Loading

बाटो म्याद !/ युवराज नयाँघरे

घर पुग्न बिहान र बेलुका दुई घन्टा नछुट्टाए हुन्न !

मैले अरू सबै समय काममा लाए नि यी दुई घन्टा पर्छन् विशेष । जागिर, भेटघाट र किनमेल एउटै कालखण्डमा गाभ्ने गर्छु म तर घरबाट निस्कँदा र घर पुग्दाको दुई घन्टा विशेष हुन् मेरानिम्ति ।

यो बाटो म्यादले समग्र जीवन चलेको छ मेरो ।

मैले बाटो म्याद छुटाउनै पर्छ अन्यथा सारा योजना लथालिङ्ग हुन्छ, ल्याङफ्याङ हुन्छ र लल्याकलुलुक हुन्छ । यसैले सबै खाले लथालिङ्ग, ल्याङफ्याङ र लल्याकलुलुकबाट जोगिनँ मैले बाटाका लागि समय नछुट्टाइकन धरै छैन ।

पूरापूरा दुई घन्टा !

गाउँबाट राजधानी आउनेहरूलाई लाग्छ, बाटोले धनधान्य छ यो सहर । तिनले आँखाले नभ्याउने बाटो देखेर जिब्रो टोकेका हुन्छन् र प्रश्न गरेका हुन्छन्-कति मात्रै बाटो ?

तर ती प्रश्न हामी यही बाटोमा रातोदिन जाम, भीड र ठेलाठेलमा अरगज्ज बनेर उभिरहनेहरूका लागि बाल-प्रश्न वा अबोध जिज्ञासाजस्तो लाग्ने गर्छ ।

बाटोसँग धेरै कुरा गाँसिएर एकाएक टुप्लुकिन्छन् । मानिसका अनन्त रूप यो बाटोमा छरपस्टिन्छन् । राज्य बन्छ निरीह । बाटोमा देशको कानुन कुनै पङ्क्तिमा थन्किएर बसेको हुन्छ । बाटो विजयी बन्छ, मौन देखापर्छ मुलुक ।

मैले बाटोलाई दिनै पर्छ दुई घन्टा ।

यो मेरालागि रहर वा आनन्दीको विषय भएन । यो मेरानिम्ति चाहना वा उत्साहको बोली नि भएन । मेरालागि गौरव वा व्यग्रताको विम्बसमेत रहेन यो ।

बरू हरेक दिन मैले अर्थहीन यी दुई घन्टा गुमाइरहेको छु । यी अमूल्य दुई घन्टा बेकार भइरहेका छन् । बेमोजमा मैले समय लगाइरहेको छु ।

बितेको समयभन्दा बिताउँदाको पीडाले घेरेको छ मलाई ।

अखबारमा खबर हुन्छ-बाटो म्यादी सूचना ।

अर्थात् कसैलाई डाक्नु वा बोलाउनै परे भनिएको हुन्छ-यति दिनभित्र वा बाटो म्याद यति समयभित्र कसैगरी आइपुग्नु ।

सम्भवतः टाढा वा धेरै परका मान्छेलाई कानुनी काइदामा चपक्क बाँध्न यो राष्ट्रिय बोली व्यक्तिएको हुनुपर्छ । भीरपाखा, नदीजँघार वा खोँचकन्दराबाट आउने समयावधिको एउटा साँध हो यो तर हामी सहरवासीका निम्ति सुविधा र समृद्धिमा बाटो म्याद झन् आवश्यक भइसक्यो, अपरिहार्य बनिसक्यो ।

घाम टन्टलापुर लागोस् तर मैले बाटो म्याद नघाउन मिल्दैन कदाचित । हुरी बटारिएर हुइँकियोस् तर मैले बाटो छोट्याउन मिल्दैन किञ्चित् । अथवा सडकको नाराजुलुस, पुल्ठो, भाषणको भलपैरो यी सबैलाई मैले समाहित गर्नै पर्छ ।

'बाटालाई नै देऊ समय !'

यो अघोषित भाव हिजोआज मैले सबैतिर सुनेको सन्देश हो । यो भावलाई प्रचार-प्रसार र बिस्तारका निम्ति सर्वत्र कानेखुसी गरेको नि देख्छु म ।

सजिलो छ-बाटाले पाउने समय हो बाटो म्यादीको अर्थ । बाटोले माग्ने गरेको अवधि नै बाटो म्याद हो ।

शब्दको सोझो अर्थ यहाँनिर अनन्यतम् हुँदै होइन ।

बाटो म्याद दिन लगाउने चरित्रको नियत र योजना आलोचनाको विषय हो, पक्ष हो । म यहीँनिर आफूलाई धेरै भुँवरीमा पार्न पुग्छु । घट्टमा पिँधिएको घुनजस्तो । अथवा कुलेसामा बगेको पतिङ्गरजस्तो । म्याद भन्नु समय त हो नि !

