Loading

कला र साहित्यमा बिम्ब / तेजेश्वरबाबु ग्वंगः

प्रतीक र विम्ब शाब्दिक रूपमा दुई अलग शब्द हुन् । रूपमा मात्र नभई अर्थमा पनि यी अलग छन् । समान गुणका आधारमा कुनै दृश्य वा अदृश्य अन्य कुनै वस्तु/भावको कल्पना गरी प्रतिविम्बका रूपमा प्रस्तुत गरिएका आकार-प्रकार, वस्तु, चिन्ह आदिलाई प्रतीक भन्ने चलन छ । त्यसकारण प्रतीक कुनै भाव, वस्तु, चिन्हको उही वा उस्तै रूप हुनुपर्छ भन्ने हुँदैन । सरल रूपमा बुझ्न र बुझाउन भगिरथका अनुरोधलाई महादेवले आफ्नो जटामा अल्झिनेगरी स्वर्गङ्गा थापिदिए । हेर्दा स्वैरकल्पना जस्तो देखिने यस आख्यान आफैं बर्चस्व राख्छ ।

 

Tejeshworbabu Gwangaसमुद्र मन्थनबाट निस्केको विष ग्रहणले दग्ध भएर शिव हिमालमा आश्रति रहे । हिमाललाई शिवको जटा मानिए । जत्रो ठूलो फोहरा वषर्ा वर्षे 'नि हिमालमा पानी जम्छ । स्वर्गङ्गा महादेवको जटामा मजाले जम्ने नै भयो । यसमा विवादै रहन्न । यो विज्ञानसम्मत शाश्वत सत्य । हिमाल महादेवको प्रतीक जटाको । स्वर्गङ्गालाई महादेवले आफ्नो जटामा अल्झाएको प्रयोग प्रतीक बन्यो । यो प्रतीकमा स्वस्थ कल्पना छ । वैचारिक पुटसहितको मन्थन छ । प्रयोगात्मक विज्ञानको विवेचना र विश्लेषण छ । यो पूर्वीय प्रतीक दर्शनको स्वस्थ परिस्कृति बनेको छ । उत्तुङ शिखरहरूमा पानी हिउँमा परिणत हुनु विश्वब्यापक स्वीकृति हो । नहुँदो हुन त अफ्रिकी महाद्वीपका टाकुरामा हिउँ नहुनुपर्ने थियो । मात्र अन्तरपूर्वीय जीवनजगत दर्शनको वैदिक धारणागत आधार हुनुमा । प्रतीक दर्शनमा मैले हिमाल, महादेव, स्र्वगङ्गा मुसलधारे वर्षा र तिनको परिणति हिउँमा हुनु देख्न थालेछु, यसरी ।

 

विम्ब शब्दैले छाया बोक्छ । घाम, उज्यालो कुनै पनि किरणमा वस्तु छायादारी बन्छ । छाया वस्तुगत हुन्छ । वस्तुगत छाया तर सधैंभरि एकनास रहन्न/हुन्न । वस्तुगत छाया वस्तुअनुसार वा वस्तुको आकार-प्रकारअनुसार हुने भएर पनि त्यो स्थिर रहन्न । वस्तु ज्युँकात्युँ रहने भएर पनि त्यसको आकारलाई समयअनुसार त्यसको छाया बन्छ । समय अनुरूप कुनै पनि वस्तुको रूपाकृति बदलिरहन्छ, एक स्थितिबाट अर्कोमा । समय यति बलवान छ कि एकै आयतन भएका वस्तुको विम्ब/छाया समयअनुरूप लाम्चिन्छ, छोटिन्छ, पुडकिन्छ, थेप्चिन्छ ।

 

यसरी नै वस्तुको आकृतिको छाया दिशान्तर पनि भइरहन्छ । वस्तुमा पर्ने किरणका दिशाले त्यसको दिशान्तरमा प्रगाढ प्रभाव पार्छ । वस्तुमाथि पूर्वबाट आएका किरण पर्दा छाया पश्चिम पर्छ । दक्षिणबाट किरण परे छाया उत्तरायन पर्छ । यो सरल र सामान्य वस्तुपरक, किरणपरक तथ्य हो । सत्य हो र अनि वैज्ञानिक पनि । अनि ठाडै मध्यान्हको घामजतिकै सिधा टाउकोमाथि किरण पर्दा उही वस्तुको छाया मजासित पुडकिन्छ । र झन्डै विलाए जतिकै हुन्छ । यो विम्बबोधी ज्ञान !

