Loading

नेपाली भाषा सङ्गोष्ठी, २०६७ का निर्णयहरू

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा कमलादी काठमाडौँमा २०६७ पुस २६, २७ र २८ गते आयोजित
नेपाली भाषा सङ्गोष्ठी, २०६७ का निर्णयहरू

२०६७ पुस २८ गते दिउँसो २.०० बजेदेखि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति वैरागी काइँलाको उपस्थिति र संयोजक उपकुलपति गङ्गाप्रसाद उप्रेतीको अध्यक्षतामा बसेको ‘निर्णय संयोजन समिति’को बैठक बस्यो । उक्त बैठकमा भाषाविद् प्रा.ठाकुर पराजुली आमन्त्रित सदस्यका रूपमा सहभागी हुनुहुन्थ्यो । समितिले कार्यक्रममा प्रस्तुत कार्यपत्रका अवधारणा, समूहगत छलफल तथा तीमाथिका टिप्पणी र सुझावहरूका आधारमा विगतका बहुमान्य प्रणालीको मूल्याङ्कन, सञ्चारमा भएको व्यापक प्रयोग, विकल्पको व्यवस्था एवम् स्वीकार्यताको सम्भावनालाई समेत विचार गरी गरेका निर्णयहरू यस प्रकार छन् ः

१. आगन्तुक शब्दको वर्णविन्यास, वर्णमाला र लिपिसित सम्बन्धित निर्णयहरू ः

(क) शब्दकोशको प्रयोजनका लागि निम्नलिखित दुई मध्ये कुनै एक प्रकारले व्यञ्जनको क्रम प्रयोग गर्न सकिने ः
क ख ग घ ङ च छ ज झ ञ ट ठ ड ढ ण त थ द ध न प फ ब भ म य र ल व श ष स ह क्ष त्र ज्ञ ।
अथवा
क क्ष ख ग घ ङ च छ ज ज्ञ झ ञ ट ठ ड ढ ण त त्र थ द ध न प फ ब भ म य र ल व श ष स ह ।

(ख) संस्कृतबाट आएका तत्सम शब्दहरूमा मात्र ऋ, ञ, ण, क्ष, श, ष को प्रयोग गर्ने तर देवनागरीमा लेखिने व्यक्ति, जाति, धर्म, थर, भाषा आदि नामका सन्दर्भमा भने प्रचलनलाई नै मानक रूप स्वीकार गर्ने, जस्तै ः खम्बू, कोयू, हायू, लिम्बू, हिन्दू, ज्ञवाली, क्षेत्री, शाह, राणा, शेर्पा, थारू, सायमि आदि ।

(ग) तत्सम शब्दका पञ्चम वर्णका निम्ति वैकल्पिक रूपले शिरबिन्दुको पनि प्रयोग सकिने, जस्तै ः अङ्क वा अंक, पण्डित वा पंडित आदि तर तद्भव वा आगन्तुक शब्दमा पञ्चम वर्ण मात्र प्रयोग गर्ने, जस्तै ः नाम्लो, कान्छा, बन्डल, अन्डा आदि ।

(घ) संयुक्त वर्णहरूलाई यथासम्भव हलन्त व्यञ्जनका साथ लेख्न प्रोत्साहित गर्ने, जस्तै ः रक्त, पद्य, विद्वान्, उद्देश्य, भक्ति, शृङ्खला आदि तर विद्या (विद्या), बुद्धि (बुद्धि) जस्ता संयुक्त व्यञ्जनको प्रयोग पनि गर्न सकिने ।

२. ह्रस्वदीर्घसित सम्बन्धित निर्णयहरू

(क) सङ्ख्यावाचक शब्दको आदि र मध्यमा ह्रस्व लेख्ने, जस्तै ः तिन, उन्नाइस, बिस, बाइस, तिस, बत्तिस, चालिस आदि । (यसमा व्यञ्जनसित मिश्रित इकार दीर्घ लेखिनु पर्छ भन्ने फरक मत पनि देखिएको)

(ख) क्षतिपूर्ति दीर्घीभवन भनी दीर्घ लेखिने शब्दहरू तद्भव नियम अनुसार ह्रस्व लेख्ने, जस्तै ः ठुलो, पुरा, रुख, दुध, बिच, ठिक, तितो, मिठो, फुल आदि । (यसमा इकार दीर्घ लेखिनु पर्छ भन्ने फरक मत पनि देखिएको)

(ग) संस्कृतका निकट भएका तथा व्यापक प्रचलनमा रहेका भनी दीर्घ लेखिने शब्दहरू ह्रस्व लेख्ने, जस्तै ः निलो, किरो, पिर, बिउ, किलो, जिउ, धुलो, खिर, डिन, चिफ आदि ।

(घ) तत्सम शब्दमा तद्भव प्रत्यय लाग्दा आदि र मध्यमा ह्रस्व बनाउने, जस्तै ः स्विकार्नु, दर्सायो, बिदेसिए, पुर्बेली, मुख्र्याइँ, बर्से आदि ।

(ङ) इच्छार्थ क्रियापदको बिचमा आउने उकार ह्रस्व गर्ने, जस्तै ः जाउन्, हेरुन्, लेखुन् आदि ।

(च) समास हुँदा पनि विकार नदेखिने समस्त शब्दको बिचमा दीर्घ प्रयोग गर्ने, जस्तै ः गाईगोठ, जडीबुटी, बुढीऔँला

आदि ।

(छ) द्वित्व भई बनेका शब्दका घटक सार्थक नभएमा बिचमा भए पनि ह्रस्व नै लेख्ने, जस्तै ः झिलिमिली, तिरिमिरी आदि ।

