Loading

बहुमुखी प्रतिभाका धनी भानुभक्त आचार्य/ विष्णुलाल श्रेष्ठ

यतिखेर नेपाली साहित्य आकाशमा सबैभन्दा बढी चर्चा आदिकवि भानुभक्त आचार्यकै छ । अहिले हामी आदिकविको सम्झना गरिरहेछौँ । हामी नेपाली! नेपालकै भूमिमा उभिएर वर्षको एकचोटि औपचारिकता निभाउँछौँ । विद्यालयका विद्याथीलाई प्लेकार्ड, ब्यानर, भानुको तस्विर बोकाएर प्रभातफेरि गछौर्ं, कविता वाचन गर्छौं । राज्यका उच्च ओहोदामा आसीन पदाधिकारीले भानुभक्तका बारेमा अनेक कथन र अध्ययन-अनुसन्धानको योजना सुनाउँछन् । योजना कार्यान्वयनको सुरसार हुँदानहुँदै अर्को जन्मजयन्ती आउँछ सुटुक्क । अनि त्यो पुरातन शैली पुनरावृत्त हुन्छ विगतका वर्षहरूमाजस्तै ।

भारतका सिक्किम, दार्जिलिङ्, आसामलगायतका ठाउँहरूमा साँच्चिकै भानुजयन्ती मनाउँछन् ती प्रवासी नेपालीहरू! 'यी भानु बाजेले नेपाली साहित्यलाई यति धेरै माथि पुर्‍याए, साहित्यको साख बचाउने पनि उनै हुन्' भनेर । ती नेपाली जो विदेशी भूमिमा रोजगारी गर्छन्, स्थायी बसोबास गर्छन्! उनका हृदय-हृदयमा भानुभक्तले बास गर्छन् । प्रवासी नेपालीहरू आस्था र श्रद्धाले शीर निहुराउँछन् । चोक-चोकमा भानुका पूर्ण कद र अर्धकदका सालिक उभ्याउँछन् । यहाँभन्दा त्यहाँ भानुका बारेमा चर्चा परिचर्चा, उल्लास, उमङ्ग र हर्षोल्लास बढी हुन्छ । जे होस् हामी कर बलले वा आस्थाले उनको जयन्ती मनाउँछौँ, मनाइरहेकै छौँ ।

आदिकविका बारेमा धेरै शीर्षस्थ समालोचकहरू छन् । विरोध र समर्थनमा धेरै कुरा लेखिए । 'उनी आदि कवि हुन्, उनी आदि कवि होइनन्, उनी अनुवादक मात्र हुन्, मौलिक कवि होइनन्, उनी प्रथम कवि हुन्, उनका रचनामा मौलिकता पाइँदैन । यस्तो अनुवाद अन्य कविहरूले पनि गरिआएकै हुन्' आदि इत्यादि चर्चा भए । 'उनले लेखे भनेका अनेक रचना मोतीराम भट्ट आफैँले लेखेका हुन् । भानुभक्तको नाम चम्काउनकै लागि मोतीरामले लेखेका कविताहरू 'उनैले लेखेका हुन्' भनिदिएका हुन् । भानुभक्तले लेखे भनिएका कविताहरू भानुभक्तेली शैलीका होइनन्, मोतीरामले नै लेखिदिएका हुन् । किनभने मोतीरामका अन्य कविता र भानुभक्तले लेखे भनेका कविताहरूको शैली उस्तैउस्तै छन् ।' भानुभक्तप्रति आग्रही, पूर्वाग्रही जे भनिए पनि विशेषगरी के कति कारणले हो कट्टरवादी प्रवृत्तिका केही समालोचकहरूले भानुभक्तबारे गहन खोज, अध्ययन-अनुसन्धान नै नगरी पूर्वाग्रहकै कारण उनीप्रति इष्र्या, द्वेष राखेका हुन् कि भन्ने लाग्छ । होइन भने दुनियाँले मानिआएको, नेपाललगायत भारतका थुप्रै ठाउँहरूमा भानुभक्तप्रति उतिकै आस्था, प्रेम, सद्भाव, स्नेह र आदर देखाइएकै छ । प्रवासमा बस्ने नेपालीहरूले साहित्य बुझेकै छैनन् ? भानुभक्तबारे सोध-खोज अनुसन्धान नै नगरी अन्धभक्त भएर आदिकविको पगरी गुताए होलान् !

भानुभक्त आदिकवि होइनन्! बरू नेपाली भाषाका पहिला कवि हुन् भनेर नाकनिक गर्नेहरूले त्यसो भए 'आदिकवि' को हुन् भनेर किन किटान गर्न सकेनन् ? त्यसअघि लेखिएका रामायण नेपाली भाषामा अनुवाद गरिएका सरल, उत्कृष्ट, मौलिक हुन् भनेर किन पुष्ट्याइँ गर्न सकेनन् ? रामायणको संस्कृत भाषाबाट नेपालीमा अनुवाद भानुभक्तपूर्वका कविहरूले गरिसकेकै हुन् । त्यसो भए ती भानुभक्तीय रामायणभन्दा पहिले नै किन लोकपि्रय हुन सकेनन् ? प्रत्येक नेपालीको जनजिब्रोमा किन भिज्न सकेन ? घर-घर, टोल-टोल र गाउँबस्तीहरूमा रामायण किन गाइएन ? भानुभक्तीय रामायणजस्तो किन सर्वत्र चर्चा हुन सकेन ? तिनमा नेपालीपन किन देखिएन ? भानुभक्तको जस्तो नेपाली जनजनले अरू कविहरूको चित्र किन आˆनो मानसपटलमा राख्न सकेनन् ? किन सबैले भानुभक्तको मुक्तकण्ठले प्रशंसा गरे ? ९९ प्रतिशत नेपाली स्रष्टाहरूले 'भानुभक्त नै नेपाली सहित्यका आदिकवि हुन्, उनले लेखेको -अनुवाद गरिएको भनिएको) रामायण नितान्त मौलिक हो । त्यसैले आज पनि रामायणका सरल श्लोकहरू जनजिब्रोमा टाँसिएकै छ ।' भने । उनी अजर छन्, अमर छन् नेपाली जनजनमा, नेपाली मनमनमा । उनले रामायण नलेखेका भए हाम्रो नेपाली साहित्य आज यति फस्टाउने थिएन कि !

होलान् एकआध लेखकहरू जो आलोचना गर्नकै लागि आलोचक बने, बनिरहेका छन्, बनिरहनेछन् । तर, समयक्रममा ती पूर्वाग्रह त्यसै सेलाएर जानेछन् । किनभने उनीमाथि लागेका आरोप औचित्यहीन, आधारहीन र तथ्यहीन छन् । करिव दुईसय वर्षअघिको नेपाली साहित्यको रूपरेखा हेर्ने हो भने भर्खर वामे सरेको अवस्थामा पनि थिएन नेपाली भाषा । संस्कृतमा लेखिएको वाल्मीकिकृत रामायण नेपालका धेरै कविहरूले नेपाली भाषामा अनुवाद नगरेका होइनन् । तर, ती अनुवाद संस्कृतबाट गरिएको शब्दानुवाद मात्र थियो । कखरा नपढेका नेपाली पाठकहरूले कसरी बुझ्छन् ? पाठकका जनजिब्रोमा कसरी भिज्छन् ? करबलले ती लोकपि्रय र प्रख्यात हुने होइनन् । तथ्यपरक आरोप र आलोचना ग्राहृय हुन सक्छ तर पूर्वाग्रहले पीडित भएर लगाइएको मिथ्याआरोपको कुनै तुक हुँदैन । उनीमाथि लगाइएका आरोप विस्तारै मिथ्यासावित हुँदैजानेछन्, शङ्का छैन ।

भानुभक्तले आफूले रामायणको नेपालीमा अनुवाद गर्नुभन्दा अघिका कविहरूले गरेका अनुवाद नदेखेका, नहेरेका र नपढेका होओइनन् । यदि ती नेपाली पाठकले पढ्नसक्ने र बुझ्नसक्ने भइदिएको भए उनले अर्को रामायण किन लेखिटोपल्थे होलान् र ! भानुभक्तीय रामायणलाई कतिपय समालोचक र लेखकहरूले 'मौलिक रामायण' भन्न रूचाउँछन् । किनभने यो संस्कृतबाट गरिएको भावानुवाद हो । त्यसैले रामायणमा प्रयुक्त शब्द, पङ्िक्त, भाव र भाषा नेपाली जनजिब्रोमा भिज्यो । आदिकालदेखि गाउँघरका बिहे-बटुलो, भोज भत्यार र चाडपर्वमा गाइने रामायणले निकै चर्चा पायो । पाठकहरूले रामायणलाई सिरानी बनाए । सिक्किम, दार्जलिङ, आसाम, सिलीगुढी र अन्य धेरै ठाउँमा भानुभक्तको रामायण उत्तिकै चर्चित र लोकपि्रय बन्यो । त्यो साख अझै उस्तै छ, रहनेछ । विसं १८९८ देखि लेख्न थालिएको रामायण भानुभक्तले १९१० मा पूरा गरे । रामायण विशुद्ध सरल नेपाली भाषामा प्रकाशित भइसकेपछि त्यसको व्यापक चर्चा भयो । सामान्य पाठकले पनि यसलाई भाका हालेर पढ्न थाले । सबै ठाउँमा रामायण गाउन थालियो । नेपालीको मनमस्तिष्कमा रामायणले अमिट छाप छाड्यो ।

रामायण घरघरको आस्था बन्यो, गाउँलेहरू साँझ एकैठाउँ जम्मा भएर रामायण वाचन गर्नु आज टेलिभिजनको रसास्वादन गरेजस्तै थियो । गहिरो रूचि लिने पाठकहरूले श्लोकहरू कण्ठस्थ पार्थे । खासगरी बिहे-बटुलोमा रामायणका श्लोकका माध्यमबाट दोहोरी 'सिलोक' खेल्ने प्रचलन थियो । त्यसमा हारजित पनि हुन्थ्यो । रामायणभित्र रहेका बालकाण्ड, अरन्यकाण्ड, सुन्दरकाण्ड, युद्धकाण्ड आदि काण्डका कथा, उपकथाले पाठकलाई मनोरञ्जन, सामाजिक, नैतिक र चारित्रिक शिक्षा प्रदान गरेको हो । भानुभक्तले रामायणका अतिरिक्त अन्य थुप्रै कृति सृजना गरे पनि उनी रामायणमा बाँचेका छन् ।

रामायणको प्रसिद्धिपछि औँलामा गन्न सकिने केही समालोचकहरूले उनको खिस्सीटिउरी गर्नु नौलो होइन । दीनानाथ, रामकृष्ण शर्मा, हृदयचन्द्रसिंह, ताना शर्मा आदि केही समालोचकले उनको काव्यकृतिको पारखै नगरी, गहन अध्ययन नै नगरी हचुवाको भरमा आलोचना गरे पनि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, सूर्यविक्रम ज्ञवाली, पारसमणि प्रधान, धरणीधर कोइराला, बालचन्द्र शर्माजस्ता दिग्गज महारथीहरूले भानुभक्तको खुलेर प्रशंसा गरे । भानुभक्तको कवित्वबारे सुनेका मोतीरामले उनलाई चिनाउन उनका बारेमा लामो अनुसन्धान, अध्ययन र खोजवीन गरी १९४८ मा 'भानुभक्तको जीवन चरित्र' छपाए । 'भानुभक्तको जीवन चरित्र' ले आदिकविको व्यक्तित्व-कृतित्वलाई राम्रोसँग उजागर गरिदियो ।