ब्ााटाको माग जति छ-उसले पाउने समय नै बाटो म्याद हो । बुझ्न र मनन गर्न कुनै रगतको थोपा नजोस्याईकन बुझिने अर्थ हो यो तर मेरा लागि त्यस परको स्थिति र अवस्थाले मन चिसो पार्ने भाव मुख्य कुरा परे ।

'सुन्नु भो, हिँडे आधाघन्टा मोटर चढे एक घन्टा !'

'जीवनको सुन्दर समय बाटोमै खर्च हुन्छ !'

'जति बाटो उति समयको बर्बादी !'

यी संवाद हुन् सामान्य ।

कुराकानीमा घोचपेच मात्र छैन, उदासी छ । अझ बेथिति र बेकम्मा राज्यका नीति र योजनामाथि नजानिँदो आक्रोश पनि भेट्छु म ।

यहाँनिर आफैलाई धक नलाग्ने गर्छ, बाटो म्यादअनुसारै घर पुग्छु वा जागिरमा पुगिरहेको छु । नियमिततालाई बाधा पारिहालेको छैन । हो, छोटो बाटो होस् कि चोरबाटो-समय मिलाउने प्रयास हुन्छ ।

तर धेरै पाटोमा बाटो म्यादको खिल्ली उड्दै गएको छ । बाटो म्यादले बोकेको मूल्यले घुँडा टेक्दैटेक्दै गइरहेको पाइरहेछु म ।

बाटोलाई दिने केस्रा केलाउँछु समयका । हिजोआज हामी बाटोका गाजेमाजे हमलाका कति निरीह चोट र अव्यक्त रुवाबासीका चेपमा परिरहेका छौँ ।

रोक्न र छेक्न नसकिएका पुराना गाडीहरू । ती पत्रु मोटर चलाउन पाउनु पर्छ भन्ने नारा, चर्का ध्वाँस र अप्रिय गालीहरूको शृङ्खला कति हो कति सहरमा ! खुइलिइसकेका सेता धर्सा र बेवास्ता गरिएका सडक बत्तीहरू ।

हो, तिनले त्यत्तिकै बाटो म्याद बढाउँछन् हाम्रो ।

मृत्यु र जन्मको कुनै व्याकरण हुँदैन । अरू सबै जीवनलाई काँडा र फूलमा दगुराउने योजनाको फाइलमा उभ्याउन सक्छन् तर मृत्यु र जन्मले समयका यी कुनै निश्चित् फग्लेटामा अचेटेर राख्न सकिरहेका हुँदैनन् ।

हामी यो कुरा अखबारको मुख्य पाटोमा सुनेर बिर्सिरहेका हुन्छौँ हरेक दिन । हामी खबरका प्रमुख अंशमा सम्पादन नहुने भाग भएर सुन्छौँ प्रत्येक रात ।

'चितवनबाट बिरामीलाई थप तीन सिलिन्डर अक्सिजन दिएर पठाएको तर जामले सब बर्बाद !'

'ककनीकी गर्भिणीलाई दुई दिनपछि लाग्ने बेथा अघिल्लै दिन लाग्यो तर सडकको जामले लग्यो उसलाई !'

यी कुरा मेरा छिमेकका हुन् ।

बाटो म्याद दिँदादिँदै पनि पार नलागेका घटना हुन् यी । यस्ता कहर र वेदनाका उरुङखात सुनिनसक्ना छन् अरू नि । अरू थुप्रै व्याकुलता र निर्मम पीडामा पिल्सिएर बाटो म्यादी बिलाप भन्नेहरू नभेटिने होइनन् ।

खेत खन्न जानेलाई बाटो म्याद । हलो जोत्नलाई लाग्ने बाटो म्याद । शिक्षक वा कर्मचारीलाई बाटो म्याद । घोत्लिहेर्दा अरू अनेक यस्ता पक्षहरू भेट्छु म । चिकित्सकदेखि घरगृहस्थीका थाङ्ना तह लाउने नेपाली ग्रामीण महिलाले लिने बाटो म्यादको ख्याल आउँछ ।

म एउटा पुरानो स्मृति ख्याल गरिरहेको छु यतिबेला ।

'माइत पुग्न आधि घन्टा, घर फर्कन डेढ घन्टा । अरू बचेको समयमा आफ्ना खलकसँग भेटी घाम ढल्कँदा यो आँगनमा पाइला राख्नु ।'

कडा सासू थिइन् एउटी दिदीकी ।

बूढीले दिएको बाटो म्यादबारे गहिरो अर्थ लगाउन खोजिरहेको छु । माइत पठाइरहेकी बुहारीलाई दिइएको बाटो म्यादभित्र बलियो ज्ञान भेटिरहेको छु म ।

'दिदी, जाँदा आधिघन्टा, फर्कंदा डेढघन्टा । यो मिलेन नि ! यति लामो बाटोलाई बराबरी हुनुपर्ने होइन र ?'

