Loading

घर

पूर्व जाने बसपार्कमा अचानक प्रमिलालाई देखेँ । केही मिनेट चिन्न सकिनँ - हो कि होइन भन्ने लाग्यो । जे जसो पर्ला भनेर म उनको नजिकै गएँ र सोधेँ - एक्सक्युज मी ? तपाईं प्रमिला जस्तो लाग्यो ।

उसले मलाई हेरिन् र विस्तारै भनिन् म प्रमिला नै हुँ ।

'मलाई चिन्छ्यौ ? म को हूँ ?....'

अब ठम्याउने पालो उसको थियो । उसले मलाई टाउकोदेखि खुट्टासम्म हेरी र हाँस्न खोजी तर मलाई लाग्यो-उसले चिनिन । ऊ कुनै विदेशीझैँ लाग्थी -सर्ट र पैन्ट लगाएकी छोटो कपाल र धेरै गोरी । धेरैबेर उसलाई रहस्यमा नराखी मैले आफ्नो परिचय दिएँ म अनिल । कुनै दिन हामी महेन्द्र मोरङ क्याम्पसमा सँगै पढ्थ्यौँ ।

'ओन्डरफुल - यु आर अनिल -माई गुड प|mेन्ड' अनि विदेशीलेझैँ मज्जाले कुम हल्लाई

'कहाँ जान लागेको ?' मैले सोधेँ । किनभने मलाई विराटनगरसम्म मात्र जानु थियो ।

'मलाई थाहा छैन अनिल म कहाँ जाँदैछु ?' उसले साधारण जवाफ दिई, अत्यन्त गम्भीर भएर ।

उसका नातेदार झापामा थिए । मैले अनुमान गरेँ- झापा कि विराटनगर ?

'म जान्दिन, कहाँ जाँदैछु अनि किन जाँदैछु' फेरि त्यही गम्भीरता । उसलाई डिस्टर्ब गर्न मन लागेन । अनुमान गरेँ । कोही केटोसाथीलाई पर्खिरहेकी होली । शायद ऊ मलाई त्यो गोप्यता खोल्न चाहन्न ।

रात्रिबस ४ बजे छुट्ने भएकोले म ३ बजेदेखि त्यहीँ थिएँ । बसपार्कमा ओहोरदोहोर गरिरहेँ । बीचबीचमा प्रमिलाको गतिविधि निरीक्षण गर्दै घुमिरहेँ । मैले गम्भीरतापूर्वक प्रमिलाको अनुहार हेरेँ -ऊ उमेरमै सुकेको रूखजस्ती थिई - कताकता हराएजस्ती, आफूलाई बिर्सन चाहेजस्ती । म फ्लैसब्याकमा गएँ - विराटनगरतिर । पिकनिक गर्न भेँडेटार गएको । प्रमिलाले मीठो स्वरमा गाउने र नाच्ने गरेकी । ती दिनहरू थिए, अब छैनन् । सधैँ नयाँ आकाशको खोजीमा थिएँ, थियौँ तर अब छैनौँ । कुनै ठूलो भूकम्पले हल्लाएर क्षतविक्षत पारी छाडिदिएको जस्तो लाग्छ यो देश । मलाई प्रमिलाको माया लाग्यो । म उसको छेउमा पुगेँ-प्रमिला मेरो गाडी छुट्ने बेला भयो । तिमी के गछ्र्यौं ?

ऊ मुस्काउन खोजी तर सकिन । अनायास भनी - म पनि तिमीसँगै विराटनगर जाउँ कि कसो ?

'सिट खाली छ- जाउँ न त सँगै' किन हो म खुसी भए । टिकट मैले मिलाएँ र हामी दुवैसँगै बस्यौँ । गाडीले ठीक समयमा आफ्नो रˆतार लियो । हामी थानकोट हुँदै अगाडि बढ्यौँ । बाटोमा प्रमिलालाई मैले सहज बनाउन खोजेँ - प्रमिला हामी कुनै दिन यसरी नै भेँडेटार हुँदै हिलेसम्म गएका थियौँ । त्यहाँ तिमीले तोम्बा खाएर छादेको सम्झना छ ?

उसले नकारात्मक भावमा टाउको हल्लाई । उसले मेरो कुरा नै राम्ररी नसुनेको जस्तो लाग्यो । वास्तवमा ऊ कुनै आकाशमा हराएकी थिई । हुनसक्छ अमेरिकाको, अझ न्युयोर्कको होस् । उसले निदाएजस्तो गरी । म पनि आफ्नै विगत र वर्तमानमा डुबुल्की मारिरहेँ । विराटनगर पुगेर पिताजीले अंशमा दिनुभएको नयाँबजार र सीतागञ्जको जग्गा बिक्री गर्न पाए हुन्थ्यो । आफ्ना पुराना साथीहरू जो अहिले उद्योगपति, व्यापारी र होटेलर भएका थिए, तिनलाई भेटेर, पुरानो सम्झनामा साटिन पाए हुन्थ्यो । जोगबनी पुगेर केही नयाँ डिजायनका कुर्था, सुरुवाल किन्न पाए हुन्थ्यो । यस्ता धेरै 'हुन्थ्यो' हरूमा म हराएँ । प्रमिला पनि आफ्ना विगतहरूमा हराइरहेजस्तो लाग्यो । नारायणघाटमा खाना खान गाडी रोकिएपछि मैले प्रमिलालाई 'खाना खान जाउँ' भने । उसले नसुनेजस्तो गरी । मैले जोड दिएँ-प्रमिला बाहिर होटेलमा खान जाउँ । अन्त कतै गाडी रोकिन्न ।

अब बल्ल ऊ उठी । हामी कुनै राम्रो होटेलमा पुग्यौँ । यात्रुहरूको

त्यत्ति भीड पनि थिएन । मैले प्रस्ताव गरेँ -प्रमिला एक्सक्युज मी पहिले केही बियर खाउँ हुन्न ?

बियरको नाम लिनासाथ उसको मुड अलिकति अन भएजस्तो लाग्यो । मैले दुइटा टुबर्ग बियर झिकाएँ र फ्राइड चिकेन पनि । हामीले गिलास जुधायौँ र सहज हुन खोज्यौँ ।

अब प्रमिलाले मलाई प्रश्न गरी -सरोज तिमीले मलाई किन विराटनगर लान खोजेको ?

म अलमल्ल परेँ । 'मैले लान खोजेको कि तिमी जान खोजेको' मैले जवाफ दिएँ, अझ सरोज बनायौ - म अनिललाई ।

एक एक गिलास बियर हामी दुबै सिध्याइसकेका थियौँ र दोस्रोको तयारीमा लाग्यौँ ।

'तिमी डाक्टर कि के भएर अमेरिका गएको भन्ने सुनेको थिएँ ।'- मैले सोधेँ ।

'हो, साँचो हो । अरू के के सुनेका थियाँै अनिल ?' 'तिमीले कुनै डाक्टरसँग बिहे गर्‍यौ भन्नेसम्म सुनेको हुँ'- मैले जाने-सुनेको कुरा भनिदिएँ । 'अरू पनि केही सुनेका थियौ कि Û'-अहिले ऊ, धेरै गम्भीर भई -कुनै गहन भारी बोक्न परेझैँ ।

बियरको हामी तेस्रो गिलासमा थियौँ । अब ऊ केही खुल्ला भई - तिमीलाई थाहा छ कि छैन ? म अमेरिकामा जेल

परेको ?

'हल्ला त सुनेको थिएँ तर पत्याएको थिइनँ ।' ऊ आफ्नो विगत सुनाउन चाहन्थी । त्यहीबेला गुरुजीले 'अब गाडी १५ मिनेटपछि हिँड्छ, तपाईंहरू छिटो खाना खानुहोस्' भनेर फरमान जारी गरेपछि हामी दुबैजना उठ्यौँ र खाना खाने टेबलमा पुग्यौँ । त्यहाँ भेज र नन्भेज खानाको सेट थियो । मैले सोधेँ -तिमी के लिन्छ्यौ प्रमिला ?

'भेज लिन्छु' उसले तुरुन्तै भनी र मैले एक भेज, अर्को नन्भेज खानाको अर्डर गरेँ । हाम्रो अगाडि दुई थाली आइपुगे । दुबै केही नबोली छिटोछिटो खाई गाडीतिर लम्क्यौँ । एकैछिनमा गाडीले आफ्नो रˆतार लियो । कतै जाम, चक्काजाम, नारा-जुलुसमा परिएला कि भन्ने डर मलाई थियो । अनि अझ डर थियो - जङ्गलमा कतै डाँका लाग्ने हो कि आफ्नै देशभित्र यति भय र त्रास लिएर बाँच्नुपर्ने हाम्रो नियतिले म दिक्दार थिएँ । हेटौँडा काट्नासाथ ऊ निदाउन लागी । मैले झकझकाएँ । हामी धेरै नजिक र समझदारीमा थियौँ । मैले कुरा झिकेँ - तिमी जेलमा परेको रे के कसरी हो ? म त छक्क परेँ ।

'लामो कथाजस्तो छ-मेरो दाम्पत्य जिन्दगीको । अथवा भनौँ मेरो घरपरिवारको । यस्ता कुरा सुनेर बोर हुनुभन्दा आनन्दले निदाउँ, कसो ?....'

उसले दोधार कुरा गरी ।

'मलाई बोर लाग्दैन प्रमिला बरू म ध्यान दिएर सुन्छु । अनि सल्लाह र सुझाव पनि दिन्छु ।'

'अनि केही सहयोग पनि गर्छौ

कि '

मलाई यस प्रश्नको जवाफ तुरुन्त दिन गाह्रो पर्‍यो । उसले के कस्तो सहयोगको अपेक्षा राखेकी हो ? म अलमलिएँ ।

'पहिले तिम्रो सत्यकथा सुनौँ । अनि सहयोगको कुरा आउला ।'

'मैले भन्नैपर्ने ? पछि सुनाउँला ।' ऊ फेरि हच्की । मैले कर गरेँ - बाटो पनि त काटिन्छ नि

'कुनै दिन हामीसँगै क्याम्पस पढ्थ्यौँ, होइन ? हामीले ११ क्लास पढ्दापढ्दै माओवादी आन्दोलन सुरु भयो । हाम्रो खेतीपाती सबै सीतागञ्जमा थियो । तिमीलाई थाहा छैन होला-इस्टर्न सुगर मिलकै छेउछाउ । एक दिन अचानक हाम्रो २० बिघा जग्गामा माओवादीले रातो झण्डा मात्र गाडेनन्, जग्गा पूरै कब्जा गरे । त्यही राति बालाई फोन आयो अब तँ सामन्तीलाई हामी मार्छौं । तिमीलाई थाहा छ अनिल । नेपालमा सरकार थिएन र अहिले पनि छैन । हामी सबै आत्तियौँ । मान्छेको आफ्नो प्राणसँग कत्ति डर हुँदोरहेछ -त्यही रात हामीलाई थाहा भयो । अर्थात् ड्याडी, मम्मी, म र मेरो भाइलाई । रातभरि आफ्ना नातेदार, इष्टमित्र र चिनजानकालाई फोन गरेर सल्लाह माग्यौँ । सबैको एउटै राय आयो - अहिले स-परिवार काठमाडौँ जानु राम्रो । यहाँको घर बहालमा लाउने ।'

हाइ वेमा गाडी एकनाससँग दौडिरहेको थियो । यात्रुहरू कोही निदाएका, कोही घुरिरहेका थिए । म एकनास प्रमिलाको जीवनकथा सुनिरहेको थिएँ ।

'अनि....अनि के भो....'

'के हुनु अनिल ? कोही पुलिसमा उजुरी दिने सल्लाह दिन्थे । कोही तराईमा अब हाम्रो खैरियत छैन भन्थे । कोही मानसिकरूपले हाम्रो मृत्यु भइसकेको भन्थे । हामीले त्यही रात निर्णय लियौँ । घरमा सबै तालाकुची मारेर काम गर्ने यौटा मधेसी केटोको जिम्मामा घर छाडी हामी भोलि बिहानको बसमा काठमाडौँ लाग्यौँ । काठमाडौँ त जान लाग्यौँ अनिल Û हामी निश्चयमा थिएनौँ- हामी कहाँ, कसकहाँ जाँदैछौँ ? यौटा अनिश्चित डुङ्गामा चढेका थियौँ ।' -प्रमिला सुँक्क-सँुक्क गरी रून लागी । बिचरी उसले मन थाम्न सकिन । मलाई पनि आँसु आउलाजस्तो भयो तर मैले सम्झाएँ- 'नरोऊ प्रमिला Û जे हुनु त भइगयो । सबै भगवान्को कृपा ।'

'अनि काठमाडौँ पुगेपछि के भयो ?' - मैले प्रमिलाको सङ्घर्ष -कथालाई अगाडि बढाउन चाहेँ ।

'चारचार जना काठमाडौँको ठाउँ । कोही आफन्तकहाँ सीधा जानु भएन । केही दिन लजमा बस्यौँ । अनि बानेश्वर शान्तिनगरमा डेरा लिएर बस्यौँ । बुबाले जग्गा किनबेचको कारोबार गर्न लाग्नुभयो । आमाले घर-व्यवहार मैले कुनै प्राइभेट र्फममा जागिर । अमेरिका, बि्रटेन आदि ठाउँमा पढ्न पठाउने व्यवस्था गर्ने त्यो र्फममा जागिर खानु नै मेरा लागि.....।' विगत सम्झेर ऊ फेरि रोई ।

मैले गाडी बाहिर हेरेँ । ढल्केबर आउन लागे जस्तो लाग्यो ।

'हामी कहाँ आइपुग्यौँ ?' उसले सोधी ।

'ढल्केबर आउन लागेजस्तो छ । त्यसपछि लाहान आउँछ ।' -मैले भनेँ ।

'कोसी आएको छैन हगि....' उसले सोधी ।

'कोसी आउन चार घण्टाभन्दा बढी लाग्छ प्रमिला तिम्रो कथा टुङ्गियो ?' - मैले भनेँ ।

'तिमीलाई निद्रा त लागेको छैन ?'

'तिम्रो कथाले म धेरै दुखित छु प्रमिला बरु भन्दै जाऊ, म सुन्दै जान्छु ।'

'त्यस र्फममा काम गर्दै जाँदा यौटा तन्नेरी केटो मेरो सम्पर्कमा आयो । हामीसँगै बिहान बुद्धनगरको क्याम्पसमा अध्ययन गथ्र्यौं । भनुँ न - एक किसिमले हामीबीच प्रेम भयो । बुटवलतिरको केटो धेरै हृयान्डसम र फुर्तिलो । मलाई सधैँ मोटरसाइकलमा ल्याउने-लैजाने । धेरैजसो ऊ काठमाडौँका होटेल र रेस्टुराँहरूमा मलाई लिएर जान्थ्यो । कहिले नगरकोट, कहिले ककनी घुम्न जान्थ्यौँ । धन्य काठमाडौँ आइएछ, मधेसमा बसिरहेकी भए....। बुबाले यसोउसो गरेर पेप्सीकोलामा घर पनि किन्नुभयो । ती जिन्दगीका रमाइला दिन थिए, रोमान्टिक जिन्दगी थियो । मैले बी.ए. पनि पार गरेँ ।

तर जिन्दगी कहाँ बगिरहने खोलाजस्तो हुँदोरहेछ र कहाँ सधँै घाम मात्र हुँदोरहेछ र आमाले एक रात कानमा सुटुक्क सुनाउनु भयो -नानी तँलाई हेर्न यौटा घरानियाँ परिवार आउँदैछ । तेरो

भाग्य

'को कहाँबाट' -मैले जान्न चाहेँ ।

'तँ पनि हेर, ऊ पनि हेर्छ । हाम्रा कुटुम्बरी नै हुन् । अत्यन्त सम्पन्न परिवार छ । तैँले गाडीबाट ओर्लन पर्दैन । बुबाको पनि यही विचार छ तर हेरौँ तेरो भाग्य.....' फेरि कानमा फुसफुसाउनु भयो ।

मैले प्रतिकार गरेँ -'मलाई अहिले बिहे गर्ने मन छैन आमा पढ्दैछु र जागिर पनि खाँदैछु । म मास्टर्स डिग्री त लिऊँ । अनि बिहेबारीको कुरा ।'

'भोलि बिहान तँलाई क्याम्पस नपठाउनु भन्नुभएको छ बाले । भोलि बिहानको नास्ता खाने गरी आउँछन् ।'

'आमाको कुराले म रन्थनिएँ । म विद्रोह गर्न सक्ने स्थितिमा थिइनँ, न समर्थन नै । मेरो लामो गन्थनले अनिल तिमी सुन्दै त छौ ?'

'भनभन, म सुन्दैछु । तिम्रो कथाले मलाई के निदाउन दिन्थ्यो ? तर प्रमिला क्याम्पस पढ्दा मन परेका केटी साथीहरूमध्ये तिमी पनि थियौ । तिम्रो हाम्रो भाग्य ल भन्दै जाऊ ।'

मेरो स्वीकृतिपछि ऊ झन् सरल र सहज भई । हामीलाई लामो बाटो पनि काट्नु थियो ।

'तिमीलाई अब धेरै बोर गर्दिन । म अब आफ्नो जीवनकथाको क्लाइमेक्समा जान्छु । यो मेरो कथा वास्तवमा हामी सबै नारीको कथा हो, आधा आकाशको व्यथा हो । अँ, म भन्दै थिएँ । भोलि बिहान ती आए-बाबु आमा र छोरो । छोरोको नाम म भन्दिन, तिमीले चिन्न सक्छौ । छोरो १० वर्ष अघिदेखि अमेरिका बसेको रहेछ - पढ्दै र काम गर्दै । नेपाली केटी नै बिहे गर्ने उसको इच्छा रहेछ । हामीबीच परिचय र कुराकानी भयो । ऊ केही अङ्ग्रेजीमा बोल्थ्यो-केही नेपालीमा । मलाई मान्छे नरमाइलो लागेन । अमेरिकामा विश्वभरिका केटीहरू पाइन्छन्, तिमीले किन नेपाली केटी बिहे गर्न चाहेको भन्ने मेरो सोधाईंमा उसको एउटै जवाफ थियो -ती पतिव्रता हुन्छन्, सती हुन्छन्, पवित्र हुन्छन्, अर्थात् ती सीता हुन्छन् । अमेरिकामा सबै द्रौपदीहरू मात्र हुन्छन् ।

तर म उसकी सीता हुन सकिनँ । मैले उसलाई नराम्ररी धोका दिएँ, धोका दिन बाध्य भएँ ।

-ऊ धेरै भावुक भई ।

हामी लाहान आइपुगिसकेका थियौँ । बिहानको आकाश उज्यालो हुन लागेको थियो । मैले सोधेँ -तिम्रो कथा टुङ्गिएजस्तो लागेन प्रमिला अब सिध्याऊँ होला । लाहानमा चिया खानुपर्छ ।

नभन्दै चियाका लागि गाडी १५-२० मिनेट रोकियो । हामी चुपचाप ओल्र्यौं र चिया खायौँ । फेरि गाडी चढ्यौँ । मैले भनेँ - अब कोसी टाढा छैन । प्रमिलामा एक किसिमको खुसीको लहर देखेँ ।

'सुन अनिल म बिहे गरेर अमेरिका पुगेँ । बुटवलको केटोलाई थाहा दिइनँ -जरुरी पनि देखिनँ । न्युयोर्कमा हामी रमाइलोसँग बस्न लाग्यौँ । म पनि डिपार्टमेन्टल स्टोरमा काम गर्न थालेँ । मेरो लागि नयाँ क्षितिज खुलेको थियो, नयाँ सपनाहरू देख्न लागेकी थिएँ । केही वर्षमा नै दुर्घटना भयो । बुटवलको केटो मेरो डिपार्टमेन्टल स्टोरमा आएर मलाई एकनासले हेरिरहेको छ । मेरो सातोपुत्लो उड्यो । मलाई कुनै सपना देखेजस्तो भयो । मैले भनेँ -तिमी यहाँ कसरी ?

'म तिमीलाई खोज्दै आएको प्रमिला । तिमीले मलाई कत्ति धेरै धोका दियौ, मेरो जिन्दगी नै बर्बाद पार्‍यौ । अझ तिमी यहाँ कसरी ? भन्न लाज लाग्दैन ।' ऊ फक्र्यो । मलाई ऊ रावण नै श्रीलङ्काबाट आइपुगेजस्तो लाग्यो । भोलिपल्टको कुरा हो अनिल । म एपार्टमेन्टमा एक्लै थिए । घण्टी बज्यो, हेरेँ त्यही मेरो रावण उभिएको छ । ऊ जवरजस्ती भित्र पस्यो र मलाई रेप गर्‍यो । मैले मेरो जीउ भारी छ, विगतलाई बिर्स भनेर धेरै अनुरोध गरेँ । उसले सबै कुरा पत्ता लाइसकेको रहेछ । मेरो श्रीमान् आफ्नो ड्युटीमा जानासाथ ऊ सँधै आउथ्यो र आफ्नो कर्म दोहोर्‍याउँथ्यो । म निरीह थिएँ, लाचार थिएँ । शायद विश्वका सारा नारीहरूको कमजोरी नै यही रहेछ,

अनिल Û यसरी नै केही समय बित्यो । मैले छोरो जन्माएँ -श्रीमान् धेरै खुसी हुनुभयो । घर-माइती सबै ठाउँमा खबर भयो बधाईका इमेलहरू आए । फेसबुकमा छोरोको तस्बिर राखियो ।

तर खुसीका दिनहरू धेरै महिना रहेनन् । मेरो श्रीमान्ले एकदिन हामीलाई रेड्हृयाण्ड फेला पार्नुभयो । उहाँलाई पहिलेदेखि शङ्का रहेछ । एकैछिनमा अमेरिकी प्रहरी आए र हामीलाई हत्कडी लगाए । न ऊ बोल्न सक्यो, न म । पाप धुरीबाट कराएको थियो । हामी दुबै जेल पर्‍यौँ ।

हामीलाई ज्यान मार्ने षड्यन्त्र गरेको आरोप रहेछ । त्यहाँको मानसिक यातना र पीडाको के बयान गरूँ - म भन्न सक्तिनँ । -फेरि प्रमिला रून लागी । मैले सबै कुरा बुझेँ । मैले भन्ने कुरा पनि केही थिएन ।

'दुई वर्षजति जेलमा बसेर म नेपाल फर्कें । छोरो अमेरिकामा छ । म कत्ति अभागी रहेँछु अनिल'

'कोसी आउनै लाग्यो । हामी कञ्चनपुरमा छौँ,' मैले कुरा मोड्न खोजेँ ।

'अब तिमीलाई मेरो अन्तिम प्रश्न -अनिल ! मेरो यस पीडादायक, थकित र निरास जिन्दगीमा तिमी मलाई के, कसरी सहयोग गर्न सक्छौ ?'

म स्पष्ट भएँ -'म तिमीलाई केही गर्न सक्तिनँ, मेरा आफ्नै धेरै समस्याहरू छन् प्रमिला आई एम सरी भेरीभेरी

सरी !

प्रमिलाले सुुनी र गम्भीर भई । ऊ केही बोल्न सकिनँ । बसले कोसी तर्‍यो र पुलपारि हामी सबै यात्रुहरू उत्र्यौँ । कोही चिया खान लागे, कोही कोसीका साना माछा । म पनि माछा र चिया खाउँजस्तो लाग्यो । दुबै जनासँगै बसबाट औल्र्यौं । ऊ चुपचाप ओर्ली र दिसा-पिसाव गर्न कोसी किनारातिर लागी ।

गाडी जान लाग्यो । मैले केहीबेर गाडी रोकेँ । प्रमिलालाई यताउता खोजेँ । चारैतिर कराएँ, बोलाएँ । उसको केही अत्तोपत्तो भएन । न यो गाडी छोडेर अर्कोमा आउने हो कि !-मैले सोचेँ । भारी मन लिएर गाडी चढेँ र बाहिर हेरिरहेँ । प्रमिलालाई कहीँ, कत्तै देखिनँ ।

विराटनगर पुगेँ, केही दिन बसेँ । प्रमिलाको केही अत्तोपत्तो लागेन । काठमाडौँ फर्कें -यसै मन भारी छ, गह्रौँ छ । मैले प्रमिलालाई विराटनगर ल्याउनै नहुने । विचरी मेरी साथी प्रमिला !

(मधुपर्क कात्तिक, २०६७)

Segments: 

Comments