 

यो त वस्तु र विम्ब विषयक सहज, सरल, सामान्य ज्ञान मात्र । विम्ब विषय हाम्रो कला, साहित्य र संस्कृतिपरक विधा पनि हुन् । विम्ब मात्र होइन, प्रतीक पनि तिनमा उत्तिकै सशक्त धारमा प्रयुक्त छन् । शब्द र अभिव्यक्तिका माध्यमबाट व्यक्त गर्न कठिन पर्दा तिनलाई प्रतीक र विम्ब विधा लगाएर छर्लङ्गयाउन सकिन्छ । कला, साहित्य र संस्कृतिमा त्यसैले यसको प्रयोगमा प्राचुर्य छ । यी तीनै विषय- क्षेत्र आन्तरिक यति गहन र मार्मिक रूपमा प्रयोग भएका छन्- प्रतीक र विम्बहरू । यिनका प्रयोगका गहनता र मार्मिकपनले रहस्यवादी चिन्तनलाई प्रश्रय दिनपुगेको अनुभूत हुन्छ । समय अनि परिवेशका संकुचनमा शब्दद्वारा अभिव्यक्त गर्न असहज पर्दा तिनको प्रयोग हुन्छ । कला, साहित्य र संस्कृतिका क्षेत्रमा समान तवरले प्रयुक्त एउटा प्रतीक त्रिभुज/त्रिकोण हो । ज्यामितीय प्रयोजनमा त्रिभुजको आफ्नै प्रयोजन छन् । तर कला, साहित्य र संस्कृतिको क्षेत्रमा त्यसको भिन्न प्रयोजन छ/रहेको छ । गोबर्धन पूजाको संस्कृतिक परिप्रेक्ष्यमा त्रिभुजधारी त्रिकोण पर्वतका रूपमा प्रयुक्त छन् । त्यहाँ त्रिकोण पर्वत बन्छ, घरगृहस्थ निर्माणमा त्रिकोण पवनपुत्र हनुमानको अनुमानमा उपयुक्त बनाइएका छन् । मठ, मन्दिर, देवालय, शिवालयहरूमा प्रयुक्त त्रिकोण र त्रिभुजका प्रयोजन हनुमान मार्ग ठानिएका छन् । यस पद्धतिका अर्वाचिन मूल्य र मान्यता सिधै नभए पनि पवनमार्ग र छिद्र बन्न सक्ने सम्भावना रहन्छ । यो सन्दर्भ पूर्वीय गृह निर्माण/वास्तु विषय ग्रन्थबाट पर्याप्त उपलब्ध हुनसक्ने सम्भावना भएर पनि अहिले लोपोन्मुख अवस्थामा गुजि्ररहेको यथार्थ बनेको छ ।

 

