Loading

रातो डायरी

प्राविधिक कारणले उडान केही घण्टा डिले भएको सूचना प्रस्थान-कक्षमा प्रसारण भयो। यात्रुहरू चलमलाउन थाले। उठेर घुँडा तन्काएपछि म फेरि बेन्चमा बसेँ। पुस्तक हातमै थियो। अचानक उसलाई कुनाको बेन्चमा देखेँ। खैरो झ्ोला बोकेको उसले दायाँतिर टाउको घुमाउँदा हाम्रा आँखा जुधेका थिए।

ऊसितको यो मेरो चौथो भेट थियो।
पहिलो भेट झ्ण्डै सात वर्षअघि लमजुङको भार्तेमा भएको थियो। सुदूरगाउँको एउटा थोत्रो स्कूलको कोठामा साँझ् पत्रकार सम्मेलन थियो। त्यहाँ उसले दह्रोसँग आफ्नो कुरा राखेको थियो, “क्रान्तिमा सानातिना कारबाही सामान्य हुन्- बाँचे राज्य मरे एउटा ज्यान भनेर क्रान्तिमा होमिएकाले देशको मुक्तिका लागि जे पनि गर्न सक्छौं...।”

घाँटीका नसा फुलाएर उसले बोलिसक्दा पटट्ट ताली बजेका थिए। सञ्चारकर्मीको रूपमा मैले उसका भनाइ टिपँे। दोस्रो पटक इलामको क्यान्टोनमेन्टमा भेट्दा उसको अनुहारमा पहिलाको जस्तो चमक थिएन। हातमा भएको रातो डायरी उचाल्दै उसले भनेको थियो, “किताब लेख्दैछु सर, यसमा धेरै कुरा आउने छन्।”

त्यसको केही समयपछि क्यान्टोनमेन्ट नफर्केर समाचारको विषय बनेको ऊ एकाएक मेरो पत्रिकाको अफिसमा टुप्लुकियो। उसलाई क्यान्टिनको टेबुलमा पुर्‍याएपछि मलाई थाहा भयो, ऊ आफू राजधानीमा भएको कुरा सकेसम्म गोप्य राख्न चाहन्थ्यो।

“आखिर सब भ्रम रहेछ”, कालो चियाको सुर्की लिएर ऊ बोलेको थियो, “मस्त महानगरमा छिरेपछि क्रान्ति सेलाउने रहेछ। नेतृत्वले सारा सपना चकनाचूर पारिदियो।”

ऊ सशङ्कित र केही आत्तिएजस्तो देखिन्थ्यो। घरी-घरी दायाँबायाँ हेर्दै चनाखो भएजस्तो गर्थ्यो। उसले क्यान्टोनमेन्टमा बस्नुको औचित्य सकिएर हिँडेको खुलायो। अमिलो स्वरमा भन्यो, “बन्दुक बोकेर, मान्छे मारेर कुनै क्रान्ति गरिएनछ। भविष्य सकियो, दुःखहरू ज्यूँकात्यूँ रहे।”

किसान बाउआमाले रोक्दारोक्दै जङ्गल पसेको, स्कूलमा आगो सल्काएको सम्झ्ेर पछुतो मानिरहेको थियो, ऊ। सोचमग्न हुँदा भृकुटी तन्काउँथ्यो। चुप लाग्दा पनि ठ खुल्ला रहन्थे, चल्थे। “त्यतिवेला”, खोकेर घाँटी सफा पार्दै बात अगाडि बढायो, “रात-रातभर गोली चलायौं, ग्रिनेड फाल्यौं। प्रहरी चौकी, दूरसञ्चार, गाविस भवन उडायौं। मान्छेहरू चिच्याउँथे, जमिनमा ढल्थे। भुईंमा पानीको मूल फुटेसरी रगत बग्थ्यो।”

