देहत्याग

"दीपक, उठ छोरा । आज मातातीर्थ औंसी, छोराछोरीले आफ्नो आमालाई पूजा गर्ने, मीठो ख्वाउने दिन । तँ पनि तेरो हातले आमालाई केहि खुवाइदे । बैनीले अगि नै उठेर सबैथोक गरिसकी । ऐले तेरो क्याम्पस जाने बेला हुन्छ । म पनि अफिस जानुपर्छ । तँ आउँदा फेरी बैनी स्कूल जान्छे ।" आज बिहानै ओछ्यानमै आएर बाबाले मलाई धर्मसङ्कटमा पार्दै उठाउनुभयो । बाबाको कुरा नसुनूँ भने पनि कसरी । सुनूँ भने पनि कसरी । सौतेनी आमालाई के के खुवाउनु रे ? सौतेनी आमालाई पूजा गर्नु रे ।

बाबाले मेरी आमा बित्‍नुभएपछि हाम्रै हेरचाहको बहाना पारेर बिहे गर्नुभएको थियो । मलाई त बाबाले बिहे नगरेकै भए ठीक हुन्थ्यो जस्तो लागेको थियो । तर मैले केही भनिनँ । मलाई त्यसैपनि मानसिक रोगी ठान्नुहुन्थ्यो बाबाले । मैले भनेर पनि त केहि हुन्थेन । बाबाले हाम्रो हेरचाहलाई बहाना बनाएर आफ्नैलागि बिहे गर्नुभएको पनि त हुन सक्छ । नत्र बिहे गर्नै के खाँचो थियो होला र ? म हुर्किसकेको छु । बैनि हुर्किसकेकी छे । भान्साको काम गर्ने त मान्छे राख्दा पनि हुन्थ्यो ।

उठेर ब्रसमा मञ्जन हालेर बाहिर निस्किएँ र आँगनको एउटा कुनामा टोलाएर ब्रस गर्न थालेँ । मनभित्र भने आँधी उर्लिरहेकै थियो । म भित्र सायद धेरै नै पूर्वाग्रह भरिएको थियो त्यसैले म बैनीले जस्तै सौतेनी आमासँग रत्तिन सकेको थिईनं । सुरुमा बैनीले पनि बाबाले यो बिहे गर्नुलाई सहज रुपमा लिन सकेकि थिईन । उ भन्थी, 'दादा, बाबाले किन बिहे गर्नुभएको होला नि? हामी यत्रा ठुला ठुला भैसक्यौं । सबैले जिस्क्याउँछन् हामीलाई बाबाले बिहे गर्नुभयो भन्ने सुनेर । सानीआमाले हामीलाई हेला गरिन् भने झन के होला ?' त्यसबेला बैनीलाई पनि बाबाले बिहे नगरे हुन्थ्यो भन्ने लागेको थियो तर पछि उ सानीआमासँग राम्रै रत्तिई । बोलाउँदा पनि उ सानीआमालाई आमा भनेरै बोलाउँछे । सबैले दिदीबैनि जस्तै मिलेका आमाछोरी भन्छन् । गाउँभरी कसैले पनि सानीआमालाई नराम्रो भनेका छैनन् । आफ्ना पट्टी सन्तान हुँदैनन् भन्ने जानेर पनि बिहे गर्ने हिम्मत भएकि बहादुर आइमाई भन्छन् सानीआमालाई । तर मैले भने कहिले पनि सानीआमालाई सकारात्मक लिन सकिनँ । आमा भनेर बोलाउँन समेत सकिंन । एकपल्ट मैले बोलाउँदा सानीआमा भनेको सुनेर बाबाले भन्नुभएथ्यो, 'के को सानी र ठूली गरिरहनुपर्‍यो ? थपक्क आमा भने भै'गो नि ।'

