बेपत्ता

Author

उसको एउटा तस्बिर पनि थिएन। म कहिलेकाहीँ उसको बाक्लो आँखीभौं सम्झ्न्थें र त्यसै त्यसै गल्थें। उसलाई आफ्नो आँखीभौं त्यतिविधि बाक्लो भएकोमा सारै पीर थियो। आमाको, बुबाको, मेरो, काकाको कसैको पनि आँखीभांै त्यस्तो थिएन। हजुरबुबाको पो थियो कि? ऊ आमाबुबा दुवैलाई कचकच गरिरहन्थ्यो। अब तँलाई कोही केटीले बिहे गर्दैनन्, म उसलाई चिढ्याइरहन्थेँ। शुरुमा ऊ रुन्थ्यो, पछि-पछि त यही आँखीभौं देखेर ज्यान फालेर आउने छन् भन्थ्यो। हामी मरी-मरी हाँस्थ्यौं। ऊ हाँसेको सम्झदा अहिले भक्कानो फुट्छ।

म एसएलसी परीक्षाको तयारीमा थिएँ। उसले भर्खर नौ कक्षा पास गरेको थियो। कसले बहकायो कुन्नि, एक दिन अचानक भन्यो, “बुर्जुवा शिक्षा बेकार हो।”

“कसले भन्यो तँलाई यस्तो वाहियात कुरा हँ?”

ऊ केही बोलेन। तर, मेरो परीक्षा सकिएको भोलिपल्ट आधा रातमा उठाएर बरण्डामा ल्यायो अनि भन्यो, “दिदी, तेरो एसएलसी बिग्रन्छ भनेर आजसम्म कुरिरहेको थिएँ। अब म क्रान्तिमा हिँडेँ।”

वैशाख यसै पनि गर्मी महिना। उसको कुराले मलाई लोथ बनायो। जूनको उज्यालोमा उसको अनुहार नियाल्न खोजेँ, बाक्लो आँखीभौं मुनि निख्खर कालो आँखा चम्किएको थियो। मैले उसको हात समाएँ। उसले झ्ोला भिरिसकेको रहेछ। तैपनि, सोधेँ, “के भनेको?”

“दिदी, देशलाई हाम्रो खाँचो छ”, ऊ मान्नेवाला कहाँ थियो र!
ऊ अचानक मेरोसामु यसरी प्रस्तुत भयो कि मैले केही भन्नै सकिनँ। यसलाई कसरी सम्झ्ाउँ भनेर सोच्दासोच्दै ऊ आमाबुबाको ख्याल गर्नू भनेर आँगनमा झ्रिसकेको थियो।

त्यस दिनबाट म राम्ररी निदाउन सकेकी छैन।
चारजनाको सानो परिवार। बुबा-आमा आफ्नै खेतबारीमा काम गर्नुहुन्थ्यो। के हो शोषण, के हो भेदभाव, के हो वर्गीय विभेद थाह भएन। आमा चाहनुहुन्थ्यो, म नर्स बनूँ। ऊ पनि इन्जिनियर हुने कुरा गर्थ्यो। बुबाले त्यस्तो केही भन्नुभएको थिएन। अचानक उसको दिमागमा देशका लागि लड्ने कुरा कहाँबाट आयो मैले कसरी थाहा पाउनु? तर, आमाबुबालाई ममाथि शङ्का भयो।

बिहान आमाले उसलाई धेरै पटक बोलाउनुभयो। उसलाई चिया खुब मन पर्थ्यो। आमा निकैबेर कराएपछि मैले भनँे, “अब जति बोलाए पनि भाइ आउँदैन, राति नै घर छाडिसक्यो।”

आमाबुबालाई पत्यार लागेन। केही समयपछि मध्यरातमा ऊ आफैँ आएपछि मात्र पत्याउनुभयो। मध्यरातमा पनि आमाले पहिला चिया नै पकाउनुभो। दुब्लाएर हड्डी मात्र बाँकी थियो। मैले उसलाई धेरैबेर हेर्न सकिनँ। आमाछोरा भान्छामा धेरैबेर कुरा गरिरहे। म आफ्नो कोठामा चुपचाप बसिरहेँ।

“आजभोलि तेरो खुट्टा दुख्दैन?” आफैँ आएर सोध्यो। म उसलाई खुट्टा दुख्यो भनेर मिच्न लगाइरहन्थेँ। कहिलेकाहीँ त रोएपछि मात्र पत्याउँथ्यो।

“आजभोलि मुटु दुख्छ” म भक्कानिएँ।
उसले मेरो खुट्टा मिच्न थाल्यो।

“दिदी, हाम्रो देशको बेहाल छ। हामीले लड्नैपर्छ। एकदिन जितेरै आउँछु।”
उसका आँसु मेरा खुट्टामा झ्रे। बुबाले भोलिपल्ट घरमा भएको दशहजार चन्दा दिएर पठाएँ भन्नुभो। त्यसपछि उसलाई देखेको छैन।

