Loading

पाण्डुलिपि

१) अज्ञात लेखक

त्यो कुनै आदिवासी-मौसम थियो सायद....। एउटा आत्मकथाको पाण्डुलिपी मैले रहस्यमय तरिकाले हराएको थिएँ । एक वृद्ध लेखकका निम्ति त्यो एक अकल्पनीय व्यथा, चोट हुनुपर्छ । तर, मेरो कुरा भने अलि बेग्लै प्रकारको थियो । आफूले दुःख/मेहनतसाथ सिर्जना गरेको नवीन कृति हराएकोमा भन्दा मलाई आफ्नो ALZEIMER(अल्जाइमर) रोगप्रति बढी नै दुःख लागेको थियो । मलाई क्रमशः दिनप्रतिदिन बिर्सने रोगले आफ्नो सिकार बनाउँदै थियो । धेरै कुराहरू म बिर्संदै थिएँ । आफ्नो अतीत/जीवनका भावी योजना/दिक, काल र समय गजबसित मेरो स्मृतिको कालोपाटीबाट हराउँदै थिए । प्रायः झस्कन्थेँ । मेरो निजी मनोचिकित्सकका अनुसार म यस्तो अजीव प्रकारको रोगको मध्यम चरणमा थिएँ -
विगत केही समयदेखि म आफ्नो जीवनी लेखनमा व्यस्त थिएँ । आफ्नो जीवन कुनै खास महत्वपूर्ण नभए पनि म अनायास त्यस विधाप्रति आकर्षित भएको थिएँ । सिर्जनात्मक अन्वेषणको अन्त्य भएपछि सायद मजस्ता बूढा लेखकहरू आत्मकथातिर आकर्षित हुन्छन् । मेरा सम्पादकहरू एवं प्रकाशकहरूले मलाई अनावश्यक उचालिदिएपछि मैले त्यस्तो 'आत्मकथा' लेख्ने कठोर निर्णय लिएको थिएँ । आत्माको अस्तित्वबारे अनभिज्ञ मैले कसरी त्यस्तो कृति (या विकृति) लेख्‍ने आँट गरेँ !

मेरो जीवनी अर्थात् मेरो तथाकथित आत्मकथाको नाम उनीहरूले नै न्वारान गरिदिएका थिएः 'पाण्डुलिपि' ।

