Loading

अर्को साँझ पर्खेर साँझमा

पर्खाइको किनारामा डुबाउने साँझ

साँझहरू कस्ता हुन्छन् ? पक्कै पनि अलि शीतल, मादक र भावयुक्त । ती, मन पराइने रूपमा अतीतका पलहरू स्मरण गराउँदै हामीमाझ लरबराउँदै आएका हुन सक्छन् । साँझ जस्तै मीठो र भावमयी कविताको परिकार चाख्‍ने इच्छा कवि रमेश क्षितिजको 'अर्को साँझ पर्खेर साँझमा' कविताकिताब समाएपछि शान्त हुन सक्छ । किताब पुरानो हो, २०५७ सालमा प्रकाशित । तर काव्यिक सुगन्धले उमेरको बूढोपन छोडेर जीवन्त संवाद गर्छ । लोरीको भाकामा कवितामा धुन खिप्‍न सिपालु कविले सरल अभिव्यक्तिशैलीबाट गहन अर्थ दिने बाटो समाएको देखिन्छ ।
शब्दजालका भद्दा संगठनबाट क्षितिजका कविताहरू परै बस्छन् र साउतीका स्वरहरू सुसेल्दै पाठकलाई सम्मोहन पैदा गर्छन् । 'आफ्नो कुरा' शीर्षकको भूमिका खण्डमा कविले लेखेकै पनि छन्- "अनुहार हराउनेलाई अनुहार दिने कलात्मक तर नि:शब्द ऐनाजस्तो होस् कवितामा विचार - मैले कामना गरेको हुन्छु ।" नभन्दै दुरुस्तै आफ्नो कामनाअनुरूप अनुहारसहित हाजिर भएका भेटिन्छन् कवितामा कवि । आत्मीयता पैल्याउन सक्ने कविको खुबी र कविताको गुणले होला, कविता पठनसँगै एउटा सम्बन्ध स्थापित भइसक्छ कवि र पाठकबीच । अझै, विम्ब र अलङ्कारहरूको घना उपस्थितिले कविताभित्र सङ्गीतिक लहर तरङ्गिएको आभास हुन्छ ।

हातमा लिएर हेर्दैछु
एउटा तस्वीरको पत्ती
र खेल्दैछु तर्कनाहरूको तास !
कि तस्वीरहरू कहिल्यै पुराना नहुँदारहेछन् ?
एक वर्षअघि सँगसँगै हिँड्ने
त्यो मायालु सोझो मित्र
भाग्यको गुलाम
कहाँ पुगेर के गर्दै होला ?
अङ्कअङ्क हिसाब गर्दैछु
थाहै नपाएर चिप्लिएछ एक वर्षको जोकर समय
- (तस्वीर, पृष्‍ठ २८)

कवितामा देश र समाजको चिन्ता र चासोजत्तिकै प्रगाढ रूपमा मानवीय मूल्य, अस्तित्वबोध र हार्दिकता अँटाएका छन् । त्यसै गरी प्रकृतिचित्रणमा पनि कवि निर्धक्क भई पोखिएका छन् । त्यस क्रममा बलियो औजारको रूपमा कलात्मकता प्रशस्त खर्चिएको पाइन्छ । उपमाको साथै खासगरी रूपक अलङ्कारको निकै जतनसाथ प्रयोग भएको छ ।

झम्‌झम्‌
जब पग्लिन्छ आँसु आकाशको
रुझेर पहाड सोचमग्न हुन्छ
उही अगस्त ९ सम्झिरहेको नागासाकीको
कुनै बूढो
राष्‍ट्रवादी नागरिक जस्तो
- (झरी, पृष्‍ठ १३)

३८ थान कवितामा हुलाकघर कविताशृङ्खला विशेष स्मरणीय छन् । पाँच शृङ्खलासम्म तन्किएका 'हुलाकघर' कवितालाRKshitijई कविले हुलाक सेवामा जागिरे जीवन बिताउँदाको महत्वपूर्ण आम्दानी हो भन्दा हुन्छ । झरी पर्दा हुलाकघर सङ्कटमा परेकी अबला महिला जस्तो देख्छन् कवि, जहाँ हुलाकघरको छानाबाट निरन्तर चुहिँदै गरेको पानीलाई आँसुसँग दाँज्छन् उनी । त्यो आँसु बग्दै लतपतिएर 'सुन्दरी खामका आँखाका गाजले ठेगानाहरू' अस्पष्‍ट पार्ने कविले गरेको कलात्मक वर्णन र नौलो कल्पनाशक्ति निकै कलाकारी खुबीले ओतप्रोत भएको महसुस हुन्छ । सर्पजस्तो गुडुल्किएर सुतेको गोरेटो, कुम फाटेको गरिबी, बैरङ्ग चिठीजस्ता घुमन्ते, सूर्यास्तजस्तो जिन्दगी, खुम्चिएको सिरकको खोलजस्तै अनुहार, पहाडले मस्तसँग चुटोट पिएर धुँवा (बादल) उडाएको आदि प्रयोगले कवितामा बाँधिइराख्‍न सुनौला रेखी कोर्न सक्छन् पाठकलाई ।

कालो चश्‍मा लगाउने मान्छे
देख्छ - धमिला पहाड
अँध्यारो बाटो
र कालो अङ्गारको झरी
खाली कालो घाम देखेको उसले
देख्दैन- छेउबाटै
हिँडिरहेका कर्मशील कमिलाहरूको पङ्क्ति
र इन्द्रेनीजस्तो रङ्गीन जिन्दगी
(चश्मा, कालो-२, पृष्‍ठ ४७)

कलामा विचारको वेग मिसिएको स्वादिला कविता पढ्न रुचाउनेहरूको लागि रोजाइको एउटा नाम बन्न सक्छ रमेशको 'अर्को साँझ पर्खेर साँझमा' ।

Segments: 
Author: 

Comments