फटाफट लम्कँदै मैले सोधेको थिएँ ।

हिँडेको होइन दगुरेका हुन्थ्यौँ हामी दुई ।

'माइत भनेको खुसीको ठाउँ भएकाले छिट्टै पुगिन्छ रे ! त्यसैले बाटो म्याद थोरै । घर भनेको बेरुचिको ठाउँ भएकाले साबिककै समय । त्यसैले बाटो म्याद धेरै !'

दिदीको उत्तरले मलाई रन्थनायो ।

यो कुरो मलाई आजका राजकाजीहरूलाई कानैमा गएर सुनाउने इच्छा छ नि ! के गर्नु बलवर्गत पुगेन मेरो ।

अनेक सम्झौता, अनेक तिकडम र अनेक खेलखेलाँचीसाथ बागडोर सम्हाल्नेहरूले पुग्नुपर्ने मोडका लागि लिएको बाटो म्यादको मूल्य कति बुझे ? अर्थात् छिचोल्न लाग्ने बाटो म्यादको मर्म कति मनन गरे ?

बाटो-अरूले बनाएको हिँड्न पो कठिन हुन्छ । बाटो-अरूले खनिदिएको नाँघ्न पो असहज हुन्छ । बाटो-अरूले कोरिदिएको छिचोल्न पो सरम हुन्छ तर सबैतिरका मसिना गोरेटा मासेर ठूलठूला राजमार्ग बनाएर मूलबाटोमा उभिएपछि बाटो म्याद पुगेन भनेर आलापविलाप गर्न सुहाउँछ ?

त्यसो गर्न सुहाउँछ कसरी !

मेरी दिदीको माइतजस्तो-राजकाज चलाउनेहरूले हर्षको घर पाएकै छन् नि । अब कर्म घरमा पुग्न किन अल्याङतल्याङ ?

मलाई सधैँ लागिरहृयो-बाटोले निर्धारण गर्छ समयको ।

होइन रहेछ यो । मेरी दिदीको हैरानी र दगुरादगुर हेर्दा बाटो म्याद दिने नेतृत्वका कारणले परिणाम देखापर्दोरहेछ । समय छोट्याउन माइत जाँदा चाँडो र घर फर्कंदा उही समय गर्नु हुन्थ्यो दिदी ।

मैले हाम्रो बागडोर चलाउने स्वाँठ र सन्त दुबै अनुहारमा आशाको कुनै प्रतिक्रिया देखेको छैन । अथवा भेटिन सक्ने कुनै धिपधिपे बत्तीसमेत भेटेको छैन । यो महाशून्यता सबभन्दा भयानक हो, भयाकूल हो र भीषण हो ।

मेरो जीवनको दुई घन्टा बाटोमै जान्छ व्यर्थसाथ ।

जाडोका छोटा दिनहरू । आराम, तातो वा हतारमा यो दुई घन्टा थप्नु पर्छ मैले । गर्मीका बाफिँदा दिनहरू । चिसो, थकान वा आलस्यमा यो दुई घन्टा थप्नु पर्छ मैले बाटोलाई ।

निरर्थक छ । यो जानेको छु । जानेर, थाहा पाएर वा ज्ञात भएरै पनि सडकले पाएको बित्थाको दुई घन्टालाई सरकारी करजस्तो मैले नतिरी सुखै छैन । बरू खान लाग्ने समय छोटट्याउने । सुत्न पाएको समय घटाउने ।

मनोरञ्जन वा प्राज्ञिक बहसलाई प्राप्त अवधि बिर्सिदिने । भोज वा छलफलमा आएको अवसर थाँती राखिदिने ।

अनि बाटोलाई सुम्पिदिने ठ्याक्कै दुई घन्टा !

विश्वविद्यालयको चिन्तन भर्सेलै परोस् । प्रज्ञाको मन्थन थलै परोस् । गुरुकुलको काव्ययात्रा जेसुकै होस् । सर्वनामको नाटक जेसुकै होस् ।

म यी कुनै समारोहतिर अलिक समय दिन नसक्ने भएको छु ।

नत्र सडकले समय कम पाउँछ । बाटोले म्याद थोरै पाउँछ । राजमार्गले अल्प समय पाउनु भनेको म बेलामा घर नपुग्नु हो । मेरा पछाडि रहेका थुप्रै जिम्मेवारी, अर्थ, महत्त्व र कर्तव्य क्रमशः पछाडि पर्छन् अनि ।

बाटो म्याद तोकिसकेपछि कति धेरै गाह्रो ।

घरमा न तरकारीको स्वाद हुन्छ । न गालामा दल्न भ्याइन्छ ग्लिसरिन । छिमेककी एउटी विधवाको उदास ओठ पढ्न भ्याइन्छ न त । खल्तीमा कन्चाकन्ची राख्न पनि पो नभ्याइने ।

ब्ााटो म्याद पाएपछि जसरी नि पुग्नैपर्ने ।

यो नियम कसैले अटेर गर्ने कुरो भएन । कसैले पो नमानिहाले जागिरमा स्पष्टीकरण, व्यापारमा घाटा, पढाइमा गयल ।

अझ मनभरि थपिने धेरै खाले कौलासा वा हैरानी ।

मलाई बाटो म्यादले थप्पड हानेको छ धेरै पटक ।

दहचोकमा घर हुनेहरू, नाङ्लेभारेमा घर हुनेहरू र तीनपिपलेमा घर हुनेहरूको रुवाबासी धेरैधेरै सुनेको छु मैले । दक्षिणकाली, बनेपा वा भट्टेडाँडा घर हुनेहरूका व्यथा छन् झन् चर्का ।

काममा आउँदा र जाँदाको समय र पैसाले तिनलाई पत्ताल पुर्‍याइसकेको हुन्छ । आधा मासु पारिसकेको हुन्छ तिनलाई । झिरको मासु भएर घर र कार्यालयको कर्तव्य धानिरहेका हुन्छन् ती ।

'रिङरोडभित्र हुन्छ जागिर । अब घर छोडी न त डेरा लिनै मिल्ने !'

यो कुरामा बाटो म्यादले हुँडलेको वेदना भेटिन्छ ।

आधा सरो बितिरहेको कुदाकुद र चोट देखिन्छ यहाँ । बिजोग र बेपत्ताले थला काढेको कृपण अनुहार भेटिन्छ यहाँ ।

बाटोलाई सजिलो बनाउन सक्ने व्यवस्था कहाँ छन् ? बाटोलाई सुविधायुक्त बनाउन सक्ने विधि कति बने ?

यी दुई कुरा प्रमुख हुन् बाटो म्यादीका ।

बिहान पनि हस्याङफस्याङ । बेलुका पनि हानाथाप । यी दुबै अनुशासित काम हरेक साँझ र बिहान भइआएका छन् । तल्र्याङतुर्लुङ झुण्डिएर मोटरमा जानु सभ्यतासँगै डोर्रिएको अहम् पक्ष हो ।

गाली, धम्की, घम्साघम्सी र हेलाहाँसो त बाटोम्यादमा पचिरहेकै कुरा परे । यस्तो लाग्छ-ती गहना हुन् यो हिँडाइभरिका । कदाचित ती नपाए कता के-के खल्लो भयो ! यो भावना उम्रिन्छ हृदयभरि ।

झलमल्ल बिहान दिन्छु म बाटोलाई र हात पर्छ रुग्ण साँझ !

बाटोले यसरी हरेक दिन मबाट दुई घन्टा निःशुल्क लिने गर्छ । मैले थुप्रै पहाडका रङहरू हेर्न पाउँदिन । थुप्रै नदीका कलकल गुमाउँछु यही दुई घन्टामा । धेरै नानीहरूका आँखाका कोशमा पट्ट फुटेका सुनौला सपना पढ्न पाउँदिन ।

बाटोले मेरा कन्पारा फुलाएर उदासतिर धकेल्दैछ, गाला चाउरी पारी उराठतिर घचेटिरहेछ र ओठमा कलेटी पारेर उजाडतिर घिच्च्याइरहेछ ।

जितेको कुनै ज्ञान कहिल्यै भइरहेको छैन ।

हारेको ठूलै सङ्केत जहिल्यै भइरहेको छ मलाई । कसैले नखोजून् प्रमाण । कसैले कुनै आधार वा तर्क नसोधेकै राम्रो ।

बाटो म्यादमा मेरो पराजय भएकै छ ।

बिहान र बेलुका खर्चेको यो अनमोल समयलाई बागडोर हाँक्नेहरूका अगाडि बेतुक र बित्थाको विषय हो । राजकाज चलाउनेहरूले हामी सबैलाई बाटो म्याद दिएर ती बेफुर्सद भइरहेका छन् ।

यो देशको नयाँ नक्सा कोर्न बसेकाहरूले पाएको बाटो म्याद त नाघिसक्यो नि !

थप्ने र ? कति थप्ने बाटो म्याद, छ सय एक टाउकालाई ?

[First published in Madhuparka Monthly]

Segments: 

Comments