लेखकको मृत्यु

व्यक्तिगत जीवनका दुःख-पीडा र समस्याहरूमा समाजलाई जोडेर वा समाजका अप्ठ्याराहरूलाई व्यक्तिमा जोडेर सिर्जना गरिन्थ्यो, काव्य-कृति। अझ् आख्यानको त्यति विकास नभएको काव्ययुगमा सबै कुरा उपदेशात्मक र कारुणिक बनाउन कविहरूले प्रशस्त मेहनत गरेका हुन्थे। पूर्वीय साहित्य काव्यात्मक छ। काव्यकै माध्यमबाट आख्यानको व्यवस्थापन गरिएको हुन्थ्यो। ती काव्यहरू अत्यन्त भावुक र कारुणिक हुन्थे। एउटा पात्रको जीवनमा सिङ्गै समाजलाई प्रतिस्थापित गरिन्थ्यो, त्यस्तै परम्परा बस्यो।

समयसँगै चेतनामा भएका चेतनावृद्धिले साहित्यमा अभिव्यक्त हुने शैली, बिम्व र प्रस्तुतिमा परिवर्तन लिएर आउन थाल्यो। पाठकको बोध क्षमता र लेखकको प्रस्तुतिका बीचको प्रतिस्पर्धाले एककिसिमको द्वन्द्वको स्थिति खडा भएको छ। लेखक र पाठकका बीच विगतमा स्थापित भ्रातृत्व, मित्रता, सगोत्रीय सम्बन्ध टुटिसकेको छ। अब लेखक र पाठकबीच द्वन्द्व छ, बहस छ, विवाद छ। लेखकले लेखेका कुराहरूमाथि प्रश्न, असहमति र संशोधनका प्रस्तावहरू छन्। लेखकले आफ्नो लेखनको संरक्षण गर्न सक्दैन। त्यसलाई अनेकतिरबाट विघटन गरी अर्थहीन बनाउने पाठक प्रतिस्पर्धा सक्रिय हुन्छ। लेखकको मृत्यु चिन्तनको विकास पनि यसैबाट भएको हुँदो हो। यो चिन्तन कत्तिको सारपूर्ण छ त्यो अझ्ै विवादमै छ तर, लेखकलाई आइपर्ने कठिनाई भने दिनदिनै बढ्दो छन्।

अनेक नयाँ विचार र सिद्धान्तमा खेल्न बानी परेको पश्चिमी साहित्यिक सभ्यताले यस अवस्थासम्म आइपुग्न के कस्ता समस्याहरूसँग जुध्नु पर्‍यो होला, त्यो थाह छैन, तर नेपाली साहित्यका समकालीन लेखकहरूमा आइरहेका अप्ठ्याराहरू भने दिनदिनै बाक्लिँदै छन्।

साहित्यिकलेखन भनेको कुनै शोध, अनुसन्धानात्मक घोषणा वा कार्यपत्र होइन। रुढ मान्यताको सीमाबद्ध चिन्तन पनि होइन। न कुनै संघसंस्था स्थापनाका लागि तयार गरिने विधानको खेस्रा वा आर्थिक कारोबारसँग जोडिने तमसुक हो। साहित्यको प्राचीन बिम्वलाई जति नै आधुनिक चेतनाका सैद्धान्तिक कुम्भक रेचक हरूले पनि मेट्न सकेको हुँदैन। लेखनकालमा लेखक प्राचीन बिम्व जगततिरै डुलिरहेको भेटिन्छ। अरू प्राविधिक विषयका सौन्दर्यशास्त्रसँग साहित्यिक सौन्दर्य उभिदैन। त्यसरी उभिएमा त्यो साहित्य नभएर कुनै प्राविधिक सापेक्षताको अभिव्यक्ति बन्न पुग्दछ।

