Loading

नादिया र परेवाहरू

'उनी मलाई आत्मघाती बमवर्ष भएको देख्न चाहन्थे ।'

आफ्ना पतिका बारेमा उनले मलाई बताएको कुरा यही थियो । उनका पति अमेरिकी सेनाको सिकार बने । आफ्नो भूमिमा भएको अमेरिकी हस्तक्षेपको विरोधमा उनका पति अफरोज हुसेन लागेका थिए । अफरोजलाई के लाग्थ्यो भने देशभन्दा ठूलो केही पनि हुँदैन । प्रेम पनि हुँदैन । श्रीमती, परिवार र माया भन्ने कुरा देशभन्दा महान् हुँदैनन् भन्नेमा उनी विश्वस्त थिए । त्यही भएर उनी आफ्नी पत्नी नादियालाई शरीरभरि बम बेरेर अमेरिकी सैनिकको क्याम्पमा पठाउन चाहन्थे ।

'तर मैल मानिनँ', नादियाले भनी, 'मलाई उनीसँगको मेरो जीवनको माया लाग्थ्यो । मैले उनलाई पटक-पटक आग्रह पनि गरेकी थिएँ- 'देश ! देश ! भन्न छाडिदेऊ । दर्ुइ छाक खान पुगिहाल्छ किन पीर लिने ?'

'तर मेरो केही लागेन', नादियाले लामो सुस्केरा फाली । इराकी नौजवानहरूका खुनमा दौडिएको राष्ट्रियता उनको खुनमा पनि थियो । किनभने मेरा पति पनि इराकी जवान थिए ।'

अफरोज इराकी सेनाको ज्यादतीलाई नरोकी बाबु बन्न पनि चाहँदैनथे । उनी अक्सर नादियासँग भन्थे रे, 'हेर हाम्रै जीवनको कुनै ठेगान छैन । यस्तोमा के सन्तानको लोभ गर्नू ? हामी मर्�यौँ भने तिनीहरूको बिचल्ली हुँदैन ?'

'अफरोजको यो प्रश्नको मसँग कुनै जवाफ थिएन । त्यही भएर पछिल्ला दिनहरूमा मैले उनीसँंग सन्तानको जिद्दी गर्न छाडिदिएँ ।' पछ्यौराजस्तो सानो कालो कपडाले उनले कपाल छोपिन् । मोटो भए पनि फूर्तिलो कालो ज्यानकी उनी मसँग पतिवियोगका कुराहरू गरिरहेकी छिन् । आफूलाई आत्मघाती विस्फोटमा मर्न प्रोत्साहन गर्ने निर्दयी पतिको वियोगमा उनी विह्वल थिइन् । भनिन्, 'ऊ त मरिहाल्ने रै'छ । मैले उसले भनेको मानेको भए पनि हुने रहेछ । कम्तीमा ऊ खुसी त हुन्थ्यो !'

यतिखेर हामी इराकी राजधानी बग्दादमा रहेको एक महिला शरणार्थी शिविरमा छौँ । यहाँ सयौँ विधवाहरू छन् । 'मानिसका लागि सहयोग' भन्ने एक अन्तर्राष्ट्रिय संस्थाले मलाई यहाँसम्म आउने अवसर दिएको हो । विश्वका प्रायः सबै मुलुकमा सञ्जाल भएको मानिसका लागि सहयोग भन्ने संस्थाले विशेषगरी द्वन्द्व र युद्धका चपेटामा परेका महिलाहरूको पक्षमा काम गर्छ । यसै संस्थामा आबद्ध रहेकी महिला अधिकारकर्मी हाना अदवरले यस महिला शरणार्थी शिविरमा भएका कामहरू हामीलाई बताइरहेकी छिन् । मसँगै पाकिस्तानका फारुक रहमान, जापानका अकिहितो नोकु र भारतकी सलिना वर्मा छिन् । अकिहितो र सलिना महिला अधिकारकर्मी हुन् भने फारुक र म पत्रकारका नाताले यहाँ छौँ ।

शिविर आइपुगेको दोस्रो दिन बिहान म आफ्नो कोठाको झ्यालमा बसेर वैरागलाग्दो इराकी राजधानी नियालिरहेको थिएँ । टाढा-टाढासम्म रूखविरुवा कतै नदेखिने यो रङ्गहीन सहरभन्दा पनि निरीह छ यो शिविर, जहाँ हामी छौँ । शान्त र जीवनहीनजस्ता देखिने सयौँ महिलाहरू मौन र चुपचाप छन् यहाँ । कोही कसैसँग बोलेको सुनिँदैन । हाना बताउँदै थिइन्, शिविरभित्रका महिलाहरू अक्सर एक आपसमा बोल्दैनन् रे । थाहा छैन, पीडाले आक्रान्त उनीहरू मौनतामा कस्तो शान्ति भेट्थे ? त्यसो त मौनतामा झन् ठूलो कोलाहल हुन्छ । झन् ठूलो तनाव र झन् ठूलो पीडा हुन्छ ।

'बोल्नैपर्ने कुरामा पनि थोरै बोल्छन् यिनीहरू', हानाले भनेकी थिइन्, 'यिनीहरूको मनमा अलि राम्रो जीवन पनि बाँच्न सकिन्छ भन्ने भावना जन्माउनु निकै कठिन काम हो ।'

त्यसो त इराक प्रवेश गरेदेखि नै मैले त्रास र तनावमुक्त आँखा कसैको पनि देखिनँ । हाना, जो लामो समयदेखि यस शिविरमा काम गरिरहेकी छिन्, उनकै आँखामा पनि विचित्रको डर छ ।

'हाना, यो केको डर हो तिम्रो आँखामा ?' शिविर आइपुगेकै साँझ मैले सोधेथेँ ।

'अरूलाई भन्न त हुँदैन लोहनी, तर हामी पनि कहाँ सुरक्षित छौँ र ?' मन डरले ढक्क फुल्यो ।

'किन के भनेकी ?' म आत्तिएँ ।

'हामी इराकी आतङ्ककारी र अमेरिकी सैनिक दुवैको तारो छौँ । किनभने हामीले इराकी सामान्य नागरिक होस् या आतङ्ककारी सबैका विधवालाई यहाँ शरण दिएका छौँ । आतङ्ककारी र अमेरिकी सैनिक दुवैलाई लाग्छ, यहाँ भित्र बसेर हामी उनीहरूका विरुद्धमा योजना बनाइरहेका छौँ । त्यही भएर यहाँ पटक-पटक आक्रमणका प्रयास पनि भएका छन् ।' हानाको कुरा नसकिँदै सलिना डरले मेरो हात चपक्क समाउँछे । म उनको कुममा हात राख्छु र नडराउन अनुनय गर्छु अाँखाले ।

म अघि कुरा गर्दै थिएँ, शिविर आइपुगेको दोस्रो दिन बिहानको । त्यस बिहान झ्यालबाट बाहिर हेरिरहँदा मैले जीवनविहीनझैँ शिविरको एक कुनामा एउटी २४/२५ की महिलाले परेवालाई चारो खुवाउँदै गरेको देखेँ । आफ्नै जीवनमाथि विश्व्ाास र सम्मान गर्न नसकिरहेकाहरुको यो भीडमा अरुको जीवनको ख्याल गर्दै चारो खुवाइरहेको दृश्यले मलाई निकै रोमाञ्चित बनायो ।

म कोठाबाट तल ओर्लिएँ । उनीसँग परिचय गरिहालेँ ।

त्यही चारो खुवाउँदै गरेको अवस्थामा भेटेकी महिला नै हुन् नादिया हुसेन । उनका पति र तीन दाजुभाइ अमेरिकी सैनिकबाट मारिए । बाबुआमा पहिल्यै स्वर्गे भइसकेका थिए । उनको घर जलाइयो । पछिल्ला महिना नादियाले अझ बढी कष्टमय दिनहरू झेल्नुपर्�यो । अहिले उनी यही महिला शरणार्थी शिविरमा छिन् । यो ठाउँ इराकी विधवाले समाजमा खेप्नुपरेको जोखिम र सास्तीबाट बच्ने ठाउँ हो । यहाँ उनको काम भनेको खाना पकाउने हो । बिहानको एक समय भने उनी सधैँ परेवालाई चारो खुवाउन भुल्दिनन् ।

'यिनीहरूको जीवनको पनि के भर - कतिबेला कहाँ बमको र्छराले भेट्टाउने हो ?' उनले फेरि लामो सुस्केरा फालिन्, 'यहाँ कसैको पनि जीवन सुरक्षित छैन । तपाईँहरूको पनि छैन ।'

नादियाका शब्दहरू गोलीका पर्राजस्तो लाग्छ सलिनालाई सायद र उनी फेरि मेरो हात समाउन आइपुग्छिन् डरले ।

