ताजा खबर

Your rating: None Average: 4.4 (5 votes)
त्यो रात
गोली चल्नु र सपना हराउनु
एकसाथ भयो
 
गोली चलेर सपना हराएको हो
या सपना हराएर गोली चलेको हो,
कसले दिन्छ यसको जवाफ
 
सपनाका दलालले,
या बन्दुकका तस्करले ? 
 
आकाशभरि अदृश्य नाइटभिजनहरु
चम्किरहेका थिए
तर्सिएको जून
बादलको नकावभित्र लुकिरह्यो रातभरि
 
यस्तो बेला
पहरेदार कुकुरहरु छुट्टीमा हुन्छन्
हवल्दार-पुलिसहरु भट्टीमा हुन्छन्
अनि कसलाई गुहार्नु ?
अनि कसलाई बात लाउनु ?
 
त्यसमाथि
त्यो रात
गोली चल्नु र सपना हराउनु
एकसाथ भयो ।  
 
हिजोआज 
जता पनि हतियार बिक्छन् रे
जङ्गल सरेका खोपीहरुमा
बन्दुकको गोदाम हुन सक्छन्
सहर पसेका वनमान्छेहरुसँग
एन्थ्र्याक्स हुन सक्छ
देशदेशावर घुम्ने हिप्पीहरुले
अणुबम बोकेका हुन सक्छन्
 
छिमेकमै पनि
युरेनीयम प्रशोधन भइरहेको हुनसक्छ
 
अनि कसकोमा छापा मार्नु ?
अनि कसलाई मुद्दा हाल्नु ? 
कुन पत्रले छाप्ला 
"खास खबर !" शीर्षकमा 
सपना हराएको खबर ?
 
कसले भट्याउला र यो खबर ?
कसले पत्याउला र यो खबर ?
 
यस्तो बेला 
फेरि गोली चल्न सक्छ
र खबर पनि 
हराउन सक्छ । 
Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.