Loading

रोदी घर

तिम्रो मादलुको तालमा
नाच्न सक्दिनँ मायालु
दोहोरी जमाउने उमेर घर्किसकेछ
तार चुँडिएको वीणा तुल्य स्पन्दन
अब त नाकमा डण्डीफोर आउँदा पनि
नाक नै काटीदिऊँ जस्तो लाग्छ

के मा बेसुरिंदैछ तिम्रो समला ?
के मा लर्बरिदैछ तिम्रो ताल ?
मेरो जुनेली मुहारमा ?
या वासन्ती मुस्कानमा ?
या हिमनदी नयनमा ?
कैद गर्न नसकिने यो बादल जवानी
ओइलिएको गुलाफमा झुम्मिएको भँवरा

दर्शकदीर्घामा पुगेको मेरो भुमिका
तिम्रो प्रशंसामा पड्किने ताली
अब निम्तोको अर्थ छैन
अब अनुरोधको प्यास छैन
सक्छौ भने म बिना नै तिमीले
उल्लासका धूनहरू घन्काइरहनू
प्रेमका लयहरु निकालिरहनू
ता कि रोदी घरमा रोदी जमिरहोस
ता कि रोदी घर, रोदी घर बनिरहोस्

World Classics: 
Author: 
Segments: 

Comments