हामी नेपाली लेखकले भोगिरहेको वर्तमानको समस्या आफ्नै खालका छन्। आजको नेपाली लेखनमा राजनीतिक परिवर्तनको प्रभाव नपर्नु असम्भव छ तर, त्यो राजनीतिकै तहमा उभिन जानु सकारात्मक होइन। आज कुनै पनि विधाको एउटा लेखक कलम खोलेर सेतो कागजमाथि मुठी राखिसकेपछि सोच्न थाल्छ- “यस्तो लेख्न मिल्ला र? अचेल यस्तो लेख्नुहुन्छ?” अनि ऊ एकछिन चिउँडामा कुइनो अड्याएर कलम समातेको मुठी खोल्छ, जुरुक्क उठ्छ र टहल्न थाल्छ।

आज अनेकौं शब्द अघोषित रूपमा प्रतिबन्धित छन्। ती प्रतिक्रियात्मक बनेका छन् र तिनले बोक्ने भावहरू अब स्वतः भूमिगत भएका छन्। ती शब्दको प्रयोग बिना अभिव्यक्त हुन नसक्ने संवेग अब स्थगित हुन थालेको छ। हर क्षेत्रमा स्थापित सिन्डिकेट का कारण बढेको आरक्षण दबाबले राजनीति वा सरकारलाई त हलचल गर्नै नसक्ने बनाएकै छ, अब कला, साहित्य र संस्कृति समेत मौन बनेका छन्। यो परिस्थितिले मानवीय संवेदनशीलताप्रतिको अभिव्यक्ति नै कुण्ठित छ।

कुनै व्यक्ति मानवीय संवेदना समातेरै लेखक भएको हुन्छ। त्यो संवेदना पढ्न कुनै व्यक्ति पाठक बनेको हुन्छ। लेखक र पाठकबीचको सेतु मानवीय संवेदना हो। तर त्यही संवेदना दमन भएपछि उत्पन्न साहित्य प्राविधिक वाहेक के हुन सकोस्?

आज, परम्परागत शब्दावली प्रतिबन्धित मात्र छैनन्, ती शब्दले बोकेको भावनात्मक भार समेत अर्थ परिवर्तनको सँघारमा छन्। ती शब्दसँग सरोकार राख्नेहरू हिजो असामाजिक लाग्थे भने आज मूलधारमा छन्। त्यसो त एनजीहरूका माध्यमबाट प्रवेश गरी राजनीतिक दलका घोषणापत्रका मूल एजेण्डा बनेका कैयन् शब्दावलीको भारले थिचिएको यस वर्तमानमा मेरो यो लेख प्रतिगामी, पुरातनवादी र बुर्जुवा नै बनिसक्यो होला। तैपनि, दह्रा तिघ्रा नहुनेले असार-साउनको भेलमा खोलो नतरी किनारामा बसे के मूर्खता होला त?

अर्थात्, ठूलो राजनीतिक हेरफेरपछि समाजमा आएका सबै परिवर्तन सकारात्मक छन् वा हुन्छन् भनी सहीछाप गरिहाल्नु पर्ला जस्तो लाग्न छोडेको छ। अग्रगामी हुने मोहमा, उत्तरआधुनिक भनिने लोभमा- बगेर आएका सबै फोहोरमैलालाई अँगालो हाल्नै पर्ला जस्तो लाग्दैन। जसरी खुल्ला अर्थतन्त्र र विश्वग्राम चेतनाको नारामा धनी राष्ट्रहरूले गरिब राष्ट्रमाथि आफ्ना उत्पादनहरूको खुट्टा चढाइरहेका छन् र थाम्नै नसक्ने भए पनि ठसठस कन्दै रुन्चे हाँसो हाँस्न बाध्य बनाइरहेका छन्, त्यसैगरी सुन्दा अनौठो यो लेखकपीडा कहाँ लगी बिसाउने भन्ने छटपटी छ।

