Loading

साहित्यले जोड्दैछ नेपाली मन / बेनुपराज भट्टराई

Nepali Literature in Asam Indiaगुवाहटी (आसाम)-रेल स्टेसनबाट निस्केको एउटा नेपाली हुलप्रति गुवाहटीका सडकमा छक्क पर्ने थोरै देखिए, वास्तै नगर्ने बरु धेरै१ यो भरखरैको कुरा हो, जुन दिन २५ जना नेपाली स्टेसनबाट पल्टनबजारस्थित नेपाली मन्दिरतिर जाँदैथिए। शीरमा ढाका टोपी र दौरा सुरुवालमा सजिएका नेपाली देख्दा स्थानीय मानिस अचम्भित नहुने कारण हो– आसाममा नेपालीभाषीको पुस्तौंदेखिको बाक्लो उपस्थिति। अरुबेलै नेपालीभाषीलाई यस्तो पहिरनमा देख्ने बानीले खाँटी नेपालीप्रति स्थानीय परिचितझैं बनेका हुन्।

दूरी– झन्डै ११ सय किलोमिटर। भाषा– फरकफरक। भूगोल– भिन्नाभिन्नै। देश– अर्कोअर्कै। भारतको उत्तरपूर्वी राज्य आसाम र नेपाली राजधानी काठमाडौंबीचका अन्तर हुन् यी। मेची खोलाले राजनीतिक सीमा निर्क्यौल गर्दै दुई देशमा विभाजन गरे पनि आसाम र नेपालबीच थुप्रै कुरा मिल्दाजुल्दा छन्। भारत बस्ने नेपालीभाषीको संख्या झन्डै एक करोड हाराहारी मानिँदै आएका बेला आसाममै ४० लाख जति नेपालीभाषी छन्। आसाम सबैभन्दा धेरै नेपालीभाषी रहेको भारतीय राज्य हो।

आसामका २७ जिल्लामध्ये नेपालीभाषी नरहेका कुनै छैनन्, थोरबहुत सबैमा छरिएरै बसेका छन्। अहिले हुर्किंदै गरेको पुस्तालाई बिर्सने हो भने अघिल्लो र त्योभन्दा अझ अघिल्लो पुस्ताको थातथलो नेपालै हो। रोजीरोटीको खोजीमा मुग्लान पसेका नेपालीहरु सुरुवाती दिनमा जस्तोसुकै दुःख र संघर्ष गर्न पछि नपरेको इतिहास लेखिइसकेको छ। रैथाने आदिवासी, वक्रदृष्टि राख्ने अरु जाति र कष्ट बोकेर आउने प्राकृतिक विपत्ति सामना गर्दै नेपालीले जिउनका लागि गरेको संघर्ष लामो छ। 

कर्मथलो आसाम भए पनि यहाँका नेपालीभाषी पुर्ख्यौलीथलो नेपालप्रति सदैव मरिमेट्छन्। धेरैको घरजग्गा दुवैतिर छ, सम्पत्ति हुने भइगयो। कतिपयका परिवार दुवैतिर छरिएका छन्, कतिपयका छरिने सुरसारमा छन्। उता विवाह व्रतबन्ध हुँदा यताबाट जाने र यता शुभकर्म हुँदा उताबाट आउने चलनमा कमी आएको छैन। आसाम र नेपाललाई जोड्ने साहित्यको सम्बन्ध झनै पुरानो हो। समाज आधुनिकतातर्फ लम्किइरहँदा साहित्यको पुरानो सम्बन्ध भने कायमै छ, जसले नेपाली मन जोडेको छ। 

‘बाक्लै हुने साहित्यिक उत्सव र जमघटले नेपाली मनलाई जोड्ने गरेको छ सयपत्री संस्कृत्य कला केन्द्रका कृष्ण भुजेल भन्छन्, ‘दुवैतिर हुने साहित्यिक कार्यक्रममा निम्तो साटासाट गर्ने चलन कायमै छ, जसले नेपाली हुनुको गर्व महसुस हुन्छ। भुजेल नै प्रमुख रहेको केन्द्रले यसैसाता गुवाहटीमा ‘महाकवि लक्ष्मीप्रसाद देवकोटाका सिर्जनामा मानवतावादु विषयक भव्य अन्तर्किया गर्योह, जसमा नेपालका २७ जना उपस्थित थिए। चिसिएको गुवाहटी नेपाली साहित्यिक बहसले दिनभर गर्मायो। 

यसैक्षेत्रका नेपालीभाषीको जनजीवन समेटेर पहिल्यै ‘मुग्लानु उपन्यास लेखिसकेका प्रा। गोविन्दराज भट्टराई देवकोटाबारे कार्यपत्र प्रस्तुत गर्न काठमाडौंबाट आइपुगेका थिए। देवकोटाको मानवतावाद पर्गेल्न अर्का बलराम अधिकारी भट्टराईसँगै अतिथि थिए। वनारस हिन्दु विश्वविद्यालयका दिवाकर प्रधान उनीहरुकै पंक्तिमा मिसिए। सिके श्रेष्ठको अगुवाइमा कालेम्पोङबाट आएको ‘बसिबियाँलोु समूहका एक दर्जनभन्दा धेरै नेपालीभाषी कार्यक्रमभर आकर्षण बनिरहे। 

