औपन्यासिक पात्र - जीवनको पृष्‍ठभूमिमा

Your rating: None Average: 4.9 (7 votes)

भन्छन् दान गर्नु बिर्सिदिनु, अनि मात्र पुण्य मिल्छ । कुरा कहाँबाट उठ्छ भने, भर्खर एउटी अन्धी आइमाई केटोलाई डोर्‍याउँदै आइरहेकी थिई । उसलाई मैले एक ढ्याक दिएँ । बच्चोले पैसा हत्केलामा राखेर हेर्‍यो र बिस्तारै भन्यो 'पाँच पैसा' । स्वास्नीमान्छेको अनुहारमा न कुनै कृतज्ञताको भाव आयो, न हर्षको, न सफलताको । ऊ ढ्याक जत्ति नै निस्पन्द थिई । परेला चिम्लेकी नै ऊ बिस्तारै घुमी र गई । ठिटोले डोर्‍याउँदै लग्यो उसलाई ।

असलमा यो साह्रै नगन्य एक घटना थियो । र, कहानी कलाको मापतौलमा यस्ताको उल्लेख गरिन्न पनि । र जीवनमै पनि यी जुन नगण्य पात्र छन् यिनलाई सम्झिराखिन्न । तर मेरो परिस्थिति अर्कै थियो, म त्यस बेला जीवनको गहनता र महान्‌ता र विभिन्नताउपर रमिएको थिएँ । मेरो आँखामा एउटा स्मार्ट ठिटोको अनुहार व्याप्‍त थियो र मेरा कानमा उसका बोलीको झन्कार गुञ्जिरहेको थियो । ऊ असलमा स्कूलबाट भागेर आएको थियो । नीलो कट्टु, सेतो कमिज, पुस्तकको झोली जनै जस्तो भिरेको, दाहिने हातमा लन्च-बक्स । सडकमा उभिएर ऐनाभित्रका मालसामन निरीक्षण गरिरहेको । मेरो छोराकै स्कूलको लुगा देखेर, सायद एक आत्मीयताको नाताले होला- मैले अङ्ग्रेजीमा सोधेँ, 'आज स्कूलबाट चाँडै आयौ ?'

पुलुक्क मेरो मुख हेर्छ ऊ ! अहिलेसम्म, साँच्चै भनूँ भने, म युनिफर्मसँग कुरा गर्दै थिएँ । अब जब अनुहार आउँछ मेरो सामु म उसलाई उसकै रूपमा हेर्दछु घोप्ट्याएको त्रिकोण छ उसको अनुहार, र यसका आँखा भर्खरै मानौँ कसैले कर्धले अनुहारमा रोपेको दुई ताजा घाउ हुन् । नानी, परेला, आँखीभौँ केही देखिँदेन पहिलो झोँकमा । होलान् ती, तर तिनको प्रमुखता छैन, सायद प्रयोजन पनि । अनुहार विशिष्‍ट छ, बुझ्‍न नसकिने एक छाप छाडिदिन्छ मनमा, र धेरै बेरसम्मन् ऊ धमिलिएर पनि प्रष्‍ट भइरहन्छ मानौँ ।

'फादरले घर जाऊ भन्यो । मलाई घाउ भयो ।'

'कहाँ ?'

'यहाँ ।'

निहुरिएर घुँडामुनि हेर्छु । घिस्रिएको दाग छ, आलो ।

'म त तिमी भागेर आयौ भन्ठानेको ।'

'म भाग्ने खालको मान्छे होइन !'

'मलाई थाहा थिएन नि त । मैले घाउ देखिनँ, ठानेँ स्कूलबाट तिमी भाग्यौ !'

उसले बिर्सिदियो मैले दिन खोजेको सफाइ, त्यसरी नै जसरी हामी दान बिर्सिदिन्छौँ अथवा भनौँ सफाइका वाक्य उसको लागि महत्वहीन थिए, नगन्यै भनौँ ।

'अस्ति मैले अङ्ग्रेज लिएर आएँ, यहाँबाट उसले दुईवटा यो किन्यो ।'

उसले औँल्याएका कुरा हेर्छु - ज्यापू, ज्यापुनी हुन् काठका । उसको अनुहारको भाव यस्तो छ मानौँ त्यो किनाइदिएर उसले मेरो ठूलो उपकार गरिदिएको छ । मानौँ मैले उसप्रति कृतज्ञता गर्नैपर्दछ । स्वीकार गरिहाल्नु उसको महत्वलाई होच्याएको देखिने हुनाले म शङ्का प्रकट गरिदिन्छु - 'तिमीले किनाइदियौ ?'

अब ऊ दङ्ग पर्छ । ऊ मलाई यस दृष्‍टिले हेर्दछु मानौँ उसको लमाइ ५ फीट एक्कासि बढ्यो र इथरमा उसका वरिपरि एक प्रकम्पन छ उसको सानको, सब मानौँ ग्रहण गरिरहेछु । चुप लागेर रोक्दारोक्दै फुस्कन गएको पाराले मुस्कान बिस्तारै छाड्दैछ । मलाई लट्टाइबाट धागो छाडिरहेको सम्झना आउँछ । यत्तिका मौन सम्भाषण जो भयो, यसको लागि मानौँ भाषा, शब्द अभिव्यक्ति खै पर्याप्‍त ?

'मेरो घरमा यो पनि छ ।' उसले बुद्धको सानो प्रतिमा इङ्गित गर्छ । मलाई देखापर्छ झल्यास्स एक पूजाकोठा र खापा र धूपबत्ती र अनेक भगवान्‌का बीच बुद्ध बसेको दृश्‍य । म पनि यसरी टाउको हल्लाइदिन्छु मानौँ म जान्दछु सब, मानौँ मैले उसको पूजाकोठा देखेको छु, मानौँ म नै त उसको पूजाकोठे, पूजारी हुँ ।

'यसभन्दा ठूलो र यसभन्दा राम्रो ! साँच्चिकैको । यस्तो अङ्ग्रेजलाई बेच्ने खालको होइन ।'

पूजारीको जागिर पजनी हुन्छ मेरो । म मर्माहत मेरो । उसले मेरो व्यवसाय मानौँ राम्ररी जानेको छ ।

'अँ ? !!' यो अँ म यस पाराले भन्छु जसमा आश्‍चर्य, प्रश्‍न, जिज्ञासा, अनुरोध सब छ । मानौँ यो ॐ को मन्त्र हो । बुझिदिन्छ ऊ कुरा; भन्छ - 'मसँग टिबेटन स्टोन पनि थियो दुईटा ।'

ईश्‍वरको स्वादिलो गम्भीर चर्चा-बीच यो स्टोन दाँतमै मानौँ टोकिन्छ ।

"अँ ? दुईवटा ?"
'हरायो । बाकसबाट । नत्र देखाउने थिएँ ।' - ऊ भन्छ ।
"तिमी कुन स्टैन्डर्डमा ?"
'सेकेन्ड बी-मा ।'
'घर कहाँ ?'
'पनोरमा होटल…निरै ।'

यस पाराले ऊ 'निरै' भन्छ, एकछिन गम खाएर, मानौँ पनोरमा होटल उसकै घर हो, 'निर' त अर्काको । ऊ घरतिर जान्छ । न कुनै ग्रिटीङ, न कुनै मुस्कान; फरक्क फर्कन्छ र हिँडिदिन्छ । म उसैको आभामा रुमल्लिरहन्छु ।

मलाई केटाकेटी मनपर्छ । तिनको वरिपरि एक आभा हुन्छ, जीवनदायिनी । र त्यसको उद्‌गम स्रोत हुन्छ एक क्षणिक … जिज्ञासाको … असलमा केटाकेटी मलाई मनपर्छ उसले हामीलाई बिर्सिदिने हुनाले । र जब-जब एउटा स्मार्ट केटा म देख्छु, मलाई एक आशा प्राप्‍त हुन्छ, एक विश्‍वास बर्सिन्छ मेरो सामु । लाग्दछ अझै संसार समाप्‍त भइसकेको छेन ।

कहाँबाट बीचमा यो दर्शन आइपुग्यो बूढो हुँदै गएको लक्षण यही हो - जेमा पनि अर्थ, योजना र दर्शन खोज्ने, नपाएमा भिडाउने ।

