जगन्नाथ शर्मा त्रिपाठीलाई 'विद्वत्केशरी'

काठमाडौ, माघ २३ / साहित्यकार एवं भाषाविद् जगन्नाथ शर्मा त्रिपाठीलाई नागरिकस्तरबाट 'विद्वत्केशरी'को सम्मानले विभूषित गरिएको छ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङको उपस्थितिमा आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा ८१ वषर्ीय प्राध्यापक त्रिपाठीलाई उक्त सम्मान दिइएको हो । 'उपयुक्त व्यक्तिलाई उपयुक्त सम्मान गर्ने प्रशंसनीय कार्य भएको छ,' उनको योगदानको चर्चा गर्दै नेम्वाङले भने, 'स्रष्टाहरूप्रति नागरिकका तर्फबाट ठूलो सम्मान हुनु सबैका लागि खुसीका कुरा हो ।' त्यसअघि त्रिपाठीलाई बागबजार, रत्नपार्क हँुदै राष्ट्रिय सभागृहसम्म बाजागाजासहित रथयात्रा गरिएको थियो ।

'जगन्नाथ शर्मा त्रिपाठी राष्ट्रिय अभिनन्दन तथा ग्रन्थ प्रकाशन समिति'द्वारा आयोजित कार्यक्रमका राष्ट्रिय संयोजक गोपालप्रसाद थपलियाले धर्म, साहित्य र भाषाका क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएकोले विभिन्न २४ वटा नागरिक संस्थाले संयुक्त रूपमा सम्मान दिएको बताए । समितिबाट ५० हजार र नागरिक संघसंस्थाका तर्फबाट ५१ हजार १ सय ११ नगदसहित 'विद्वत्केशरी'को पदवीबाट सम्मानित गर्ने प्रस्तावलाई हजारौं नागरिकले तालीले स्वागत गरेका थिए । प्रा. शिवगोपाल रिसालले आध्यात्मिक र नैतिक शिक्षाको कमीका कारण मुलुकमा हत्या, हिंसाका घटनामा वृद्धि भएको उल्लेख गर्दै 'दार्शनिक व्यक्तित्व'का रूपमा जगन्नाथलाई लिनुपर्ने धारणा राखे । समितिका उपसंयोजक आनन्दप्रसाद पोखरेलले आध्यात्मवाद र दर्शनवादका प्रतिमूर्तिका रूपमा त्रिपाठीलाई चिनिने बताए । 'स्रष्टाहरू रोग, भोक र शोकले मर्न नपरोस् भन्नेमा सरकारका तर्फबाट प्रतिबद्धता आउनुपर्छ,' उनले भने ।

कार्यक्रममा कांग्रेसका नरहरि आचार्य, एमालेका प्रदिप नेपाल, माओवादीका नेता हरिभक्त कँडेल, साहित्यकार मोदनाथ प्रश्रति, मुकुन्द लामिछानेलगायतले त्रिपाठी राष्ट्रकै अमूल्य सम्पत्ति भएकाले स्वास्थ्योपचारमा सरकारले पहल गर्नुपर्ने सुझाए । (Source: Kantipur Daily)

Segments