Loading

शाश्वत हुँदैन कुनै पनि अर्थ / कालीप्रसाद रिजाल

साहित्यमा रमाइलो कुरा के छ भने लेखकले लेख्छ, अर्थ लगाउँछन् अरूहरूले । रचना प्रकाशित भएपछि त्यसको आफ्नै अर्थ लगाउन वा आफ्नै किसिमले ग्रहण गर्न पाठक स्वतन्त्र हुन्छन् । सार्वजनिक भएको रचना रचनाकारको वशमा हुँदैन ।

सामान्यतः शब्दले जे भन्छ त्यसको अर्थ त्यही हुन्छ । तर शब्द पनि अर्थको नजिक पुग्ने चेष्टासम्म हो । शब्दले अर्थ दिने भन्दा अर्थलाई निश्चित घेरामा बाँधिरहेको हुन्छ । अभिव्यक्तिका लागि शब्द अपर्याप्त भएकै कारण मान्छेले रेखा, रङ्ग, अभिनय जस्ता माध्यमको सहारा लिनुपरेको हो । कतिपय अवस्थामा त शब्दहरू त्यो भनिरहेका हुँदैनन् जो भनिरहेका हुन्छन् । वाणी भन्दा मौनताले सम्प्रेषण गरिरहेको पनि हुनसक्छ । तथापि शब्द अभिव्यक्तिको सबैभन्दा सशक्त माध्यम हो । शब्दलाई समय; पाठकको मनस्थिति र परिवेशले पनि अर्थ दिइरहेका हुन्छन् ।

सिद्धिचरणले ‘मेरो प्रतिबिम्ब’ नामक कवितामा बाँस र नरकटका अङ्ग प्रत्यङ्ग सहित फर्सीलाई टाउको बनाएर प्रतिबिम्ब प्रस्तुत गर्दा त्यसबेला कसले कसरी बुझ्े या बुझ्ेनन् भन्न कठिन छ । तर, बालकृष्ण समले त्यही शीर्षकमा कविता लेखेर आफूलाई त्यति निरीह र महत्ताहीन नसम्झ्न आग्रह गरे । आजको आँखाले हेर्दा, त्यो कवितामा लघुताभास भन्दा विद्रोह बढी देखिन्छ । पिँजडाको सुगा प्रकाशित हुँदा त्यसबेला पाठकले एकतन्त्री शासन विरुद्ध लेखिएको ठानेर पढे होलान् भनेर ठोकुवा गर्न सकिन्न । मकै पर्वले सातो खाएको अवस्थामा स्वयं लेखनाथले त्यस्तो उद्देश्य राखेर लेखे होलान् भन्न पनि गाह्रै छ । कमसेकम हाम्रो संयुक्त परिवारमा त्यस कवितालाई त्यसबेला सुगाकै विलापका रूपमा लिएर पढ्ने गरेको मलाई सम्झ्ना छ । कतिले त्यो कविताबाट प्रभावित भएर आफ्नो पिँजडाबाट सुगालाई मुक्त पनि गरिदिएका थिए । विद्यालयमा शिक्षकले कैयौँ वर्ष त्यही रूपमा पढाए र विद्यार्थीले पनि उत्तरकापीमा सुगाकै विलापको कुरा लेखे । तर, २००७ सालको क्रान्तिपछि पिँजडाको सुगा ले नयाँ अर्थ पायो । सुगा प्रतीक भएर रह्यो मान्छे प्रमुख भएर आयो । आजका पाठकहरू पिँजडाको सुगा मा सुगा कम र मान्छेलाई बढी देख्ने गर्छन् । पिँजडाको सुगा कुन अर्थमा लेखियो त्यसको अब कुनै अर्थ छैन । त्यसले पछि पाएको अर्थलाई कसैले मेट्न सक्दैन ।

अर्थ प्रदान गर्ने सन्दर्भमा भाष्यकार र समालोचकको पनि ठूलो भूमिका रहन्छ । कहिलेकाहीँ त यिनीहरूले चिताउँदै नचिताएको अर्थ पनि दिइरहेका हुन्छन् । यिनीहरू नै हुन्, जसले थप्पड उजाएकोलाई पञ्चतत्वको अर्थ लगाइदिए । मुड्की देखाएकोलाई ब्रह्मको एकात्मकता भनेर सुध्याइदिए । पख्लास् भनेर औँलो ठड्याएकोलाई परमात्मा उही एक भन्ने अर्थ लगाएर बज्रस्वाँठलाई विद्वान् सिद्ध गरिदिए । उमर खैयामले सुरा र सुन्दरीका कविता लेखे । व्याख्याकारहरूले त्यसलाई दार्शनिक अर्थ दिए । हरिवंश राय बच्चनको मधुशाला लाई सर्सर्ती शाब्दिक अर्थमा ग्रहण गर्ने हो भने कुनै मदिराप्रिय व्यक्तिले मदिराप्रतिको आफ्नो उद्गार व्यक्त गरेको पाइन्छ । तर, भाष्यकारहरूले यसलाई जीवन जगतदेखि आत्मा परमात्मासम्मको अर्थ लगाइदिए । अब मधुशाला मा मधु नै गौण हुन पुगेको छ । छायाँवादी कविहरूको विशेषता नै यही रह्यो कि उनीहरूका कृतिको मूल स्वरुप भन्दा छायाँलाई बढी महत्व दिएर पढिन्छ । मूल वस्तुबिम्ब भन्दा छायाँको प्रतिबिम्बले बढी महत्व पायो । तर, सबै पाठकले त्यही रूपमा स्वीकार गरेका होलान्; त्यो पनि भन्न सकिन्न ।