सङ्कटकाल लागेको एक सातामा सेनाले हाम्रो घरमा छापा मार्‍यो। म फुपूको घर गएकी थिएँ। भाइको सबै फोटो लगेछ। कति न थियो र फोटो! उसले र मैले जम्माजम्मी दुईपटक स्टुडियो गएर खिचेका थियौं। त्यो पनि सेनाले लगेपछि सम्झ्नलाई उसको आँखीभौं मात्र बाँकी रह्यो।

करिब एक वर्षसम्म उसको चिठी आइरह्यो। पछिल्लो चिठीमा पश्चिम पहाडलाई कार्यक्षेत्र बनाएको लेखेको थियो। आमाबुबाका आँखा सुकिसकेका थिए। हरेक पल्ट चिठी पढेर सुनाउँदा म गल्थेँ, आमालाई हेर्न सक्दिनथेँ। शुरुमा त आमा यसरी भक्कानिएर रुनुहुन्थ्यो कि घरमा म चिठी पढ्नै सक्तिनथेँ। घरपछाडिको कागतीको झयाङमा आमाछोरी अँगालो हालेर रुन्थ्यौँ। पछि आमा रुन छाड्नुभएको थियो। बुबा चिठी पढ्दापढ्दै मेरो कपाल मुसारेर बरर्र आँसु झ्ार्नुहुन्थ्यो। अनि म झ्न् जोडले रुन्थेँ। पछि बुबा पनि रुन छाड्नुभो। बुबाआमा मलाई देखाएर रुन छाड्नुभो।

उसले पाउने नपाउने टुङ्गो नभए पनि एकपटक घर आउन भन्दै म चिठी लेखिरहन्थेँ। एक-दुई वटा उसले पाएको पनि थियो। ऊ आउँछु, आउँछु भनेर लेख्थ्यो। तर, लेख्यो मात्र आएन। उसका साथीहरू “कमरेडलाई पश्चिम फापेको छ, मोटाउनुभएको छ” भन्थे। म मुश्किलले पत्याउँथे। आमा कहिल्यै पत्याउनुहुन्नथ्यो।

“घरमा मैले नै पकाएर ख्वाउँदा त लिखुरे थियो” आमा सप्कोले आँसु पुछ्दै भन्नुहुन्थ्यो, “मधेशको मान्छे पहाडमा कसरी बसेको होला!” बर्खामा पहाडमा हिँड्न नजानेर ऊ कति लड्यो होला भन्ने चिन्ता आमा गर्नुहुन्थ्यो।
मैले चिठीमा उसलाई फोटो पठाइदिन भनेकी थिएँ। तर, त्यसपछि उसको कुनै चिठी आएन। माघको एकदिन भात खान आएको केटाले भाइ पक्राउ परेको सुनाएर गयो। कुहिरो लागेको त्यो दिन म कागतीको झयाङमा गएर बेस्सरी रोएँ। अब भाइ ठीकै छ भनेर आमाबुबालाई ढाँट्न सक्ने स्थिति थिएन। चैतको एक बिहान मैले कुरा खोलेँ। त्यो दिन आमा रोएको म कसैगरे पनि बिर्सन सक्दिनँ। उहाँका आँखा यसरी फाटेका थिए मानौं त्यो अब सधैँ त्यसैगरी खुला रहन्छ।

घरमा आउनेहरू सेनाले धेरैलाई पक्राउ गरेर मारेको सुनाउँथे। अब मैले पार्टीमा लागेर बदला लिनुपर्ने उनीहरूको भनाइ हुन्थ्यो। बेपत्ता हुनेहरूको सूचीमा मेरो भाइ मात्र थिएन। आफन्तहरू खोजेका खोज्यै थिए। फेला परेको एउटा पनि समाचार आएको थिएन। घरमा आउने केटाहरू पार्टीले खोजी राखेको छ भन्थे। उसलाई पार्टीले कुनै दिन अवश्य भेट्टाउनेेछ भन्ने आशा आमाबुबामा थियो।

पत्रपत्रिकामा भैरवनाथ गणको कुरा आउन थालेपछि आमाबुबालाई काठमाडौं गएर खोजे भाइ भेटिन्छ भन्ने लाग्न थाल्यो। उहाँहरू ऊ मरेकै भए पनि थाहा पाउन चाहनुहुन्थ्यो। म पनि थाहा पाउन चाहन्थेँ, तर मरेको होइन, बाँचेको। अनि उसको कान समातेर भन्नेथेँ, “किन यसरी रुवाइस्?”

