Loading

चित्रमा दैनिकी/ केशवराज खनाल

मानव जन्मदेखि नै हरक्षण हर पल केही नयाँ कुरा देखिरहेको वा अनुभव गरिरहेको हुन्छ । यही अनुभव नै उसको जीवनमा सिकाइको अभ्यास पनि हो । यसै सिकाइको क्रममा कलाकारिता विधालाई समात्न पुगेका युवा कलाकार मदन श्रेष्ठको पहिलो एकल कला प्रदर्शनी काठमाडौँको लाइट एण्ड सेड ग्यालरीमा देख्न पाइयो ।

भर्खर जीवनको दोस्रो दशक पार गरेका यी कलाकारको कलायात्रा ललितकलाको अध्ययनदेखिनै जारी छ । ललितकला क्याम्पसको अध्ययन प्रभाव यिनको कलामा देख्न सकिन्छ ।

यस प्रदर्शनीलाई कलाकारले 'मोमेन्ट अफ लाइफ' नाम दिएका छन् । जुन शीर्षकलाई यिनका चित्रले पनि सार्थक तुल्याएको छ । काठमाडौँको सेरोफेरोमा हुर्केबढेकाले हुनुपर्छ यिनको चित्रहरूमा उपत्यकाको दैनिकी देख्न पाइन्छ । खर्पन बोकेर हिँड्दै गरेको किसान, घाँस/पराल बोकेका महिला, सडक चोकमा सामान बेच्न बसेकी महिला, घरधन्दामा व्यस्त नारी आदि इत्यादि विषयहरूलाई यिनले आˆनो क्यानभासमा अटाएका छन् । दिनभरिको मिहिनेतपछि टोलका चोकमा गफिँदै गरेका मानिसको हुलले उपत्यकाको जीवनलाई सटिक ढङ्गले प्रस्तुत गर्न कलाकार सफल बनेका छन् ।

माध्यमको रूपमा कलाकार मदनले एक्रेलिकलाई रोजेका छन् भने कागज र क्यानभास दुवैमा यिनले चित्रकला सिर्जना गरेका छन् । ११ह१५ इन्चदेखि २२ह३० इन्चसम्मका यिनका कलाहरू प्रदर्शनीमा देख्न सकिन्छ । ४ थान साना ४ थान २२ह३० साइजका र अन्य चित्रहरू हाफ साइजमा छन् । कागजको सतहमा बनाइएका चित्रहरू अलिक उज्यालो र भड्किलो छ भने ठूला र क्यानभासमा गरिएका चित्रहरूमा सितल रङ्गको प्रभाव बढी छ ।

संरचनागत चित्रहरू भएकाले दैनिक जीवनको पक्षलाई कलाकारले समातेको हुनाले सबै चित्रमा मानव आकृति उपस्थित छ । त्यसमा पनि महिलाहरूको उपस्थिति बढी छ । यसबारेमा कलाकार भन्छन् -पुरूषको तुलनामा महिलाहरू घरधन्दामा बढी देखिन्छन् र मलाई महिलाको दैनिक काम व्यवहार मन पनि पर्छ ।' यसै हुनाले सायद यिनका चित्रमा महिला आकृति बढी देखिन पुगेको हो ।

रङ संयोजनतर्फ कलाकार सचेत देखिन्छन् प्रायः पहेँलो खैरो समूहको रङलाई प्राथमिकतामा राखेर मदनले चित्र रचना गरेका छन् । आँखाले देख्ने उज्यालो रङभन्दा यिनले भावनामा रहेका रङलाई प्राथमिकतामा राखेका छन् । रङलाई सरल रूपमा प्रस्तुत गर्नुभन्दा बढी मदन ब्रस स्ट्रोक -तुलिकाघात) लाई देखाउन बढी लालायित भएको यिनका चित्रले बताउँछ ।

कलाकार मदको रङ संयोजन पक्ष निकै सबल हुँदै आएको छ कलाकारिता सिक्दाको सुरूवातको समयभन्दा यिनी निकै माझिइसकेको प्रतीत हुन्छ । कला सिर्जनामा यिनले आˆनो विषयवस्तुलाई मात्र प्राथमिकतामा राखेका छन् र पृष्ठभूमिलाई रङ संयोजन गरी त्यसै छाडेका छन् जसमा कुचिका डोबहरू त देख्न पाइन्छ तर परिवेशको आभाष गराउन सकेको छैन । यो कुरामा कलाकार सचेत हुन जरूरी छ । केही चित्रहरूमा रङलाई स्वतन्त्र विचरण गर्न दिनुको साटो गाढा रङको रेखाद्वारा आकृति छुट्याउने प्रयत्न गरेका छन् जसका कारण चित्रहरू द्रष्टव्य चित्र उन्मुख देखिन्छ ।

रेखाको प्रयोगमा कलाकार निकै चनाखो बनेका छन् । आवश्यक ठाउँमा मात्र रेखाको प्रयोग गर्नु राम्रो कलाकारको पहिचान हो । यस कुरालाई बुझेर कलाकारले सटिक रेखाको प्रयोग गरेका छन् । चित्रहरूमा कलाकारले गहिराइको आभाष निकै कम मात्र गराएका छन् । अति बढी विषय केन्दि्रत भएकाले पनि होला पृष्ठभूमिमा कलाकारले खासै ध्यान दिएका छैनन् । चित्रपट सपाट नै छ यसमा अन्य टेक्स्चरहरूको पनि प्रयोग गर्दा उपयुक्त नै हुन्थ्यो तथापि कलाकारले ब्रस स्ट्रोकलाई नै देखाएकोले चित्र जीवन्त बनेका छन् ।

अनुभव निकै कम भएपनि मदनका चित्रहरू हेर्दा कुशल कलाकारले बनाएको प्रतीत हुन्छ । यिनको रङ संयाजन निकै पाको छ यसलाई कलाकारले निरन्तरता दिन सक्नुपर्छ । शैल परिवर्तन गरेपनि शारीरिक बनावटमा र हाउभाउमा अझ बढी ध्यान दिन जरूरी छ । वातावरणले रङलाई प्रभाव पारेको हुन्छ त्यसैले वातावरणीयप प्रभाव पनि चित्रमा देखाउन सक्नु कराकारको साहसिक उपलब्धि हुन आउँछ । रङको दुरान्तरका साथै रेखिय दुरान्तरमा पनि थोरै ध्यान दिन सके अत्यन्त राम्रो हुनेछ ।

विषयवस्तु र रङमा जति सबल यी कलाकार छन् त्यति नै सबल संयोजनमा पनि छन् । विभिन्न लेक्चर र वातावरणीय रङलाई कलाकारले अझ ध्यान दिन जरूरी छ ।

कलिलो उमेरमै पहिलो प्रदर्शनी गर्न भ्याएका मदन एक क्षमतावान कलाकार हुन् । यिनको कलाप्रतिको निष्ठा यिनै चित्रले व्यक्त गरिरहेका छन् । शालिन व्यवहार नै यिनको चित्रले पनि बोलिरहेका छन् । आˆनो अस्तित्वलाई बिर्सिएर अरू नै संसारमा रमाउनेहरूको भीडमा मदनले आˆनै सेरोफेरोलाई कला विषयको माध्यम बनाउनु निश्चय नै उपलब्धिमूलक काम हो । आˆनो अस्तित्व बचाउँदै आˆनो कुरालाई नै प्रतिविम्वित गराएर कलाकारले यस प्रदर्शनीबाट लामो फड्को मारेका छन् । यिनको कलाले आगामी दिनमा निश्चय पनि नेपाली कलाको श्रीवृद्धिमा उल्लेखनीय योगदान दिनेछ ।

Segments: 

Comments