अँ, त भन्दै थिएँ । त्यै केटाको तेजमा, छोडेर गएको वातावरणको आभामा म रुमल्लिरहेको थिएँ । त्य बेला म जीवनको गहनता, महान्‌ता र विभिन्नतामा रूमल्लिरहेको थिएँ । र मलाई सम्झना आइरहेथ्यो मेरो साथी एक कविको । जो कविता गर्न छाडेर मास्टरी गर्न छाड्यो । र जो अब मास्टर मात्रभएको छ । नाउँ उसले नकमाएको होइन, स्वयम्‌ एक स्कूल बनायो, कविता क्षेत्रमा । लेख्‍न छाडे पनि, आजसम्म तर जसको बराबर चर्चा भइरहन्छ । ऊ बराबर भन्छ - कविता लेखिन्छ आत्मतृप्‍तिका लागि होइन त? 'तँ केटाकेटीका घेरामा एक छिन बस् त, कस्तो आत्मतृप्‍ति हुँदोरहेछ !' सडकमा हिँड्दाहिँड्दै एक दिन, अनायास, टक्क अँडेर, भन्छ ।

'यो ठाउँ देख्छस् ?'

'देखिरहेछु !'
'राम्ररी हेर् ! यस ठाउँमा मलाई एक पटक चरम तृप्‍तिको अनुभव भयो !'

ठाउँ हेर्छु । नाङ्गो पेटी र रित्तो भित्ता, पर्खालबाहेक तयहाँ केही छैन ।

पानी परेर म तयहाँ त्यसै ओत लागेको थिएँ । एउटी ५ वर्षकी केटी आफ्नो आमासँग जाँदे थिई । मलाई देखी । आमाको ओढिरहेको छाता मागेर ल्याई । भन्छे- मास्साब, छाता लिनोस् । मेरो त आँखाका परेला भिजे । सक्छस तँ बुझ्न ? त्यस केटीको हृदयमा भएको भावलाई ? रिस, राग छल-कपट द्वेष केही नउम्रेको स्वच्छ स्नेह हो त्यो । त्यसले मुश्किलले ३००-४०० शब्द जानेकी होली, त्यत्रो सानो शब्द झिकेर 'मास्साब, छाता लिनोस्' बन्न सक्नु, आत्मप्रवञ्चनाबिना आफूलाई, आमालाई, वर्षालाई बिर्सेर ! भन् त, ती तीन शब्दमा कत्तिका कविता छ ! बिस्तारै गाला थपथपाएँ, भनेँ, 'भो, बा भो, भो, मान्छे पर्खिरहेको ।' बेमनसाथ ऊ फर्की । केटी स्कूलमा साधारण हो, विशेष आँखामा नपर्ने । भोलिपल्ट मैले क्लासमा उसलाई धन्यवाद दिएँ । उसको हनुहारको दीप्‍ति, त्यस बेला … ! बाबू, जीवनमा कविता छरिएर बसेका छन्, देख्‍न सक्नु र टिप्न सक्नु मात्र पर्छ । लेख्‍ने फुर्सद कसलाई ?'