पार्टी पनि खुल्ला भइसकेकाले अब पक्कै खोज्छ भन्ने आमालाई लागेको थियो। हाम्रामा भात खान आउने पार्टीका मान्छेहरू भने बिस्तारै हराउँदै गए। आमा तीमध्ये कसैको साथमा मलाई भाइ खोज्न काठमाडौं पठाउने विचारमा हुनुहुन्थ्यो। कोही नभए पनि आखिरमा आमाको मन राख्न म काठमाडौं आएँ।

भाइको चिठीमा पार्टीले क्रान्ति सफल भएपछि बलिदान गर्ने कार्यकर्तालाई सम्मान गर्नेछ भनेर लेखिएको हुन्थ्यो। तर, क्रान्ति अधुरै हुँदा खुल्ला भएकाले होला पार्टीले आफ्ना बेपत्ता कार्यकर्ता खोजेको थिएन। एकदिन धेरै किचकिच गरेपछि मलाई बेपत्ताहरूको सूचीमा कमरेड आरोहणको नाम देखाइयो। १९० नम्बरमा रहेको भाइको नाम मैले यसरी छोएँ मानौं म उसको कपाल मुसार्दैछु।

पार्टी कार्यालय गएपिच्छे मलाई कुन कमिटीको भनेर सोधिन्थ्यो। तर, म पार्टीमै थिइनँ। पार्टीमा किन भइनँ भन्ने कुरा आजसम्म आफैँले बुझन सकिनँ। पार्टीमा नभए पनि म अन्याय, असमानता, भ्रष्टाचारको पक्षमा भने थिइनँ। तर, पार्टीलाई पार्टीकै सदस्य हुनु जरुरी थियो।

पार्टी सरकारमा गएपछि आमा निकै आशावादी हुनुभयो। मलाई पनि अचानक आश पलाएर आयो। आखिर विनोद पो मेरो भाइ थियो, कमरेड आरोहण त पार्टीकै कार्यकर्ता थियो। बेपत्ता भएको पनि कमरेड आरोहण नै थियो।
पार्टीलाई समय लाग्छ भनेर म दुई महिनापछि त्यहाँ जाँदा फेरि तिनै जुँगावाला कमरेड शिवसँग भेट भयो। उनी पत्रिका पढ्दैथिए।

“खोज्दैछौँ”, उनले मतिर नहेरी भने।
“हराएको पाँच वर्ष भयो, कहिलेसम्म खोजिरहनुहुन्छ?”

“पार्टी भर्खर सत्तामा आएको छ”, उनले पत्रिका बन्द गरे, “चिन्ता नगर्नुस्।”
मैले चिन्ता नगर्ने प्रयत्न धेरै गरिसकेकी थिएँ। पार्टी कार्यालय जान्न भन्ने पनि सोचेकी थिएँ। तर कहाँ जाउँ्क? आखिर भाइ त्यही पार्टीको कार्यकर्ता थियो। केही दिनपछि फेरि गएँ।

“पार्टीको अरू पनि काम हुन्छ”, कमरेड शिव झ्ोक्किए।
“के के काम छ पार्टीको?” म पनि झ्ोक्किएँ।
“को हो तपाईं?”

“आज तपाईं यहाँ बसेर जुन सास फेरिरहनुभएको छ, त्यसका लागि मेरो भाइ लडेको छ।”
“तपाईं त लड्नुभएन नि!”

“म पनि हराएकी भए आज मेरो भाइको पक्षमा को लड्थ्यो?”
“पार्टी छ।”

“कहाँ छ पार्टी?” मैले सोधेँ, “सिंहदरबार, बालुवाटर वा लैनचोरमा?”
“चुप लाग्नुस्”, उनी चर्किए, “तपाईंको काम छैन?”
“छ, धेरै ठूलो काम छ”, म औंलो ठड्याउँदै गर्जिएँ, “बेपत्ता कार्यकर्ता नखोजेर सत्तामा रम्ने तपाईंहरू सबलाई लाइन लगाएर गोली हान्न बाँकी छ।”

म यसरी गर्जिएँ कि आफ्नो गर्जनले आफैँ कामेकी थिएँ। कार्यालयमा भएका सबै एकछिन स्तब्ध भए। त्यसपछि मलाई बाहिर निकालियो।

आमालाई यी सब बेहोराका साथ लेखेँ, “यो शहरमा आलुको त कुरै नगरौं, भिन्डी पनि छोई नसक्नु छ। साग पनि उस्तै छ। गाडीका धुवाँले मलाई कहिल्यै सञ्चो गरेन। म यहाँ बस्न सक्दिनँ। भाइको अन्तिम संस्कार गरौं।”

आमाले काक्रो, भिन्डी, सागसँगै कसलाई हो लेखाएर एउटा चिठी पनि पठाउनुभएछ, “केही दिनलाई पुग्ने तरकारी पठाइदिएकी छु। शहर महँगो छ, तर त्यही महँगो शहरले मेरो छोरा, तेरो भाइ जिउँदो वा मरेको के छ भन्न सक्छ। तँ त्यो जवाफ नलिइकन फर्कने कुरा नगर। अलि दिन धुवाँ निल, विस्तारै पचाउँछेस्। एकदिन पार्टीले पनि आफ्नो कार्यकर्ताबारे जवाफ नदिई धर पाउने छैन।”

म शहरको धुवाँ पचाउँदै विनोदलाई खोज्दैछु। पश्चिम पनि जाने निर्णय गरेकी छु जहाँबाट ऊ हराएको थियो। बूढा आमाबुबा पैसाको बन्दोबस्त गर्दै हुनुहुन्छ।

(हिमाल खबरपत्रिका असोज-कात्तिक २०६७)

Segments