Loading

ध्रुवचन्द्रका उपन्यासमा वस्तुप्रयोग र 'अप्रिय' उपन्यासको विशिष्टता/ अनुपमा रेग्मी

प्रवेश

आख्यानपुरुषको उपाधि प्राप्त आख्यानकार ध्रुवचन्द्र गौतमको एक्काइसौँ उपन्यास 'अप्रिय'ले प्रेम प्राप्त गरिरहेको छ अचेल । डा. ध्रुवचन्द्र गौतम उपन्यासमा नयाँनयाँ उपविधा र सिद्धान्तलाई भित्र्याउने प्रतिभा हुन् । यसअघिका धेरै उपन्यास यसको उदाहरण बनिसकेका छन् । पछिल्लो उपन्यास अप्रिय भित्र पनि नवीन सिद्धान्त र लेखनशैलीको प्रयोग गरिएको छ । गौतमको औपन्यासिक यात्राको दौरानमा आफैँलाई पात्र बनाएर लेखिएका 'बाढी' र 'घुर्मी'जस्ता कृतिपश्चात् लेखक र पात्रको खेलले स्थान पाएको छ । उनको जेलिएको उपन्यासमा राम उपाध्याय सहलेखक भएर आएको छ तर त्यो आकाश विभाजित छ, 'ज्यागा', 'देहमुक्त' र 'अवतार' विघटनमाझैँ एकभन्दा बढी सहलेखक भएर आएको वास्तविक लेखक होइन, हो पात्र लेखक । त्यो पात्रलेखकलाई आफ्नो जीवन लेखिदिन अनुरोध गर्दै आफैं पनि सँगै लेख्दै जाने शर्त राखेर आएको छ । एक असफल आख्यानको आरम्भमा पनि एउटा बृद्ध लेखकपात्र आएको छ र अन्त्यमा गौतमले लेखेकै पाण्डुलिपि लेखेर उसले पनि दिएको देखाइएको छ । उसले लेखकलाई पात्र बनाइदिएको छ । यी दुई उपन्यासहरूमाझैँ अप्रियमा पनि उपन्यासकार गौतमलाई लागेको लेखक र पात्रको अतियथार्थिक खेलको प्रस्तुति भएको छ । उनका उपन्यासमा यस्ता अन्य विषयहरू पनि दोहोरिएर आएका छन् ।

विषयविस्तार

डा. ध्रुवचन्द्र गौतमका उपन्यासमा फरकफरक विषयहरू दोहोरिएर आएका हुन्छन् । समालोचक गोविन्दराज भट्टराईले भनेझैँ उनका पात्र एक प्रकारका टाइप हुन् (भूमिका, अप्रिय)। अत्यन्त निम्न गरिबी झेल्ने पात्र जेलिएको लगायत अन्य उपन्यासमा जस्तै यसमा पनि आएको छ । उसले आफूलाई नमुना निम्नमध्यमवर्गीय जीव घोषणा गरेको छ । ऊ भन्छ ( घरमा एक पैसा थिएन यतिले नपुगेर दारिद्रयमा आशातीत वृद्धि गर्ने उद्देश्यले हुनुपर्दछ, चामल, दाल त छाडिदिउँ पीठोसमेत अन्तध्र्यान भइदियो (पृ.२१) । चलाउने प्रसङ्ग (पृ.४६), घरमा पाहुना आएको बेलामा ओछ्याइएको दरीको प्रसङ्ग (पृ.६१), भोक र दरिद्रता वास्तविकता बनेको छ भन्ने प्रसङ्ग (पृ.७९), देवकोटाको दालभातडुकु कविताको उत्धृतांश (पृ.८०), औषधि किन्न पैसा नहुने स्थितिका कारण उपचार नै नगरी वस्नुपर्ने बाध्यता (पृ. ७४) लगायत अन्य ठाउँमा पनि गरिबीलाई देखाइएको छ अप्रियमा तर गरिबीको प्रस्तुति यसमा मात्र आएको हैन । गौतमका अन्य उपन्यासमा पनि गरिबी बस्तु बनेर आएको पाइन्छ ।

गरिबीसँग जोडिएर आउने भोक पनि गौतमका उपन्यासको अर्को वस्तु हो । भोकको चरम त जेलिएकोमा नै छ तर यसमा पनि कम छैन । गरिबीलाई देखाउन आएका घटनाहरूले भोकतर्फ पनि इङ्गित गरेका छन् । भोकको तृप्तिका लागि पात्रले अनेक कार्य गरेका उदाहरण यस उपन्यासमा मात्र हैन, अरू उपन्यासमा पनि बेग्रेल्ती आएका पाइन्छन् । हुन त गोविन्दराज भट्टराईले गौतमको उपन्यासमा प्रस्तुत हुने एउटा दर्शनको रूपमा भोकको प्रस्तुति भएको देखाएका छन् । भोक विभिन्न प्रकारका छन् ( शारीरिक (खाद्यवस्तुको) भोक, यौनिक भोक, शक्तिको भोक, रहस्यमयता, अन्धविश्वास, अज्ञानता र अन्धकारको भोक (भूमिका, जेलिएको) । यी सबै प्रकारका भोकहरू उनका विभिन्न उपन्यासमा दोहोरिएझैँ यसमा पनि आएको पाइन्छ ।

कामवासना पनि भोककै एउटा शृङ्खला हो । यौनगत चित्रण गौतमका सबैजसो उपन्यासमा भेटिन्छ । त्यसको चित्रण धेरथोर भन्ने मात्र हो । उनका पात्रहरू कामुक मात्र हैन अनैतिकसमेत भेटिन्छन् कुनैकुनै तर यस उपन्यासको पात्र चाहिँ यौनगतरूपमा अनैतिक र कामुक बनाइदिएकोमा क्षुब्ध हुन्छ (पृ.५८) । त्यस्तै, अफिसमा तरुनी र आइमाईका कुरा गरेर एवं अश्लील एसएमएस पठाएर समय कटान गर्ने प्रसङ्ग (पृ.५६), हाकिमसित तरुनीको प्रसङ्ग (पृ.७६) यसमा आएका छन् । सानो सन्तुष्टि र खुसीमा पनि यौनगत तृप्तिको खोजाइ राख्ने पात्रको प्रयोग यसमा गरिएको छ । हुन त मानव संसारमा अश्लील मानेरै सबभन्दा बढी खोज र भोगको विषय हो यौन । त्यसैले, फरक ढङ्गसित यसको प्रयोग उपन्यासमा आउनु स्वभाविक मान्नुपर्दछ । पुरुष मात्र हैन, उनका उपन्यासका महिला पात्र पनि कतैकतै कामुक भेटिन्छन् ।

रक्सी पनि गौतमको उपन्यासको अर्को वस्तु हो । उनका पात्रहरू जति नै गरिब या धनी भए पनि तिनीहरूको जीवनको आधार रक्सी बनेको हुन्छ । खुसीमा होस् या दुःखमा उनका पात्रहरू रक्सीमा रमाइरहेका देखिन्छन् ।

पैसा गौतमका उपन्यासको एउटा वस्तु हो । पैसाको कमीले गरिब बनेका पात्रको गरिबीको चित्रण उनका उपन्यासमा प्रस्तुत हुनु उनका उपन्यासमा प्रस्तुत वस्तुको एउटा रूप हो तर पैसाका लागि मरिमेट्ने, चाकडी र चाप्लुसी गर्ने, स्वाभिमानलाई गिराउने खालका, घूसका शृङ्खलामा फन्फन्ती घुमेका पात्रहरू उनका उपन्यासमा आउँछन् । घूसको प्रवाह पानीजस्तै माथिदेखि तलतिर हुने भएकाले वाटर फाइन्डस् इट्स ओन लेभल भन्ने वैज्ञानिक सूत्र मुताबिक थोपोसमेत कयौं कणमा विभाजित हुन्छ (पृ.२०) । पैसाका कारण अप्रियको पात्र लेखकसित प"mसेको अनुभव गर्दै जान्छ तर प"mसाइबाट निस्कन पनि सक्दैन । त्यस्तै, हाकिमकहाँ साना किनमेल गरेको पैसा पनि कुम्ल्याउनेखालको चित्रण पनि यसमा गरिएको छ । पैसाका लागि निकृष्ट काम गर्न पनि पछि नपर्ने पात्र पनि उनका कुनैकुनै उपन्यासमा आउँछन् ।

कार्यालय उनका उपन्यासमा एउटा वस्तुको रूपमा आएको हुन्छ, सरकारी या अर्धसरकारी । जसको नारा जनताको सेवा हुन्छ तर काम समय काट्ने र घूस खाने । अफिसमा काम धेरै जोतिनुपर्ने पनि होइन । तरुनी र रक्सीका गफ गरेर दिन काटिन्थ्यो । ... ।....रमाइलो कुरो के थियो भने त्यस्ता वृद्ध पनि सुरा(सुन्दरीका गफमा अत्यन्त उत्साह र उत्सुकतासाथ भाग लिन्थे (पृ.५६) । त्यस्तै अफिसका हाकिम पनि वस्तु बनेर आएका पाइन्छन् । ती निम्नतहका कर्मचारीहरूलाई शोषण गर्ने, उनीहरूलाई घरायसी काम गराउने, घूस बाँडीचुडी खाने खालका हुन्छन् । ती एकसेएक कामुक केटीहरू घरबाहिर ल्याएर मोज गर्ने, अरू कर्मचारीहरूसित रक्सी खाने, पार्टी जमाइरहने खालका उनका हाकिम पात्रहरू यस उपन्यासमा पनि आएको छन् । कार्यालयसँग जोडिएर आउने वस्तु हो(घूस । उनका पात्रहरू घुस्याहा हुन्छन् । यसमा पनि केशवप्रसाद पात्र भन्छ, हजारवाला मभन्दा माथि छन् हाकिम र्‍याङ्कका । दस हजार माथिका अझै माथिका हाकिम छन् । सुनिन्छ, यसरी लाखले शीतल हुनेहरू पनि कोहीकोही छन् (पृ.२०) ।

देश र जनताको समसामयिक वस्तुस्थिति पनि उनका उपन्यासको वस्तु हो । विभिन्न कालमा लेखिएका ती उपन्यासमा 'देश' अन्तर्गत नेपालकै प्रतिबिम्ब आउँछ एउटा माग्ने दरिद्र देशका रूपमा । त्यसमाथि पनि पटक्कै राष्ट्रियताको भावना नभएका(जनताहरू आफू घरमा बसेका थिए र देशप्रति आक्रोशयुक्त हुन्थे । यो देशसेवा भनेको केही होइन । चुप लागेर देशलाई हाम्रो घरमा रूपान्तरित गरिदिए उनको देश त्यही हुन्छ (पृ.१०९) । सुरक्षास्थिति खतम भएको देश जहाँ नेताहरू तिनै गरिब जनताका पक्षमा ठूलाठूला भाषण गर्छन्, योजना बनाउँछन् र आर्थिक एवं अन्य भ्रष्टाचार गर्छन् । चन्द्रमामुन्तिर म मात्र हिँडिरहेको थिइनँ । छुरा, गोलीगठ्ठा सबै यात्रा गरिरहेका हुनसक्थे (पृ.४१) । भाइरसहरू पनि अचेल ग्लोबल यात्रा गर्न थालेका थिए । यो स्वाइन फ्लु ... ... ... यो छाक धान्न नसक्ने देशमा आइपुगेको थियो (पृ.७३) । देश आफ्नो ठाउँमा बिग्रेको छ, स्वाइन फ्लुले आफ्नो किसिमले बिगारेको छ (पृ. ६३) । यस्तै छोरा बढेपछि गुण्डा बन्ने प्रसङ्ग, छोरी बलात्कार हुने र अपहरित हुने डरको अवस्था (पृ. ६७) देखाउँदै कमजोर भ्रष्ट मन्त्रीहरू, राष्ट्रियताको भाव नभएका जनताहरू, खोक्रा भाषण दिने नेताहरू, अकर्मण्य प्रहरी प्रशासन, उनका अन्य उपन्यासमा पनि सन्दर्भपिच्छे आएझैँ यसमा पनि आएका छन् ।

दर्शन र आध्यात्मिकता पनि उनका उपन्यासमा आउने अर्का वस्तु हुन् । उनका उपन्यासको वैचारिक धरातलको रूपमा अस्तित्ववाद र विसङ्गतिवाद आएकै हुन्छन् तर वस्तुको रूपमा त्यस्ता दार्शनिक पनि आउँछन् जो निकै हास्यास्पद पाराका हुन्छन् । जोगी, महात्मा, पूर्वीय र पाश्चात्य दार्शनिकका जीवन, देवता इत्यादि सम्बन्धी भनाइ घोकेर खोक्रो आडम्बरी अरूसामु प्रस्तुत गर्ने खालका पात्र ल्याउनु पनि उनको खुबी हो । यस्ता वस्तुहरू उनका सबैजसो उपन्यासमा आएका हुन्छन् तर तिनलाई प्रस्तुत गर्ने शैली, स्थान फरक किसिमको छ । प्रत्येक उपन्यासमा फरक तरिकाबाट तिनीहरू प्रस्तुत हुन्छन् । उनका उपन्यासमा त्यस्तैगरी पूजा गर्ने धार्मिक आडम्बरप्रति व्यङ्ग्य पनि निकै गरेको पाइ्रन्छ ।

उनका उपन्यासमा लेखकप्रति राज्यको दृष्टिकोण, लेखकले राज्याश्रय नपाएका कारण उनीहरूको डरलाग्दो गरिबी र लेखकलाई समाजले हेर्ने नकारात्मक सोच, राम्रा लेखकहरूको पलायनोन्मुख अवस्था र पैसावाल लेखकका तानाशाही प्रवृत्ति आदि पक्ष पनि वस्तु बनेर आएका हुन्छन् । यसमा पनि पैसाको बलमा लेखकको निरङ्कुशतालाई देखाइएको छ । त्यस लेखकको लेखनका सम्बन्धमा पात्रको भ्रम नै अप्रियको वस्तु हो ।

शैली

डा. ध्रुवचन्द्र गौतमका उत्तरवर्ती उपन्यासमा लेखक, पात्र र पाठकबीचका खेलहरू प्रस्तुत गरिएका र उत्तरआधुनिक सिद्धान्तले ल्याएका नया नया शैलीको प्रयोग गरिएको पाइन्छ । उनको एउटा तरिका किंवदन्तीको प्रयोग गर्दै मिथकीय स्वैरकल्पनाको प्रयोग गर्नु हो । उनका उपन्यासमा विभिन्न प्रसङ्गमा मिथकको प्रयोग गरिएको पाइन्छ तर त्यो पुराणको जस्तो नभई स्वैरकाल्पनिक प्रकारको पाइन्छ । यस उपन्यासमा पात्रको पुर्खाले लाम बसेर चामल ल्याएकाले लाम्ले थर पाएको प्रसङ्ग (पृ. ५३/५४) र समीवक्षमा पाण्डवले हतियार लुकाएको प्रसङ्ग (पृ. ३३) मिथकीय र स्वैरकाल्पनिक तवरले आएका छन् ।

डा. ध्रुवचन्द्र गौतमको उपन्यासको भाषा समसामयिक खालको हुने हुनाले रोचक त हुन्छ नै फेरि कतैकतै सूक्तिमय अभिव्यक्ति पाइनाले झन् रोचक हुन्छ । उनको अर्को शैली हो(श्यामव्यङ्ग्य । श्यामव्यङ्ग्यको प्रयोग उनको औपन्यासिक विशेषता नै हो तर यस उपन्यासमा भने श्यामव्यङ्ग्य कतैकतै हास्यकै स्तरमा आएर व्यङ्ग्य ध्वनित भएका प्रसङ्ग पनि आएका छन् ।

अप्रियको विशिष्टता

यो उपन्यास वास्तविकरूपमा पृ.४०बाट सुरु हुन्छ । लेखकले उपन्यासको सुरुमै (पृ. १) आफू काल्पनिक पात्र भएको बताएका छन् । त्यसपछि आफ्नो पारिवारिक एनाटोमी प्रस्तुत गरेका छन् र आफूलाई 'सटिक स्पेसिमेन' प्रमाणित गरेका छन् । ती कुरा पात्र लेखकले राम उपाध्याय लेखकपात्रले बताएका कुरा बोलेका हुन् । सुरुमा 'म' पात्रले आफू कामुक र कहिलकाहीँं विलासी भएको बताएका छन् तर त्यही कुरा राम उपाध्यायको दृष्टिकोण हो भन्ने कुरा पृ.६० मा थाहा हुन्छ । लेखक र पात्रका बारेमा अन्योल वा भ्रम पैदा हुन्छ, उनका अघिल्ला केही उपन्यासमा जस्तै । पृ.४७ मा पुगेपछि मात्र लेखक(पात्रको उपस्थिति पाठकलाई ज्ञात हुन्छ । फेरि कतैकतै लेखकले लेखेका कुरामा आफ्नो असहमति जनाउन र वास्तविकता बताउन पात्रलेखकको उपस्थिति भएको छ लेखनद्वारा । बीचबीचमा लेखक र पात्रबीच संवाद(प्रतिसंवाद पनि चलेको पाइन्छ । लेखकसित पात्रको विरोध, गुनासो छ, आफूलाई पात्र बनाएर मनपरी चित्रण गरिदिएको दुःख पनि चित्रित छ । सीमान्तीकृत वर्गको पात्रको दुःख पोखाइ, हीनताबोधी चरित्रको प्रयोग, पात्रको लेखकीय निरङ्कुशताबाट मुक्ति पाउने चाहना, यसका वस्तुगत विशिष्टता हुन् । 'लेखकको मृत्यु' भएर पाठकको उदय भइरहेको आजको युगलाई उपन्यासले टिपेको छ । अन्तमा लेखकलाई परास्त गर्न नसकेको गुनासो पनि गरेको छ ।

सहरीया परिवेशको कष्टकर जीवनको प्रस्तुति र त्यसले ल्याएको मृत्यु चिन्तनलाई प्रस्तुत गरेर मृत्यु चिन्तनको बीचमा रहेर पनि जीजिविषाको प्रस्तुति गरिएको छ । अस्तित्ववादी दर्शनको प्रस्तुति उनको निजी विशिष्टता पनि हो । यस उपन्यासमा अहिलेको मोबाइल दुनियाँको विकृतिलाई पनि विषय बनाइएको छ । दिनभरि अरू केटाकेटीलाई अश्लील एस.एम.एस. गरेर बेलुकी सब मेटेर घरमा स्वास्नी र अरूका सामु चोखो र साधु बनेको विषयले भर्चुअल दुनियाँमा वास्तविकता अर्कै हुने कुरालाई देखाइएको छ । यो पनि 'भर्चुअल रियालिटी'कै एक पाटो हो । उपन्यासमा पात्र र लेखकको विवाद र एकर्काप्रति अन्तर्विरोध बढ्दै गएपछि उनीहरू एकर्काको हत्या गर्ने योजनामा पुगेका छन् । दुवै एकै समयमा हत्याको योजना बुन्छन् । लेखकपात्रले आत्महत्या गर्छ । पात्रले त्यो सपनामा देखेको थियो र त्यही विपनामा पनि देखेको थियो । विपना र सपनाबीचको भ्रान्ति उत्पन्न गरिएको छ । त्यही लेखकपात्र फेरि जीवितै आइपुगेर पात्रसित भन्छ, त्यो मेरो पात्र थियो, जो तिम्रा अघिल्तिर लेखक भएर आएको थियो (पृ. ९७) । स्वप्नजगत्को प्रस्तुतिलाई भूमिकामा गोविन्दराज भट्टराईले मायिक यथार्थ भनेका छन्, जसमा दिवास्वप्नमा दुवैको मस्तिष्कमा एकै कुरा बसेको देखाइन्छ । यसका लागि अतियथार्थको पनि प्रस्तुति दिइएको छ । आत्महत्या गरेर जीवित पात्रसामु आएको लेखक भन्छ, ऊ पनि मेरै पात्र थियो । अझ अन्त्यमा लेखकको निरङ्कुशतामा पात्र पराजित बनेको देखाइएको छ, त्यो आत्महत्यालाई वास्तविक हत्यामा स्थापित गरिदिएर जेलमा बन्द गरेर मनलाग्दो बनाउँदै लेखकले लेखिरहृयो (पृ. ११५) । यस्तो व्याख्यातीत प्रसङ्ग, लेखक र पात्रको रहस्यमय स्थिति नै अप्रियको विशिष्टता हो ।

सन् १९८० पछि विश्व लेखनमा आएको यो शैलीगत प्रयोग उत्तरआधुनिकताको उपज मानिन्छ । लेखक र पात्रबीचको सन्दिग्धता र अतियथार्थताले नै गौतमका अन्य उपन्यासभन्दा यो उपन्यास बेग्लै एवं उत्कृष्ट बनेर छुट्टएिको छ ।

सन्दर्भ ग्रन्थसूची

गौतम, ध्रुवचन्द्र, जेलिएको, बल्खु ः नेपाल मुद्रण उद्योग सङ्घ, २०६२ ।
...................., अप्रिय, काठमाडौं ः ओरिएन्टल पब्लिकेसन, २०६७ ।
भट्टराई, गोविन्दराज, उत्तरआधुनिक विमर्श, काठमाडौँ ः मोर्डन बुक्स, २०६४ ।

[स्रोत: मधुपर्क बैशाख, २०६८]

Segments: 

Comments