Loading

केही नयाँ सपना सजाउन थाल्याछु

केही नयाँ सपना सजाउन थाल्याछु,
जून हेर्दै रातमा टोलाउन थाल्याछु ।

थाहा छैन खुशी कति समय टिक्छ,
मदहोस भई आफैँमा हराउन थाल्याछु ।

वर्षौं भा'थ्यो उजाडिएको मनको फूलबारी,
प्रीत सिंचेर हराभरा बनाउन थाल्याछु ।

हतार छ समय छिटो-छिटो बित्छ,
सोचेर केही काम सकाउन थाल्याछु ।

अक्सर धेरैबाट सुनेको घृणाका शब्दहरु,
भुलेर प्रेमगीत गाउन थाल्याछु ।

धोकाले भरिएको स्वार्थी दुनियाँमा,
म पनि पाइला जमाउन थाल्याछु ।

थाहा छैन बाटो कतातिर जान्छ,
भिडसँगै गति बढाउन थाल्याछु ।

लेनदेनले भरिएको कारोबारी बजारमा,
जगेडा सस्तोमै लुटाउन थाल्याछु ।

गर्नु नै पर्ने रेछ देशअनुसार भेष,
फेरिएर जमातमा सुहाउन थाल्याछु ।

Segments: 

Comments