नयाँ नयाँ वर्ष

No votes yet

नयाँ सूर्य,
नयाँ दिन,
नयाँ प्रगति
नयाँ जाँगर,
नयाँ प्रतिष्ठा,
नयाँ समानता
नयाँ अधिकार
नयाँ अवसर
नयाँ रोजगार,
नयाँ योजना,
नयाँ परिवर्तन,
सप्पैसप्पै नयाँ जति
हामीले पुरानै भोकको सट्टामा
कसैलाई सुम्पिसकेछौं ।

उही बासी अनुहार बोकेर
एकाबिहानै
शुभकामना बाँढ्न हिँडेका
नयाँ रंगमञ्चका
पुराना पात्रहरुसँग
हामीले नौला सपना साट्नै हुन्थेन ।

एकथान पश्चातापबाहेक
हामीसँग बाँकी नै के रह्यो र -
जम्मै रहर जिम्मा लगाएपछि
हाँस्ने साहस पनि हराउँदो रहेछ ।

कवाडीको भाउमा बिक्री नहुने
यी रद्दीका टोकरीहरु
कागजका फूलले सजिएर
नयाँ हुने अभियानमा छन्,
हामीले छद्म फूलको बासना चिनेनौं,
'हामी'लाई भूपि शेरचनले वर्षौंअगाडि चिने
हामीले वर्षौंपछाडि पनि हामीलाई चिन्नै सकेनौं ।

यही पृथ्वीको छातीमा जन्मिएका
सुन्दर दिन र रात हेर्न
सदियौं व्यग्र
हामी
नयाँ वर्षको भ्रममा उफ्रिरहेका छौं ।

हामी
आजैको दिन
मिति २०६७ साल वैशाख १ गते
नयाँ वर्षको अवसरमा
राष्ट्रपति...ज्यू,
प्रधानमन्त्री...ज्यू,
विपक्षी दलका शीर्ष नेता...ज्यू,
परराष्ट्र तथा उपप्रधानमन्त्री...ज्यू,
रक्षामन्त्री...ज्यू,
मन्त्री नै मन्त्री...ज्यूहरु,
पूर्वराजा...ज्यू,
पूर्व र वर्तमान प्रधानसेनापति...ज्यू,
एवं समस्त शीर्ष नेता गण,
फालाना, ढिस्काना वरिष्ठ व्यक्तित्व,
मित्रराष्ट्र,
नजिकैका राष्ट्र,
छिमेकी राष्ट्र,
टाढाका नजिकैका राष्ट्र
राष्ट्रहरुका पनि राष्ट्रबाट प्राप्त
सद्भाव, एकता, समृद्धिको शुभकामना
बहिस्कार गरौं ।

घोषणा गरौं-
मिति २०६७ साल जेठ १४ गते रोज शुभम्...
हामी नयाँ वर्ष मनाउँनेछौं ।

Author: 
Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.