म जान्दछु, उसले नलेखिदिनाले हामीले धेरै कुरा गुमाएका छौँ । तर लेखिएका कुराबाट नै हामीले कहाव के कत्ति पाउन सकेका छौँ आजकाल ! फेरि दर्शन च्याउन खोज्छ । त, भन्दै थिएँ, जीवनको यस्तै गहनता, महान्‌ता र विभिन्नताले परिपूर्ण काव्यात्मक अनुभूतिमा रमाइरहेको बेला मेरा आँखामा पर्छन् ती ढ्याक जस्तो चिसो अनुभूतिहीन अनुहार । म पाँच पैसामा त्यसलाई पन्छाउने ध्येयले झटपट पैसा दिइहाल्छु र भन्छु, मन मेरो, तँ बिर्सिदे तैँले गरेको यो उपकार र फर्की आइज काव्यपूर्ण संसारमा । र याहँनिर म असफल हुन्छु । मलाई लाग्दछ म अतीतबाट उम्कन सकेको छैन । यो जो विगत एक इतिहासको निचोड छ, यो उक्ति, जसले 'अर्काको असफलतालाई पन्छाइदेऊ, पैसाले, दानले, पुण्यले, भजनले, स्तुतिले …' भन्छ, यही हो जो हाम्रा पुर्खाका पुर्खाले हाम्रा पुर्खालाई सिकाए, त्यस बेला जब समाजलेयो चेतनता पाएको तिएन, यो व्यक्तिको सामूहिक उत्तरदायित्व समाजउपर छ भन्ने चेतनता ! म किन अझै यो चेतनतालाई बन्दी बनाएर पुण्य कमाउने तर्खरमा छु हँ ?, म मेरा सन्ततिलाई किन फेरि यही उक्तिको कोसेली ओसारूँ हँ ?, जब स्वयम् मैले बुझिसकेको छु …. के बुझिसकेको छु ? हो कि होइन, सोझो कुरा गर्ने हो भने, मलाई पापी नै बन्न देऊ, बरू म सम्झिरहन चाहन्छु मैले दान गरेका कुरा, कारण अनि पो मेरा आँखा अगाडि बारम्बार र बराबर आइरहनेछन् ढ्याक जस्ता चिम्लिएका आँखा, चिसा अनुहार र निर्लिप्‍त भाव । र बारबार सम्झिरहेछु घोप्टिएको त्रिकोण र कर्धले उधारेको दुई गाउ अनुहारको, र बारबार म सम्झिरहन चाहन्छु मानिसको हीनतम अवस्था झब एक व्यक्तिले अर्को व्यक्तिसामु हात पसारेर पाएको दान पनि दान नसम्झिन सक्ने भएको थियो , जब दान पाएर पनि पाउनेको अनुहारमा कुनै प्रतिक्रिया, कुनै लाज, कुनै कृतज्ञता अथवा खोक्रो आशिष्‌को सङ्केतसम्म पनि थिएन । म सम्झिरहन चाहन्छु त्यो अनुहार जसले भीख माग्नु पनि एक कर्तव्य ठानिसक्यो, त्यत्ति ठूलो कर्तव्य मानौँ ऊ हामीलाई अनुगृहित गरिरहेछ, अथवा भनौँ त्यत्ति पनि होइन, उसको निम्ति त्यो क्रिया सास फेरेजत्तिकै, रौँ उम्रेजत्तिकै, नङ उम्रेजत्तिकै स्वाभाविक भइसक्यो । म चाहन्छु, म उमारिदिऊँ उनीहरूमा, आफू स्वयम्‌ कृतघ्न भएर पनि एक लज्जाको भावना, वा म चाहन्छु उमारिदिऊँ स्वयम् आफूमा एक प्रतिक्रिया यी रगतमा घुसिसकेको परम्पराविरूद्ध । म चाहन्छु उसमा पीडाको, लाज-शरम-कष्‍ट-हीनताको अनुभूतिकै माध्यमबाट तिनको परिष्‍कार, तिनको दुर्दशाको निवारण छ ।

दान दिने कुरा धर्म बनिसकेको धेरे भयो । आज मलाई अनुभव हुँदैछ, यो अब जीवन पनि पो बन्न थालिसक्यो ।

म चाहन्छु, खुट्टामा घाउ भएर चाँडै घर आउने ठिटो, त्यो ठिटो जसले अङ्ग्रेजलाई ज्यापू-ज्यापुनी बेचिदियो, र उसको घरमा बढी ठूलो र बढी राम्रा बुद्ध छन्, र जसले बाकसबाट टिबेटन स्टोन गुमायो, त्यस ठिटोले चाहे कविता र कथा नलेखोस्, चाहे कवि-हृदय मास्टरलाई छाता नदेओस्, तर पनि, निश्‍चयसाथ 'पुण्यचाहिँ नकमाओस् ।'

म जहाँ अडेको छु आज, त्यहीँसम्म मात्र उसका पनि पाइला पुग्ने हुन् र अगाडि बढ्न मैँ जस्तो अलमलिने हो भने, मलाई डर छ, हामी बाँचेको अस्तित्व रहेनछैन ।

उसका आँखामा हामी पनि कहीँ नगण्य र बिर्सिदिनुपर्ने औपन्यासिक पात्र मात्र नरहन जाऔँ ।

Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.