आधुनिक कविता यता आएर बढी नै अमूर्त हुँदै गइरहेको छ । अमूर्त कला जस्तै अमूर्त कवितालाई पनि पाठकले आफ्नै अर्थ लगाएर बुझने या नबुझन सक्छन् । अझ् लेखनलाई मात्र लीला सम्झ्दििए पछि त अस्वाभाविक, असङ्गत भन्ने केही रहँदैन । लीला नै त हो जे भने पनि भयो ! व्याख्याकारले यस्तो रचनामा खुब खेल्न पाउँछ । खास अर्थ नभएकोले जे अर्थ लगाए पनि हुन्छ । पञ्चायतकालमा रचिएका केही दुरुह कवितालाई भाष्यकारहरूले आफ्नै किसिमले अथ्र्याइदिए । स्वयं रचनाकार चकित हुने गरी अथ्र्याइदिए । ती कविताहरूको वास्तविक अर्थ के थियो, आज त्यसको कुनै माने छैन । भाष्यकारले दिएको अर्थ बाहेक अरू सबै अर्थ व्यर्थ भइसकेका छन् । कविताको अर्थ समय, परिस्थिति र अवस्थाले पनि लगाउँदोरहेछ । आज कसैले त्यस्तै कविता लेखे पनि त्यस्तै अर्थ लाग्दैन ।

यथार्थमा भन्ने हो भने अर्थ पाठकको आग्रह र मनस्थितिले पनि लगाइरहेको हुन्छ । कृष्णलाई ईश्वरको अवतार मानेकै कारण राधिकासितको क्रीडा र गोपिनीहरूसितको रासलीलालाई हामी आध्यात्मिक एवं धार्मिक कृत्यका रूपमा लिन्छौँ । गोपिनीहरूको आशक्ति, प्रेम विह्वलता, मिलन आतुरतादेखि लिएर हाउभाउ कटाक्ष सबै शालीन एवं धार्मिक भएर रहेका छन् ।

मेरो आफ्नै कुरा भन्ने हो भने ‘मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्या छ’ भन्ने बोलको गीतलाई आपत्तिजनक ठहर्याएर कुनै एक राष्ट्रवादीले कर्मचारी भएर यस्तो गीत लेख्नेलाई फाँसी दिनुपर्छ भनी त्यसबेला दरबारमा विन्तीपत्र हालेका थिए । गीत केही अवधिको लागि प्रतिबन्धित पनि भएको थियो । तीर्थराज तुलाधर समेतको टोलीले फारकत दिएपछि त्यो प्रतिबन्ध हट्यो । मैले फाँसीमा चढ्न परेन ! अहिले पनि कतिपय मानिस मसित त्यो गीत कुन मनसायबाट लेखिएको थियो भनेर सोध्छन् । तर मेरो मनसायको अब कुनै अर्थ छैन । श्रोताले जेजस्तो अर्थ लगाए त्यसको अर्थ त्यही नै हो । मेरो अर्को ‘बिहान उठ्ने बित्तिकै’ बोलको गीतमा ‘बरु म नर्कमै परौँ’ भन्ने वाक्य आउँछ । कतिले त्यसमा पनि टिप्पणी गरेका छन् । नेपालीलाई भेट्न मरेपछि नर्कमै जानुपर्ने आशय ठीक भएन भन्ने उनीहरूको गुनासो छ । तर मेरो विचारमा ‘बरु’ शब्द भएपछि त्यस्तो अर्थ नलाग्नुपर्ने हो । फेरि ‘जहाँ पुगे पनि तर नेपाली भेट्न पाइयोस्’ पनि भनिएको छ । मैले त स्वर्ग भन्दा पनि मेरा लागि नेपाली महत्वपूर्ण हुन् भन्न खोजेको हो । तर मेरो आशयले यहाँ कुनै माने राख्दैन । श्रोताले जे अर्थ लगाउँछन् त्यही अर्थ वास्तविक हुन्छ । आखिर कुनै पनि अर्थ शाश्वत हुँदैन । शब्दको अर्थ परिस्थिति, समय र व्यक्ति सापेक्ष हुन्छ । आजका यी रचनाहरूलाई भोलिका दिनले अर्को अर्थ पनि दिन सक्छ । अरू त के वेदका ऋचा पनि यसको अपवाद हुन सक्दैनन् ।

[Source: Himal Khabar]

Segments: 

Comments