डाउनटाउन युनिभर्सिटीको फराकिलो सभाकक्षमा देवकोटालाई केन्द्रविन्दु बनाएर साहित्यिक अन्तरंग चले पनि नेपाली हुनुको पीडा र खुसी साटासाटमा घन्टौं बित्यो। स्वदेशका नेपालीले द्वन्द्वकालमा भोगेका दुःखसुख सुनाउँदै संविधान निर्माणमा अड्केको हलोले मुलुक अस्थिरतामा फँसेको बताए। पूर्वोत्तर भारतका ठाउँ–ठाउँमा चर्किइरहने हिंसाले सातो लैजान खोज्ने सुनाउँदै मातृभूमि छोडेर भारतमा संघर्ष गर्नुपर्दाका पीडा सुनाउँदा आसामका धेरै नेपालीको आँखामा आँशु छचल्कियो। 

तेह्रथुमबाट अभिभावकको हात समाएर आसाम सरेका लीलबहादुर क्षेत्रीले लेखेको ‘बसाइँ उपन्यास यहाँका अधिकतम नेपालीभाषीको आगमन–कथासँग मिल्दो छ। स्वदेशमा छँदा दुई छाक जुटाउन मुस्किल पर्ने बाध्यताको मुक्ति खोज्दै आसाम भासिएका नेपालीभाषी रहँदैबस्दै जाँदा राम्रै हैसियत बनाउँदैछन्। खोरिया फाँडेर खेतीपाती र पशुपालन गर्दै संघर्ष सुरु गर्नेका परिवार शिक्षा र चेतनाको सहयोग लिँदै परम्परागत पेशाभन्दा माथि उठ्दैछन्। दूध बेच्नेहरु डेरी उद्योगै खोल्न सफल बन्दैछन्। 

‘आसाममा नेपालीको हैसियत र पहिचान फेरिँदैछ, जुन हर्षको कुरा होु, संघर्षबाट नथाक्ने नेपालीबारे ‘ब्रह्मपुत्रको छेउछाउु नामक अर्को पुस्तकसमेत लेखेका क्षेत्री भन्छन्, ‘बदलिँदो समयसँगै नेपालीको आर्थिक स्तर, सपना र चाहना पनि फेरिँदैछन्।' ब्रह्मपुत्र आसपासको आसामी भूमिमा अहिले धेरै नेपालीको पक्की घर ठडिएको छ। उनीहरुको लगानीमा उद्योगधन्दा चलेका छन्। निर्माण व्यवसायमा नेपालीभाषीको संलग्नता बढ्दो छ। नोकरीमै पनि माथिल्लो पद पुग्ने थपिँदैछन्। 

‘अशिक्षाका कारण अघिल्लो पुस्ता दश नङ्ग्रा खियाउनै व्यस्त भए पनि अहिलेको पुस्ता रोजेको काम गर्न सक्षम बन्दैछु, निर्माण व्यवसायमा आबद्ध मालीगाउँका अर्जुन क्षेत्री भन्छन्, ‘प्रतिस्पर्धा गरेरै नोकरीमा नाम निकाल्ने, व्यापारमा लाखौं कमाउने र प्राज्ञिक कर्ममा सफलता पाउने नेपालीभाषीको सूची लामो छ।' गुवाहटीको केन्द्रविन्दु मानिने पल्टनबजार आसपास नेपालीभाषीले खोलेका ठूल्ठूला होटल छन्। नेपाली मन्दिर वरपर नेपालीभाषीले खोलेका पसलमा नेपाली सामान उपलब्ध छन्।

‘दसैं–तिहारले जस्तै साहित्यिक समारोहले आसाम र नेपाल जोडेको छ,' नेपाली मन्दिर नजिकै भेटिएका संजीव दाहाल भन्छन्, ‘उताका पुस्तक यता र यताका पुस्तक उता किनबेच गर्ने चलन जारी छ।' आसामका नेपालीभाषी काठमाडौंमा प्रकाशन हुने नाम चलेका पुस्तक आफन्तमार्फत् गुवाहटी झिकाउँछन् भने यता प्रकाशित हुने चर्चित पुस्तक उसैगरी नेपाल पठाइदिन्छन्। मन गरेको खण्डमा पुस्तकजस्तै अरु सामग्री पठाउन र पाउन समय लाग्दैन, गुवाहटी–काठमाडौं २० घन्टामै आउजाउ हुन्छ। 

गुवाहटी मात्रै होइन, आसामका डिगबोइ, डिब्रुगढ, तेजपुर, तीनसुकिया, जागुन, मालीगाउँ जस्ता नेपालीभाषी धेरै भएका ठाउँमा साहित्यिक समारोह भइरहन्छन्। नाम चलेका लेखक साहित्यकार निम्त्याएर भानु जयन्ती, मोती जयन्ती, देवकोटा जयन्ती आदि मनाउने परम्परा कायमै छ। ‘भूगोल र देश अलग भए पनि आसामका नेपालीभाषीको मन नेपालमै हुन्छु, दाहाल भन्छन्, ‘पूर्वोत्तर भारतमा भइरहने हिंसाका बेला हामीले भोग्नुपर्ने त्रासदीबारे नेपाल र नेपालीले पनि सान्तवना दिए मन बुझ्नेथ्यो।'

(नागरिक दैनिकमा प्रथमपटक प्रकाशित)

Comments