(ज) संयुक्त क्रियामा छुट्टाछुट्टै आउने सबै इकारान्त रूप दीर्घ लेख्ने, जस्तै ः लेखी सकी हाल्छ, गरी दिई छ, ल्याई सकेको आदि । (यसमा ह्रस्व लेख्नु पर्छ भन्ने फरक मत देखिएको)

३. पदयोग र पदवियोग सम्बन्धी निर्णयहरू

(क) समस्त शब्दका हकमा परम्परागत रूपमा कायम प्रचलनलाई यथावत् राख्ने र त्यस सम्बन्धमा कतिपय शैक्षिक तथा प्राज्ञिक निकाय र लेखकहरूले प्रचलनमा ल्याएका नवीन मतलाई पनि सरोकारवाला प्राज्ञिक निकाय मार्फत सार्वजनिक छलफलमा लैजाने । त्यस क्रममा विश्वविद्यालयका नेपाली विषय समिति, नेपाली भाषा शिक्षा विषय समिति, उच्च माध्यमिक शिक्षा परिषद्, पाठ्यक्रम विकास केन्द्र, साझा प्रकाशन आदि नेपाली भाषामा लेखिएका सामग्रीको प्रकाशनमा संलग्न संस्था एवम् आमसञ्चार माध्यमहरूसँग व्यापक विमर्श गरी अन्तिम निर्णयमा पुग्ने ।

(ख) सँग, सित, तर्फ, तिर जस्ता विभक्तिवत् नामयोगी बाहेक अन्य नामयोगी (जस्तै ः बमोजिम, अनुसार आदि) छुट्ट्याएर लेख्ने । (नामयोगी जोड्ने कुरामा फरक मत देखिएको)

(ग) सबै संयुक्त क्रियालाई छुट्ट्याएर लेख्ने । (यसमा जोडेर पनि लेख्नु पर्छ भन्ने फरक मत देखिएको)

(घ) मात्र, चाहिँ, जस्ता, जना, ओटा (वटा) शब्द छुट्ट्याएर लेख्ने ।

(ङ) सार्थक द्वित्व शब्द छुट्ट्याएर लेख्ने, जस्तै ः को को, घर घर, हुन्छ हुन्छ आदि तर निरर्थक द्वित्व शब्द चाहिँ जोडेर लेख्ने, जस्तै ः भातसात, झैझगडा, आलोपालो आदि ।

(च) व्यक्तिवाचक नाम प्रचलन अनुसार नै लेख्ने, जस्तै ः लक्ष्मीप्रसाद, मानबहादुर, सूर्यविक्रम आदि ।

४. नेपाली भाषाको एकरूपता, मानकीकरण तथा स्तरीकरणका लागि भएका निर्णयहरूको कार्यान्वयनका सम्बन्धमा

(क) अन्तर्राष्ट्रिय भाषाका रूपमा बहुप्रचलित भई रहेको नेपाली भाषाको एकरूपता, मानकीकरण तथा स्तरीकरणका निम्ति समयानुकूल निर्णयहरूको कार्यान्वयनका लागि कोश र व्याकरण निर्माण गर्न सरोकारवाला निकायका प्रतिनिधि, पेसाकर्मी र विज्ञहरूको परामर्शमा नेपाल प्रज्ञा–प्रतिष्ठानको अद्यावधि योजना अन्तरगत सम्पन्न गर्ने ।

(ख) निरन्तर बढिरहेको नेपाली भाषाको प्रयोगक्षेत्रको विस्तारलाई ध्यानमा राखी नेपाली भाषाको सरलीकरणतर्फ अग्रसर हुने ।

(ग) छलफलका क्रममा आएका मतमतान्तरहरूबारे प्राज्ञिक अन्तर्क्रियाबाट निष्कर्षमा पुग्ने ।

स्मरण रहोस्, नेपाल प्रज्ञा–प्रतिष्ठाननद्वारा कमलादी काठमाडौँमा नेपाल र भारतका भाषावैज्ञानिक, कोशकार, प्राध्यापक, सञ्चारकर्मी, शिक्षक एवम् अन्य सरोकारवालाहरूको बृहत् तीन दिने सङ्गोष्ठीमा प्रस्तुत कार्यपत्रहरू, विज्ञहरूका टिप्पणी, सम्भाषण तथा तीमाथिका गहन छलफलबाट प्राप्त मतमतान्तर एवम् निष्कर्षहरूलाई एकीकृत र साझा अवधारणा घोषणा गर्नका लागि प्रज्ञा–प्रतिष्ठानबाट २०६७ पुस २८ गते निम्नलिखित विद्वान्हरूको ‘निर्णय संयोजन समिति’ गठन गरिएको थियो ः

उपकुलपति श्री गङ्गाप्रसाद उप्रेती ः संयोजक
भाषाविद् डा.तारानाथ शर्मा ः सदस्य
” प्रा.डा.चूडामणि बन्धु ः ”
” प्रा.डा.हेमाङ्गराज अधिकारी ः ”
” प्रा.डा.माधवप्रसाद पोखरेल ः ”
” प्रा.डा.नोबलकिशोर राई ः ”
” प्रा.डा.टङ्क न्यौपाने ः ”
” श्री रमेशप्रसाद भट्टराई ः ”
” डा.प्रतापचन्द्र प्रधान ः ”
” डा.खेमराज नेपाल ः ”
” श्री सानु लामा ः ”
” श्री पुष्कर पराजुली ः ”
प्राज्ञ प्रा.डा.महादेव अवस्थी ः सदस्यसचिव

उक्त बैठकमा सदस्य श्री रमेशप्रसाद भट्टराई अनुपस्थित हुनुहुन्थ्यो ।

Segments: 

Comments