
सिङ्गै वाद प्रभात क्र्रान्ति–पथका , हे वीर विश्वेश्वर !
काला शासकका विरुध्द जनता , जागा बनायौ अझ ।।
तिम्रा चिन्तन सभ्य —शासन नयॉ , देखेर धेरै जली ।
गर्थे शोषक दैत्य— तागत सधैं , षड्यन्त्रमा गडबडी ।। १।।
नेपाली कविता–कथा जगतमा , आयाम नौला दिंदै ।
पोख्यौ मानवका अचेत मनका , लिप्सा र कुण्ठा छु‘दै ।।
नारी नै भवका सुरम्य — ममता , मानेर आख्यानमा ।
छर्दै , न्याय —विवेक मूर्त – सृजना , सौन्दर्य व्याख्यानमा ।।२।।
माटोमा ममता छरेर मुटुले , नौला दियौ दर्शन ।
किन्तू यी अनुयायी निर्बल भए , गर्छन् सधैं गन्थन ।।
तिम्रा निर्मल धारणा, सब भुली, आचार मैलो भयो ।
हाम्रो मूल विधान बन्न नसकी , अस्तित्व कॉपीरह्यो ।।३।।
मान्दैनन् जननी र देश–जनता , नेता भए जब्बर ।
चर्को लूट र गूट स्वार्थ बलले , फुट्ने भए खप्पर ।।
द्वन्दै –द्वन्द्व पिलाई युध्द–भलमा , जाक्ने इरादा बढ्यो ।
चम्के चुप्पी खु‘डा र बन्दुक कडा , संग्राम चल्ने भयो ।। ४।।
आऊ नायक ! शारदी कुसुमझैं , उद्यान होस् जग्मग ।
नेपाली जन— भावना बुझिदिई , बास्ना चलोस् मग्मग ।।
तिम्रो यो तिथि पर्व गर्व सबको , हो राष्टको एकता ।
हाम्रा देश —विभूति ! गौरव तिमी , अग्ला सफा सभ्यता । ।।५।।
( तिम्रा दर्शन – धारणा धरहरा , यो देशको भव्यता ।। )
समाप्तम्
(शतवार्षिकीमा)