Loading

पार्कमा एक घण्टा

केटोले केटीको ओठमा ओठ राख्न लाग्दा सम्म मैले हेरीरहे । केटीका आँखा बन्द थिए । जब उसले राख्यो नै तब मलाई अचानक खोकी आयो । मैले खोके, दुबै झस्किए । केटी लजाई, केटो रिसायो । यस्तो लाग्थ्यो उसले धेरै बल गरेर त्यो चुम्बन लिन खोजेको थियो । म बिचमा हलुवामा बालुवा भइदिए ।

"तँलाई पख!", केटोको रिस भरिएको आँखा मसँग जुध्दा मलाई गाली गरेजस्तो लाग्यो ।

"के यस्तो खुला ठाउँमा दिन दिउँसै गति छाडेको त!", मैले पनि आँखामा रिस नै ल्याएर आँखाको भाकामा भने ।

ऊ उतापट्टी फर्क्यो ।

गणेशमान पार्कमा म दुई बजे पुगेको थिए । गणेशमानको शालिक भएको ठुलो ढुंगोको थुम्को पछाडी ति जोडीको भिलेन भएर धेरैबेर उभिरहन मलाई मन लागेन । अलि परको बेन्चीमा टुसुक्क बसे । रत्नपार्कमा गाडीहरू आइरहेका छन्, गइरहेका छन् । म पनि कुनै गाडीबाट भर्खर झरे । अर्को कुनै गाडीबाट झर्ने साथीलाई कुर्नु थियो । हिउँदको शुरूवातसंगै शहरका पार्कहरूमा बदामको ब्यापार बढेको छ ।

"बदाम, पानी, लेज, कुर्कुरे", केटो परबाट चिच्याउँदै आएर मेरो अगाडी उभियो ।

मैले धेरैबेर केटोको अनुहारमा हेरीरहे । मेरो ध्यान आखिरमा उसको अनुहारबाट तल झर्दै झर्दै चेन नलागेको उसको पाइन्टमा आएर अड्कियो । मैले अनुहारमा भन्दा धेरैबेर त्यँहा पो हेरे, केटो चाल नपाउन्जेल त के लिने दाई के लिने भन्दै थियो तर जब चाल पायो, ङिँच्च पो हाँस्यो ! र भाग्यो ।

मैले अखबार पल्टाए । खबरले म झस्किए, सहरी क्षेत्रका १९ प्रतिशतमा मधुमेह! आत्तिदै खबर पढे, चालिस बर्षमाथिका १९ प्रतिशत जनसंख्यामा मधुमेह फेला परेको एउटा संस्थाको सर्भेक्षणको आधारमा समाचार लेखिएको रहेछ। मन चिसो भयो । न त म चालिसको थिए, न त म शहरको थिए तर म गाउँको पनि त थिइन नि अनि पच्चिस भएर के गर्नु पच्चिसको जस्तो जिवन म कँहा भोग्दै थिए त! कपाल नफुले पनि म बुढो भइसकेको थिए, हरेक क्षण निराश भएर म खुइय खुइय गर्थे, त्यो बुढ्यौलीकै संकेत थियो ।

पार्क पार्क जस्तो बनिसकेको छैन । केवल हिउँदका लागि मात्र ठिक्क छ । बिरूवाहरू भर्खर हुर्कदै छन् । अगाडीको रत्नपार्कका अगाडी यो पार्क पुरा बन्जर जस्तो लाग्छ । साथीले यहि कुर्नु भनेको छ । म कुरीरहेको छु, पार्कका तिन चारवटा मध्ये एउटा बेन्चमा मैले अड्डा जमाएको छु । म घरि यता नजर डुलाउँछु घरि उता! साथी अझै आएन बरू अगाडी दुईवटा उही म जस्ता न गाउँका न शहरका आएर बसे । बदामवाला केटो दौडेर आयो, तिनीहरूले पाँच रूपियाको बदाम किने ।

