Loading

सकियो बालसाहित्य लेखक सम्मेलन

पाल्पा, फाल्गुन १७/
बालबालिकाको मानसिक खुराकका लागि असल साहित्यको आवश्यकता औंल्याउँदै नेपाल र भारतका बालसाहित्य लेखकहरूको दुईदिने सम्मेलन आइतबार सकिएको छ ।

नेपाल बालसाहित्य समाजको २१आंै वाषिर्क सम्मेलन क्रममा स्थानीय धवल पुस्तकालयले बालसाहित्य लेखक तथा चित्रकारलाई तानसेन निम्त्याएको हो । सम्मेलनले हरेक विद्यालयमा पुस्तकालय, सार्वजनिक पुस्तकालयहरूमा बालशाखा, पुराना पुस्तकालयको तस्बिर टिकट, आमा समूहका लागि पुस्तकालय र समाजको रजत वर्षलाई बालपुस्तक वर्षका रूपमा मनाउन माग गर्दै पाँचबुँदे तानसेन प्रतिबद्धता पत्र जारी गरेको छ ।

सम्मेलनका सहभागीले राजनीतिक अस्थिरता, बालबालिकाप्रति राज्य र समाजको बेवास्ता, अशिक्षा, गरिबी र भोकमरीले बालबालिकाबीचमै पनि विभेद रहेको भन्दै सबैखाले बालबालिकालाई सम्बोधन गर्ने बालसाहित्यको आवश्यकतामा जोड दिए ।

बालसाहित्यका विषयमा बहस सुरु भएको बताउँदै सहभागीले लेखकलाई उत्साहित गराउन सम्मेलन महत्त्वपूर्ण रहेको बताए । सम्मेलनमा पुस्तक प्रदर्शनी, कार्यपत्र प्रस्तुति, शिक्षक अन्तर्क्रिया, कथावाचनलगायत कार्यक्रम गरियो ।

प्राज्ञ डा. महादेव अवस्थीले 'पाठ्यपुस्तकमा बालसाहित्य', लोकसाहित्यविद् डा.चूडामणि बन्धु र सौरभ किरणले 'किशोर साहित्य', धु्रव घिमिरेले 'कथावाचन', विनय कसजूले 'बालसाहित्यको बदलिँदो स्थिति', इन्द्र अधिकारीले 'पुस्तकालय र बालसाहित्य', कुसुमाकर न्यौपानेले 'नेपाली बालगीत', अनन्त वाग्लेले '२०६६ सालमा प्रकाशित नेपाली बालसाहित्यको अध्ययन' र भारतीय लेखक श्याम कुरलेले 'भारतको मराठी बालसाहित्य' विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतीले साहित्यकारको पीडा प्रतिष्ठानले बुझ्न नसकेको स्वीकारे । 'बाल मात्र होइन सबै साहित्यलाई समेत सहयोग गर्न सकिएको छैन,' उनले भने, 'यो सम्मेलनले निःशुल्क सेवा दिने साहित्यकारलाई हौसला बढाएको छ ।'

शान्तदास र मुखिया सम्मानित

सम्मेलनमा दुई स्रष्टालाई सम्मान गरियो । समाजले बालसाहित्यका अगुवा शान्तदास मानन्धर र चित्रकार टेकवीर मुखियालाई सम्मान गरेको हो । कार्यक्रममा वर्ष २०६६ को उत्कृष्ट बालसाहित्य लेखनका लागि गंगा पौडेल र उत्कृष्ट चित्रांकनका लागि कृष्णगोपाल श्रेष्ठ (तस्बिर) लाई समेत पुरस्कृत गरियो । उक्त अवसरमा ८ पुस्तक विमोचन गरियो ।
(स्रोत: कान्तिपुर दैनिक)

Segments: 

Comments