उसका मनमा राजमार्गमा भारी ट्रक हुँइकिएझ्ैं पश्चात्तापले वेग मारिरहेको थियो जसलाई धान्ने ब्रेक अब ऊसित छैन। ऊ बालुवाको मुट्ठीजस्तो क्रमशः फुस्किँदैछ। दुस्साहसले उसलाई कमजोर बनाएको छ। सदाझ्ैं म उसका मुटुछुने कुरा टिपिरहेको छु। ऊ बोल्दै गयो, “मलाई शान्ति र सद्भाव चाहिएको छ जसमा सबै मिलेर बाँच्न सकुन्। झ्ोलुङ्गे पुलको लट्ठा छिनाउँदा, स्कूलमा बिष्फोट गर्दा, पाता कसिएको शिक्षकलाई बन्दुकको कुन्दाले हान्दा मैले कहिल्यै यस्तो दिन देख्नुपर्ला भनेर सोचेको थिइनँ।”

मैले चिया थप्ने कुरा गर्दा उसले अलि कडा मगाउन भन्यो।
“एकपटक हामीले थापेको विद्युतीय धरापमा घर फर्किंदै गरेका स्कूले केटाकेटी परे। एउटी सानी नानीको ज्यान गयो। राति उसको घरमा पुग्दा आमा चाहिँ बेहोस थिइन्। ती तिनै आमा थिइन्, जसका श्रीमानलाई सुरक्षाकर्मीले मारेको धेरै भएको थिएन।” उसले बीभत्स अनुहार बनायो।

कडा चियाको सुर्कोसँगै पुनः मुख खोल्यो, “सुराकी ठानिएको शिक्षकलाई पाता कसेर स्कूलमै सेर्‍यौं। विद्यार्थीले कोकोहोलो गरे। त्यसवेला मेरो मन अलिकति पनि विचलित भएन। किन होला, सर?”

ऊसँग नभएको उत्तर मसँग थिएन। मौनता उसैले तोड्यो, “विपरित विचार राख्ने सबै दुस्मन लाग्थे। तिनलाई सिध्याउनुपर्छ भन्ने हुन्थ्यो। अहिले लाग्छ, जीवन उज्यालो रहेछ। मैले मृत्युको अँध्यारो बाटो रोजेको थिएँ”, ऊ दार्शनिक जस्तो भयो, “म उज्यालो र सुरक्षा चाहन्छु। बूढीआमा, श्रीमती र छोराका अगाडि मन भएको मान्छे हुन चाहन्छु। पार्टीको छापामार होइन स्वतन्त्र मान्छे बन्न चाहन्छु। व्यर्थैमा मुट्ठीभर नेताको भर्‍याङ बनिएछ।”

उसले मारिएका र बेपत्ता भएका सहकर्मीहरूको पनि सम्झ्ना गर्‍यो। “तिनका परिवार उकेरा ढलेको सिमी जसरी इलाएका छन्, किन? मसित यसको उत्तर छैन। तिनका श्रीमती, छोराछोरी र बाउआमाका अगाडि पर्ने आँट अब मसित छैन। हिजो मारिएकाहरूको परिवार र चन्दा असुलिएकाहरूबाट लुकी-लुकी हिँड्नुपरेको छ।”

उसले कालो झ्ोलाबाट रातो डायरी झ्िक्यो। खरर्र पाना पल्टाएर फेरि झ्ोलामै राख्यो। त्यसमा उसको मनको भारी छ जुन प्रकाशित भएपछि मात्र हलुङ्गो हुनेछ। तीन घण्टामा चार कप कडा चिया र पाँच खिली चुरोट तानेर ऊ बाहिरियो। यो भेटमा पहिलो पटक मैले फ्रन्ट पेजमा जाने उसको समाचार लेखिनँ।

आज अन्तर्राष्ट्रिय विमानस्थलमा आँखा जुध्दा ऊ असजिलो मान्दै मतिर आयो। मलाई खुल्दुली भइरहेको थियो, सोधेँ, “तपाईं कता?”

उसले हात मिलायो जसमा पहिलाको जस्तो जोड थिएन।

“खेतबारी छैन, यता काम पाउन धेरै पढिएन। दुई वर्षका लागि सेक्युरिटी गार्डको काम मिलेको छ। म त मलेसिया हिँडे सर!”

“अनि डायरी नि?”

त्यसलाई चाहिँ च्यात्न, जलाउन नसकेर महानगरपालिकाको कन्टेनरमा फालिदिएँ सर!”

(हिमाल खबरपत्रिका असोज-कात्तिक २०६७)

Segments: 
Author: 

Comments