Loading

मुखुण्डो

एउटै अनुहारमाथि 
हजारौं मुखुण्डो हुँदा रहेछन् 
कस्तो अचम्म !
मुखुण्डो पनि ठ्याक्कै अनुहार जस्तै हुँदो रहेछ 
कसरी चिन्नु र खै,
मुखुण्डोको आँखाको भावले पनि छुँदो रहेछ ।

प्याज जस्तै त छ मान्छे
मुखुण्डोहरू खोल्दै गयो
असली अनुहार भेटिँदैन
आत्मा मरेको छ
समय पनि त बदलिएको छ
यी गुनासाहरूको कुनै अर्थ छैन
मान्छे चन्द्रमा छुन्छ
मान्छे अन्तरिक्षमा पुग्छ
आफूभित्र को पस्छ र ?
मान्छे मुखुण्डोभित्र  लुक्छ ।

मैले देखाउन सकिनँ तिमीलाई
मेरो अनुहारको असली रङ
होइन, एकदमै होइन साथी
बरू मैले फुकाल्न सकिनँ मुखुण्डो
तिम्रो अघि ध्वार्र च्यातेर
म आफैँ तर्सिन्थेँ
तिमी तर्सियौ
लाग्छ-
मुखुण्डोभित्र पो म सुरक्षित थिएँ 
तिम्रो नजरमा म पवित्र थिएँ
तिम्रो आँखामा म इमानदार थिएँ
आजको मेरो अनुहार देखेर
तिमी पनि त बहुलाएका छौ,
म आफ्नो स्वरूप देखेर दिनदिनै बहुलाइरहन्छु ।

र त भन्छु-
मुखुण्डो सुरक्षित कवच हो 
तिमीले पनि त लगाएका छौ,
हिजो मुखुण्डोसँगै तिमीले बोल्ने संवादहरू
र आज मुखुण्डो खोलेर तिमीले गर्ने गर्जनहरू
नितान्त फरक छन्
मुखुण्डोसँगै प्रेम मरेको छ
अनुहारसँगै घृणा जन्मिएको छ
आत्माको कुरा !
भो नहासौँ फेरि,
यो समयसँगै म आफूलाई गिज्याइरहन्छु
आत्मा सत्य युगमै सती गएको छ
म आफैँलाई सम्झाइरहन्छु-
मुखुण्डोको मारमा पिल्सिएको म
मुखुण्डोको मारमा झुक्किएको म
मुखुण्डोभित्र लुक्न बाध्य तिमी म र हामीहरू
मुखुण्डो खोल्न नसक्ने लाछी तिमी म र हामीहरू । 
 

Segments: 
Author: 

Comments