लाइफ इज ब्युटीफुल ! / भाउपन्थी

Your rating: None Average: 4 (3 votes)

नत्र हामी, म र मेरी श्रीमती राधा अझै निकै बेरसम्म सुत्ने थियौँ । धेरै सुत्ने र कम खाने अभ्यासमा हामी लागेका छौँ । जागिरको तलबले पूरै महिना धान्न धौधौ मात्र होइन पुग्दै नपुग्ने भइरहन्छ । त्यसैले धेरै सुत र कम खाऊ, कम खर्च गर भन्ने सिद्धान्त हामीले प्रतिपादन गरेका छौँ । बिहे भएको तीन वर्ष भइसक्यो तर हामीले सन्तानोत्पत्तिबारे अझै विचार गर्न सकेका छैनौँ, राधाको पहिलो गर्भ खेर गएपछि । काखमा बच्चा खेलाउने रहर रहरमै सीमित गरेर बसेकी छ राधा, मेरी श्रीमती । वास्तविक कुरो उसले थाहा पाएकी छैन । मनको भ्रम निवारण गर्न कन्डोमसन्डोम, पिलसिल छोडेर उसले लामो अवधिसम्म गर्भ रोक्ने कपर टी हो कि के हो लगाएकी छ । आर्थिक अवस्था केही सुध्रेपछि पहिलो गर्भ धारण गर्ने हाम्रो योजना छ तर जागिरको प्रमोसनबिना यो सम्भव शून्य छ । प्रमोसनका लागि म बरोबर धाउने गरेको छु हाकिमको क्वार्टरमा र मन्त्रीहरू जिल्ला भ्रमणमा आउँदा पनि पुच्छर हल्लाएर पछिपछि हिँड्ने गरेको छु तर हात लाग्यो शून्य भइरहेछ । बिहे भएको साल राधाले सोचविचार, सल्लाहसहमति र जोसका साथ पहिलो गर्भ धारण गरेकी त हो तर त्यो समय नपुग्दै खेर गयो र ऊ मरणान्त बिरामी परी । बिरामीले केही ऋण पनि बोकाएर गयो भने अर्को गर्भधारण एक वर्षसम्म नगर्नू भन्ने डाक्टरी चेतावनीले पनि हामीलाई गर्भप्रति अनुत्सुक बनायो । एक वर्षसम्म गर्भ धारण नगर्नू भन्ने चेतावनी मैले डाक्टरको पाउ पक्रेर भन्न अनुरोध गरेको हुँ । यथार्थ थाहा पाएको भए राधा पूरै चकनाचूर भएर मानसिक रूपमा क्षतविक्षत हुने थिई ।

त्यसपछिका कुरा यिनै हुन्, कम खाने बढी सुत्ने र कार्यालयमा पनि घूस भनिने दुईचार रुपियाँ हात नपरेसम्म काम नगर्ने । पेन डाउन नगरे पनि पेनलाई खल्तीबाहिर निकाल्दै ननिकाल्ने गर्न लागिएको छ ।

तर र यो एउटा 'तर' वेदनापूर्ण छ । आजको बिहानको यो समयमा अब ओछ्यानमा हामी लोग्नेस्वास्नी टाँसिएर सुत्न सक्तैनौँ, उठ्ने समय भइसकेको छ । निऽाले हामीलाई सात-साढे साततिर छोडिसक्छ तर हामी अल्छी मानेर सुतिरहन्छौँ । आठ बजेपछि ओछ्यान छोड्छौँ । अहिले त जाडोको मौसम पनि छ । राधा ट्वाइलेटस्वाइलेटलगायत सबै कर्म गरिसकेपछि सोझै चुलोतिर पस्छे र खाना पकाउन लाग्छे । चिया कहिलेकाहीँ कालो खाइन्छ, चिनी र चियापत्ती छ भने, होइन भने...।

