Loading

केही मुक्तक / वियोगी बुढाथोकी

कति सुहाएको आँखाको त्यो गाजल
भुतुक्कै मात्र भइएन बनायौ पागल
गाजल र पागलको कल्पनामा डुब्दा–
सत्ये, पिएको थिइन भरिएछु खाडल ।

***

पत्रिकाको डोको बोक्दै गर्छु वारपार
कति फाल्नु कति राख्नु असाहित्यिक झार
गाली गलौज मीठो लाग्छ प्रेमपूर्ण भएपछि
स्वागत गर्छु पठउनु है रचना लगातार ।

***

एउटा पत्र लेखेको थें पठाऊँ कसोगरी
सम्झनाले ऐंठन गर्दा रुन्छु धरधरी
खा’को विष लाग्नु पर्ने नखाँदा नि लाग्यो
वाचा तोड्दै गइहालिन् रूपकी ती परी ।

***

ऊ दोषको कोट फुकालेर पन्छियो कसरी
दोष लगाउनेलाई औकात मन्छियो कसरी
मन्छिएर पन्छिनुले कसरी चोखिन्छ मित्र–
ऐनामा अनुहार हेर्नुस् त झिँगा भन्कियो कसरी ।

Segments: 

Comments