'मेरा श्रीमान् मलाईभन्दा बढी देशलाई माया गर्थे र म उनलाई भन्दा बढी माया कसैलाई पनि गर्न सक्दिनथेँ । मलाई आफ्नो जीवनको माया लागेकै उनको कारणले हो । उनी नहुँदा हुन् त म उहिल्यै शरीरमा आत्मघाती बम बेरेर अमेरिकी सैनिकको क्याम्पमा छिरिसकेकी हुन्थेँ ।' प्रेममा पनि यो कत्रो आतङ्क ! यो कत्रो विध्वंश । सुनेर हामी हैरान हुन्छौँ । अकिहितो त आँखाभरि आँसु बोकेर नादियालाई हेरिरहन्छ । इराक छिरेदेखि नै ऊ त नर्भसजस्तै भएको छ । राम्रोसँग बोल्न पनि सकिरहेको छैन । बेलाबेलामा जापान फर्किन नपाइने हो कि भन्ने चिन्ताले ऊ व्याकुल पनि हुन्छ ।

'तर अब मलाई डर छैन', नादियाका काला ठूला आँखा राता हुन्छन् ।

'हेर्नोस्, अफरोज मारिएपछि मेरो जीवनको पनि कुनै सार रहेन । अब म बमले आफैँलाई उडाइदिन चाहन्छु । म मलाई अति नै प्यारो लागेको मानिसलाई मबाट छिनेर लैजानेहरूलाई मार्न चाहन्छु ।' नादियाको मनमा उम्लिएको बदलाको भाव देखेर हामीलाई नरमाइलो लाग्छ । यो शिविरमा अन्य कैयौँ विधवाहरू छन् तर उनीहरू कसैको मनमा पनि यस्तो बदलाको भाव देखिएको थिएन । उनीहरू जे भयो त्यसलाई 'अल्लाहको इच्छा' भन्ने ठान्दा रहेछन् ।

नादिया बदलाभाव भएकी एक्ली महिला भए पनि पतिवियोगको पीडा पाउने एक्ली महिला होइनन् । सन् २००३ मा आक्रमण हुनुअघि नै इराकमा लाखौँ विधवा थिए । धेरैले सन् १९८० को इरान-इराक युद्धमा पनि पति गुमाएका थिए । अहिले पनि प्रतिदिन सय जना इराकी महिलाहरू विधवा हुने गरेका छन् । बग्दादमा जहाँ गए पनि मस्जिदको बाहिर सिँढीमा माथिदेखि तलसम्म कालो बर्ुकाले छोपिएका महिलाहरू भेटिन्छन् र ती सब विधवा इराकी हुन् ।

साता दिन लामो बसाइ सकेर हामी जोर्डन फर्किन्छौँ । तीन दिनपछिका लागि हामी सबैको एयर टिकट मिल्छ । यहाँबाट हामी चारैजना आ-आफ्नो देश फर्किंदै छौँ । 'मानिसका लागि सहयोग'को जोर्डनस्थित कार्यालयलाई हामीले बग्दादको रिपोर्ट बुझाउनुपर्नेछ ।

साँझ म कोठामा बसेर रिपोर्टको खेस्रा गरिरहेको हुन्छु । सलिना हुत्तिँदै आउँछिन् र मलाई अँगालेर रुन थाल्छिन् । त्यत्तिकैमा फारुक र अकिहितो पनि रुँदै आइपुग्छन् । म केही बुझ्दिनँ ।

'के भयो किन रोएको ?' म काखको ल्यापटप टेबुलमा राख्छु । मेरा आँखा पनि भरिइसकेका छन् डरले ।

'हामी बग्दादमा बसेको महिला शिविरमा अमेरिकी सेनाले बम आक्रमण गरेछ । हानालगायत ३७ विधवाहरू मरेछन्', सलिनाले रुँदै भनिन् ।

'अनि नादिया ?' मैले एक्कासी नादियालाई सम्झिएँ ।

कोही पनि बोलेनन् । मलाई त्यो ३७ जनामा नादिया नपरे हुन्थ्यो झैँ लागिरह्यो ।

पछि थाहा भयो हामी आएकै बिहान नादिया शिविरबाट भागिछन् र शरीरभरि आत्मघाती बम बेरेर बग्दादको उत्तरमा पर्ने फालिका रोडमा अवस्थित अमेरिकी सैनिक क्याम्पमा छिरिछन् । विस्फोटमा ११ अमेरिकी सैनिकको ज्यान गएछ । त्यही घटनाको बदलामा अमेरिकी सैनिकले भोलिपल्ट बिहान शिविरमा बम प्रहार गरेको रहेछ । सयौँ हताहत छन् भनेर अलजजिरा टेलिभिजनले बताइरहेको थियो ।

मलाई भने नादिया र चारो खान आउने परेवाहरूको मात्र याद आइरह्यो । **

Segments: 
Author: 

Comments