राष्ट्रिय कविता महोत्सवमा लीला अनमोल सर्वोत्कृष्ट

Your rating: None Average: 4.2 (5 votes)

काठमाडौँ, ९ असार । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको २०६७ सालको राष्ट्रिय कविता महोत्सवमा झापाकी लीला अनमोलले प्रथम स्थान हासिल गरेकी छिन् । ३८ प्रतिष्पर्धीहरूको कवितालाई उछिन्दै उनको 'दुर्घटित विश्वास' शीर्षकको कविता सर्वोत्कृष्ट घोषित भएको हो । महोत्सवमा दुई सय ५१ कविताबाट छानिएका ३८ कविता प्रतियोगिताको दौडमा सहभागी थिए । बुधबार प्रतिष्ठानको ५३ औँ वार्षिकोत्सवको अवसरमा आयोजित वाचन कार्यक्रममा प्रतियोगी कविहरूले आफ्नै आवाजमा ती कविता सुनाएका थिए ।

प्रतियोगितामा 'हाम्रो देश' शीर्षकको कविताको लागि तेह्रथुमकी तुलसा पाठक दोस्रो भइन् भने अछामका भरतकुमार साउद ('सपना र सुस्केराहरू'), भक्तपुरका भोला धरातल ('नेपाल आमालाई') र चितवनकी सिन्धु गौतम ('संवेदनाको व्यापार र मेरो ईश्वर') संयुक्त रूपमा तेस्रो घोषित भए ।
पहिलो स्थान हासिल गर्नेलाई १५ हजार रुपैयाँसहित स्वर्ण पदक दिइनेछ भने दोस्रोले १० हजार रुपैयाँ र रजत पदक पाउनेछ । तेस्रो पुरस्कार कास्य पदकसहित पाँच/पाँच हजार रुपैयाँ रहेको छ ।

(राष्ट्रिय कविता महोत्सवमा प्रथम हुन सफल लीला अनमोलको कविता 'दुर्घटित विश्वास' पाठकहरूको सामु पस्किएका छौँ ) :

विश्वास दुर्घटित भएर आँखाबाट
यतिबेला मेरो देश
भूगोल रोइरहेछ
सुनामी चलेर शान्तिको सागरबाट
अखण्डित युद्ध बगिरहेछ नदीहरूमा
देशको हाँसोमा सङ्गीन तेर्सिएर
छिर्का हानेको छ रगत सीमा स्तम्भहरूमा
सालिक रोएर इतिहास
मुर्दा परेको छ चोक, गल्ली र गल्छेडाहरू
सहिद भत्किएर मुटु
शिरा र धमनी सङ्क्रमण भएको छ
बन्धकी राखेर क्रूरता
हिटलरको जिजीविषा बाँचिरहेछ यहाँ
ताण्डव चलिरहेछ स्वतन्त्रताको
जहाँ नि:सङ्कोच बलात्कार भोगिरहेछ देश
लाग्छ - समय नाङ्गिएर
उत्तानो परेको छ बीच सडकमा
जसलाई सबैले भोग्न छुट छ
यहाँ प्रतिस्पर्धाको होड चलेको बेला
प्रत्येकले बहिरो विजयको घोषणा गरिरहेछन्
स्वनिर्णयको अल्कोहल पिएर
विश्वास मातिरहेछ यतिबेला
स्वतन्त्रताको बगैँचामा उम्रिएका
पारिजात चाहनाहरूमा
सङ्क्रमणकालीन धमिरा लागेको छ
अहम्‌ता ब्युँझिएर ज्वालामुखी दन्किएको बेला
संवेदना मरेर दुर्गन्धित भएको छ
मोतीविन्दु भएको छ सार्वभौमिकताको आँखामा
यो अन्धकारको साम्राज्य फैलिएको बेला
ओ मेरो प्रिय मान्छेहरू
मलाई एउटा यस्तो छुट्टै अवसर देऊ
म आगोमा निर्भीक हिँड्न सक्ने
एउटा कुशल सन्तान जन्माइदिन्छु ।

Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.