Loading

भन्सारको जागिर

भर्खरभर्खर अफिसमा काम गर्न सुरू गरेको त्यसमाथि पनि भन्सार अड्डामा । उसको खुसीको सीमा नै रहेन। यहीँ जागिर पनि आफन्त थिए र पाइयो नत्र कहाँ पाउनु ? आफन्त भनेर के गर्नु र। तीन महिनाको तलब आफन्तका साथी हाकिमलाई उहाँको घरैमा बुझाउनु पर्ने रे। अरू कसैले थाहा नपाउनु पर्ने रे । उसको हाकिमले जागिर दिनुअघि फोनमा हँसिलो स्वरमा सोधेको थियो । अर्थ बल्ल पो बुझ्यो उसले, ''तिमीलाई जागिर दिएर हामीलाई के फाइदा नि ?''

अफिस जाँदा बाटोमा भेटिएको एउटा अर्को साथीले एकै सासमा उत्सुकता, खुसी अनि त्यसपछि निरास व्यक्त गर्‍यो, ''तँ त भन्सारमा रे, हैन ? मोज गर न अब । तेरै छ अब बेला । आफ्ना मान्छे सरकारमा आएको बेलामा पनि मोज नगरे कहिले गर्छस् त । मेरा आफ्ना मान्छे त अहिले कुना लाग्या छन् । कहिले सत्तामा आउने हुन् ? मैले जागिर पाउने कुरो त अब त्यत्तिकै हो ।''

उसले जवाफ दियो, ''अब के गर्छस् त ? स्वतन्त्र भएर घुम् न, आनन्दले । साथमा बेरोजगार युवा जमात छँदैछ ।''

उसले अरू केही बोल्न सकेन । मनमनै घुटुक्क विरह निल्यो । तीन महिनासम्म एक पैसा तलब नलिई घरपरिवार कसरी मिलाउने हो । उमेरदार स्वास्नी, तोतेबोली बोल्ने छोरी, अधवैँसे आमा, बुढौलीतिर उकालो लागेका बुबा र तिनीहरूका आकाङ्क्षाका ब्ल्याकहोलहरू कसरी पुर्ने होला । उनीहरूका सपनाका बगरहरू कसरी सिँच्ने होला । जागिर के खाइयो, विस्मातै विस्मात् । आमाबालाई छोराबाट धेरै आशा थियो । उनीहरूलाई कति पैसाले नपुगेको हो कुन्नि । मेरो आफ्नो परिवारको आवश्यकता भन्सारको जागिरको भरमा म आफैँले पूरा गर्नु पर्ने रे । अब उनीहरूले सहायता नगर्ने रे । बहिनी र भाइको बिहे गर्नु बाँकी नै छ ।

ऊ एक्कासि झस्क्यो । साथीको प्रश्नको झापडले उसको एकाग्रता भङ्ग भयो, ''के घोरिइराख्छस् Û कतै मीठामीठा योजना त बनाउँदै छैनस् ? भन्सारमा काम गर्ने योग्यता केके हुन् थाहा छ तँलाई ? फटाइँ, बठाइँ, ढटाइँ, झुटाइँ हुन् । अनि फुट, कुट र लुट हुन् । सोझोपन, इमान्दारी, सचाइ र पारदर्शिता चाहिँ अवगुण हुन् । खै तैँले गरी खालास् भन्ने मलाई विश्वास छैन ।''

उसले हतारमा जवाफ दियो, ''लहै, अब पछि लामो कुरा गरौँला । अहिले मलाई आफ्नो भन्सार अफिस जान ढिलो भैसक्यो ।'' ऊ सीधा पारामा हाँस्दै सरासर लम्क्यो । उसको साथीले पनि लम्केको उसलाई एकचोटि फरक्क फर्केर हेर्दै आफ्नो पूर्व बाटो उल्टो दिशातिर पाइला अघि सार्‍यो ।

