Loading

बालुवा

मान्छेका ताँती आउँछन्
खै कुन-कुन सम्भावनाहरू देख्छन्
र खन्याउँछन् बाल्टीका बाल्टी पानी

कोही खोतल्दै सुन खोज्छन्
कोही माटोमा मिसाइदिन्छन्
र रोप्न खोज्छन् सपनाहरू
जब भेटिँदैन सुन अनि
जब उम्रिँदैन सपना अनि
सत्तोसराप गर्छन्
बालुवा- सुनिरहन्छ,
बालुवा भएर सहनुको नियती
त्यही बगरलाई थाहा हुँदो हो

कोही बनाउँछन् बालुवाको घर
ढुङ्गाका मान्छेहरू सजाएर,
जब एउटा छालमा भात्किन्छ महल
अनि सिपी खोज्न दौडिन्छन् मान्छे
त्यही पनि कस्तो अचम्म !
मान्छे बालुवा खेलाइरहन्छन्
आकृतिहरू ठड्याइरहन्छन्
र बालुवा बगिरहन्छ
मान्छेका रहर जस्तै
एउटै झोंक्कामा पर-पर

जीवन फुलाएर बाँच्न नसक्नु
सिर्जना रोपेर उम्रिन नसक्नु
छालहरूमा हुत्तिन बाध्य हुनु
अनि खण्डहर बनेर रहिरहनु
र पनि एउटा मृगतृष्णा दिन सक्नु

आफैँ एउटा जेल जस्तो
आफैँ एउटा झुट जस्तो
बालुवा आफैँलाई नियाल्दो हो 
मान्छेले मात्र होइन
बालुवाले आफैँलाई निकम्मा ठान्दो हो
बालुवा भएर बाँच्नुको बाध्यता
त्यही बगरलाई मात्र बिझ्दो हो, 
त्यही बगरलाई मात्र दुख्दो हो ।

 

Segments: 
Author: 

Comments