आफ्नो जीवनको लामो अध्याय मैले तपाईंको कोलाहल सहरमा बिताएँ । यसमा अफसोच गरिहाल्नुपर्ने अब कुनै कारण रहेन । कला, साहित्य इत्यादिको सेवाका निम्ति भनी मैले मेरो जति आयु छुट्‌याएको थिएँ, त्यो अब समाप्त हुँदै थियो । अब अचाक्ली बूढो भइसकेको थिएँ -
साहित्यमा बूढा लेखकहरूको कुनै सुरक्षित ठाउँ थिएन । त्यसैले, वृद्धावस्थाका निम्ति भनी मैले काठमाण्डूमा पुस्तौँदेखि रहँदै आएको आफ्नो पुख्र्यौली घर एउटा लोकप्रिय युवा जादुगरलाई बेचिदिएँ र चापागाउँको दक्षिण भेगमा एउटा आधुनिक आश्रम बनाएँ -
'आश्रम' शब्दले मेरा पाठकहरूलाई एउटा वैदिक समस्या प्रदान गर्ला कि भन्‍ने मलाई अलिकति त्रास छ । क्षमा पाऊँ । यो आश्रम कुनै धर्मभीरु/आध्यात्मिक-बाबा या यस्तै जोगी, सन्यासी बसोबास गर्ने परम्परागत आश्रम कदापि थिएन । त्यहाँ त बरु एउटा निर्वासित बूढो लेखक बस्ने गथ्र्यो जो प्रायः आफ्नो नाम बिर्सन्थ्यो/काम बिर्सन्थ्यो अनि राम बिर्सन्थ्यो -
म क्रमशः अल्जाइमर रोगले ग्रस्त हुँदै थिएँ । मनोचिकित्सकले क्रियापूर्ण दिएका रङ्गीचङ्गी ट्याब्लेट एवं क्याप्सुलमा म अनावश्यक रूपले जीवित थिएँ -
(जमानामा, मेरो पनि कुनै नाम थियो होला ! त्यो व्यक्तिवाचक संज्ञा जसले आफ्नो परिचय बोकेको थियो । घरेलु स्त्रीले आफ्नो पति-परमेश्वलेको भुँडी बोके भैँ मैले पनि आफ्नो नाम बोकी पञ्जीकृत कार्यालयहरूमा जन्मदर्ता, मृत्युदर्ता इत्यादि गर्न अवश्य गएको हुँदो हुँ....)
आश्रममा म पाण्डुलिपि-चिन्तन गर्थेँ । आश्रमकै पोखरीमा निर्वस्त्र स्नान गर्थेँ । वज्रवाराही जङ्गल घुम्थेँ । फूलचोकी डाँडा पुग्थेँ कुनै फकीर भैँ । गोदावरी-कुण्ड/बोटानिकत्व बगैँचा /सन्तानेश्वर मन्दिरको थुम्के डाँडाहरूमा म देखा पर्थेँ -
फर्पिङ/दक्षिणकाली/लेले नाउँ गरेका ठाउँमा विवर्ण हुन्थेँ । कर्मनाशा अनि नख्खु खोलाका बगरमा हुटिट्याउँ अनि चिबे चरा अनि गौँथलीहरूसित मनोवाद गर्थेँ -
मेरो आश्रममा साइबेरिया/मङ्गोलियाका चराचुरुङ्गीहरू हिउँदे छुट्टि मनाउन आउँथे । ती अतिथिहरू मेरा असल मित्र थिए । वास्तवमा, चराहरू विश्वका असल नागरिक हुन् । किनभने, उनीहरूसित सीमित देश, राज्य, भूगोल या दसगजा केही हुँदैन -
पासपोर्ट प्लस भीसा नै नलिई विश्व-यात्रा गर्ने यी चराहरू आफ्नो भौगालिक, सांस्कृतिक जराहरू खोजी हिँड्दैनन् -
(यदाकदा, मेरा पुराना पाठकहरूले मलाई पत्र लेख्ने गर्थे । नयाँ पाठकहरूको मन चाहिँ मैले जितिसकेको थिइनँ । सप्ताहान्तमा मात्रै म आफ्नो MAIL बक्स खोल्थेँ । ती प्रेमिल एवं रमाइला पात्रहरूलाई म आश्रम छेवैको घना झाडीमा लुकीलुकी खोल्थेँ र पढ्थेँ)
वास्तवमा, ALZEIMER- कालखण्डमा म 'पाण्डुलिपि' लेखिरहेथेँ -
'पाण्डुलिपि' मध्यरातमा लेख्थेँ । कतिपय सुन्दर स्मृतिहरू Foot-नोट्समा पर्थे । अधिकांश विस्मरणीय घटना भूमिका-लेखनका निम्ति छाडिन्थे । प्रेम प्रसङ्गका सब-TITLE हरू मुस्किलले दिमागमा फुर्थे । जिन्दगीका यावत् पाद टिप्पणीहरू कहिलेकाहीँ लेखिनबाट वञ्‍चित हुन्थे । पुस्तक, अन्ततः कसलाई 'समर्पित' गर्ने भन्ने बारेमा पनि म भित्र प्रशस्त द्विविधाहरू थिए । तर एक दिन एक्‍कासि समाधान निस्की पो गो-
('पाण्डुलिपि' मैले हिउँदका चराहरूलाई समर्पित गर्ने भएँ)

अल्जाइमर/र/पाण्डुलिपि-
म, सम्भवतः दुवैको पीडा-ग्रन्थ लेखिरहेथेँ । ALZEIMER रोगका कारण म क्रमशः बिर्सँदै थिएँ सम्पूर्ण अस्तित्वजनीत प्रसङ्गहरू । मेरो भूत वर्तमान अनि भविष्य । जन्म लिएपछि मनुष्यले मर्नुपर्छ भन्ने तत्व-ज्ञान म बिर्सन्थेँ । सम्पूर्ण मनुष्य-कर्म/क्रिया-प्रतिक्रिया नाशवान छन् भन्ने वैदिक बोध बिर्सन्थेँ । तर तपाईँले मलाई क्षमादान दिन सक्नुहुन्छ बिनभने म रोग बिशेषका कारण बिर्सन्थेँ । तपाईँको सहरमा त यस्ता मानिसहरू पनि बसोबास गर्छन् जो कुनै रोगविना नै बिर्सने गर्छन् मानव सभ्यता/ मानव-करुणा/मानवीय दया, माया एवं आस्था । अनि, मानवीय श्रद्धा .....

