Loading

पैयुँ फुल्ने गाउँ

लाली गुराँस फुल्यो
ओइलियो झर्यो
पैयुँ फुल्यो
ओइलियो झर्यो
सयपत्री, मखमली फुले
ओइलिए झरे,
फुल्नु प्रकृति
ओइलिनु, झर्नु
नियति !
थिए आदिम मान्छे
अनिकाल थियो अक्षरको
बिना शब्द टाँग्थे कविता
गुराँसे हाँगामा
गाउँथे गीत विना स्वर
छहरे छाँगामा ।
पैयुँ फुल्ने गाउँ
यौटा अलिखित कविता
जो ! लेखिएकोभन्दा उत्कृष्ट लाग्छ !
पैयुँ फुल्ने गाउँ
नगाइएको त्यो गीत,
जो, गाइएकोभन्दा मीठो लाग्छ !
 
ङोल्स्यो छम्छमाउँदा
पैयुँको छायामा
ठुस्स पर्छे उता
मितिनी माछापुच्छ्रे
वाह !
मीठो ईश्र्या
हेरेका सबै
देख्न सकिन्न,
देखेका सबै
लेख्न सकिन्न !
पैयुँ फुल्ने गाउँ
भेट्नु एकदिन,
मै हुँ भन्नेले !
००
अक्षर यात्रा, वागेफड्के, स्याङजा

Segments: 
Author: 

Comments