"दश रूपियाँको किन्नुन!", केटोले बदाम दिदै भन्यो ।

"तेरो बाउले पैसा दे'को छ", एउटाले भन्यो ।

केटोले अनुहार बिगार्यो होला, मैले त उसको ढाड मात्र देख्थे । फेरी केटोले भनेन । एउटाको निलो भेस्ट लाएको थियो अर्कोले कालो सर्ट लाएको थियो । दुबैका कपाल ठुटे पारेर काटिएका छन् ।

"अब पनि भिसा भएन भने त!", कालो सर्टवालाले दार्हा किट्दै भन्यो । निलो भेस्टवाला केही बोलेन ।

"तैले गर्दा त हो नि मैले पैसा दिएको!", फेरी उहि बोल्यो, "गाउँबाट बाउले फोन गरेर कहिले जाने भनेर सोधेर हैरान पारीसके। यँहा भने यस्तो चाला छ । अब त म वाइसिएल लगाउँछु"उसले जोडले मुठ्ठी कस्यो । यस्तो लाग्थ्यो, ऊ हजार वाइसिएल बराबर छ तर उसलाई थाहा छैन ।

"तिमी नै वाइसिएल भन्दा कम छैनौ नि!", मलाई प्वाक्क बोल्न मन लागेको थियो तर बोलिन । केवल उसले मुठ्ठी कसेको हेरीरहे ।

दौरा सुरुवाल लाएका मान्छे त शहरमा बडो अचम्म देखिदा रहेछन् । मैले मेरै छेउमा ढ्यासिन आइपुग्दा पनि त्यो बुढो मान्छेलाई पक्क परेर हेरीरहे । उसले टोपी खोल्यो, मैले देखे उसको तालुमा घाम परेर घाम टल्कीरहेको थियो । शरिरबाट आएको पसिनाको गन्ध नाक पर्दा मेरो अनुहार आफै खुम्चिए ।

"बाबुले क्याम्पसका कोही नेता चिनेका छौ?", बुढाले बोलेको सुने ।

म चश्मा लगाएर अन्तिम पृष्ठको समाचार पढ्दै थिए । समाचार कोरियाली फिल्म महोत्सबको बारेमा थियो, महोत्सब भन्दा पनि महोत्सबमा देखाइएको"इलमेयर" भन्ने फिल्मको बारेमा थियो । म पढ्दै थिए, कसरी नायक र नायिकाको प्रेम हुन्छ । बुढाको कुराले म रोकिए तर मैले बुढातिर हेरिन । बुढाले फेरि भने अनि मैले हेरे।

"किन बा?", म गाउँले भए ।

"छोरोको खोइ के जाँचमा नाम निस्किएन रे, नेतालाई भन्यो भने हुन्छ रे", बुढाले एकै सासमा भने । खोटाङ्ग देखि झरेका रहेछन्, छोरालाई क्याम्पस पढाउन । फर्स्ट डिभिजन भएपछि साइन्स पढाउन ल्याएका त्रि-चन्द्र कलेजमा इन्ट्रान्समै नाम निकालनेछ स्वाँठले । त्यो मोरोको अनुहार हेर्न मन लागेको थियो ।

"मेरो एउटा साथी छ, म भनिदिउँला", मैले बुढालाई आश्वशन दिए । बुढाले हात जोरेर कृतज्ञता जनाए । एकछिन भलाकुसारी गरे, बाबुको घर काँ' बुढाको जवाफमा मैले भने, "गाउँ नगएको धेरै भयो, तर काठमाडौंमा घर छैन"
बुढाले मेरो फोन नम्बर लिएर लागे । साथी अझै आएन ।

"बसौ है", एउटी केटी आइ ।

मैले द्रुत गतिमा आफ्ना नजर उसको शरिरमा डुलाए अनि मात्र हुन्छको मुन्टो हल्लाए तर ऊ बसिसकेकी थिइ । त्यस्तो बिशेष बर्णन गर्न लायक केहि थिएन । ऊ थकित देखिन्थी । न त उसका आँखाहरू मृगका जस्ता थिए न त कम्मर बारूली थियो बरू उसको शरिरबाट तेलको गन्ध आयो । मेरो अनुहार फेरी खुम्चियो । उसले मतिर हेरी, मैले ऊतिर नहेरेको जस्तो गरे । फेरी त्यहि मधुमेहवाला समाचार पढे । बदामे केटो आएन । मलाई लागेको थियो, केटो आओस,उसले बदाम किनोस र मलाई पनि खान अनुरोध गरोस अनि कुरा शुरू गरौं । मैले सोचे, मेरो मनमा यस्तै आयो त म के गरौ?

