Loading

मोनालिसा र मार्च ८

ओ ! इन्द्रेणी नायिका
सदियौं कुँजिएर
एउटा फोटो फ्रेममा
कति कुरिरहन्छौ
घाम र पानीको आगमन

दिन चाहान्छु तिमीलाई
नीलो आकाशमा
उड्दै गरेको चरा
तिमीले पोत्नुपर्छ मुस्कान समयको
तिमीले फेर्नुपर्छ परिभाषा सौन्दर्यको
तीब्र गतिमा आएर
हुइकिएको बेपत्ता बतासले बोले जस्तो
दिन चाहन्नँ
उधारो उपमा
जस्तो कि
"रोपेको छु
तिम्रो आँखामा
सपनाको संसार
छोपेको छु
तिम्रो पछ्यौरीले
पीडाको कुरूप अनुहार
कोरेको छु
तिम्रो हत्केलामा
युग हिंड्ने गोरेटो "
बरु
सम्झाउन चाहान्छु म
घरको चार दिवारभित्र
किन सीमित हुन्छौ
बटुल्दैं
बगरमा टेकेका
सम्झनाका डोबहरू
किन गनेर राख्छौ
एउटा मान्छेको उमेरभरि
कत्ति पटक अस्ताउँछ घाम ?
बरु
हिडनु
छिमेकी दिदी नोरासँगै
मानिसहरूको भीडमा
एकजोर स्वतन्त्र पाइला
छाम्नु
चराले झैं
हावामा मिसिएको
स्वछन्द अनुहार ।

(अमेरिकाको बोस्टनमा आयोजित अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सव २०१० मा प्रथम स्थान हासिल गर्न सफल कविता)

Segments: 

Comments