शैक्षिक योग्यताले ग्रेजुएट पार गरे पनि व्यवहारिकतामा ऊ अन्डरग्रेजुयट नै थियो । त्यसमा पनि भन्सार अफिसको मामलामा त बिलकुल अनभिज्ञ थियो, भन्सार अफिसभित्रको तलदेखि माथिसम्मको शृङ्खलाबद्ध धमिलो सञ्जाललाई झण्डै दुई महिनासम्मको अफिस कार्यबाट पनि उसले त्यति राम्रो बुझेको थिएन । ऊभन्दा माथिल्लो एकजना अफिसर प्रायः हरेक दिन जस्तो उसको टेबुलको बाटो गरी सचेतनाका शब्दहरू उसको कानमा पारिदिने गथ्र्यो, ''विस्तारविस्तार सिक्दै जानुहुन्छ । पहिले सबै नौलो नै लाग्छ ।''

एक दिन उसलाई ज्यादै अचम्म लाग्यो । किन यो मान्छे मेरो अगाडि सधँै एउटै कुराभन्दै जाने गर्छ ? सिकाउन चाहिँ केही पनि सिकाउँदैन फेरि । उसलाई चाहिँ कामको अलि राम्रो थाहा नपाएर हो कि, खाली नै बस्नुपर्ने हुन्थ्यो । त्यसैदिन हाकिम साहेबले सबै कर्मचारीहरूलाई एकैठाउँमा भेला गरेर बडो उत्साहित हुँदै भाषण गर्नुभयो, जसलाई मिटिङ परामर्श वा तालिम जेजे संज्ञा दिए पनि उचितै हुन्छ । उहाँ भन्न थाल्नुभयो, ''यस आर्थिक वर्षको पूर्वार्द्धमा गएको वर्षमा भन्दा पच्चीस प्रतिशतले घटी राजस्व सङ्कलन भएको छ । निर्धारित लक्ष्य हासिल गर्न बत्तीस प्रतिशतले राजस्व घटी दर आवश्यक छ । यो अवस्था विश्वमा भएको आर्थिक मन्दीको प्रत्यक्ष असर हो भनी हामीले मानि आएका छौँ । राजस्वमा राज्यले भर पर्नु परेकोले विश्व बजारबाट आयात गरिने र राज्यबाट निर्यात गरिने वस्तुमा भन्सार महसुल बढ्ने अनुमान छ । नाकामा चोरी, तस्करी र अवैध व्यापारलाई व्यवस्थित गरिने छ र यसले राजस्व घटी दरमा सकारात्मक योगदान पुर्‍याउने छ ।''

त्यहाँ बसेका सबै कर्मचारीहरू दाँत चाहिँ नदेखाएर मन भित्रभित्रै मुस्कुराउन थाले । त्यसको झलक उनीहरूका ओठहरूमा प्रतिविम्बित भयो । ऊ भने अलमल्ल परेर मुस्कुराउन सकेको थिएन किन कि उसको अर्थमा हाकिमको भाषण अर्थशास्त्रको सिद्धान्तको विपरीत थियो । उसले बुझ्नै सकेन । त्यसैले त्यतिका कर्मचारी मुस्कुराउँदा पनि ।

त्यो 'ऊ' पात्रमा भर्खर भर्खर जागिर खाएको जोस र उमङ्ग थियो । उसलाई अफिसको जस्तोसुकै जटिल कार्य पनि गर्न सक्छु भन्ने आत्मविश्वास थियो किनकि उसको शैक्षिक योग्यताको प्रमाणपत्र राम्रै श्रेणीको थियो । उसको जोस, जाँगर र उमङ्गले उसलाई बारम्बार यही अर्ति र शिक्षा दिइरहने गथ्र्यो, 'तैंले इमान्दार, चरित्रवान र पारदर्शीको नमूना बनेर देखाउनुपर्छ । बुझिस्, भनी पछि गएर तँ पनि त्यस्तै भन्सारको हाकिम बन्नुपर्छ र अति राम्रा भाषणहरू गर्नुपर्छ ।''

दोस्रो दिनको तालिम चाहिँ ठूलो हाकिममुनिको सानो हाकिमले दिने निर्णय भएको थियो । सानो हाकिमले उसलाई औँल्याउँदै तालिमको सुरूमा भनेको थियो, ''तपाईंलाई चाहिँ विशेष तालिमको व्यवस्था हुनेछ । हाकिमले भन्नुभा छ ।'' उसले जिज्ञासा पोख्यो, ''कस्तो विषेश तालिम ? मलाई मात्रै ? किन र ?''