यो बिहान अर्कै घटना भइदियो ।

एकाबिहानै वातावरणलाई चिर्दै एउटा यस्तो आर्त रोदन चारैतिर फैलियो, जसले हामीमा कुनै अनिष्टको आशङ्का उत्पन्न गराइदियो । जाडोको बिहानको त्यस्तो आर्त रोदन धेरै धारिलो र बढी भेदक हुँदो रहेछ । उल्टो त्यसले बिहानको चकमन्नतालाई अझ सघन बनाइ पनि दिएको छ । यसरी, बयान गरिएभै"m, एकाबिहानै आर्त स्वरमा कुनै आइमाई रोइरहेकी थिई । महिला स्वर नै आर्त र करुण हुन्छ कि पुरुषरोदनको तुलनामा ? हामी त्यतातिर लागेनौँ तर हामीबीच व्याप्त न्यानोपनलाई त्यो नारीरोदनले सिरकभित्रै पनि चिस्याइदियो ।

महिलाको मसिनो तर धारिलो रोदन झ्यालको बाटो राधा र मेरा कानभित्र छिरिरहेको छ ।

बाहिर बिहानको खलबल अझै सुरु भइसकेको छैन । गाउँजस्तो मोफसलीय सानो सहर । यहाँको हलचलबिनाको शान्त बिहानी आलस्यप्रद नै हुन्छ । कात्तिकको पुछारतिर ओछ्यान छोडिहाल्ने मुडमा कोही थिएन । रुवाइ कुनै लामो धारिलो माजाभै"m थियो, जो तत्कालै टुङ्गिने छाँटको थिएन । राधाका लागि त झन् एकाबिहानैको यस्तो रोदन निकै त्रासद र उदासीनताप्रदायक भइदिन्छ । झ्यालबाट छिर्दै गरेको लुलो उज्यालोमा यद्यपि आठ बजिसकेको छ, मैले देखेँ उसको अनुहार डरले फुङ्ग उडेको छ । डर धपाउन ऊ मसित बेसरी टाँसिएकी छ । डराएकी स्त्री पुरुषका लागि निकै मायालाग्दी हुन्छे । उसको डर केही कम गरिदिन मैले उसलाई अँगालोमा लिएर आफूतिर तानेको छु ।

'किन रोएकी होली ?' राधाले काँतर स्वरमा सोधेकी छ ।

रुवाइतिर मैले ध्यान दिएँ । कोही अतिपि्रय गुमेको वेदना थियो त्यसमा । हुन त म पनि श्रीमतीजत्तिकै अबोध र अज्ञानी नै थिएँ त्यस रोदनबारेमा तर समय यस्तो छ अचेल, रुनु नै एउटा निकास बनेको छ । अचेल कतै कसैको सहायता नपाएको निराशामा भन्दा पनि आफ्नो असहाय र निरीहतामा एक्लैएक्लै रोएर मन हलुँगो पार्ने नियति बनेको छ मान्छेको यस ठाउँ, यस मुलुकमा तर वातावरणमा व्याप्त डर कम गर्न राधाले कुरा सुरु गरेकी छ । केही नबोली डरभित्र खुम्चिएर बस्नुभन्दा कतै कसैसित संवाद गरिरहनु अलि आश्वस्तिदायक हुन्छ । त्यही क्रममा उसले रुवाइ कसको हो भनेर सोधकी छ ।

'कुन्नि ?' मैले अनभिज्ञता जाहेर गरेँ । ऊ मेरो यस जवाफले सन्तुष्ट भइनँ । मैले सम्भावनायुक्त अनुमानित जवाफ दिनुपथ्र्यो तर त्यसो गरिनँ, रुवाइको असर मभित्र यति बिझेको थियो, म झूट बोलेर उम्कन सकिनँ । गर्भ बिग्रेर बिरामी परेपछि राधा निरर्थक प्रश्नहरूप्रति धेरै संवेदनशील बनेकी छ । मैले ती निरर्थक प्रश्नहरूलाई केही सक्कली केही नक्कली उत्तर जुराएर उसलाई भुलाउने गरेको पनि छु ।

'सायद,' ऊ एकाएक सायदबाट अघि बढिन् तर केही बेर पर्खेर फेरि भनी, 'सायद काखको बच्चो मरेर आमा यसरी आलापविलाप गर्दै रोएकी पो हो कि ?' रुवाइसित आलापविलाप सामेल भएर आइरहेको थिएन तैपनि रुवाइमा लटपटिएको एउटा वेदनापूर्ण कारुणिक भाषा त थियो, जसलाई सहजै बुझ्न सकिन्थ्यो ।