बाबालाई मैले कहिल्यै मुख फर्काएको थिएन त्यो दिन पनि केही भनिनँ बरु त्यो दिनदेखि मैले सानी न ठूली आमा नै भन्न छाडेँ । सकेसम्म त म सानीआमासँग बोल्दै बोल्दिंन । बोल्नै परे पनि बिना सम्बोधन नै बोल्न थालें ।

'दादा छिटो गर्नुस् न ।' मलाई पर्खिरहेकी बैनी नेपथ्यबाट बोली ।

'कस्तो अटेरी गरेको यो खुस्केटले ? अरुबेला मन नपरे पनि आज त आईदिनु नि?' नेपथ्यबाटै बाबाले भन्नुभएको पनि सुनेँ । म बोल्दै नबोली सानीआमाप्रति जति वैर राख्थेँ । बाबाले त्यो स्पस्ट पारिदिनुहुन्थ्यो । कैलेकाहीँ मलाई बालाले त्यसरी मेरो मनभित्रको कुरा प्रस्ट्याइदिँदा रिस उठ्थ्यो, कैलेकाहीँ भने ठीक लाग्थ्यो । भन्न चाहेर पनि भन्न नसकेको कुरा बाबाले भनिदिए झैँ लाग्थ्यो । मैले आशा राखे अनुसार बाबाले मलाई कहिल्यै तँ पागल छैनस् भनेर हौसला दिनुभएन, बरु सानो सानो कुरामा मलाई बाबाले नै अर्धपागल, खुस्केट भन्दा भने मन साह्रै पिरो हुन्थ्यो ।

म मुखमै ब्रस कोचेर बैठकमा पुगेछु । ढोकामा पुग्दा सबैका आँखाहरुले मलाई नै ताकिरहेका थिए । तिनै जोडा आँखाहरु मेरो प्रतिक्षामा थिए सायद । मैले एक एक सर्को तीनै जोडा आँखाहरुमा आँखा जुधाएँ । बाबाको आँखामा म प्रति केहि क्रोध, केहि घृणा र केही सहानुभूति जस्तै मिश्रित भाव देखेँ । वहाँले भन्नुभयो, 'यतिन्जेल मुख पनि धोएको रहेनछ । कस्तो पागल केटा हो यो?' म चसक्कै दुखेँ तर म मुख धुन गएको मुखै नधोई त्यहाँ आएछु । थपक्कै फर्किएँ म मुख धुनलाई ।

फेरी आउँदा याद गरें बैनीको मुहार नै उज्यालो थियो । उसको प्रसन्नता आँखाहरुले झनै देखाइरहेका थिए । सानीआमाको आँखाहरु भने भावशुन्य झैं लागे । न खुसी न पीडा । सानीआमाका आँखाभरि आँसु डबडबाइरहेका थिए ।

सानीआमाको आँसु भरिएका आँखा मैले कहिले देखेको थिइनँ । जहिल्यै पनि सुख्खा लाग्थे मलाई उनका आँखा तर आज आँसु देख्दा उनको आँखामा मलाई आफ्नै आमाको प्रतिमूर्ति देखेझैं लाग्यो । मेरी आमालाई कमलो मन भएकी साहसी आइमाई भन्थे सबैले । सानो सानो कुराले रुवाउँथ्यो मेरी आमालाई । अत्यन्तै भावुक हुनुहुन्थ्यो । सँधै अर्काको लागी बाँचु, अरुलाई दिउँ भन्ने सोच्नुहुन्थ्यो । 'आफु मिटाई अरुलाई दिनु जहाँ छ' भन्ने कविता लेख्ने देवकोटाको मन र मेरी आमाको मन उस्तै थियो होला जस्तै लाग्थ्यो मलाई । सानीमाको आँखाबाट पोखिनै लागेको आँसुले मेरो मनलाई केही पगालेजस्तै लाग्यो । आमाको सम्झनाले हो या सानीआमाको आँसुले हो मैले छुट्याउन सकिनँ तर पग्लिएर मेरो मनको आँसु मनकै आँगनमा सलल बगेझैं लाग्यो । मलाई त्यहाँ सामना गर्नुपर्ने सबै क्रियाकलापहरु निमेषमै सकेर त्यहाँबाट बाहिरिने इच्छा भयो ।

बैनीले सबैथोक तयार पारिसकेकि थिई । बैनी र मैले एकैचोटी सानीआमालाई मिठाइ र अन्य परिकारहरु खुवाउन थाल्यौँ । सानीआमा भित्रैबाट भक्कानिएको बुझ्न गाह्रो थिएन । वहाँका आँखाबाट बरर आँसु खसे । सानीआमाको आँखाको आँसु झरेर बैनिको नारीमा पर्यो । मेरोमा परेन । सायद आँसुले पनि थाहा पायो होला मैले यो घरमा सानीआमाको आगमनलाई सहज लिएको छैन भन्ने । बैनी सानीआमाको आँसु पुछिदिँदै भन्दैथिई, "अरे किन रुनुभएको, नरुनु न आमा ।"

म त्यहाँबाट उम्किन चाहन्थेँ । फर्किएर ढोकातिर लम्केको के थिएँ । बाबाले कपडाको यौटा सानो प्याकेट दिँदै भन्नुभयो, 'ल यो पनि दे आमालाई ।' बातबातमा मलाई पागल भन्ने बाबाको सामु त मलाई उभिनै मन हुन्थेन । मैले बाबाको हातबाट प्याकेट लिएँ, सारी थियो त्यो सायद, र सानीआमाको काखमा पर्नेगरि हुर्‍याएर बाहिर निस्किएँ ।

"के गर्छ यो बौलाहा?" बाबाको रिस ममाथि पोखियो ।

'मैले छोरालाई कहिल्यै आफ्नो बनाउन सकिनँ ' सानीआमाले भक्कानिँदै भन्नुभएको सुनेँ । मलाई औडाहा छुट्यो । क्वाँ क्वाँ रोइदिउँ जस्तो पनि लाग्यो । 'आफ्नी आमाले त पराई बनाएर छोडेर जानुभयो अब सानीआमाले आफ्नो बनाएपनि के नबनाए पनि के?' यस्तै सोच्दै म आफ्नो कोठामा पसें र तयार भएर क्याम्पस जान निस्किएँ ।

साइकल झिक्दै गर्दा बैनीले भनळ, "दादा खाजा खानु न । तयार छ । आमाले खाजा खान बोला भन्नुभएको छ ।"

पहिल्यैदेखि मनले आज म सानीआमाले बनाएको खाजासाजा खान्न भन्ने सोचेको थियो । मैले त्यसैगरी भनें, 'भरै छिट्टै आएर तँसँगै खान्छु । आज म सानीआमाले बनाएको खान्न । तँ बना है ।' बैनिको पछिल्तिर सानीआमा उभिएकी थिइन् । उनलाई देखेपछि जोडले पाइडल मारेर म गेटबाहिर हुत्तिएँ ।

"मैले किन त्यसो भनेँ ? म किन व्यर्थै सानीआमालाई दुखाउँछु ? मलाई पागल किन भन्छन् सबैले ?
म सबै कुरा सोच्न सक्छु । पागल त म नहुनु पर्ने । तर म किन केही काम ठीकसँग गर्न सक्दिनँ ? कि म साँच्चै पागल नै हुँ ?" मनभित्र आँधी बोकेरै म वेगले साइकल हुइँक्याउँदै थिएँ । बाटोमा महेश भेटेँ । ऊ साइकलको चेन चढाउँदै थियो । मलाई देखेर बोल्यो, 'हैरान पार्यो यार यो थोत्रे साइकलले पनि ।'

मलाई मनभित्रको आँधि छल्ने उपाय भेटेझैं भयो । तर उसले पनि मलाई पागलकै श्रेणीमा त राखेको होला नि?

"नयाँ साइकल किन्ने भनेको हैन अनि ?" मैले सोधें ।

"हो यार, तर किनिनँ फेरि ।" हामी समानान्तर गुडिरहयौं साइकलमा ।

'हेर्न, आज आमातिर्थ औंसी रे । हामी आमा नहुनेलाई त केही न केही हुँदोरहेछ ।' महेशले फेरि उही विषयमा घुसार्‍यो मलाई, जहाँबाट म निस्कन चाहन्थें । उसले आमातिर्थ भन्दोरहेछ । म मातातिर्थ भन्थें । सुन्दा अलि अनौठो लागेपनि उसले भनेको नै अझ नजिकबाट भनेको जस्तो लाग्यो मलाई । उ भन्दै थियो, 'तै तिम्रो त सौतेनी भए'नि आमा त हुनुहुन्छ घरमा । मलाई त आज साह्रै न्यास्रो लागेको छ यार । के गर्नु, मरेकि आमालाई आज भेट्न पाईने भनेभए म त मरेरै भएपनि जानेथिएँ बरु ।' आमा नहुनुको पीडा उसले यस्तरी ओकल्यो कि म झन् रन्थनिएँ । बाटोभरी महेशले आफ्नो मनको तितो सुनाइरहयो मलाई । यत्तिका मनका कुरा सुनाउने उसले मलाई पागल सम्झिंदैनरहेछ भन्ने सोच्दै पनि थिएँ म । क्याम्पस पुग्ने बेलामा उसले भन्यो, 'साँची आजभोली तिमीलाई ठिक भएजस्तो लाग्यो । औषधी खाँदैछौ होला नि? तिमीलाई आफूलाई त बौलाको छु जस्तो लाग्दैन होला नि?' मेरो हरेक विश्वास यसरी नै त क्षणमै ढलेर जान्थ्यो । यो पनि कुन नौलो कुरा भयो र ? क्याम्पसमा पहिले निक्कै साथीहरु थिए मेरा तर मलाई पागल भनिन थालेपछि साथीहरु सबै टाढा भए । म एक्लै हिंड्छु ।

जहिलेदेखि म पागल भनिन थालेँ तैलेदेखि मभित्र बनेको विश्वासले मलाई कहिल्यै काम दिएन । म आफुलाई ठिक छु भन्थेँ तर कैलेकाँहि के के गर्छु रे जो म थाहा पौँदिन । त्यसकै भरमा मलाई धामीझाँक्री, डाक्टर, बैद्य ईत्यादि गरिन थालियो र म झन पागलमा दरिँदै गएँ । म थाहा पाउँदिनँ तर भन्छन् म सानो बच्चा देख्‍नेबित्तिकै बच्चालाई बोकेर दगुर्छु रे "आमा मैले निकालें बच्चा, आउनु बाहिर आउनु । मैले बच्चा निकालिसकेँ" भन्दै ।

मनोविज्ञानको कक्षामा थिएँ म । 'मानिसहरु किन आत्महत्या गर्छन्?' भन्ने विषयमा प्राध्यापक भट्याईरहेका थिए । कक्षाकोठामा हल्ला उत्तिकै थियो । जति हल्ला बढ्थ्यो उति जोडले भट्याउने यि प्राध्यापकले कहिल्यै कसैलाई हल्ला नगर भनेको सुनेको छैन मैले । यन्त्रझैं खुरुखुरु भट्याएर निस्किने प्राध्यापकको कुराले मलाई भने भित्रभित्र पेलिरहेथ्यो ।

"आत्महत्या गर्नलाई ठूलो कुरै चाहिँदैन मान्छेलाई । अनावश्यक कुराहरुलाई नै ठूलो बानाएर पनि मान्छेहरु आत्महत्या गर्छन्.........' यस्तै यस्तै भट्याइरहेथे उनि । मानसिक रोगीको बारेमा पनि उनि केहि भन्दैथिए, 'मानसिक रोगीहरु सँधै खुल्ला रहने सयौं विकल्पहरु देख्न असमर्थ हुन्छन् र आत्महत्या मात्र यौटा विकल्प देख्छन् ।"

मानसिक रोगीको कुरा उठ्दा मलाई मानसिक रोगी ठानेर सबैले हेरेको झैं लाग्यो । वरीपरि फर्किफर्कि हेरेँ । सबैका आँखाहरु मलाई नै मानसिक रोगी भन्दै ताकिरहेका थिए । कक्षाबाट बाहिरिँदा मलाई आफु मानसिक रोगी होईन भन्ने कुरामा विश्वास थियो तर अर्को कक्षामा पनि मानसिक रोगीहरु र आत्महत्याको कुराले नै मेरो मनमा छटपटि बढिरहयो ।

बाँकी कक्षाहरु नपढी म क्याम्पसबाट पनि बाहिरिएँ । ठेगानले म केही सोच्न सकिरहेको थिइनँ । सोचाइका अनेकौं टुक्रे उतारचढावले मलाई भित्र-भित्र हल्लाइरहेको थियो । म अनियन्त्रित थिएँ । घर आईपुगेछु । सरासर आफ्नो कोठामा पसेँ । टेबलमा मेरो यौटा कपि खुल्ला देखें । बैनिले लेखेकि रहिछ, 'दादा, मेरो एक्स्ट्रा क्लासको लागी म छिट्टै निस्किएँ । तपाईं खाना खानु ल? आज सबै मैले पकाएकि हुँ । आमाले केहि पकाउनुभएन । आमा आज धेरै रुनुभयो । आज आमा रुँदा मलाई आफ्नै आमा रोए जस्तै लाग्यो । तपाईंले पनि अब आमालाई आफ्नै आमालाई जस्तै सम्झिदिनु है । तपाईंलाई पनि आमाले धेरै माया गर्नुहुन्छ । आमाले तपाईंलाई पागल होइन भन्नुहुन्छ । तपाईंलाई आमाको धेरै माया लागेर त्यस्तो भएको रे...........'

बैनीले लेखेको कुराले म भित्रभित्रै रोएँ । उठेर बैनीको कोठामा पुगेछु । ढोकामा ताला लगाएकी थिई । बाहिर उसको कुर्था-सुरुवाल र सल धोएर सुकाएको थियो । तिनै सुम्सुम्याएर म आफ्नो कोठामा फर्कें ।

'म किन रोइरहेछु?' आफैँलाई सोधेँ । सानीआमासँग नरत्तिएकोले हैन । आफ्नै आमाको सम्झनाले म रोएको हुँ जस्तो लाग्यो मलाई । मेरी आमा बित्नुभएको त्यो दिन सम्झें मैले । म यही कोठामा बसेर परीक्षाको तयारी गर्दै थिएँ । आमा बैनिलाई लिएर अर्को गाउँको पुराणमा जानुभएको थियो । दिउँसो तीनबजे खबर आयो आमा त्यहि पुराण लगाएको घरसँगै जलेर खरानी हुनुभयो । म त्याँहा पुग्दा बैनि मुर्छा परेकि थिई । आमा हुनुहुन्थेन । बाबा पनि अफिसबाटै पुग्नुभएको थियो तर बौलाहाले जस्तै जे पायो त्यही भन्दै हुनुहुन्थ्यो । बाबालाई त्यसरी बिक्षिप्त अवस्थामा देखेर होला मलाई म दह्रो हुनुपर्छ जस्तो लागेको थियो । त्यसदिन पनि नरोएको म त्यसदिन देखि कहिल्यै रुन सकिनँ ।

आँगनमा पुराण समापनको कार्य भइरहँदा सेलरोटी पकाउँदै गरेको आगोले घर सल्किन सुरु गरेछ । आगो नियन्त्रण भन्दा बाहिर गैसकेको बेला सबै भागेर लाखापाखा लागेछन् । त्यस्तैमा, कोठामा कोही छिमेकीको सानो बच्चा सुताइरहेको थाहा भएछ । बच्चालाई निकाल्न आमा कुदेर घरभित्र पस्नुभएछ र निस्कन नसकि बच्चासँगै भित्रै जल्नु भएछ । सम्झिँदा अहिले पनि जिरिङ्ग हुन्छ मेरो मन र आमाको त्यो साहसलाई सलाम गर्न मनलाग्छ । त्यस दिनदेखि रुन बिर्सेको मेरा आँखा आज बिहानैदेखि चुहिन खोज्दै थिए ।

यस्तो बेलामा मन खोलेर बातगर्ने मेरी साथी बैनिमात्र थिई । उसँग धेरै कुरा गर्ने ईच्छा भयो मलाई । तर उ स्कूल गैसकेकि थिई । म फेरि बाहिर निस्किएँ र सुकाईरहेको बैनिको सल झिकेर कोठामै पसेँ ।

दिमागमा महेशको कुरा आयो, 'आजको दिन मरेकि आमालाई भेट्न पाइने भए म मरेरै भए पनि आमालाई भेट्न जानेथिएँ ।' आज मर्यो भने आमासँग भेट हुन्छ भन्ने बिश्वास म भित्र पलायो र एकैछिनमा झ्याङ्गियो । प्राध्यापकको कुरापनि दिमागमा खेल्यो, 'मान्छेहरुलाई आत्महत्या गर्न ठुलो कारण नै चाहिंदैन ।' तर म मा के कारण छ आत्महत्या गर्नलाई र म आत्महत्यातिर उन्मुख भैरहेछु ?' आफैंलाई प्रश्न गरें ।

मैले मर्नुहुँदैन भन्ने विचार उठ्यो । म मरें यदि भने बैनीलाई के हुँदो हो ? बाबाले के सोच्नुहुँदो हो ? अनेक तर्कना खेल्न थाले मनमा । यदि म मरें भने भोली ककस्लाई के फरक पर्छ भन्ने कुरा धेरै सोचें । मलाई बैनिको भन्दा पर्तिर कसैको माया लागेन । बैनी केही दिन दुखिहोली तर उसले सजिलै बिर्षिन्छे मलाई । सानीआमासँग राम्रै झ्याम्मिएकी छे ऊ । बाबालाई त केही फरक नपर्ला उनको साथी सानीआमा छँदैछन् । सानीआमासँग मलाई सरोकार नै छैन । म आफैँप्रति कठोर बन्दै गएँ ।

"आत्महत्या गर्नेलाई ठुलो कारण किन चाहिन्छ र ? उनीहरु त्यसै मरिदिँदा होलान् । आफ्नो पटक्कै माया नलागेपछि उनीहरुलाई अरुको मायाले के थाम्न सक्थ्यो?" यस्तै यस्तै कुराले मेरो दिमाग उम्लिरहन थाल्यो । मैले आत्महत्या गर्ने एक प्रकार निश्चय गरेँ । "म मर्न त सक्छु तर मर्दामर्दै मलाई बचाउन कोही आएभने के होला ?" भन्नेतिर मेरो ध्यान गयो ।

कोठाबाट बाहिर निस्केर घरमा चालचुल सुनें । चकमन्न छ । कोही छैनन् घरमा । बैनी स्कूल गएकी छ । बाबा अफिस जानुभएको छ । सानीआमा घरमा हुनुहुन्न । परिवेश उपयुक्त देखेर म फेरी कोठामा पसें । दिमागमा आज मर्न पाएँ भने म आमालाई भेट्छु भन्ने निश्चय बनेको थियो । त्यसमाथि लाग्यो अझ बैनिको सलमा झुण्डिएर मरें भने आमालाई बैनिको खबर समेत थाहा हुनेछ । सायद त्यसैको लागी मैले अगि बैनिको सल बोकेर आएको हुँ भन्ने पनि लाग्यो । मैले बैनिको सललाई घाँटीमा सुर्काउने गाँठो पारेर बाँधे ।

मलाई थाहै थिएन आत्महत्या गर्दा पहिले घाँटिमा बाँधिन्छ कि झुन्डिने ठाउँमा? पहिले घाँटिमा बाँधेर झुण्डिने ठाउँमा बाँध्न अप्ठ्यारो हुने रहेछ । मैले घाँटीबाट सुर्काउने गाँठो खुकुलो पारेर सल झिकेँ र कोठाको कोरामा कुर्शी राखेर अर्को छेउ बाँधे ।

त्यसपछि सम्झिएँ । म मरिसकेपछि मेरो आत्महत्यालाई हत्या भनेर घरमा अरुलाई प्रहरीले दुख देला । त्यसैले बैनीले नोट लेखेको कपिमा लेख्न थालेँ, 'म आज आमालाई भेट्न जाँदैछु । यो मेरो विश्वाश हो कि आज मरें भने म आमालाई भेट्नेछु र आमासँगै बस्नेछु । मेरो मृत्युमा कसैलाई दोष नदिइयोस् । यो आत्महत्या होइन, देहत्याग हो । राजीखुशीले म मेरो देहत्याग गर्दैछु । मलाई पागल भन्नेहरुलाई मेरो केही भन्नु छैन । तर म पागल कहिल्यै थिईंन । मैले सकेसम्म सामान्य क्रियाकलाप गर्दा पनि सबैलाई त्यो पागलले गर्ने असामान्य क्रियाकलाप जस्तो लाग्थ्यो भने त्यसमा मेरो केही भन्नु थिएन र कसैसँग गुनासो पनि छैन । तर आइन्दा समाजले कसैको पनि मर्म नबुझी कसैलाई पनि पागल नभनिदेवोस्........' मैले नोटमा धेरै लेख्न सकिनँ । लेख्नु आवश्यक पनि थिएन । पागल भनेर चिनिएर बाँच्नुभन्दा मर्दा नै मैले शान्ति पाउँछु भन्ने पनि मलाई विश्वास थियो ।

म उठेँ र कुर्सीमाथि चढेँ । अब मलाई आफु जीवन र मृत्युको धेरै नै मसिनो रेखामा उभिएको छु भन्ने बोध भयो । मनमनै फेरि दोहोर्‍याएँ, 'पागल नभई मलाई पागल भन्ने यो दुनियाँमा कसको निमित्त मैले बाँच्नु छ ? किन बाँच्नु छ ? जे जति थिई एउटी बैनी थिई उसले मलाई माफ दिओस् । म आमालाई भेट्न जान्छु । एक जान्छु, दुई जान्छु, तीन जान्छु....'अठोट बन्यो मनमा । अनौठो शक्तिले मलाई सलको पासोमा टाउको छिराउन अह्राउँदैथियो । म आफ्नो वरिपरी घना अन्धकारको कल्पना गर्दै थिएँ ।

***

(२०५२/५३ तिर आगलागीमा परेको बच्चा निकाल्ने साहस बोकेर जलिरहेको घरभित्र पसी त्यहीँ जलेर खरानी हुनुभएको ती साहसी आमा र वहाँकै वियोगपछि विक्षिप्त बनेका छोरा, मेरो साथी दीपक विष्ट, जसले २०५४ सालको मातातीर्थ औँसीका दिन आत्मदाह गर्नुभएको थियो, प्रति वहाँहरुको आत्माको चीर शान्तिको कामना गर्दै २०५४ साल जेष्ठमा लेखिएको कथा । मुख्य कथा वास्तविक भए पनि संवादहरु र देखाइएका घटनाक्रमहरुलाई मैले काल्पनिक रङले पोतेको छु ।)

Segments: 
Author: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom