Loading

३/ बिर्सी बिर्सिसकिन्न/ माधव घिमिरे

लीला माइतका भुलेर घरका धन्दा तिमीले गर्यौ
आमाको ममता भुलेर कसरी माया मलाई गर्यौ
छातीबाट झिकेर प्राणसरिका छोरी मलाई दियौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ

'ख्वै छोरीहरु छन् कता म त गएँ ख्वै माइती छन् कहाँ !
प्यारा ! यति रहेछ भेट टुहुरी हेरेर बस्नु यहाँ !'
धोको यत्ति कहेर के हृदयले उल्टीरहेकी थियौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ

मैले सोधिनँ अन्त्यकाल कुनमा धोको अडेको थियो
मैले रोइनँ प्राण जान कतिको बाधा परेको थियो
हेरेँ टुल्टुल खाली दीन मुखमा हेरीरहेकी थियौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ

आँसू झर्न सकेन खालि रसिला आँखा लिएकी थियौ
बाक्लो फुट्न सकेन खालि दिलको भाषा भनेकी थियौ
मेरो ध्यान गरी मभित्र कसरी आत्मा मिलाईदियौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ

गथ्र्यौँ दम्पति मृत्युका पनि कुरा माया र सन्तोषमा
भन्थ्यौ- मैँ पहिले मरुँ हजुरको प्यारो यही काखमा !
साँच्चै भाग्यवती सती हृदयकी सच्चा ! मलाई जित्यौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ

तिम्रो पाप थिएन चार दिनको चोला थियो काचन
तिम्रो धर्म थियो सुन्यौ दिनभरी श्रीकृष्णको कीर्तन
राती शीतल मेघको मनि महानिद्रा सजीलै लियौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ

तिम्रो रुप र माधुरी धमिलिँदै जाला कुनै कालमा
जानेछन् अनि बिर्सिदै गुन पनी यो बैगुनी विश्वमा
बिसर्ि बिसर्िसकिन्न किन्तु कहिल्यै जो यो अनौठो गर्यौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ

Segments: 

Comments