अवोध मन र खहरेहरू / प्रतीक घिमिरे

पानीको बहाव जस्तै
मनहरू पनि
सलल बगिरहँदा
कहिलेकाहीं;
कतैकतै;
बिटुलिन खोज्छन्
भेल, ढुङ्गा र बाढीको चपेटामा परेर ।
अवरुद्ध पारिदिन खोज्छ कहिलेकाहीं;
पानीको बहाव र गतिलाई नै पनि त्यसले ।
सम्हालिँदै फेरि
तैरिंदै, थेग्रिंदै अघि बग्दै जाँदा
शान्त, शीतल भैदिन्छन् अवोध मनहरू ।
अनायासै
चारैतिरबाट
खहरे भेलहरू उर्लीउर्ली
गड्याङ् गुडुङ्को उही पुरानो गर्जन्मा
जव मनहरूलाई बिटुल्याउने असफल प्रयास गर्छन्,
तिनका सामूहिक अनि चौतर्फी प्रहारको
त्यस्तो असहज एवं अन्यमनस्क अवस्थामा
अरु गर्नै पो के सकिन्छ र ?
आखिर खहरेहरू पनि
प्रवाहको गतिसँगै बग्दै जाँदा
सँधै खहरे नै भैरहन कसरी सक्छन् र ?
ए थाकेका खहरेहरू हो !
ए उर्लेर बगेका भेलहरू हो !
आउनै पर्छ एकदिन तिमीहरूले पनि
शान्त, शीतल प्रवाहसँग एकाकार हुन !

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom