Loading

मोक्षान्तः काठमान्डु फिभर

काठमाडौं, माघ १४ - कुमार नगरकोटीका लागि त्यो एउटा संयोग थियो । उनले स्कुले साथी रवि मल्ललाई 'निकास' कथाको पाण्डुलिपि पढ्न दिएका थिए । उनले थाहै नपाई त्यो रचना 'समकालीन साहित्य' मा छापियो । यो थियो- डेढ दशकअघिको कुरा । त्यही संयोगले उनलाई अहिले नेपालका स्थापित कथाकारहरूमध्ये एक बनाएको छ । र, उनी अहिले 'मोक्षान्तः काठमान्डु फिभर' कथा संग्रह लिएर पाठकमाझ आएका छन् ।

'यी सब संयोग अथवा दुर्घटना हुन्,' दोहोरो ज्यानका प्रयोगधर्मी कथाकार दार्शनिक शैलीमा बोले, 'म जन्मिनु नै एउटा दुर्घटना हो । त्यसपछि बाँच्ने उपक्रमको हर दुर्घटना मेरा लागि सुखद् संयोग भएको छ ।'

कुमारसित यस्ता धेरै संयोग छन् । काठमाडौंमा जन्मे । आमा गुरुङ र बाबु श्रेष्ठ । डोल्पामा साउअक्षर चिने । कक्षा ५ सम्म रुकुममा पढे । त्यतिन्जेल उनी कुमार श्रेष्ठ थिए । कक्षा ६ पुगेपछि एकाएक थर बदलिएर नगरकोटी भएको थियो र पढ्न प्रहरी स्कुल छिरेका थिए । बाबुसितको बसाइ छात्रावास सरेको थियो ।

'स्कुलको पुस्तकालयले मलाई साहित्य पढ्न र लेख्न सिकायो,' दुई दशकमा लेखिएका मध्ये चुनिएका १२ कथाहरूको संग्रहबारे उनले भने, 'कथाको पुरातन लेखाइलाई मैले निरन्तरता दिएको छैन । अफ बिटलाई समेट्न खोजेको छु । पढ्नेले भाषा र प्रस्तुति दुवैमा फरकपन पाउनेछन् ।'

उनका कथाका पात्र फिरन्ता छन् । घाट, मुर्दा, चिहान, दिवंगत आत्मा कथाकारसितै आएका छन् । तिनको संवादमा जीवनदर्शन छ, विसंगति र अस्तित्ववादी चिन्तन छ । भाषा रसिलो छ । साहित्य, फिल्म, संगीत र कलाबारे नपढेकालाई पनि कथाले तान्न सक्छन् ।

यी कथाका लागि उनी कहिले ध्यान शिविर, कहिले घाट, कहिले भट्टी, कहिले गुम्बा वा मन्दिरको फिरन्ता भए । क्यान्सरपीडित पिताको मृत्यु उनलाई जीवनको 'निकास' लाग्यो । 'निकास मैले त्यही सन्दर्भमा लेखेको थिएँ,' आफ्नो पहिलो कथाबारे उनी बोले, 'एसएलसीपछि मलाई जीवन केही होइन भन्ने भान हुन थाल्यो । दर्शनको अध्ययनमा मन बस्यो । फिरन्ता भएँ । जीवनदर्शनको मान्यता मैले कथामा पोखेको छु । तर म लेखक भइसकेको छैन ।'

उनका कथा छापेर लेखक परिचय दिने काम साहित्यकार अविनाश श्रेष्ठले गरेका थिए । उनलाई चर्चामा कुनै चासो छैन, गुमनाम हुन रुचाउँछन् । आपmना रचनालाई कसैले प्रशंसा गरोस् या गाली, मतलब गर्दैनन् । 'म यस्तै छु,' चुरोटका अम्मली यी अंग्रेजी शिक्षकले भने, 'थोरै लेख्छु । जीवन आफ्नै गतिमा चल्छ । हतार के छ ? जीवन आखिर ब्ल्याक एन्ड ह्वाइट धुवाँ न हो । संयोगहरूको संयोग ।'

उक्त संग्रहमा उनका चर्चित कथाहरू 'मेटाफिजिक्स', 'हेलो ज्याक्स डेरिडा', 'सिल्भिया', 'खप्पर', 'तिम्रो मृत्युको समाचार', 'माउसुली' लगायत छन् । 'पुस्तक निकालेर मैले नेपाली साहित्यमा केके न गरुँला भन्ने छैन,' उनले भने, 'ठूलो अपेक्षा छैन । मैले साहित्यमा केही गरेकै छैन ।'

पुस्तक आउन लागेकाले उनको लेखन केही सुस्ताएको हो ? 'होइन,' उनले भने, 'घरमा १६ महिनाको मेरो छोरा गुरु रिम्पोछे छ । ऊ कालमाक्र्स र सिग्मन्ड फ्रायड चिन्दैन, च्यातिदिन्छ । १६ महिनाको रिम्पोछेलाई माक्र्स, फ्रायड वा बाउको कथासित के मतलब ?' छोराको खास नामचाहिँ ? 'ग्रिस्मिल,' उनले भने, 'यो पनि एउटा संयोग हो ।'

(ekantipur.com, तस्बीर: अनमोलमणि/फेसबुक)

Segments: 

Comments