''हो विशेष तालिम । तपाईंलाई मात्रै । किनकि भन्सारको मामलामा तपाईंलाई क, ख पनि थाहा रहेनछ । त्यसैले विशेष तालिम दिनुपरेको ।'' भन्सार अफिसबाट साँझ घर र्फकने बेलामा ऊ घरतिर नगएर सीधै पुस्तकालयतिर हान्नियो । भन्सार बारेका पुस्तक खोजेर पढ्नका लागि । गहिरो अध्ययन गर्नका लागि । एक्काईसौँ शताब्दीका विकसित राष्ट्रको बढ्दो व्यवहारिक पक्षका विषयहरू बीसौँ शताब्दीका सैद्धान्तिक किताबहरूमा खोज्न थाल्यो । भन्सारका बारेमा अक्षरका बोलीहरूमा, यस्तैयस्तै पढ्यो उसले जस्तै सहजीकरण, मूल्याङ्कन, वैज्ञानिकता, नियन्त्रण, प्रहरीबल आदि आदि । अकस्मात् कहाँबाट हो उसको साथी टुप्लुक्क आइपुगेर छेवैमा उभिएको रहेछ । उसले कापीमा नोट गरिरहेका बूँदाहरू पढ्दै रहेछ । त्यसले उसको लेख्दै गरेको कापी झ्वाट्ट खोस्दै उसको अनुहार हेरेर मरीमरी हास्न थाल्यो ।

''हैन किन हाँस्छन् तँ ।''

''यी सबै वाइहृयात कुराहरू हुन् । गाँठ कमा गाँठ । मौका नचुका । यस्तो मौका पाएको छस् योजना बना । हाकिमलाई सहयोग गर् । उसका गुणहरूले व्यवहार र कामकाज झट्टै सिकिहाल् । त्यति पनि थाहा छैन तँलाई भन्सारमा के हुन्छ भनेर ?''

''के सोचेको छस् मलाई ? मैले कति राम्रो काम गरिरहेको छु । भन्सारमा हुने र भइरहेका अनियमितताहरू, घुसखोरी, तस्करी, जालसाझी, छलकपट आदि सबैको रिपोर्ट लिन म सिकारी कुकुर र जङ्गलचहारेझैँ गरी अफिसका सबै भाग चाहार्छु । सबै रिपोर्ट सीधा म हाकिमकहाँ पुर्‍याउँछु ।''

''अनि हाकिमले के भन्यो त ?''

''सबै दिन सुन्ने मात्र गथ्र्यो । एक दिन त त्यसको पनि मुडअफ भएछ क्यार तपाईं ज्यादा बाठो बन्ने कोसिस नगर्नोस् । आँखा चिम्लिएर बस्ने गर्नोस् । त्यसैमा तपाईंको भलाइ छ । तपाईंउपर यहाँ प्रशस्त उजुरीहरू आएका छन् । हेर्नुहुन्छ ? पढ्नुहुन्छ उजुरीका बेनामी पत्रहरू ? ऊ त्यो र्‍याकमा गएर फाइल उठाएर यहाँ ल्याउनोस्'' भन्नुभयो । फाइलमा त एक दर्जनभन्दा बढी मेराउपर लेखिएका उजुरीका बेनाम चिठीहरू रहेछन् । म त छक्क परेँ । मैले हाकिमलाई भनेँ, ''यहाँ त घूसखोरी र कमिसनतन्त्रको अखडा नै रहेछ । एउटा बलियो सञ्जाल नै रहेछ सर् ।'' अनि त हाकिम झोक्किएर मतिर आँखा पल्टायो, ''खुब थाहा रहेछ तपाईंलाई । धेरै जान्ने नबन्नोस् दुःख पाउनु होला ।''

यो सुनेपछि उसको साथीले फेरि सल्लाह दियो, ''रिपोर्ट गर्ने नगर । किन टाउको दुखाउँछस् ?''

''किनकि म इमान्दार, पारदर्शी र आदर्शको नमूना बन्न चाहन्छु । म पनि पछि गएर हाकिम नै बन्न चाहन्छु ।''

उसको साथी उसको कुरा सुनेर खित्का छोडीछोडी मरीमरी हाँस्न थाल्यो, ''ल, तँसँग कुरा गर्न नसकिने भइयो । पछि भेटौँला ।''

उसले आफैँसँग मनमनै भन्यो, ''यस्तो प्रतिस्पर्धाको युगमा पनि आफ्नो पार्टी सरकारमा हुनाले सजिलै नोकरी पाइरहेँछु । बिना जाँच, बिना प्रतियोगिता, बिना मूल्याङ्कन, विना नतिजा सजिलै मानौँ ठूला मानिसले राजनीतिक नियुक्ति पाएझैँ जागिर पाइरहेछु । जागिर पाइनुभन्दा जागिर जोगाइनु पो गाह्रो हुने भो मलाई । पहिले पनि त पुलिसमा जागिर पाएको थिएँ । पाँच महिनामै पुलिसको जागिरबाट हात धुनु परेको थियो ।''

सिस्नो, काँडा वा काँचका टुक्रालेझैँ गरी उसका साथीहरूका शब्दहरूले उसको दिमाग घोच्न थाल्यो । उनीहरूलाई भोजको व्यवस्था गर्नुपर्ने रे । त्यो पनि उसको पहिलो तलबमै । तीमध्ये एउटा साथीचाहिँ बढी उत्साहित देखियो, ''पाँचतारे होइन । चारतारे पनि होइन । तीनतारेमा हामी जम्मा सात जना जम्मा हुनुपर्छ । होटेल छनोट म गर्छु । हुन्न ?''

ऊ मौन नै रहृयो । ''बोल बोल मछली मुखभरि पानी'' को उखान उसमाथि चरितार्थ भयो । सबै साथीहरूको बीचमा ऊ अट्टहास हाँसो हाँस्यो, ''हा....हा....हा.....हा.... पहिलो तलबको रकम हा.....हा....हा......हा.....।''

एउटा साथीले अर्को साथीको कानमा सुटुक्क भन्यो, ''भन्सार अड्डाको जागिर । निक्कै हात पारेछ क्यार । 'साथी चाहिँको उत्साहित जवाफ उसको कानैमा पर्‍यो, 'होला होला । नत्र त्यसै किन त्यत्रो अट्टहास हाँसो हाँस्थ्यो र Û''

तीन महिनासम्म पनि उसले साथीहरूलाई होटेलमा नखुवाएपछि साथीहरूले गर्ने गरेको फोनको आवाज पनि उसको मोबाइलमा आउन छाड्यो । निरसतापूर्ण तीन महिना एनकेन इमान्दारीपूर्वक भन्सार अड्डामा बिताएपछि चौथो महिनामा अलिक ऊ उत्साहित देखियो । चार महिना पूरा भएको दिन तलब हातमा परेपछि हाकिम साहेवको उसलाई बोलावट भयो । ऊ बडो खुसी मुद्रामा हाकिमको कोठामा उपस्थित भयो, किनकि उसलाई आफ्नो इमान्दारीपूर्वक कर्तव्य निर्वाहमा ग्यारेन्टीकासाथ विश्वास थियो ।

''बस्नुस् मेचमा । जागिर खान सजिलो हुँदो रहेछ कि गाह्रो हुँदो रहेछ त ?''

''यो भन्सार अड्डाको जागिर ?''

''हो यो भन्सार अड्डाको जागिर ।''

''खै के भन्ने के । दुइटै, गाह्रो पनि सजिलो पनि । कुनैकुनै कुरा अलि अलि बुझ्न गाह्रो । कुनै कुरा सजिलो यस्तैयस्तै ।''

''तपाईंलाई अलि गाह्रैजस्तो लागेको हामीलाई महसुस भयो । हामीले तपाईंलाई सजिलो गरिदिएका छौँ ।'' हाकिमले एउटा चिठी उसको हातमा थमाइदियो । चिठी खोलेर उसले पढ्यो । यो पत्र उसलाई जागिरबाट बर्खास्त गरिएको चिठी थियो । बर्खास्त गर्नाको कारण निम्न बूँदाहरूमा समेटिएका थिए ः -क) अदूरदर्शी रिर्पोटिङ -ख) अपारदर्शिता

-ग) अनियमितता -घ) ज्ञान, सीप, कौशलताको कमी, सनातन भन्सार विधिमाथि अधिकतम हेलचेक्र्याईं, आदि ।

पढिसकेपछि उसका दुबै कान रन्किए । ऊ शब्दहीन र अवाक बन्यो । उसले महसुस गर्‍यो, उसका दाह्री, जुँघा, नङ सबै काटिएका अवस्थामा थिए । उसले हाकिमको अनुहारमा दाह्रा, नङ्ग्रा देख्यो । एक्कैछिन मूक चालमा बाघको आँखा र मनुष्यका आँखा आक्रोसपूर्ण एकाकार भइरहे । ऊ भित्र भुइँचालो, ज्वालामुखी, बाढी र आँधीहुरी एकैसाथ प्रवाहित भयो । किनकि ऊ विकासशील राष्ट्रको विकसित रूप एक आदर्श नमूना नयाँ देश थियो । उसको देशको ल्यान्डस्केप उसकै स्वरूपमा रूपान्तरित भयो । हिमालजस्तो हिऊँले छोपिएको चिसो लासझैँ उसको निधार थियो । दीनहीन चेहरा भित्रभित्रै बगिरहेका असङ्ख्य बेदनाका नदीहरू थिए । अटल, दृढ, स्थीर चट्टान वा पहाडजस्तो उसको छाती थियो । त्यसैको छहारीमा अनन्त परिकल्पनामा बालाझुल्ने उसको सुकोमल समथर मन थियो । उसले आफ्ना जिन्दगीका ल्यान्डस्केप एकान्त मनले सुम्सुम्याउन लाग्यो । दुइटा जागिरका अमीट सम्झनाहरूलाई निरीक्षण गर्न लाग्यो । एक्कासि मन कुदेर उसको घरमा पुग्यो । यस खबरले उसकी स्वास्नी, बाबुआमालाई चाहिँ ठूलो झट्का पर्ने भयो । सबैभन्दा ठूलो झट्का स्वास्नीको शान र समाजमा उसको सम्मानमा पर्ने भयो । उसले सोच्यो, भिजेको बिरालोझैँ भएर, नून खाएको कुखुरोझैं भएर, घाममा ओइलिएको पालुङ्गोझैँँ भएर ऊ घरभित्र पस्नेछ । उसकी स्वास्नीको आज खुसीको सीमा रहने छैन । छोरीसहित ऊ सपिङ्का लागि राम्रो ड्रेस र अधिकतम् मेकअप्मा तयार भएकी छ । चार महिनापछि बल्ल लोग्नेको तलब हात परेको दिन । उसलाई मन परेको गीत कोठाको क्यासेटमा घन्काएर बसेकी छ । गीतको बोलीले पनि दुई नोकरी छोड्नु परेको उसलाई विम्बात्मकरूपमा प्रहार गरिरहेछ । नाकेस्वरमा अधिकतम करूण रसको उच्चस्वर प्रवाहित गरिरहेछ । 'दिल की अरमा आँसुओं मे ।

अकस्मात ऊ तर्सियो । यो दिवास्वप्नबाट ऊ ब्यँूउझियो वर्तमानकालमा । हाकिमको आधिकारिक बोलीतिर ऊ अप्रत्याशित रूपमै ध्यानाकषिर्त भयो, ''जानुभन्दा अघि एउटा विज्ञापन तयार गरेर जानू ।''

''कस्तो विज्ञापन सर ?''

''नयाँ भन्सार सहायक अधिकृतको पदको लागि ।''

''किन विज्ञापन गर्नुपर्छ र सर् ? यो राजनीतिक नियुक्ति होइन र ?''

''तपाईंको यही प्वाक्क बोल्ने बानी नराम्रो छ क्या । ल भै गो जानुस् । लेख्नुपर्दैन हामी नै लेखौँला ।''

ऊ लुरूक्क र्फकने तर्खरमा थियो । र्फकनुअघि उसलाई एकछिन हाकिमलाई सोध्न मन लागेको थियो, ''अनि त्यो मेरा तीन महिनाको तलब नि सर् । त्यत्तिकैमा साथीहरूका मजाकका पूर्व बोलीहरूले उसलाई सयौँ सर्पलेझैँ डसे । अकस्मात डस्न आइपुगे । पहिले सुन्दा आनन्द लाग्ने ती शब्दहरू अहिले बिउँझैँ ऐँठन गरेझैँ हुनथाल्यो ः -क) ''अब मालामाल हुने भयो''

-ख) "अब यसले हामीलाई मान्छे नै गन्दैन ।" -ग) "यसलाई चढाइएका उपहार, नजराना, कोसेली राख्ने ठाउँ हुने छैन ।"

-घ) अहिलेजस्तो गरी पछि त यो हामीसँग बोल्दा पनि बोल्ने छैन होला । -ङ) यसका घरका सबै सदस्यहरूको भन्सार छलेर ल्याएको, उपहार पाएको आफ्ना आफ्ना छुट्टाछुट्टै गाडी हुनेछन् । पैदल हिँड्नु भनेको उहिलेको कुरा हुनेछ होला यसका लागि । -च) यसले पछि गएर हामीलाई गन्नेछैन, बोल्नेछैन होला । यसको कैयौँ ठाउँमा घर र जग्गाहरू हुनेछन् होला । -छ) यसलाई त टेबुलमुनि र टेबुलमाथिबाट नोटको ओइरो लाग्ने छ होला । यो मालामाल हुने छ होला ।"

साथीहरूका बोलीका उपर्युक्त झझल्को आएर सयौँ बिच्छीहरूले टोकेझैँ ऊ छट्पटायो । उदासिन भयो । उसले सुनेको थियो, ''उसको देशको दक्षिण भूभागका चौध ओटा खुलमखुला नाकाहरूबाट चेलीबेटी, जडीबूटी, लागूऔषधि, मिर्गाैलासहितका मानिसहरू, हस्तकलाका सामान, राता र सेता मूढाहरू, लत्ताकपडा, गलैँचा, अलैँची, सुकेको अदुवा, अन्नपात आदि अवैध निकासी हुने गर्छन् भन्ने कुरा'' उसले सोचेको थियो, ''यी सब चीज रोकथामका लागि ऊ कडा पाइला चाल्नमा मद्दत गर्नेछ । कार्यसफलता र कार्य कुशलताको नायक बन्नेछ र अन्त्यमा हाकिम बनिछाड्ने छ ।"

पालेले एउटा चिठी ल्याएर हाकिमलाई दिएर फर्कियो । हाकिमले त्यो खाम खोलेर पढ्दै जाँदा अनुहारमा अन्धकारको बादल छायो । अनि हिलो हुँडलिएको बाढी आयो । हाकिमले किन हो कुन्नि मतिर फर्केर भन्यो, ''खै त्यो तपाईंलाई मैले दिएको बर्खास्तको चिठी फिर्ता दिनुस् ।''

''किन र सर ?''

''मलाई पनि माथिबाट बरखास्त गरियो । नयाँ हाकिमले नै तपाईंलाई बरखास्त गर्नेछन् ।''

''किन र सर''

''किनकि आजै सरकार बदलियो ।''

हाकिमको उच्च शक्तिमा पुगेर बोल्ने त्यो बोलीको पारो अहिले अकस्मात् त्यसरी खस्केको देख्दा उसलाई अचम्म लाग्यो । भन्सारको हाकिमको उसलाई त्यतिबेला औधि माया लाग्यो । उसले भन्सार हाकिमलाई आफूभन्दा निरीह देख्यो ।

(मधुपर्क पुस, २०६७)

Segments: 

Comments