(त्यो पाण्डुलिपि मेरो जिन्दगीको शिलालेख थियो)

मेरा सम्पादक प्लस प्रकाशक यार्वाक ऋषि झैँ कठोर थिए । उनीहरूलाई दुर्वासा नै चाहिँ भन्न अलिक गाह्रो हुन्छ । मेरो 'पाण्डुलिपि' मेरै आश्रमबाट अपहरणमा परेको थियो या चोरी-सिकारी भएको थियो/ म यसै भन्न सक्दिनँ । यार्वाकहरूले त्यसलाई विशेष प्रयोजनका निम्ति भनी नष्ट गरिदिएका पनि हुन सक्छन् ।

तर मलाई लाग्छ मेरो 'जीवनी' या आत्मकथा जे भन्नुस्/नष्‍टै गरिहाल्नुपर्ने खालको थियो भनी पत्याउने कुनै आधार थिएन-

* * *

त्यो कुनै आदिवासी-मौसम थियो सायद....

एउटा आत्मकथाको पाण्डुलिपि मैले रहस्यमय तरिकाले हराएको थिएँ ।
सन्ध्या-बेला थियो । पाण्डुलिपि-पीडामा म झुर मनोदशामा थिएँ । हिउँदे चराहरू पनि मलाई 'अलविदा/Good-बाइ/सायोनारा' नै नभनी भुरुर्र भुर्र उड्दै मङ्गोलिया प्लस साइबेररियाको यात्रामा गइसकेका थिए-

पाण्डुलिपि हराएको शोकमा त्यो साँझ आश्रमको घाट/बगैँचा/झाडीमा बाँसुरी, एकतारे अनि SAXOPHONE बजाउँदै मलामी-धुनमा मन्त्रोबध थिएँ-

ती धुनहरूले चराचुरुङ्गीलाई डाक्न सकेनन् । म डाँको छाडी रुन थाले । मेरो अश्रु-प्रार्थना चराहरूले सुनेनन् ।

बरु,
बाघ र भालु
मेरो बाँसुरी-धुन खोज्दै/झाडीमा देखा परे-
तर्से। डराएँ
- नतर्स/नडराऊ । - बाघले भन्यो
- किन नतर्सु ? - भनेँ
- नतर्स/नडराऊ । - भालुले भनी
- किन नडराऊँ ? - भनेँ । त्यसपछि बाघ/भालुले संयुक्त जवाफ दिए
- वास्तवमा, हामी बाघ, भालु होइनौँ । हामीले त केवल बाघ भालुका छाला ओढेका हौँ ।

म - घनघोर आश्‍चर्यमा परेको छु म ।
भालु ‍- हामीलाई देख्‍ने सबै मानिस आश्‍चर्यमा पर्छन् ।
म - यसरी जनावरको छाला ओढी किन हिँडिरहनु भा'छ ?
भालु - तपाईँको 'स्याक्सोफोन' खोइ यता दिनुस् । म बजाउँछु ।

लौ जा ! दिएँ मैले त । भालुले तनमयका साथ स्याक्सोफोन बजाई । KENNY-G को Sex-धुन झैँ सुन्दर लाग्यो । बाघले बाँसुरी बजाउन थाल्यो । र मैले एकतारे बजाएँ । आश्रम क्षेत्रवरपर अनौठो सङ्गीत गुन्जियो । बाजा बजाउँदै आफ्नै सुरतालमा हामीले बिस्तारै पोखरीको फन्का मार्‍यौ-

(कस्तो अलौकिक मस्ती थियो त्यो ! प्राणबाट धुनहरू निस्किएका थिए । असलमा तयो सङ्गीत आत्माको एकालाप थियो । या हृदयको आलाप थियो । त्यस्तै केही थियो सायद)

बाघ र भालुलाई मैले आफ्नोकुटीमा सम्मानपूर्वक स्वागत गरेँ । अनि, एक रातकै मात्र किन नहोस् मेरो अतिथि बनिदिन आग्रह गरेँ । उनीहरू 'गदगद' या यस्तै केही भए-

त्यो रातको भोजन मैले आफ्नो जीवनकै सर्वाधिक स्वादिष्ट बनाएको हुनुपर्छ । अहिले त्यस्तो हेक्‍का छैन र उनीहरूसित मैले मेरा प्रिय पुराना दिनका पाठकहरूबारे चर्चा गरेको हुनुपर्छ-

सन्ध्या-भोजन पश्चात हामीले हल्का दारु 'चियर्स' ग‍र्यौँ । दारुको म उति साह्रो 'फ्यान' नभए पनि यदाकदा विशेष क्षणहरूमा त्यसको स्वाद लिन म रुचाउँथेँ-

(म सायद‍‍‍
स्वादिलो मानिस थिएँ)

बाघ र भालुले आ-आफ्नो प्रतीकात्मक कथा सुनाउन रुचाए । तर मैले बीचैमा भन्‍नुपर्‍यो :
- असलमा म अल्जाइमरको रोगी हुँ । तपाईँहरूको कथा म बिर्सन सक्छु । आजै, मैले मेरो पाण्डुलिपि रहस्यमय तरिकाले हराएको छु । बरु, यसो गर्नूस् तपाईँहरू...

- कसो गरौँ ! - बाघ/भालुले सोधे ।
- कसो गर्नुस् भने बरु यसो गर्नूस् तपाईँहरू...
- कसो गरौँ ? - बाघ र भालुले कुन्‍नि कतिऔँ पटक सोधे ।
- मैले बिर्सेँ। साँच्चीऽऽऽ म के बारे बोल्दै थिएँ ?
- तपाईँ कुनै पाण्डुलिपिबारे बोल्दै हुनुहुन्थ्यो । - भालुले भनी ।
(पाण्डुलिपि !?
अँ/आच्याऽऽऽ कस्तो पाण्डुलिपि ?!
कसको पाण्डुलिपि !?)

त्यसपछि/मैले मेरा अतिथिहरूसित साइबेरियाका हिउँदे चराचुरुङ्गीबारे कुरा गरेको हुनुपर्छ । 'चराचुरुङ्गीहरू विश्‍वका असल नागरिक हुन्' भनेको, मैले कताकता सम्झने प्रयास गरिरा'छु । साँच्चीऽऽऽ मैले कहाँ/कसलाई भनेको थिएँ त्यस्तो हास्यास्पद एवं अश्‍लील कुरा !?

बाघ या भालु कसैले बीचैमा भनेको थियो:
- बडो सुन्दर कुरा गर्नुभो ! नागरिक हुनु त चराचुरुङ्गी भैँ पो हुनु त !
- तपाईँहरू चाहिँ (सोधेँ हुँला मैले) कुन देशको नागरिक ?
- हामी अनागरिक हौँ (उनीहरूले भने होलान्) हाम्रो प्रतीकात्मक कथा सुनाऔँ तपाईँलाई ?
- बोध-कथा या प्रतीकात्मक कथा जे-जस्तो सुनाए पनि अब के नै पो होला र ? म बिर्सिहाल्नेछु ।

अल्जाइमर-रोगद्वारा ग्रस्त बूढो लेखक हुँ म । अँऽऽऽ साँच्ची/ कुनै पाण्डुलिपि हराएकोमा म अघि झाडीमा शोकधुन बजाइरहेथेँ । अँऽऽऽ साँच्ची म अब तर्पाँहरूले सुनाउन चाहनुभएको बाघ भालुको कथा 'पढ्न' चाहन्छु । बरु यसो गर्नुस् ....
- कसो गरौँ ??
- बरु यसो गर्नूस् ! आ-आफ्नो प्रतीकात्मक कथाको पाण्डुलिपि लेख्‍नूस् तपाईँहरू । किम्वदन्ती/दन्त्यकथा जे जस्तो हो लेख्‍नूस् । म चाहन्छु मेरा पुराना पाठकहरूले तपाईँहरूको पाण्डुलिपि कथा पढून् । म तपाईँहरूलाई कलम र केही खाली पानाहरू बाँड्छु । तर कलमहरू कहाँ छन् ?
बाघ/भालु : हामी खोजौँ ?
म : हामी के खोजौँ -
बाघ : कलम र खाली पानाहरू
म : तपाईँहरूलाई कलम किन चाहियो रे ?
भालु : कथा लेख्‍न ।
म : तर मेरो पाण्डुलिपि खोइ ?

* * *

२) अज्ञात पाठक

वास्तवमा म एक अज्ञात पाठक हुँ ।
यस बेला म चापागाउँको दक्षिणतर्फ अवस्थित आश्रममा आइपुगेको छु । आश्रम सुनसान छ । यहाँ कुनै समय एउटा बूढो लेखक बस्ने गर्थ्यो भन्‍ने कुरा मैले यहाँका स्थानीयबासीहरूबाट सुनेको थिएँ ।
पुराना/बूढा एवं मृत लेखकहरूबारे अध्ययन/खोज गर्दै हिँड्ने मेरो विचित्रको HOBBY छ । यहाँ कुनै समय अल्जाइमरद्वारा ग्रस्त बूढो लेखकबस्ने गथ्र्यो र आज मलाई उसको एकान्तवासले असीम दीर्घ पीडा दिएको छ ।
प्रायः चीज/वस्तु/स्मृति बिर्सने लेखकले अन्ततः बाँच्न बिर्सिदिएछ । उसको अन्त्येष्टिमा उसैले रुचाएका पुराना पाठकहरू नआइदिएकोमा मेरो मन खिन्‍न छ । MAIL-बक्स चेक गर्छु चिठी-पत्रहरू केही छैनन् । कसरी एउटा लेखक यसरी 'मौन' बाँच्दो हो !
टेबलमा रित्तो गिलासहरू माझ केही कागज-पत्रहरू छन् । बाघ र भालुले हस्ताक्षर गरेका TEXT हरू पढ्छु ।

बाघको कथा

प्रिय अज्ञात लेखक !
तिमी निदाएका छौ । सम्भवतः तिम्रा पुराना पाठकहरू पनि निदाएका छन् । म बाघको छाला ओढी हिँड्ने गर्छु किन यसरी म हिँडेको छु ? मानिसहरू मलाई देखी डराउँछन्/आश्‍चर्यमा पर्छन् -

असलमा, ओ लेखक ! म पुरुष अहङ्‍कारको प्रतिनिधि पात्र हुँ । आज, म यो 'पेज'मा/तिमीले लेख्‍न दिएको पेजमा केही लेख्दैछु । तिमीलाई सुनाउन सकिएन । बिर्सन्छु भन्छौ ।

कुनै समय यस्तो थियो म आफूलाई बाघ भैँ बलशाली/वीर्यशाली ठान्ने गर्थेँ । जीवनको भरिपूर्ण उत्साह/जोस/जाँगर/फूर्ति/पूर्ण स्वतन्त्र र निस्फिक्री !
त्यस बेला म जङ्गलको बाघ भैँ शक्तिशाली थिएँ -

विवाह गरेँ । घर-गृहस्थी सम्हालेँ । बालबच्चाहरू हुर्काएँ । अभिभावक बनेँ । त्यसबेला पनि आफूलाई मैले बाघ नै ठानेँ । मेरी श्रीमती मलाई प्रायः भन्ने गर्थीः
- बूढाजी ! फूर्ति नगर । तिमी चिडिया-घरको बाघ पो हौ त !
जङ्गलको बाघ त्यसरी/अनायास चिडियाखानाको बाघ बनेँ । तैपनि बाघ त आफूलाई ठानिरहेँ । बाघ त आखिर बाघ नै हो । जङ्गलको होस् या चिडिखानाको -

सन्तानहरू आ-आफ्नै व्यवसायमा व्यस्त बने । श्रीमतीजी ईश्‍वरको राज्यमा गइहाली । छोराछोरी भनाउँदाहरू राष्ट्रिय/अन्तर्राष्‍ट्रिय-राज्यमा मिल्न गए । मेरो आफ्नोराज्य चाहिँ भग्नावशेष हुँदै गयो-

बार्धक्यमा/बुढेसकालमा चारैतर्फबाट एक्लिँदै गएँ । तर पनि बाघ त म बाघ नै थिएँ । मेरो पुरुष अहङ्‍कार यस्तै भन्थ्यो ।

आफ्नो आयुको पुछारमा आएर मलाई बोध भयो कि म त सर्कसको बाघ भै'सकेको रहेछु ।
ओ लेखक !
जङ्गलको बाघ थिएँ । पुरुष थिएँ -
चिडियाखानाको बाघ बनेँ । पुरुष थिएँ -
सर्कसको बाघ भएँ । पुरुष हुँ -
वास्तवमा म एक अहङ्कार हुँ । पुरुष-ग्रन्थि अर्थात् बाघ । यसैले, म बाघको छाला ओढी हिँड्छु.....