१८७१ मा जन्मिएर १९२६ मा परलोक भएका भानुभक्त उमेरका हिसाबले जम्मा ५५ वर्ष बाँचे । साहित्य सिर्जना गर्ने उर्वर समय थियो त्यो । उनी अरू २०/३० वर्ष बाँचेका भए नेपाली सहित्यको श्रीवृद्धिका लागि ठूलो योगदान पुग्थ्यो ।

आजको दिनमा भानुभक्तलाई संझदा उनका अनेक पाटा उघारिन्छन् । उनी बहुआयामिक आशुकवि थिए, कवितामै संवाद गर्थे । भनिन्छ! जन्मकुण्डलीदेखि विन्तीपत्रसम्म कवितामै लेख्थे रे । उनले लेखेका तत्कालीक कविता हेर्दा पनि उत्तिनखेर लेखेको देखिन्छ । वधूशिक्षा, भोलिवाद, गजाधर सोती आदि कविता तुरून्तै लेखेको प्रतीत हुन्छ । उनका विविध आयामका कविता छन् । छोरा र मित्रहरूलाई कवितामै पत्र लेख्थे । कवितामा सामाजिकता पाइन्छ । शिक्षा, नैतिकता, चारित्रिकता पाइनु उनका कविताका खास विशेषता हुन् । उनी हक्की कवि हुन्, जे देख्थे त्यही लेख्थे । खेतका सँधियार गिरीधारी भाटसँग उनले लामो समय मुद्दा लडे । मुद्दा उनले जिते पनि । तर उनलाई यतिलेमात्र चित्त बुझेन । 'भाट' शब्दसँगै घृणा जागेपछि आˆनो घरको छानाबाट जम्मै भाटा निकालीदिए । भाटा बहिष्कार गर्ने यिनलाई रामकृष्ण शर्माले 'चाणक्य' भनेका छन् ।

कैलेकहीँ भानुबाजे दुर्वासा हुन्थे । ६० वर्षे उमेर नाघेका पाल्पाली सुब्बाले १२ वषर्ीया अवोध बालिका भित्र्याएको रिसमा तिनलाई 'उल्लु सुव्वा' को पगरी गुथाइदिए । कुमारीचोक थुनामा पर्दा भोलिवादप्रति तीखो व्यङ्ग्य कसे । परिवारभित्रै पनि निकै रिस पोख्थे, बम र वारूद पड्काउँथे । छोरा रामनाथलाई राम्रोसँग पढोस् भनी थुनाबाटै साफ झपारेर चिठी लेखेः 'उप्रान्त पढ्दैनस् भन्ने सुन्दछु । मेरा कण्ढापरि जति उम्लन्छस् म यहाँबाट क्या गरूँ । म ताहाँ आयापछि तैंले नपढ्याको ठहराञा भन्या बाबै तेरा ज्यानको आसा नराखी लात मान्र्या छु.....।.'

यस्ता अनेक प्रसङ्ग कोटिन्छन् भानुभक्तका बारेमा । उनी बहुप्रतिभाशाली थिए । व्यक्ति, प्रवृत्ति, टोल समाज, देश र शासकहरूप्रति तिव्र व्यङ्ग्य प्रहार गर्न औधी सिपालु थिए । पृथ्वीनारायण शाहले ससाना राज्य एकीकरण गरेर वृहत् नेपाल बनाएजस्तै भानुभक्तले छरिएर रहेका विविध भाषालाई विशुद्ध नेपाली भाषामा भाषिक एकीकरण गरेर नेपाली साहित्यको जग बसाल्न सक्दो प्रयास गरे । भानुभक्तका बारेमा अझै व्यापक खोज, अध्ययन, अनुसन्धान गरी उनका समग्र कृति एवं उनले प्रयोग गरेका सामग्रीको संरक्षण सम्बर्धन गर्ने र खासगरी राज्यले उनका बारेमा दीगो कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने हो भने भानुभक्तप्रति त्यही नै सच्चा श्रद्धाञ्जली ठहरिनेछ ।

[Source: Gorkhapatra]

Comments