन्त्रलाई आयलिङ पनि अघाउन्जेल गरिएको थियो।
हामीले गार्लिक समूह अर्थात् जीजी छापेको टिसर्टदेखि विभिन्न वस्तुहरू वितरण गरेका थियौं, निःशुल्क। त्यसबाहेक प्रचारप्रसारको कुनै पनि लभ्य र अलभ्य शैली अपनाएका थियौं। जीजी लेखिएका परेवादेखि हवाईजहाजसम्म उडिरहन्थे। आकाशमा जीजी लेखिएका विशाल व्यालुन चन्द्रमा झ्ैँ टल्किरहन्थ्यो, करोडौं खर्च र अर्बौं आशा थियो। नत्र केको मल्टिनेशनल?

तयारीको चरम अवस्थामा १४ डिसेम्बरको रात हामीलाई एउटा इमेलले आपतकालीन बैठक गर्न बाध्य गरायो। खबर एकदम भिन्न र चिन्तित तुल्याउने खालको थियो। हाम्रा कान्छा बुबा वषर्ौंदेखि क्यानडामा व्यापार गरिरहनुभएको थियो। उहाँको एउटा छोरो भएको हामीले सुनेर थाहा पाएका थियौं। हाम्रो भाइ थियो ऊ। अब बिडम्बना हेरौं, उहाँको एक मात्र छोरो, हाम्रो भाइ, पहिलो पटक हाम्रो समारोहमा भाग लिन काठमाडौंका लागि हिँड्यो। जुरिचमा केही दिन बिताएर उडेको ऊ बाटैमा मर्‍यो। प्लेनमै हार्ट अट्याक भयो। भर्खर बिहे गरेको केवल ३३ वर्षको थियो।

यसबाट हाम्रो परिस्थिति गम्भीर बन्यो। हामी बैठक पहिले सोच्न थाल्यौं, अब के गर्ने? त्यसपछि बोल्न थाल्यौं, अब के गर्ने? रायहरू फरक-फरक थिए। एउटा त धार्मिक आस्थाको पक्षमा थियो। भनियो, हामीले यस्तोमा भोज गर्दा दुनियाँले के भन्लान्? पाप लाग्नु त छँदैछ त्यसमाथि घृणाको पात्र होइन्छ। अर्को राय पनि बलियै थियो, स्वदेशी विदेशी डिग्निटरिजका सामु बेइज्जतसँगै करोडौंको नोक्सान हुन्छ। तेस्रो विचार पनि थियो, केटो हाम्रो भाइ भए पनि त्यसलाई हामीले कहिल्यै देखेनौं। तस्बिरमा पनि देखेनौं भने त्यसको मृत्युले हाम्रा लागि कति महत्व राख्छ?

एउटाले भन्यो, हाम्रो धर्म अनुसार हामी आशौचमा छौं। हामीलाई दुःख लागे पनि नलागे पनि त्यसलाई प्रकट नगर्दा बाहिर राम्रो सन्देश जाँदैन।

अर्को भन्छ- केही वर्षअघि सिजीको आफन्त मर्दा उनीहरूले पूर्व निर्धारित समारोह क्यान्सिल गरेका थिए।
अर्को तर्क- हामीभन्दा निकै धार्मिक र परम्परावादी सिजीले कार्यक्रम गर्ने निर्णय अवश्य गरेको थियो, तर निम्तो बाँडेको थिएन। हाम्रो त पाहुनाहरू आउने नै भइसके, अनि?

-भाइ नचिने पनि तेह्र दिने हो। जुठो परिसक्यो, यो विचार गर्ने कि केवल नाफा-नोक्सानमा चल्ने?
-नाफा-नोक्सान मात्र होइन, यो हाम्रो कम्पनीको अन्तर्राष्ट्रिय प्रतिष्ठाको कुरा पनि हो। हाम्रो साख नै गिर्‍यो भने त्यो कुनै मृत्युभन्दा कम हुँदैन।

यी बहस थिए, निष्कर्ष थिएनन्। हामी निष्कर्षका लागि लालायित थियौं। सबैमा मृत्यु र कम्पनीको भविष्यको तनाव थियो। अन्त्यमा येनकेन प्रकारेण सर्वसम्मत निर्णय लिइयोः व्यक्तिका दृष्टिले हामी सबै शोकाकूल छौं। हाम्रो भाइकै मृत्यु भएको छ, जुठो परेको छ। यस्तोमा समारोह गर्नु अवाञ्छनीय मात्र होइन, अधर्म पनि हो। तर, कम्पनीको जीवनमा यस्तो मौका बारम्बार आउला जस्तो लाग्दैन। जबकि, मृत्यु बारम्बार आउने कुरा हो। नाफा-नोक्सानको मात्र प्रश्न भएको भए, भाइको मृत्युजस्तो नोक्सान के हुन्छ र! तर प्रश्न प्रतिष्ठा र भविष्यको आयो। प्रश्न भाइकै श्रीमती र पेटको सन्तानको पनि छ। त्यसकारण, शोकलाई पछि सारौं, समारोह चल्न दिउँ्क। शोकलाई पछि विशाल र विधिवत् रूपमा मनाउँला। मानिसहरू गहिरो संवेदनाका साथ त्यसमा पनि सामेल हुने नै छन्। यसबाट हामीलाई सन्तोष र भाइको आत्माले सान्त्वना पाउनेछ।
सबैले उचित निर्णयमा सन्तोष मान्दै सही गरे। सही गर्नेमा मृतककी स्वास्नी पनि थिई जो केही दिनअघि समारोहका लागि काठमाडौं आइपुगेकी थिई। उसलाई त्यसै क्षण डाइरेक्टर बनाइएको घोषणा पनि गरियो जसलाई भाइप्रति गरिने कर्तव्यको थालनी मानियो।

(हिमाल खबरपत्रिका असोज-कात्तिक २०६७)

Segments: 

Comments