"हलो", उसको स्वरले सुनेर मैले उसलाई हेरे । मलाई लाग्यो उसले मलाई बोलाइ तर ऊ त फोनमा कुरा गर्दै रहिछे ।

"छाडिदिनुस कसले के भन्छ भन्ने कुरामा म मतलव राख्दिन । म खुसी छु", उसले फोनमा भनिरहेकी थिइ । मैले हेरे, नभन्दै उसको अनुहारमा थकावटको बिचमा पनि सन्तोष नाचिरहेको थियो । उताको कुरा नसकिउन्जेल चुप लागेर सुनीरही । मैले उसलाई हेरीरहे, उसले मलाई हेरिन । ऊ फोनमा व्यस्त छे र नजर पर रानीपोखरीको बारमा टिकाएकी छे । मैले पनि उसंगै नजर रानी पोखरीतिर लगे, देखे ति प्रेम जोडी बारलाई समातेर रानी पोखरी हेर्दै थिए ।

"साथी, मान्छेको जात के भन्न बेर लाउँदैन र? पछि लागेर हुन्छ? हेर्नुहोला एकदिन कसरी तिनले त्यहि कुरालाई सच्याएर भन्नेछन् । पृथ्बी गोलो छ, सबको पालो आउँछ", उसले बाइ पनि नभनी फोन राखी । उसले मैले हेरेको चाल पाइछ क्यार! मतिर पुलुक्क हेरी! म मुस्काउन सकिन तर मलाई उसको कुरा गज्जब लाग्यो । मान्छेको जात के भन्न बेर लाउँदैन र? अनि पृथ्बी गोलो छ । मैले एकछिन सोचे, मलाई फेरी पनि उसका कुरा गज्जब लागे ।

"तपाईले गज्जब कुरा गर्नु भो, मान्छेको जात अनौठो छ जे पनि भन्छन्", आखिरमा म पो बोलेछु ।

"मेरो कुरा होइन, यो पारिजातको महत्ताहिन उपन्यासको हिरोको डायलग हो, मेरो जिवनमा यतिखेर सान्दर्भिक भएको छ । त्यसैले मैले सापटी लिएकी!", ऊ हिडी । उसको कालो ब्यागमा "ड्याम केयर" भनेर लेखेको रहेछ, मैले ऊ पर पुगुन्जेलसम्म हेरीरहे ।

बदामे केटो फेरी आएन । घाम न्यानो छ । साथी अझै आएको छैन । म फेरी पत्रिकामा फर्किए । भोलीपल्ट देखाइने "आइ विस आइ ह्याड अ वाइफ" र "जस्ट डु इट" भन्ने फिल्म मध्ये मैल पहिलो चाँहि फिल्मका लागि समय निकाल्ने अठोट गरे ।

"के हो साथी", साथीले पछाडीबाट ढ्याप मार्यो र आँखी भौ उचाल्दै भन्यो, "मलाई चाहिँ नभेटाउने भाउजुलाई!"

पहिला त वक्क परे तर एकैछिनमा बुझे । केटीले कस्तो ठिक वाक्य फेला पारिछ, मान्छेको जात के भन्न बेर लाउँदैन र?!!!!!!

म पार्क बाहिर निस्कदा पछाडी फर्केर हेर, देखे केटोको अन्जुलीमा केटीको अनुहार छ । उसले फेरी चुम्बन गर्नै लागेको छ । मलाई फेरी खोकी आयो, तर म टाढा भएकाले केटोले सुनेन अनि मैले हेरिरहन सकिन ।

Segments: 
Author: 

Comments