* * *

भालुको कथा

म भालु हुँ ।
तपाईँको सहरमा नगरबधुलाई भालु भन्छन्, कसो !
अप्रिला थियो मेरो नाम । त्यसो त अहिले पनि म अप्रिला नै हुँ । कसरी म भालुको संसारमा पुगेँ - आजकाल यसो सोच्ने गर्छु ।

ओ लेखक !
वास्तवमा, जिन्दगी तीनओटा C को मायावी चक्‍करमा घुम्दो रै'छ ।

पहिलो C : COMPARISION
दोस्रो C : COMPETITION
तेस्रो C : COPAROMISE

तुलना । प्रतिस्पर्धा । सम्झौता -
यी तीन आधारभूत जीवन-सत्य ।

कुनै समय मेरो प्रसिद्धि अविश्‍वसनीय थियो । म आम भाषामा भन्‍ने हो भने चमत्कारी सुन्दरी थिएँ -
चलचित्रकी नायिका ! आफ्नो रूप लावण्यले जस्तोसुकै 'बाघ' हुँ भन्‍नेलाई प आफ्नो वशमा राख्‍न सक्थेँ ।

मानिस पीडाको 'कुण्ड'मा अनायास फाल हाल्छन् ।

पहिलो C लाई अप्रिलाले रोजी ।
अप्रिलाले अरूसित 'तुलना' गरी । अरूभन्दा ऊ केही कमसल थिई - वास्तवमा, तुलनाले दुःख, सुखको प्रायोजन गर्छ । तुलनाको आँखाले अप्रिलाले संसार/समाज नियाली । त्यसपछि ऊ 'प्रतिस्पर्धाः COMPETITION' को प्रशंसक बनी ।

ओ लेखक !
यो दोस्रो C को चक्करमा अप्रिला अर्थात् म नराम्रोसित धेरै काल फसेँ ।
यही मायावी C अर्थात् COMPETITION/प्रतिस्पर्धाको कालखण्डमा
म अभिनेत्रीका साथसाथै 'भालु' भएँ ।
मैले प्रतिस्पर्धा रोजेँ । ऐश्‍वर्यशाली भएँ । सहरका तथाकथित मर्यादा-पुरुष एवं जस्तै मैँ हुँ भन्‍ने 'बाघ'हरूसित मैले सशुल्क रासलीला रचेँ ।

ओ लेखक !
तिमी मेरो 'महेफिल'मा आएर एक दिन एउटा गीत गायौः
- तु कौन है
तेरा नाम है क्या ?
सीता भि यहाँ बदनाम हुइ...

तिमीले सोधेका थियौः तेरा नाम है क्या... ?
तिम्रो रित्तो गिलास भर्दै मैले भनेकी थिएँ:
अप्रिला !

- अप्रिला ! - तिमीले भनेको अझै याद आउँछः अप्रिल इज द क्य्रुलेस्ट मन्थ् (April is the Cruelest Month) त्यो साँझ अप्रिलको साँझ थियो, लेखक ! र अप्रिला अब तेस्रो C अर्थात् COMPROMISE/सम्झौताको संविधानमा आफ्नो अस्तित्व खोजिरहेकी थिई

- सीता भि यहाँ बदनाम हुइ...
समय ज्यादै बलवान् । मान्छेले कहिलेसम्म प्रतिस्पर्धा गर्ने सामर्थ्य राख्छ ?
अन्त्यमा, भ्रमणमा आउँछ व्यापक 'कम्प्रोमाइज'को GIFT-प्याकेज ।
जिन्दगी/मृत्यु/सफलता, असफलता ।
सम्झौता ।

सीता पनि बदनाम भएको पुरुष-समाजलाई त्यतै कतै छाडी म पुरानो 'अप्रिला'लाई खोज्न भालुको छाला ओढी आजकाल म यताउता ओहोरदोहोर गर्छु
जिन्दगी तीनओटा C को मायावी चक्‍करमा घुम्दो रै'छ -
मेरो DEATH-बेड कहाँ छ/ मलाई थाहा छैन । केही मनुष्य-जनहरू यसरी भालुको छाला ओढी हिँडेको देखेर मलाई दिमाग पङ्चर या फ्र्याक्चर भएकी बूढी भनने गर्छन् । म हाँस्छु-

ओ लेखक !
म भालु हुँ/अब तिम्रो ओछ्‌यानमा
अप्रिला निदाउँछे ।
GOOD-नाइट

Segments: 

Comments