परिवर्तनलाई आत्मसात् गर्न नसक्नु आफ्नै व्यक्तिगत समस्या र कुण्ठा पनि होला। चेतनाको कमी वा बुर्जुवा प्रतिनिधित्व पनि हुन सक्छ। या सामन्ती समाज निर्मित दिमागले प्रगतिशील युग बुझन नसकेको र नचाहेको पनि हुन सक्छ। जे होस्, आज लेखनगाडी बालुवामा धसिएको छ कर्णको रथ झ्ैं। जित्न त अर्जुनकै बाणले जित्ला। नियतिलाई सलाम!
यो लेखसँग सान्दर्भिक थुप्रै फोन, एसएमएस, इमेल र प्रत्यक्ष वार्ता प्रतिक्रियाहरू प्राप्त भइरहन्छन्। ती पाठक प्रतिक्रियाहरूले नै हो, चिउँडोमा कुइनो राखेपछि उठेर टहल्न मन लाग्ने।

सबै अधिकारकर्मी, अधिकारमुखी र अधिकारभोगी भइरहेका वेला अब हाम्रो साहित्यको खासै काम रहेनछ कि! किनकि साहित्यले समाजमा हेपिएका, दबिएका, थिचिएकाहरूको पक्षमा जुन कलात्मक अभिव्यक्ति गर्थ्याे, त्यो काम सीधै एनजी र राजनीतिक पार्टीहरूले नै गरिदिएपछि साहित्यको चामल कसले, किन किन्ने? साहित्यिक कृति पढेर रुँदैमा समस्या समाधान हुने होइन, भोको पेट अघाउने होइन, नाङ्गो आङ ढाकिने होइन। लेखेका भरमा न लेखक सम्पन्न हुन्छ, न पाठकको उद्धार। हाम्रो साहित्य पीडा-केन्द्री थियो, पीडाको प्रतिनिधि थियो, तर अब सबै पीडाहरू संस्थागत भएर आफैं शक्तिमा बदलिएपछि एउटा लेखकको रुन्चे वाक्यको के काम?

व्यवसाय र पेशा बनेपछि प्रत्येक कुराले सम्मान खोज्छ। हिजो भावगत रूपमा अपमानित पेशा आज त्यही ठाउँमा सम्मानित छ। हिजो सुँगुर लाई सांस्कृतिक बन्धनले कति गाह्रो बनाएको थियो! आज त्यो धराने कालो बङ्गुर भएको छ, सबैलाई सजिलो। हिजोको वेश्या आज यौनकर्मी भएको छ। कर्म त्यही भाव चाहिँ परिवर्तन भएको छ। कतै झ्ुक्किएर पनि हिजोका चलनचल्तीका शब्द प्रयोग भएमा ठूलै मानसिक हर्जाना तिर्नुपर्ने भएको छ।

परिवर्तनका नाममा संस्थागत भएका कुराहरू जतिसुकै ढोंगी, अन्धविश्वासी, पुरातनवादी र गतिहीन भए पनि तिनको आलोचना गर्नु अब सजिलो छैन। हिजो त्यागिंदै गएकाहरू आज संस्थागत भएर शक्तिमा बदलिएका छन्। धामी, ज्योतिषी र तान्त्रिकहरूको पनि सङ्गठन छ। अब आत्मसुरक्षाका लागि बोक्सीहरूको पनि राष्ट्रिय सम्मेलन हुने होला। अनि तिनलाई सफलताको शुभकामना दिन राष्ट्रप्रमुख, प्रधानमन्त्री वा पार्टी सभापतिहरू पनि पुग्नु पर्‍यो होला नि!

आ-आफ्ना संस्कृतिको जर्गेना नगरी जातीय उत्थान नहुने भएपछि सबैले परम्पराको संस्थागत स्तूप उभ्याउनै पर्‍यो होला। सबैले आफूलाई पेशा र व्यवसायमा रुपान्तरण गरेपछि तिनको जर्गेनाको जिम्मा राज्यले लिनुपर्ने होला। अनि, एउटा लेखक मात्र किन घरमा बसेर व्यक्तिगत भइरहनु? भए पनि त्यसको कुरा कसले, किन सुन्नु? परिवर्तनको यस सँघारमा आइपुगेपछि पो बुझियो, लेखकको मृत्यु कसरी हुँदोरहेछ भनेर।

(Source: Himal Khabar)

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom