Loading

दिनेश अधिकारी सीमान्त सपना / आनन्द राई

कहिलेकाहीँ लाग्छ
मैले जस्तो
बेहोर्नुपरेको भए- सङ्कट
भोग्नुपरेको भए- अत्याचार
सहनुपरेको भए- व्यभिचार
आगो,
लप्का हुनुअघि नै
खरानी भइसक्ने रहेछ। ...

कसैले फुक्तैमा राँकिने अनि बतासले झ्ापट लगाउँदैमा दन्किएर सुकेका पत्कर मात्र हैन सारा फूल र पालुवा समेत सखाप पार्ने आगोको स्वभाव देखेपछि दिनेश अधिकारीलाई यस्तो लागेछ। सास फेरेपिच्छेको मानवीय जिजीविषा, बौद्धिकहरूले स्वीकारेको दासता अनि मानिसले बाँचेको लुब्धो जीवनबारे अधिकारीको आगो शीर्षकको कविताको पहिलो हरफ हो, यो। आगोलाई सारै कमजोर देखाइएको यो कविताले पाठकहरूलाई आ-आफ्नै हिसाबले झ्सङ्ग, स्तब्ध र खङ्ग्रङ्ङ पार्छ।

अधिकारीको पाचौं कविता सङ्ग्रह दशौं कृति सीमान्त सपना मा आगो सँगै भोकदेखि युद्धविरामसम्म ५१ थान कविता छन्। आजका युवा कवि-गीतकारहरू जन्मँदै गरेको समय, २०३७ सालतिरै अन्तरका छिटाहरू प्रकाशित गरेका उनी वल्लभ, काईंला र कोइरालाहरूको फर्सीको जरा भन्दा रिमाल, शेरचन र कटुवालहरूको सरलतालाई समात्ने कवि हुन्। २०५१ मा साझ्ा पुरस्कार (इन्द्रजात्रा) र २०५६ मा मदन पुरस्कार (अतिरिक्त अभिलेख) जित्नुले पनि काव्य र कवितामा उनको प्रभाव झ्ल्काउँछ।

तर, दिनेश अधिकारी जनमानसमा गीतले बढी चिनिएका छन्। कारण प्रस्टै छ― कवितालाई बौद्धिक पाठक चाहिन्छ, गीतले आमश्रोतामा पुग्ने सहज प्राविधिक साधन पाउँछ। त्यसमाथि पहिलो खुड्किलोमै मीरा राणा, रविन शर्माहरूको स्वरको साथ पाए, त्यसपछि शब्द चिन्ने गायक स्वरसम्राट नारायणगोपाल पनि थपिए। चलचित्रले पनि गीतकार अधिकारीका श्रोता सङ्ख्यालाई व्यापक बनाइदिए।

सीमान्त सपना कवि अधिकारीले २०५४-६५ को उथलपुथलपूर्ण अवधिमा देखेका, भोगेका र अनुभूति गरेका कुराको विहङ्गम अभिव्यक्ति हो। ९ देखि १११ लाइनसम्मका सबै कविता उत्कृष्ट छन् भन्नु अतिशयोक्ति होला, निर्विवाद चाहिँ सङ्ग्रहभरि उनी कहीँ पनि काठमाडौंवादी सत्ताको उपल्लो तहका कर्मचारी भएका छैनन्। पहाडहरूको अडिग संयोजनबाट प्रेरित अधिकारीले बेपरबाह प्रजातन्त्र, निमोठिएको राजशाही र उच्छृङ्खल लोकतन्त्र तीनवटै सत्तालाई कविको आसनबाट हाँक दिएका छन्। जस्तोः

महाभारतसँगै सकियो भनेको शकुनि
मेरो ठुल्दाजु भएर जन्मिएको छ
र, ठुल्दाजु
अहिले जताततै लाक्षागृह निर्माणमा व्यस्त हुनुहुन्छ।
मेरो ठुल्दाजु
आजकाल समय फर्काउने सुरमा मस्त हुनुहुन्छ। (ठुल्दाजु)

२०५९ वैशाखमा लेखेको सङ्कटकालमा बाघको बिगारमा समर्थन जनाउने ब्वाँसाहरूको अवश्यम्भावी नियति बताउँदै कविले निचोडमा भनेका छन्ः
हिजोआज
जतिखेर पनि म आफ्नो वरिपरि
एउटा यस्तै कथाको सम्भावना देख्छु!

सीमान्त सपना का कविताहरूमा मानवता, राष्ट्रप्रेम, सामाजिक दायित्वका लागि चेतावनी, विद्रोह र प्रहार मात्र छैनन्, पाठकलाई आल्हादित र आशावादी बनाउने प्रेमिल वर्णन पनि छन्। शासकले समयलाई सकस दिएको वेला उनका प्रेमी-प्रेमिका अँध्यारो कोठामा हैन भरि उज्यालोमा प्रेमदिवस मनाउन चाहन्छन्। सयम सामर्थ्य पढ्दा सुतेको वेला मान्छेको चिउँडोमा भुत्ला पलाउनुको रमाइलो रहस्य खुल्छ भने औसत मान्छेमा कविका कमनम्यान रामबहादुरको चर्तिकलाले पाठकलाई उदास बनाउने गरी मान्छेको खुशीको सीमितता देखाएको छ। भोटो जात्रा, मान्छेको कद, फर्केर हेर्दा लगायतका कविता एकपटक पढेपछि बिर्सन गाह्रो छ।

यथास्थिति र मानवीय सङ्कटका विरोधी कवितामा प्रयुक्त बिम्वहरू लोभलाग्दा छन्― चिम्टामा उज्यालो च्यापेर, एकलासे रूखमा झ्ुण्डिएको दर्शनशास्त्र, टोपीमा उध्रने जीवन, मुछेर छाडेको दालभात आदि। तर, औसत मान्छेका रामबहादुर जेठको घाममा मैनबत्ती जस्तै पग्लेको अनौठो लाग्छ। सीमान्त जाति, क्षेत्र वा लिङ्गको पक्षमा उभिएका लेखकले श्रीमती वा पत्नीको साटो स्वास्नी शब्द चलाएका छन्।

घोडा भएको छ- मृत्युकी निहत्था वेश्या सानोतिनो भ्रम पार्न सफल छे। यसैगरी, ढोका अगाडि पत्रिका छाडेर जाने हकर हुन्छ कि वितरक, अन्योल छ। कतिपय कविता हतारमा फुराएर किचकिचे सम्पादक-प्रकाशकलाई साफी नगरी फालिदिए जस्ता लाग्छन्। मथिङ्गल रिँगाउने गुण बोकेको युद्धविराम युद्धविरामको घोषणापछि भूमिगत भएकी तिमी जङ्गलबाट घर आएकी छ्यौ भनेर शुरु हुन्छ। कविको गुणवत्तामा खासै असर नपुर्‍याउने यस्ता सानातिना त्रुटिले स्वादमा बगेका पाठकलाई भने नमज्जामा पार्छ।

सीमान्त सपना को सन्दर्भमा भन्नैपर्ने एउटा कुरा, दिनेश अधिकारी समय र सीमान्तहरूको अधिकारको वकालत गर्ने कवि हुन्। उनको कवितामा कमन नेपाली रामबहादुर मात्र छैनन्, शासक वर्गलाई प्रश्न गर्ने मुगुका पूर्णबहादुर विश्वकर्मा पनि छन्। सङ्ग्रहको नाम पनि यसमा सङ्गृहीत कविता बाहिरबाट राखिएको छ। यस हिसाबले उनलाई बिसे नगर्चीहरूका कवि भन्न सकिन्छ।


सीमान्त सपना (कविता सङ्ग्रह)
कविः दिनेश अधिकारी
प्रकाशकः साझ प्रकाशन
मूल्यः रु.१७५,
पृष्ठः ११८+७
(Source: Himal Khabar)

Segments: 

Comments