आइमाईहरू रुनुको धेरै कारण हुन सक्छ । एकाबिहानै लोग्नेले भकुर्‍यो पो कि, कतै कसैले राति बलात्कार गरेर असहाय एक्लै छोडिदियो कि, नभए अन्त्यमा यो पनि हुन सक्थ्यो पोइलाई जबरजस्ती सुरक्षाकर्मी वा जङ्गलकाले लगेर बेपत्ता पो पार्ने भए कि ? नभए अलिक दिनअघिदेखि बिरामी परेको आमाको दूध चुस्ने काखको बच्चो औषधिको अभावमा वा औषधि गर्दागर्दै मरेर नै पो हो कि ?

बच्चो मरेको नै भए यो खबर राधाका लागि बढी पीडादायी हुनेछ । ऊ यस्तो खबर सहन सक्ने छैन । गर्भ बिग्रेपछि र अर्को सन्तानका लागि यत्रो समयको अन्तरालसम्म पर्खिरहन परेको बाध्यताले उसभित्र ममता निकास नपाएर गुम्सिएको छ । सन्तान नभएकालाई सन्तान छ भने उसले दिने सयौँ दुःख बेहोर्नुपर्छ, छैन भने छैन भन्ने एउटै दुःख बेहोर्नुपर्छ भनेर सान्त्वना दिनेहरू यसो पनि भन्थे तर नारीको मन मान्दैन । 'म के गरूँ ?' ऊ मन दुखाएर भन्थी । म भन्थेँ, 'अरे यार, हाम्रो सन्तान नहुने त होइन नि, एकदुई वर्ष अरू पर्खिहालौँ न । अलिकति सुख दिन नसके, पढाउनलेखाउन सक्ने आर्थिक व्यवस्था गर्न नसके के सन्तान जन्माउनु । तँ पनि बैँसकी छस् र म पनि प छु । केको चिन्ता मैले हाँस्तै भनेका कुराले ऊचाहिँ निश्चिन्त भएर हाँस्न सक्तिनथी ।

ऊ अब आमा बन्ने सम्भावना कम छ भन्ने खबर उसका लागि भयावह हुने थियो । म त्यो बताउन चाहँदिनथेँ । उसको जिन्दगीको ट्विस्ट यो थियो, हाम्रो दाम्पत्य जीवनको पनि । कस्तो खेल खेलिदियो नियतिले ऊसित भने मैले त्यो सुनाएर उसको जीवनलाई अन्धकारले ढाकिदिन चाहिनँ । मैले मनमनै निर्णय गरेको छु, यो पीडा हामी दुवैले भोग्ने । मान्छे एक्लो भयो भने उसको पीडा दोब्बर हुन्छ । उसले भन्न सक्थी, 'तपाईं अर्को बिहे गर्नुस्' वा 'जीवनभरि यसरी निःसन्तान भएर हामी कति बस्ने ?' यसको जवाफ त थिएनथिएन तर त्यस्ता प्रश्नको समाधान खोज्ने मलाई उत्साहजाँगर केही पनि थिएन । मान्छे भएर एक पटक जन्मिसकियो, अब यो जुनी अर्को पटक पाइने होइन भने पीडामा कति डुबिरहने ? म उसलाई भन्थेँ, 'हेर्, मान्छे हाम्रै मुलुकको द्वन्द्वमा दसपन्ध्र हजारभन्दा बढी मारिए । कति बेपत्ता पारिए, जसको न लासको थाहापत्तो छ न सासको । बिनामूल्य, बिनाकारण, बिनाउपलब्धि ती बेपत्ता पारिए, मारिए । अब तिनको क्षतिपूर्ति कसले गर्छ ? जाने गइगए, तिनको पीडा खपेर तिनका आमाबाबु, स्वजन गएकाको, बेपत्ता पारिएकाको तस्बिर हेर्दै, तिनका चिनो हेर्दै कतिकति कहालिएर रोइरहेका छन् । त्यो पीडा पनि हामीले सम्भिmनुपर्छ । भने मान्छे जोकोही युद्धले होस् वा राजनीतिक द्वन्द्वले वा भूकम्पले, बाढीले, पहिरोले, सुनामीले त्यो मारिने हाम्रै दाजुभाइ, मामाभाञ्जा, हाम्रै कोखका सन्तान हुन् । हामीले पनि यो अनुभूति गर्न सक्नुपर्छ । सन्तान भनेको मान्छेले नै जन्माएको मान्छे त हो । अनि कसैले जन्माओस् त्यो मान्छेको सन्तानै हो भने हामीले मात्र नजन्माएर के भो ? ती सब जो जन्मेका छन् ती सबै हाम्रै सन्तान हुन्, किनभने हामी पनि मान्छे नै हौँ Û'

यस्ता तर्क ऊ बुझ्न चाहँदिनथी । बुझे पनि उसको मनले स्वीकार गर्न अप्ठेरो मान्थ्यो । कहिलेकहिले ऊ डिप्रेस्ड हुँदा उसको मन बुझाउन मैले भन्ने कुरा थिए यी । यी रिपिट हुन्थे, तर म तिनलाई नौलो शैलीमा प्रस्तुत गर्ने कोसिस गर्थें । सफलअसफल जे भइएला, प्रयास गर्न छोडनु हुन्न भन्ने नीतिवाक्यमा मेरो आस्था टुसाउँथ्यो त्यति बेला ।

राधाले आफू सन्तानोत्पत्तिका लागि अक्षम छु भन्ने थाहा पाएकी थिई वा थाहा नपाएजस्तो गरिरहेकी थिई, मैले जान्न सकेको थिइनँ, तर उसको सन्तानेच्छा जेनुइन थियो । टेस्ट ट्युब बेबी, वीर्य सापट वा भाडामा पाठेघर लिएर सन्तान पैदा गर्नु त झन् टाढाको कुरा, दिवास्वप्न । मुख्य त आर्थिक प्रोब्लम नै हो । पाँचदस लाख नगद नभएसम्म त्यता हात हाल्नु नै व्यर्थ हुन्छ रे । व्यर्थ वा सार्थक त्यतातिर नलागेर सुविधाजनक बाटो एउटा थियो, आँट गरेरै सौता हाल्ने । त्यसो गरेँ भने यो मेरी स्वास्नी राधा ठाडै सुकेर मर्छे, शङ्कै छैन । किन हो किन मलाई यस्तो डर लागिरहेको हुन्छ । हाइपोथेटिकल मनोवैज्ञानिक भय अथवा यस्तै अरू केही भनिदिँदा हुन्छ तर म मेरो अगाध विश्वास गर्ने राधालाई कुनै दुष्प्रभावले सुक्तै गएको, खिइँदै गएको अन्ततः मृत्युवरण गरेको देख्न सक्तिनँ ।

त, यो कुरा छोडौँ । अहिले हामी दुवै लोग्नेस्वास्नी ओछ्यानमा छौँ । बाहिरबाट एउटी आइमाईको उराठिलो तर हृदयविदारक रोदन हामीले सुनिरहेका छौँ । राधा डराएकी छ र रुनेरुने भएकी छ, जुन मेरा लागि समस्या बनिदिन सक्छ ।

अघिको रोदन झन् चर्केको छ । अन्तिम तयारी पूरा गरेर लासलाई मसानघाटतिर लैजान लाग्दा, जसरी स्वजन वा स्वास्नीहरू, आमाहरू रुन्छन् त्यस्तै छ त्यो रोदन । म उठेँ र हातमुख धोएँ । राधा सुतिरहेकी छ । मैले बाहिर निस्केर कुरा बुझ्दा साँच्ची नै कसैको बच्चो मरेको रहेछ । त्यो कटक्क मन चुँडिने रोदन त्यही आमाको रहेछ । मैले यो खबर राधासम्म लगिनँ । लगेको भए ऊ हातखुट्टा सेलाएर फत्रक्क गल्न थाल्छे र केही बेरसम्म हलचल गर्न नसक्ने, बक्कै नफुट्ने भएर निस्लोट हुन्छे । ऊ कतै गएर टीभी हेरिरहेकी छ भने हरिनका शावकहरूलाई बाघले खेलाइखेलाई मारेको दृश्य हेर्न नसकी उठेर हिँडिदिन्छे । घरमा टीभी ल्याउन त सकिएको छैन । अरूको घरमा गएर नहेरे के गर्नु ? किनभने सङ्कट उही हो, शिखर छुने सपना स्वाट्ट बढारेर पुरिदिने हिउँपहिरोजस्तो विकट आर्थिक समस्या ।

आइमाई अब डाँको छोडेर रुन थालेकी छ ।

मैले आगो बालेँ र पानी बसालेँ । बिहानको उदासीनता मेट्न थोरै फिक्का चियाले ठूलो काम गर्छ । छेउको जङ्गलबाट बाहिरबाहिर कुइरो बग्दैबग्दै आइरहेछ । बिहान झन् सघन रूपमै चिसो भइरहेछ । आइमाईको डाँकोसँगै विलापको स्वर पनि चर्को हुँदै प्रस्ट सुनिने भएको छ । यो विलाप राधाले निर्णय पनि सुनिसकी, ऊ अब दिउँसभरि आँसु बगाएर मौन बसिरहनेछे ।

'राधा, मेरी राधा Û' यस्तो निन्याउरो पुकार मभित्र उठ्छ तर म त्यसलाई स्थगित गरेर बहलिने उपाय खोज्छु तर मेरो मन उदास छ । म ओछ्यानतिर गइनँ । म उसको रोइरहेको अनुहार हेर्ने साहस गर्न सक्तिनँ । उसको र मेरो जीवन एकै किसिमले अभिशप्त छ । न म उसको अगाडि पीडादायी यथार्थ खोल्न सक्छु न म स्वेच्छाले अर्को विकल्प रोज्न सक्छु अर्थात् उसमाथि सौता हाल्न नै सक्छु ।

मतिर हेर्दा उसका आँखा एउटा अज्ञात याचनाले भरिएका हुन्छन् । ती आँखामा देखा पर्ने याचनाभाव यति करुणाजनक हुन्छ, म कुनै भीरको टाकुराबाट हामफालूँ भन्ने भइरहन्छ, जुन म गर्न सक्तिनँ, असम्भव लाग्छ । नत्र मान्छे साला मरेपछि समयमुक्त हुन्छ र तेस्रो आणविक युद्धै भएर पृथ्वी सखाप भए पनि वास्ता हुँदैन । म मरेपछि न राधा न राधाको सन्ताप न मेरो विकल्पहीनता, कतैबाट कुनैले पनि मलाई छुन सक्ने थिएन तर म मर्न सक्तिनँ, मलाई जीवनले सम्मोहित पार्छ । लाइफ इज ब्युटीफुल Û भुत्राको ब्युटीफुल Û

मेरो सोचको तरङ्ग खलबलिन्छ । तल कुखुराको खोरबाट कल्याङमल्याङको ससानो हल्ला आउँछ । पोथीले कोट्याँसकोट्याँस गरेको आवाजसित अरू चल्लाका आवाजहरू पनि मिसिएर माथि आइरहेका छन् । म तल ओर्लन्छु । त्यो आवाजमा कुनै एउटा अज्ञात उत्साह छ ।

कुखुरा पालेर केही आम्दानी गर्ने गरिएको छ ।

म लामो मुढो कापकाप गिँडेर बनाइएको भरेङ ओर्लेर तल कुखुराको खोरअगाडि उभिन पुग्छु । रातो सिउर शिखरभै"m उठाएको भालेको वरिपरि पोथीहरू झुम्मिएर उभिएका छन् । पोथीहरू भालेको वरिपरि झुम्मिएका छन् र भाले हुनुको गर्वलाई अझ चुल्याइदिएका छन् । बिहानको चारो टिप्न उनीहरूलाई हतार भइरहेको छ । मैले खोरको ढोका खोलिदिएँ । सबैभन्दा पहिले भाले बाहिर निस्क्यो र पखेटा बत्त्याउँदै ठूलै स्वरमा बास्यो- 'कुखुरीकाँऽऽ Û' कममा पनि अढाइ किलोको भइसक्यो । यसलाई बेचौँ भनेको, भनेको दाम पाइरहिएको छैन ।

यो उसै पनि मतमताएको छ, अर्को कुनै भालेलाई छेउ पर्नै दिँदैन ।

यी कुखुरामध्ये एउटी पोथी ओथारो बसेकी थिई । मैले त्यसतिर हेरँे । ऊ ओथारोबाट निस्किसकेकी थिई र छेउछाउमा रुवाका गोलाजस्ता चल्लाहरू राखेर बाहिर चर्नेे तरखर गरिरहेकी देखेँ । अघिको होहल्ला त्यही रहेछ ।

म हतारहतार भरेङ उक्लेँ । यो एउटा उत्साहप्रद समाचार बन्न सक्थ्यो राधाका लागि । लाइफ इज ब्युटीफुल । भुत्राको...म रोकिएँ । यो हो त राधाको मन भुलाउने एउटा समाचार Û म यस्ता घटना अलि विस्तारित रूपमा भन्ने गर्छु, जसले राधाको उदासीनता अर्थात् डिपे्रसनलाई कम गरोस् । भाषाको चयन म सावधानीपूर्वक गर्छु । आखिर भाषा नै त हो एउटा जीवनको भ्रामक सुन्दरता पैदा गरिदिने माध्यम । भाषा नै त हो मान्छेलाई चलाउने, रुवाउने र हँसाउने नत्र मान्छे आफ्नो दुःख कसरी सहने हुन सक्थ्यो ? म यस्तैयस्तै तर्कले राधालाई पगाल्ने गर्छु ।

'हेर् त राधा, त्यो सेतो पोथीले त चल्ला काढिछ । पूरा दसवटा छन् । कति राम्रा छन् भने...।' लाइफ इज...। मैले त्यो थपिनँ । कुखुराको सौन्दर्यको बयान निरर्थक हुन्छ, किनभने ती खानकै लागि पालिएका हुन्छन् र अन्ततः मारिन्छन् । तिनको हत्याको न समाचार बन्छ न स्मारक । अहिले त्यो भाले कसरी गर्वोन्नत भएर उभिएको छ, भालेपन देखाउँदै यताउता पोथीहरूलाई छेकेर चराइरहेछ । ऊ जस्तै अर्को भालेलाई छेउमा पर्न दिइरहेको छैन तर एक झट्कामा त्यसको अस्तित्व समाप्त हुन्छ र ऊ भुत्ल्याइएर, पकाएर मान्छेको आहार बन्न बाध्य हुन्छ । कालको अगाडि के चल्छ, यो तर्क पनि म दिन सक्छु राधालाई तर अहिले जन्मको कुरा गर्नु छ, जसले जीवनलाई केही उत्साह देओस्, दिने गर्छ पनि ।

मैले राधाका आँखामा हेरँे । यस्तो खबरले उसका आँखामा उत्साह ल्याइदिनुपर्ने हो तर त्यहाँ अझै पनि सघन उदासीनता नै छ । गालामा आँसुका धारका डाम । जीवन अर्थहीन हुँदै गइरहेको भन्ने बुझाइले आत्मक्षयतिर बढिरहेको उदासीनता । मभित्र चिसो लहर उठ्यो र झन्नै त्यसले मलाई पनि पछारेको थियो । म समालिएँ ।

'त्यो आइमाईको छोरो मरेको रहेछ नि, होइन ?' राधाको आवाज एकदमै दुर्बल छ । उसमा शिथिलता व्याप्त छ ।

'हो, तर कालको अगाडि कसको के नै पो चल्छ र ? तर हिँँड, हेर त ती चल्लाहरू कस्ता राम्रा छन् । आमाको पछिपछि उसले खोसि्रदिएको ठाउँमा चारो टिप्दैटिप्दै हिँडिरहेछन् ।'

