३५ वर्षपछि भैरव सम्झँदा / हरि अधिकारी
श्रेष्ठतम् हास्य-व्यङ्ग्य लेखक भैरव अर्यालको चालीस वर्षको अल्पवयमै काठमाडौं गोकर्ण नजिक वागमती नदीको पत्थरिलो खोंचमा फाल हालेर आत्महत्या गरेको खबर साहित्यका आम पाठकहरूले मात्र होइन, आत्महन्ता व्यंग्यलेखकका घनिष्ट साथीभाइहरूले समेत केही समयपछि मात्र पाए । प्रतिक्रियात्मक मनस्तापका सिकार काठमाडौंको काँठ क्षेत्रमा उदाएका यी बहुप्रतिभाशाली स्रष्टाले एक न एक दिन त्यस्तै केही भीषण उपद्रो गर्नेछन् भन्ने अलच्छिना आशंका गरिरहेका उनका निकट मित्रहरूले उनको मृत्युको समाचारलाई टार्न नसकिने भवितव्यका रूपमा लिएको हुनुपर्दछ त्यतिबेला । घनिष्टहरूमध्ये पनि घनिष्टतम् भैरवमित्र रोचक घिमिरे पोखरामा थिए, दसैंको लगत्तैपछिको बिदाको समय बिताउन पुगेका । पोखरा भ्रमणको कार्यक्रम घिमिरे र अर्याल दुवैले मिलेर बनाएका थिए । तर, अन्तिम घडीमा भैरवले फेरेका थिए आफ्नो योजना ।