हिमाललाई स्वर्गङ्गा नै अल्झाउने क्षमतावान महादेवको जटाका प्रतीक मानिस । नारायणका शंखलाई पहिलो उद्घोषका प्रतीक ठानिएको छ । वैदिक पूर्वीय जीवन जगतको दर्शन बनेको चिज यस्तै अनगिन्ती वस्तु प्रतीक र विम्बबोधक वस्तुभाव बनेका छन् । हुँदाहुँदा यहाँसम्म कि त्रिकोण आकारलाई त गुह्येश्वरीका गुप्तअङ्गकै प्रतीक बनाइएको छ । यो प्रतीकात्मक परामर्शका सेरोफेरो साँघुरो छैन । त्रिकोणलाई गुह्येश्वरीको गुप्ताङ्ग मान्ने आधार तन्त्र विधागत मानिन्छ । तन्त्रले त्रिकोणलाई शक्तिपीठकै प्रतीक मानेको छ । शक्ति सिर्जनशीलताको सर्जक शक्तिको पर्याय प्रजननशीलमा छर्लङ्गिन्छ । त्रिकोण अब मातृकोषका पर्याय बन्छ । मातृकोष त्यस्तो त्रिकोणात्मक आराधना बनेको छ कि सम्पूर्ण जीवन-जगतका ज्यान प्रजनन हुन्छ, उद्भव हुन्छ, त्यसबाट । त्रिकोणलाई शक्तिपीठ अर्थात जननेन्द्रीय नै मानिनु जीवन दर्शनमूलक यथार्थ रहेको छ ।

 

शक्तिपीठका संयोजक आचार्यहरूले मातृशक्ति कोषलाई थरीथरीका रूप-आकृति दिएका छन् । गुह्येश्वरी पीठ जाऔं । अवलोकण गरौं, त्यहाँ । त्रिकोणभित्र कलश स्थापित रहेको भेटिन्छ । कलश एक प्रकारको पात्र हो । त्यसको मुखाकृति बाटुलो छ । बाटुलोपन पनि शाश्वत आकारको आकृति नै हो । बाटुलोपन सम्पूर्ण सौरमण्डलीय स्वरूप हो । सूर्य लगायत अष्टग्रण गणका आकार गोल छन् । गुह्येश्वरी दर्शनका आचार्यहरूले खगोलका पिण्डका आकृतिलाई आत्मसात गरे । गुह्येश्वरीको कलशका मुखाकृति बाटुलिनुमा आश्चर्यजनक नलाग्नुका बर्चस्व यहाँ अनुभूत हुनथाल्छ । यी प्रतीक र विम्बाकृति निर्माण र प्रयोगमा हाम्रै विवेचना सामथ्र्य सन्निहित रहन्छ, रहेको छ । त्यसकारण प्रतीक र विम्ब विश्लेषणनिम्ति हामीहरूलाई एक सिङ्गो, साङ्गोेपाङ्ग विवेक ब्रह्मकै प्रयोग अनिवार्य छ, रहन्छ पनि ।

 

ध्वनि सञ्चारका पहिलो साधन शंख रहेको छ । सन्देश प्रसारणका प्रथम प्राकृत माध्यम तिनै शंखलाई संयोजन गरिएको छ । प्राच्य सभ्यता, संस्कृति, साहित्य, संगीत र उद्घोषका साधन शंख वस्तु नै बने/बनाइएको अद्यावधिक वस्तुनिष्ठ तथ्य रहेको छ । मानव सभ्यता, संस्कृतिसितै संगीत, नृत्य र कला-साहित्य साधना संयोजन हुनपुगेको छ ।

 

यो सत्यपरक ऐतिहासिक संरचनाको विन्दु बनेको छ । एकै सानु विन्दुबाटै सिन्धुको सार्थक परिवेश र परिभाषा बनाउनु हामै्र प्राच्य बौद्धिक विवेचना अनि विश्लेषणपरक सन्दर्भ हुन् । प्रतीक र विम्बहरूका वाणी र विश्लेषण त्यसउसले सदा एकनास एकोहोरिन्नन् । समय, साधनाका परिवेशले विश्लेषण र विवेचनामा सबल-सार्थक बर्चस्व प्रदान गर्छ, प्रतीक विम्बका सन्दर्भमा पनि उस्तै । समयको परिवेश र परिवेशको समयले प्रतीक सटिक बन्छ । परिवेशको समयले फेरि तिनैलाई बेठिक बनाइदिन्छ । यो समय चक्रको करामत बनेको छ ।

(कान्तिपुर दैनिकमा प्रथमपटक प्रकाशित, तस्बीर सौजन्यः सेतोपाटी)

Segments: 

Comments