राधाले प्रतिक्रिया दिइन । झन् सिरकले मुख छोपेर सुती । मेरो उत्साह अलिक खस्क्यो यद्यपि उत्साह सारै मौलिक थिएन, त्यो तर्कपे्ररित थियो, जीवनलाई जसरी पनि घचेट्नुपर्छ, जीवनले छोड्दैन, मृत्युपर्यन्त । बीचमा लाइफ इज ब्युटीफुल भन्ने रटन्त पनि सम्भिmरहेको थिएँ ।

त्यसपछि म अनिच्छापूर्वक काममा जाने सुरसारतिर लागेँ । खाना मैले नै पकाउन पर्‍यो तर राधाले खाना खाइन । मैले पनि कर गरिनँ । उसलाई कर गर्नुले ऊप्रति अन्याय हुन्छ भन्ने लाग्यो । कहिलेकाहीँ दुःखले नै मान्छेलाई फेरि जीवनतिर मोडिदिने गर्छ कि ?

साँझ म अलिक ढिलै कामबाट फर्कें । ढिलो किनभने म राधाप्रति आश्वस्त थिइनँ, कतै उसले अनिष्ट गरेको नहोस् । दिउँसोभरि त्यस्तो कुनै अनिष्ट समाचार पनि पाइनँ । म विशेषतः राधाको सन्दर्भमा कुनै अपेक्षित त नभनौँ तर मनलाई आशङ्कित तुल्याइरहने अनिष्ट समाचारप्रति सजग र सचेत रहने गर्छु । आजसम्म त्यस्तो घटित भएको त छैन तैपनि राधादेखि मन आश्वस्त हुन सकिरहेको हुँदैन ।

भरेङ उक्लेर कोठाभित्र छिर्दा चुलोको छेउमा माउ र चल्लाहरूलाई डोकोले छोपेर राधा आफूचाहिँ पकाउने तरखरमा लागेकी रहिछ ।

'यिनलाई किन यहाँ ल्याएको ? फोहोर हुन्छ ।' राधाले मेरो कुराको जवाफ दिइन ।

मैले लुगा फेरेँ । ती माउ र चल्लाहरूलाई छोपेको डोकोनिर गएर उभिएँ । सबै चल्ला माउको पखेटामुनि बस्न अटाउँदा रहेछन् । माउ बेलाबेलामा 'आशङ्कित स्वरमा 'क्वाँटक्वाँट' गरिरहन्थी ।

'फोहोरै भए पनि के भो र ? बाहिर पानी पर्ला जस्तो पनि छ । चिसो स्याँठ चलिरहेछ । तल खोरमा असाध्य जाडो छ ।' राधाले अघिको कुराको जवाफ दिई । ऊ मानौँ खोरभित्र पसेर आएकी पनि हो । स्वरमा उत्साह थियो । एउटा चल्लो माउको पखेटामुनिबाट उम्केर डोकोबाहिर आउने विफल प्रयास गर्न थाल्यो । माउले हप्काएको स्वरमा उसलाई आफूतिर डाकी तर चल्लोले मानेन र उसले ठुँडले तानेर त्यसलाई फेरि पखेटामुनि घुसारी । राधाले पनि यो हेरिरहेकी रहिछ । एउटा लामो सास छोडी र ऊ तरकारी ओइरिनतिर लागी तर लामो सासमा कुनै शिथिलता थिएन ।

'यो माउले के अचम्म गरेको ? चल्लो पनि त्यस्तै रहेछ, अटेरी ।' माउ र चल्लाको क्रियाकलाप हेरेर मैले भनेँ तर राधाले त्यो सुनी कि सुनिन थाहा पाउन सकिनँ, तरकारी ओइरिँदाको तातो तेलको झ्वाइँको स्वर पनि ठूलै थियो ।

राधाले तरकारी चलाइवरी ताप्केलाई ढाकेपछि मतिर हेरेकी छ । उसका आँखामा बिहानको उदासीनता छैन, छाँटिइसकेको छ । ती आँखामा छोटो समयकै लागि भए पनि एउटा सन्तृप्ति छ ।
(Madhuparka)

Author: 
Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.